‘माया–प्रेममा पर्ने नो चान्स’

सोमबार, ०६ माघ २०७६, ११ : ३९ शुक्रवार
‘माया–प्रेममा पर्ने नो चान्स’

हेर्दा फुच्ची देखिए पनि निमा तामाङ बाउन्सर हुन्। एक वर्ष भयो उनी यो पेशामा लागेको। दरबारमार्गकोे लिक्विड लाउन्ज एन्ड बारमा कार्यरत उनी करातेकी ब्ल्याकबेल्ट पनि हुन्। बाउन्सर इन्चार्ज रहेकी उनीसँग कुटाई खाएकोदेखि अरुलाई कुटेकासम्म टन्नै अनुभव रहेछ। निमासँग महिला बाउन्सरका सुखदुखबारे शुक्रवारकर्मी भोला अधिकारीले गरेको अन्तरंग संवादः

किन हतारमा हो ?
डिउटी जाने समय हुन लाग्यो नि त ! ६ बज्न लागिसक्यो।

तपाईंको पेशाबारे गफ गरौँ भनेको त। कुरा शुरु गरिहालौँ न त। प्रायः केटाहरु मात्र काम गर्ने बाउन्सर कसरी बन्न पुगियो ?
म कुनै पनि काम गर्न डराउदिनँ। मेरो बानी नै यस्तै छ। प्ले ब्वाई लाउन्ज एन्ड बारको वनर मेरो साथीले बाउन्सरमा काम गर्छौ भनेर सोधेपछि गरौँ न त भन्ने लाग्यो। हुन्छ भनिदिएँ।

तपाईंले घरमा सोध्नुभएन ?
बेलुकाको काम भनेपछि अनुमति त लिनुप¥यो नि ! आमालाई सोधेँ, ‘बेलुकाको काम हो, गरौँ ?’ आमाले त पर्दैन रातिराति काम गर्न भन्नुभयो। आमाले नमानेपछि बुबालाई सोधेँ तर खासै राम्रो रेस्पोन्स आएन। अनि मामालाई सोधेँ। मामा अलिक बुझक्की हुनुहुन्छ। उहाँले तिमीलाई राम्रो लाग्छ भने गर भन्नुभयो। मामाको अनुमति पाएपछि शुरु गरेँ।

बाउन्सरको काम यति सजिलै पाइन्छ र ?
काँ पाउनु ? ब्याकग्राउन्ड त हुनुप-यो नि ! म कराते खेलाडी हो।  करातेमा ब्लाकबेल्ट जितेकी छु। कराते खेलाडी भएपछि बाउन्सर बन्न सकिहालिन्छ। पहिला कलेजमा डिसिप्लिन इन्जार्जको काम गरेको अनुभव नि छ नि त !

हेर्दा त फुच्ची देखिनुहुन्छ। कलेजले सहजै लियो त ?
अँहँ, कहाँ लिनु नि ? यो त सानी छ। यसले सक्दिन जस्तो गरेर तीन महिनाको काम हेरेपछि मात्र पक्का गर्ने भने। मैले तीन महिना बबाल काम गरिदिएँ अनि जागिर पक्का।

भनेपछि ज्यान सानो भए पनि तगडा हुनुहुन्छ ?
तगडा त हुनै प-यो नि, नत्र कहाँ टिक्न सकिन्छ र यहाँ ?

तै पनि केटा बाउन्सर र केटी बाउन्सरका बीच काम गर्न केही असहज त होला नि हैन ?
त्यस्तो हुँदैन। म केटाजस्तै छु। मैले प्ले ब्वाई क्लबमा काम गर्दा  सबै बाउन्सर केटा मात्रै थिए। म एक्लै थिएँ। कसैले नराम्रो गरेनन्।

मदिराले मात्तिएकाहरुको निगरानी र सुरक्षाको जिम्मा छ। यसो क्लबमा भेटेकाहरुले बाहिर -याक गर्दैनन् ?
बाहिर त कसैलाई चिन्दिनँ। घर पुग्दै चार बजेको हुन्छ। सुतेर उठ्दा १२–१ बजिसकेको हुन्छ। क्लबमा गएपछि आफ्नो काम मिलाएर अरुलाई इन्जोई गराउने हो। 

ढाँटेको जस्तो लाग्यो। अहिलेसम्म कुनै ग्राहकलाई बाहिर भेटेकै छैन त ?
भेट्न त भेटिन्छन् तर मैले नै चिन्दिनँ। उहाँहरुले चिनेर बोलाउनुहुन्छ । के छ भन्दा ठिकै छ भन्दिन्छु।

