‘ताइ ची’ व्यायामका टेक्निक

बुधबार, ०८ माघ २०७६, ११ : २० शुक्रवार
‘ताइ ची’ व्यायामका टेक्निक

डा. डीबी सुनुवार,अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

‘ताइ ची’ विशेषगरी एसिया महादेशमा अपनाइने व्यायामको  उपयुक्त विधिमध्ये एक हो। एसिया महादेश बाहेकका मुलुकमा पनि आजकाल व्यायामको यो विधि अपनाउनेको संख्या बढिरहेको छ। शारीरिक तथा मानसिकरुपमा व्यक्ति फिट रहन चीनमा प्रायः वयस्क र पाका उमेरका व्यक्तिले यस्तो व्यायाम गरेको देखिन्छ।

‘सफ्ट र फास्ट’
‘ताइ ची’ धेरै प्रकारका हुन्छन्। तर ‘सफ्ट र फास्ट’ गरी दुई प्रकारका बढी प्रचलित छन्। प्रायः लडाइँ लड्ने व्यक्ति (सेना–प्रहरी), खेलाडी, कम्फु खेलाडी जस्ता व्यक्तिले फास्ट किसिमको ‘ताइ ची’ गरिन्छ।  छोटो समयमै शरीरलाई फिट राख्नका लागि बढी शारीरिक परिश्रम पर्नेगरी गरिने विधि फास्ट किसिमको ‘ताइ ची’ हो। फास्ट किसिमको ‘ताइ ची’ गर्नाले व्यक्ति शारीरिक तथा मानसिकरुपमा मजबुत हुने भएकाले प्रतिरक्षाका लागि यो विधि उपयुक्त हुन्छ।

‘ताइ ची’का सफ्ट किसिमका व्यायामका चरणलाई छिटो वा बढी झड्काएको अवस्थामा फास्ट प्रकारको व्यायाम हुन्छ। सामान्यः व्यक्तिले सफ्ट किसिमको व्यायाम गर्नु नै उचित हुन्छ।

ध्यानको विधि अपनाएर सफ्ट किसिमको ‘ताइ ची’ गरिन्छ, जुन सबै उमेर समूहका व्यक्तिले सहजरुपमा गर्न सकिन्छ। सफ्ट किसिमको  ‘ताइ ची’ व्यायाम घरमै गरेर शरीर फिट राख्न सकिने उपयुक्त विधि हो। विभिन्न चरण पार गर्दै सफ्ट किसिमको ‘ताइ ची’ गर्न सकिन्छ। सफ्ट किसिमको ‘ताइ ची’ सामान्यतः आठ चरणमा गर्न सकिन्छ।

वामअप
‘ताइ ची’ सुरु गर्नुभन्दा पहिले करिब पाँच मिनेट वामअप गर्नु पर्छ। वामअपमा शरीर तन्याकतुनुक गर्दै हल्का किसिमले झड्कार्ने तथा तन्काउने गरिन्छ। हातखुट्टा तन्याकतुनुक गर्दै शरीर मर्काउनु व्यायामको पूर्व तयारी हो। वामअप गर्नाले शरीरका नसा, माशंपेशी र हाडजोर्नी ‘ताइ ची’ गर्नका लागि शारीरिक तथा मानसिकरुपमा तयारी हुन्छ। यसरी पूर्वतयारी गर्नाले व्यायामको क्रममा शरीर मर्किने तथा सड्किनेजस्ता जोखिमबाट बच्न सकिन्छ।

