सञ्चारकर्मी डिबी खड्का यो साताबाट पुस्तक लेखकसमेत भए, ‘नियत’मार्फत्। अहिले संसदीय रिपोर्टिङमा संलग्न उनी कुनै समय रंग पत्रकारितामा सक्रिय थिए। रंग पत्रकारिताका क्रममा भेटिएका पात्रका भोगाई समेटेका छन्, उनले पहिलो पुस्तकमा। आख्यान शैलीमा लेखिएको पुस्तकलाई उनी संस्सरणात्मक निबन्ध भन्न रुचाउँछन्। तर पुस्तक पढ्दा अहिले विश्वमा यौन दुव्र्यवहार सार्वजनिक गर्न चलिरहेको मीटू अभियानमा बल पुग्ने देखिन्छ, ‘नियत’। कथा, निबन्ध र नाटकसमेत लेखेका खड्कासँग उनको लेखनमा केन्द्रित रहेर शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानीः
‘नियत’लाई रिपोर्टिङ र अन्तर्वार्ताको क्रममा भेटिएका पात्रहरुको भोगाईमा आधारित भन्नुभयो। पुस्तक पढ्दा पात्रको नाम बदले पनि केही त यही हुन् भनेर अनुमान पनि लगाउन सकिने खालको छ। पुस्तक हो चैँ कुन विधाको ?
अँ। मैले झूट बोलेको छैन। रंग पत्रकारितामा संलग्न हुँदा भेटेका पात्रहरुकै कथा हो यो पुस्तक। तर विधा भन्नुपर्दा चैँ म संस्मरणात्मक निबन्ध भन्न रुचाउँछु। घटना सत्य हुन् तर त्यसलाई मेरो कल्पनशीलता प्रयोग गरेर साहित्यिक बनाएको छु।
पुस्तकमार्फत् यौन दुर्व्यवहारजस्तो गम्भीर विषय उठाउनु भएको छ। विश्वभर रंग क्षेत्रमा भएका यौन दुव्र्यवहारका घटना सार्वजनिक भइरहेको बेला गैर आख्यानको साटो किन आख्यानात्मक शैलीमा लेख्नु भएको ?
मेरा पात्रहरुमा आफूमाथि भएको दुर्व्यवहार खुलेआम भन्न सक्ने आँट भएको भए यो पुस्तक लेख्नु नै पर्दैनथ्यो। सन् २०१७ मा मीटू मुभमेन्ट चल्दा मैले पुस्तकमा समेटिएका केही पात्रलाई यसबारे केही बोल्नुस् न भनेर आग्रह गरेको पनि हो। मैले त्यतिबेला नै ‘अहिले तपाईंहरु बोल्नुभयो भने इतिहासले तपाईंहरुलाई सलाम गर्नेछ’ भनेको थिएँ तर सार्वजनिक रुपमा बोल्ने साहस जुटाउन सक्नु भएन। अब पात्रले नै पहिचान खुलाउन नमानेपछि गैरआख्यान कसरी लेख्नु ? उहाँहरुले पहिचान खोलेरै नबोले पनि यस्ता काला पाटाहरु लुकिरहनु हुन्न, सार्वजनिक हुनुपर्छ भनेर पुस्तक लेख्न थालेको हुँ।
हलिउड, बलिउड अनि नेपालमै पनि यौन दुव्र्यवहार गर्नेहरु सामाजिक बहिष्कारमा परेका छन्। कतिले कानुनी कार्बाही पनि भोगे। तै पनि किन डराउँछन् पीडितहरु ?
हाम्रो समाजा जो अन्यायविरुद्ध बोल्छ, उसैलाई सिध्याउने गरिन्छ। जसले सत्य बोल्यो उसैमाथि शंका गरिन्छ। ‘त्यो त बोल्छे छोड्दे यार, काम न दे’ भन्छन्। आफ्नै समाजबाट, आफूले काम गरेको क्षेत्रमा एक्लै बनाइदिन्छन्। अनि यस्तो जोखिम मोल्न र बोल्न को तयार हुन्छ ?
जो टिकेका छन्, उनीहरुलाई पनि खराब नियतले हेरिएन चैँ भन्दिनँ तर अहिले जो टिकेका छन्, तिनीहरु आन्तरिक रुपमै भिडेरै पनि टिकेका हुन्।
पहिला त आफ्नो सपना मर्ला भन्ने डर हुन्छ। अनि केही पाउन केही गुमाउनुपर्छ भन्ने रुढीवादी सोच पनि छ। जब आफूलाई प्रयोग गरेर विचल्ली बनाइदिन्छन् अनि मात्र झल्याँस्स हुने प्रवृत्ति छ। मुख्य कुरा पीडितमैत्री वातावरण छैन यहाँ अनि बोल्ने आँट गर्दैनन्।
भनेपछि मनोरञ्जन क्षेत्रमा सक्रिय महिलामा आत्मविश्वासको कमी रै’छ हैन ?