मनै त हो। भर्खरकी पनि हुनुहुन्छ। केटा बाउन्सर ह्यान्डसम हुने नै भए। यसो प्रपोज हान्दैनन् ?
बोलचाल त भइरहन्छ। जिस्किरहेका हुन्छन्। म सबैसँग छिटो घुलमिल पनि हुन्छु। तर त्यो मायाप्रेममा पर्ने भन्ने चाहिँ नो चान्स।  

फोन कल, म्यासेन्जमा प्रपोजको म्यासेज आउन्न ?
फोन कल उठाउँछु। के काम प-यो होला भन्ने हुन्छ। तर दायाँ–बायाँ गफ हुन्न। तर फेसबुकमा, मोबाइलमा आएको म्यासेजको रिप्लाई नै दिइन्न। मलाई मन पर्दैन। माया प्रेमका कुरामा साँच्चै नो हो अहिले। काममा भएको बेला जिस्किने आफ्नो ठाउँमा छ। तर घरमा आएको बेला फेसबुकमा उनीहरुले पठाएको म्यासेज पनि हेर्दिन म।

सानी बाउन्सर देख्दा गेस्टहरुले कस्तो व्यवहार गर्छन् ?
गेस्टहरु सबै एकै नासका त हुँदैनन्। कोहीकोहीले अलिक अर्कै सोचले पनि बोल्छन्। तर त्यस्ताको नजिक पर्दिनँ। माया गर्छु, प्रेम गर्छु भन्नेहरु त भइहाल्छन् नि !

माया प्रेमको कुरा निकालिहाल्नु भयो। उमेर पनि छ, प्रेमी त होला पक्कै। हैन ?
लभको बारेमा कुरा गर्ने र ? नगर्दा हुँदैन ?

कुनै आपत्ति हुन्छ र ?
त्यस्तो त होइन। मलाई भन्न मन लाग्दैन।

छ भने छ भन्नु, छैन भने ठिकै छ...
थियो कुनै समय तर छुट्यो।

के कारणले छुट्यो ?
त्यो विषयमा प्रवेश नै नगरौँ। उसको घरपरिवारले स्वीकार गर्दैनन् भन्ने कुरा भयो। उसलाई बिस्तारै म नराम्रो लागेँ होला या के कारणले हो मलाई थाहा भएन।

कति वर्षसम्म रिलेसनमा बस्नुभयो ?
११ वर्ष चानचुन थियो होला। यसका कारण म डिप्रेसनमा समेत पुगेकी थिएँ। टिनेजको बेला धेरैको लभ हुन्छ भन्थे, मेरो नि थियो। तर अहिले म विगत सम्झन चाहन्नँ। मैले बिर्सिसकेँ।

विगत भुलेकै राम्रो। तर जीवन चलाउन साथी त चाहिन्छ नि हैन ?
मलाई विवाह गर्ने सोचसमेत छैन। मेरो बाबाआमा, भाइबैनी नै मेरो माया हो। उहाँहरुलाई नै प्रेम गर्छु। बिहे गर्ने बिल्कुलै सोच छैन।

जीवन यसरी नै चल्छ त ?
खै ? त्यसका बारेमा बिस्तारै सोचुम्ला। आमाले पनि राम्रो केटा आयो भने बिहे गर्नु भन्नुहुन्छ। नत्र हामीले जस्तै दुःख पाउलिस् भन्ने गर्नुहुन्छ। तर खै, मनै जाँदैन।

कामकै कुरा गरौँ है अब। अहिले महिला बाउन्सर कति होलान्  थाहा छ ?
थोरै छन् हो। अहिले केही थपिएका छन् रे ! तर यति नै भन्ने त थाहा छैन।

तपाईं नै पहिलो महिला बाउन्सर हो त ?
खै ठ्याक्कै कसरी भन्नु र ? तर दाइहरुले त्यस्तै भन्नुहुन्छ।

कत्तिको रिस्क छ यो पेशामा ?  
रिस्कको काम हो नि ! मुख छ कि मुलुक छ भन्छन् नि, हो त्यस्तै। मुख राम्रो हुनुपर्छ। कतिपयले गेस्टहरुलाई बाउन्सरसँग रिस उठेको हुन्छ। उनीहरुले फोटो खिचेर लग्छन्। बाहिर कतै भेटेर कुट्न। अनि रिस्क भएन त !

फोटो खिचेर लगेकाले कुटेका छन् त ?
मैले त कुटाई खाएकी छैन। अरु बाउन्सरहरुले त कुटाई खाएका छन्। सबै गेस्ट राम्रा हुन्छन् भन्ने छैन। झगडा गर्ने नियतले पनि आइरहेका हुन्छन्। सकेसम्म झगडा नहोस् भन्ने हो। सानातिना झगडा त भइहाल्छ। पछि यताका बाउन्सर भेला हुँदा ग्याङ फाइट परेको जस्तो देखिन्छ।

अनुहार हेर्दा त झगडालु देखिनुहुन्न। झगडा गरिएको छ ? मान्छे कुटिएको छ ?
अहिले त छैन। पहिला त एकदमै झगडालु थिएँ। स्कुलमा पढ्दा एक्लै ग्याङ फाइट गरेकी छु। (उनले पाखुरामा चक्कुले काटेको दाग देखाउँदै) यी उताको ग्याङले हानेको चक्कुको डाम अहिलेसम्म छ।

कारण के थियो नि फाइटको ?
निउँ त त्यस्तो ठूलो थिएन। साथीको ब्वाइफ्रेन्ड अर्कैले लिएर हिँडेकोले झगडा परिरहेको थियो। काठमाडौँको वसन्तपुरमा म हिँडिरहेकी थिएँ। उताबाट केटा र केटीहरुको ग्याङ आइरहेको रहेछ। उनीहरु मेरो साथीको ब्वाइफ्रेन्ड घुमाइरहेको केटीको ग्याङ थियो। उनीहरुले मेरो साथीलाई हात हाल्न थाले। मेरो साथीहरु कपाल भुताल्न थाल्छन्, म जस्तो फाइट खेल्दैनन्। अरुलाई साइड लगाएर उताका ग्रुपसँग एक्लै भिडेँ। उताबाट एउटीले छुरा हानी। मैले छेक्ने हुँदा काट्यो। मलाई कपाल भुताल्न आउँदैन। सिधै किक दिने हो।

अरुको ब्वाइफ्रेन्डका लागि भिडेको तपाईं, आफ्नो ब्वाइफ्रेन्डको लागि लड्नु भएन ?
(हा हा हा हा ..) किन नलड्नु। मैले कलेजको गेटमा ढुकेर कुटेकी
छु। फोनमा मैले सम्झाएकी थिएँ। ठूलठूलो कुरा गरेपछि सारै रिस उठ्यो अनि कलेज अगाडि ढुकेर पिटेँ। मेरो ब्वाइफ्रेन्ड मसँग डराउँथ्यो।

अहिले त एक्कासि चेन्ज हुनुभएछ नि ? विगत सम्झदा कस्तो लाग्छ ?
अँ, अहिले चेन्ज भएको। गाउँमा जाँदा चाहिँ उस्तै रहिछ भन्छन्। तर कुट्ने, झगडा गर्नेमा पहिलाको जस्तो छैन। त्यो टिनेजको बेला सम्झिदा किन मान्छे कुटेको होला, त्यस्तो नगरेको भए हुन्थ्यो जस्तो फिल चाहिँ हुन्छ। हुन त अहिले पनि नकुट्ने होइन तर पहिलाको जस्तो आवेशमा आएर होइन। पहिला सम्झाउने गरेकी छु।

अहिले पनि भिड्नु परे भिडिन्छ ?
मान्छेको ज्यानले होइन, दिमागले काम गर्ने हो। भिड्नै परेछ भने पछि हट्ने त कुरै भएन नि ! अहिले त म बाउन्सरको इन्चार्ज पनि हो।

तपाईंको अन्डरमा कति जना बाउन्सर छन् त ?
तीन जना जेन्स बाउन्सर हुनुहुन्छ।

बेलुका लाउन्ज, डिस्कोमा काम गर्ने महिला कामदारलाई ग्राहकले के के अफर गरेर हैरान गर्छन् रे !

बाउन्सरलाई आँट नगर्लान् कि ? कि गर्छन् ?
किन नगर्नु ? तिमी कति राम्री, तिम्रालागि यसो गरिदिन्छु, उसो गरिदिन्छु भन्ने त भइहाल्छन्। कति लेडिज बाउन्सरहरु गेस्टसँगै जाने गरेका पनि छन्। पैसाको लोभमा परेका हुन्छन्। मलाई चाहिँ चाहिएन। अरुको पैसामा रमाउन मन लाग्दैन। मैले जति कमाउँछु, इमान्दार भएर कमाउँछु। आफ्नै पैसामा रमाउँछु।

Leave A Comment