पहिलो चरण
वाम अप गरिसकेपछि पहिलो चरणको ‘ताइ ची’ व्यायाम सुरु गर्न सकिन्छ। पहिलो चरणमा ठिङ्ग उभिएर खुट्टालाई एक फिटको दूरीमा राखी फटाइन्छ। त्यसपछि बिस्तारै बसेजस्तै गर्दै घुँडा खुम्च्याउँदै अगाडि लगिन्छ। यसरी घुँडा खुम्च्याउने क्रमसँगै दुवै हात बिस्तारै अगाडि उठाउँदै सिधा कुमको तहमा पु¥याएर अगाडि तेर्सो पारिन्छ। प्रत्येक चरणको ‘ताइ ची’ व्यायाम गर्दा श्वास भने बिस्तारै लिँदै छोड्नुपर्छ। प्रत्येक एउटा चरणको व्यायाम गरिसकेपछि पुनः सतर्क अर्थात्् खुट्टा जोडेर ठिङ्ग उभिनुपर्छ।

दोस्रो चरण
यो चरणमा दाहिने खुट्टालाई दबाब पर्नेगरी देब्रे खुट्टा उचालेर एक पाइला अगाडि राखिन्छ। हात तल झारेर एउटा हातले छातितर्फ लाँदै छेकिन्छ, अर्को हात भने खुकुरी प्रहार गरेझैं झड्काइन्छ।

तेस्रो चरण
दोस्रो र तेस्रो चरणको ‘ताइ ची’ उस्तै किसिमका हुन्। फरक यति मात्रै हो, दोस्रो चरणमा नझड्काएको हात यो चरणमा झड्काइन्छ भने दोस्रो चरणमा अगाडि नसारेको खुट्टा यो चरणमा अगाडि सारिन्छ।

‘ताइ ची’को तेस्रो चरणमा व्यक्ति ठिङ्ग उभिएपछि देब्रे खुट्टालाई दबाब पर्नेगरी दाहिने खुट्टा उचालेर एक पाइला अगाडि पु-याइन्छ। दोस्रो चरणमा झैं हात तल झारेर अर्को हात छातितर्फ लैजाँदै छेकिन्छ, एउटा हातले खुकुरी प्रहार गरेझैं झड्काइन्छ।

चौथो चरण
यस चरणमा ठिङ्ग उभिएको व्यक्तिले दाहिने खुट्टालाई बढी चाप पर्ने गरी हल्का ढल्किएर दाहिने हात कुममाथि लगिन्छ। देब्रे हात पनि त्यही सर्कलमा उठाउँदै दाहिनेतर्फ लैजाँदै बादल मडारिएको आकारमा दुवै हात घुमाइन्छ। यस चरणमा खुट्टा दुई पाइला दायाँतर्फ सारेपछि दुई पाइला बायाँतर्फ सारिन्छ।
 
पाचाैँ चरण
पाचौं चरणमा दाहिने खुट्टा दह्रो बनाउँदै दाहिने खुट्टाको भरमा देब्रे खुट्टा उचालिन्छ। त्यसपछि दुवै हातलाई दायाँबायाँ उचालेर फैलाइन्छ र बिस्तारै तल झारिन्छ। अब पुनः देब्रे खुट्टा उचालेर हात फैलाएजस्तै गरी दायाँ खुट्टा पनि उचालिन्छ। यसरी खुट्टा उचालेर हात फैलाउँदा व्यायाम गर्ने व्यक्तिलाई उड्न लागेको बकुल्ला जस्तै देखिन्छ। त्यसैले ‘ताइ ची’मा यो चरणको व्यायामलाई ‘बकुल्ले आसन’ पनि भनिन्छ। यो चरणको व्यायाम परबाट हेर्दा अत्यन्तै आकर्षक देखिने व्यायाम पनि हो। यो चरणको व्यायामले शरीरै उड्न लागेको हल्का भएको जस्तो देखिन्छ।

छैटौं चरण
यस चरणमा कुमभन्दा माथि हात फैलाएर पालोपाली खुट्टा उचाल्दै झड्कारिन्छ। अलि बढी नै खुट्टा उचालिन्छ। हात पनि कुमभन्दा माथि नै उचालिन्छ। सहन सकुञ्जेल हात खुट्टा पालोपाली उचालिन्छ। यसरी हात–खुट्टा उचाल्दा धेरै दुख्यो भने छोड्नु पर्छ।