एकाध पात्रहरुलाई छाड्ने हो भने सत्य त्यही हो। आत्मविश्वासको कमी छ यहाँ।
शुक्रवार साप्ताहिकले नै संगीत र नाट्य क्षेत्रमा हुने यौन दुव्र्यवहारबारे रिपोर्टिंङ गरेको थियो। अन्य पत्रपत्रिकाले पनि स्थान दिइरहेका छन्। सबैले समर्थन नगरे पनि यौन हिंसामा परेका महिलालाईसमाजको एक तप्काले बोल हामी छौँ भनिरहेका त छन्। यसले आत्मविश्वास बढ्नु पर्ने हैन ?
तपाईंले भने जस्तो तहको परिर्वतन आइसकेको छैन। केहीले मात्र सपोर्ट गरेर हुन्न। जसरी हिरोइन बन्न निर्देशकको समर्थन चाहिन्छ, आफू अन्यायमा परेको कुरा बोल्दा भोलि काम दिने निर्देशकको समर्थन त चाहियो नि ! अरुले काम दिएनन् भने म दिन्छु भन्न सक्ने निर्देशक खोई ? आफूमाथि भएको दुव्र्यवहार खुलाएका गायिका र नाट्यकर्मीलाई उनीहरु क्रियाशील भएको क्षेत्रकाले सहयोग गरे त ? अँहँ देखिएन त त्यस्तो साथ र सहयोग ! अनि आफ्नै करियर दाउमा राखेर को बोल्छ ?
विशेषगरी हाम्रो समाजमा कला क्षेत्रमा महिलाको अस्मिता सुरक्षित छैन। महिलाको आत्मसम्मान जतिखेर पनि लुटिन सक्छ भन्ने मानसिकताले अभिभावकले सकेसम्म आफ्ना सन्तानलाई यस क्षेत्रमा आउन दिन चाहँदैनन्। तपाईंको पुस्तकले त त्यस्ता अभिभावकलाई बल नै दियो नि ? पुस्तकमा चित्रण गरिएझैँ भयावहै छ त नेपाली मनोरञ्जन क्षेत्र ?
मैले त यो क्षेत्रमा स्टार बन्न आएका तर स्टार बन्न अभिनय र सीप सिक्नुपर्छ भन्ने ज्ञान नभएका कारण यस उद्योगमा कब्जा जमाएर बसेका पुरुषबाट पीडित महिलाको कथा लेखेको हुँ। भयावहै त नभनौँ तर यो क्षेत्र प्रोफेसनल नभइसकेको भने सत्य हो।
पुस्तक पढ्दा यस क्षेत्रमा जमेका नायिकाहरु पनि केही न केही एडजस्ट गरेरै टिकेको प्रस्टै देखिन्छ। यस्तै हो त ?
त्यो हैन। यस पुस्तकमार्फत् मनोरञ्जन दुनियाँ सोचे जस्तो रंगीन मात्र छैन भनेको हुँ। अघि नै भनिहालेँ, जसलाई अभिनय र सीपभन्दा पनि रुपकै आधारमा तिमी त स्टार बन्छौ अथवा अन्य कुरा केही थाहा नभइकनै म स्टार बन्छु भनेर आएका असफल भएका छन्, शोषणमा परेका छन्। यो पुस्तक उनीहरुकै कथा हो।
जो टिकेका छन्, उनीहरुलाई पनि खराब नियतले हेरिएन चैँ भन्दिनँ तर अहिले जो टिकेका छन्, तिनीहरु आन्तरिक रुपमै भिडेरै पनि टिकेका हुन्।
पुस्तकमा लेखिएको कुरा र तपाईंको भनाइ आपसमै बाझियो। ल ठीकै छ, पुस्तक पढ्ने हो भने नेपाली मनोरञ्जन क्षेत्रमा महिला मात्रै पीडित छन्। पुरुष त पीडक हुन् भन्ने देखिन्छ। यस्तै हो त ? यहाँ पीडित पुरुषै छैनन् ?
महिला भएर शोषणमा पर्नु र पुरुष भएर शोषणमा पर्नुमा फरक हुने रहेछ। सायद हाम्रो समाजको बनोट नै पुरुषप्रधान भएर हुन पनि सक्छ मनोरञ्जन क्षेत्रका महिलाहरु कलाकार भएको आधारमा भन्दा पनि पहिला महिला भएकै कारण पीडित भएका छन्। पुरुष पनि पीडित छन् तर उनीहरु पीडित हुनुको कारण यौनभन्दा पनि आर्थिक शोषण हो। त्यो पुस्तकमा पनि छ।
नेपाली रंग क्षेत्रको प्रवृत्तिमाथि पुस्तक लेखेको हो भनिसक्नुभयो तर जुन रुपमा महिलालाई पीडित बनाउने प्रवृत्तिमाथि केन्द्रित हुनुभयो, पीडित पुरुषमाथि त्यत्ति मिहिनेत नगरेको त हो नि, हैन र ?
मैले पात्रको कथामार्फत् त सङ्केत गरेको छु। तर महिलाले शोषण गर्ने भनेको आम प्रवृत्ति हैन। एकाधमा देखिएको हो। महिला धेरै पीडित छन्। त्यही भएर महिलाबारे बढी लेखिएको हो भनेर बुझ्दा सहज होला ।
रंग पत्रकारिता छाडेको त पाँच वर्षजति भयो होला हैन ? रिपोर्टिङ नगरे पनि नजिकबाट यो क्षेत्रलाई नियाल्नु त भएकै होला। यस बीचमा केही सकारात्मक परिर्वतन भएका छन् कि अवस्था उस्तै हो ?
पाँच त हैन, सक्रिय नभएको दुई वर्ष भयो। अन्य विषयमा रिपोर्टिङ गरे पनि एक दशक बिताएको क्षेत्रमा अपडेट त भइन्छ नै। यस बीचमा त्यति ठूलो परिर्वतन भएको देख्दिनँ म। अहिले पनि नायिकालाई हेर्ने दृष्टिकोण उस्तै छ। अहिले बोल्न सक्ने, प्रतिवाद गर्नसक्ने नायिकाहरुको संख्या भने बढेको छ है !
रंग पत्रकारितामै सक्रिय रहँदा पुस्तक ननिकालेर त्यस क्षेत्रमा रिटायर्ड भए पनि प्रकाशन गर्नुको अर्थ केही छ कि ?
त्यतिबेला पुस्तक प्रकाशित गरेको भए त म निकट कलाकारकै कथा हो भनेर अनुमान गर्ने जोखिम थियो नि त ! त्यो जोखिम नहोस् भनेर रंग पत्रकारितामा निस्क्रिय भएपछि लेखेको हुँ।
पात्रहरुको भोगाइ पढ्दा नाम बदले पनि केही त सहजै चिनिन्छन् नि ! कथा सत्य हो भने यति धेरै डराउनुपर्ने कारण हुन्छ र ?
डराएको हैन। मैले व्यक्तिमाथि हैन प्रवृत्तिमाथि बहस होस् भनेर पुस्तक लेखेको हुँ। पुस्तक लेखेर कसैलाई चित्त दुखाउनु पनि छैन। म जोखिम मोल्न तयार हो तर पुस्तकमार्फत् मेरा पात्रहरुलाई जोखिममा पार्न चाहिनँ।
तपाईंले पुस्तकमा मनोरञ्जन क्षेत्र पुरुषले, पुरुषको लागि बनाएको क्षेत्र हो, महिलाको लागि रंगहीन छ भनी लेख्नु भएको छ। यो निष्कर्षको आधार ?
मनोरञ्जनका सम्पूर्ण क्षेत्र भन्न खोजेको होइन। गायन, मोडलिङ र फिल्मी क्षेत्रमा आबद्ध महिलाहरुको लागि भनेको हो यो। यी तीन क्षेत्र महिलाका लागि रङ्गहीन नै हो र पुरुषको मनोरञ्जनका लागि पुरुषले शुरु गरेका हुन्।
कला क्षेत्रमा दशकै बिताइसक्दा क्षेत्र छाडेर किन स्वास्थ्य र संसद्को रिपोर्टिङमा लाग्नु भएको त ?
हाम्रोमा कला क्षेत्रले उद्योगको आकार लिइरहेको छैन। असुरक्षित महसुस भयो। अनि मेरो व्यक्तिगत रुचि पनि अन्य विषयमा तानियो। तर यसको अर्थ फिल्म क्षेत्र चटक्कै छाडेको भने हैन।
Leave A Comment