सातौं चरण
छैटौं चरणको व्यायाम सकिएपछि सातौं चरणको व्यायाम गर्दा ठिंङ्ग उभिएर हिँडेजस्तै गरी एउटा खुट्टो एक पाइला अगाडि लगेर दुवै हातका पञ्जा फैलाएर हात अगाडि लैजाँदै स्वाट्ट पछाडि तानिन्छ। यति गरिसकेपछि हातका दुवै पञ्जा एक–आपसमा हात मिलाएजस्तै गरी एक हातले अर्को हातलाई जोडले ठेलिन्छ। त्यसपछि पुरानै अवस्थामा आइन्छ।  

आठौं चरण
आठौं चरणमा पहिलो चरणमाझैं हल्का बस्दै घुँडा अगाडितर्फ खुम्च्याउँदै लगिन्छ। दुवै हात कुममाथिसम्म फैलाउनुपर्छ। त्यसपछि बिस्तारै दाहिने खुट्टालाई बढी चाप पर्ने गरी शरीर आड लगाउनु पर्छ र हात तल झारेर सतर्क अवस्थामा आउनुपर्छ।
यसरी आठ चरण पार गरी ‘ताइ ची’ व्यायाम गर्न सकिन्छ। यो लाभदायक व्यायामको विधि हो।

व्यायामको लाभ
‘ताइ ची’ गर्नाले शरीरको सम्पूर्ण भागमा व्यायाम पुग्छ। शरीरको सम्पूर्ण भागमा व्यायाम पुगेपछि शरीर त लचिलो हुन्छ नै। यस्तो व्यायामको क्रममा शरीरका भित्री नसा तथा मांशपेशी तात्ने तथा झड्कने हुँदा लचिलो हुन्छ। यसरी शरीरका नसा तथा मांशपेशी लचिलो र चलायमान हुँदा शरीरमा अनावश्यकरुपमा बोसो जम्मा हुन पाउँदैन, जसले मोटोपनाको समस्याबाट बच्न सकिन्छ।

त्यति मात्रै हैन व्यायामको क्रममा पसिना आउने भएकाले पसिनाको माध्यमबाट शरीरमा भएको विकार तत्व बाहिर जान सहयोग गर्छ। यसरी शरीरको विकारतत्व शरीर बाहिर जाँदा शरीर स्वस्थ र फुर्तिलो हुन्छ। स्वस्थ र फुर्तिलो भएपछि व्यक्ति शारीरिक तथा मानसिक रुपमा मजबुत हुन सहयोग पुग्छ। शारीरिक तथा मानिसकरुपमा स्वस्थ हुँदा रोगको त जोखिम कम हुन्छ नै व्यक्तिको जीवनशैली नै आनन्दमयी हुन सहयोग मिल्छ।

‘ताइ ची’ गर्नाले एन्जाइटी तथा डिप्रसेनको समस्याबाट बच्न सकिन्छ। किनकि यसले एक त मस्तिष्कको व्यायाम पुग्छ। अर्कोतर्फ सिंगो शरीरकै व्यायाम पुग्ने भएकाले आनन्द मिल्छ। यसले मनलाई शान्त राख्न सहयोग गर्नुका साथै आनन्दले निद्रा लाग्छ। तौल घटाउन सहयोग गर्ने नै भयो। त्यति मात्रै हैन शरीर फिटर रहने भएकाले जवान रहन सहयोग पु-याउँछ। नियमितरुपमा यस किसिमको व्यायाम गर्नाले मुटु, दमजस्तो रोगको जोखिमबाट बच्न सकिन्छ। पार्किन्सन हुनबाट पनि बच्न सकिन्छ।

यस किसिमको व्यायामले शरीरका प्रत्येक अंग तथा मांशपेशीमा व्यायाम पुग्छ। त्यसैले दैनिक आधा घण्टा ‘ताइ ची’ व्यायाम गर्नु उचित हुन्छ। आधा घण्टा यो व्यायाम गर्नाले स्वास्थ्यमा राम्रो प्रभाव पर्छ।
 प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment