जाडोमा सास लिन कठिन

बुधबार, ०८ माघ २०७६, ११ : ३० उपेन्द्र खड्का
जाडोमा सास लिन कठिन

चिसो बढेसँगै वीर अस्पतालमा श्वासप्रश्वासको समस्या लिएर पुग्ने बिरामीको संख्या बढ्छ। प्रायः कात्तिकदेखि पुस महिनासम्म यस्तो समस्या लिएर अस्पताल पुग्ने बिरामीको चाप बढी देखिन्छ। अस्पतालको मेडिकल रेकर्ड शाखाको तथ्यांकअनुसार वैशाख महिनामा छाति क्लिनिकमा छ सय ४२ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीले ‘चेस्ट क्लिनिक’को टिकट काटे। मंसिरमा यस्तो समस्या लिएर अस्पताल पुग्नेको संख्या सात सय १२ छ।

वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले पाको उमेरका व्यक्ति चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल पुग्ने गरेको बताउँछन्। डा.श्रेष्ठले भने, ‘४० वर्षभन्दा पाको उमेरका व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्या हुन्छ।’

२०७५ को अस्पतालको तथ्याङ्कअनुसार पाको उमेरका व्यक्ति नै बढी यस्तो समस्या लिएर अस्पताल पुगेको देखिन्छ। ०७५ मा ६ हजार पाँच सय २० व्यक्ति छाती तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल पुगेकामध्ये ३२ सय ५० व्यक्ति ५० वर्ष उमेर नाघेका थिए। यो संख्या श्वासप्रश्वाससम्बन्धी समस्या लिएर वीर अस्पताल पुग्नेमध्ये ५० प्रतिशत हो। तथ्यांकअनुसार महिलाको तुलनामा पुरुषमा बढी समस्या देखिन्छ।

चिसो मौसममा श्वास नली साँघुरिने भएकाले पाको उमेरका व्यक्तिलाई यो मौसममा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने फिजिसियन डा. देवराज घिमिरेले बताए। ‘चिसोमा पाका उमेरका व्यक्तिले खकार बाहिर निकाल्न नसक्दा फोक्सोमा संक्रमण भई निमोनियाको जोखिम बढ्छ’, डा. घिमिरेले भने, ‘यस्तो अवस्थामा श्वासप्रश्वासको समस्या हुन्छ।’

त्यसो त जाडो मौसममा  श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल पुग्नेको संख्या बाक्लिने गरेको अनुभव शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले सुनाए। डा. पुनका अनुसार सामान्य रुघाखोकीदेखि मौसमी फ्लु, दमका दीर्घ रोगी अस्पताल पुग्छन्। राइनो भाइरसका कारण सामान्य किसिमको रुघाखोकी लाग्छ। यो त्यति जटिल नहुने चिकित्सक बताउँछन्। मौसमी फ्लुका कारण श्वासप्रश्वाससम्बन्धी समस्या आएको खण्डमा भने सजग हुन डा. पुनको सुझाव छ। ‘यो कडा किसिमको समस्या हो,’ डा. पुनले भने, ‘यस्तो फ्लुले निमोनिया, फोक्सोमा संक्रमणजस्ता जटिलता निम्त्याउन सक्छ।’

रोगको लक्षण, दम
सामान्य भाषामा श्वासप्रश्वासमा अरोध आई श्वास फेर्न गाह्रो हुने अवस्थालाई दम (आस्थमा) भनिन्छ । दम विभिन्न रोगको लक्षण हो। खोकी दमको एउटा लक्षण हुनसक्छ। पाको उमेरमा हुने यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘क्रोनिक अब्सट्रक्टिभ पल्मोनरि डिजिज (सीओपिडी) भनिन्छ। प्रायः४० वर्षभन्दा कम उमेरका व्यक्तिमा एलर्जीका कारण दम हुन सक्न सक्छ। जसलाई चिकित्सकीय भाषामा ‘ब्राेंकिल आज्मा’ भनिन्छ। चिकित्सकका अनुसार धुलोधुवाँको एलर्जी तथा वंशाणुगत कारणले कम उमेरका व्यक्तिमा दमको समस्या हुन सक्छ। दमलाई चिकित्सकीय भाषामा आस्थमा पनि भनिन्छ।

धुलोधुवाँले जोखिम
नेपालको सन्दर्भमा धुलो धुवाँमा बस्ने व्यक्तिमा दमको समस्या बढी देखिने गरेको छातिरोग विशेषज्ञ डा. श्रेष्ठले बताए। दाउरा, गोबरको गुइँठो बालेर भान्साको काम गर्ने महिलामा स्वासप्रश्वाससम्बधी दीर्घकालीन समस्या बढी देखिन्छ,’ डा. श्रेष्ठले भने, ‘पुरुषको हकमा चुरोट सेवन गर्ने व्यक्तिमा यस्तो समस्या बढी देखिन्छ।’

चिकित्सकका अनुसार धुलो–धुवाँ भएको वातावरणमा लामो समस्यसम्म काम गर्दा दमको दीर्घकालीन समस्या उत्पन्न हुने जोखिम हुन्छ। धुलो–धुवाँमा हुने हानिकारक तत्वले फोक्सोमा रहेका हावाका नलीलाई क्षति पु¥याउँदा खुम्चिने र फुल्ने प्रक्रियामा बाधा पुग्छ। जुन व्यक्तिले सहजरुपमा स्वासप्रश्वास लिन असहजता उत्पन्न हुन्छ। जसले दमको समस्या निम्तन्छ। ‘दमको समस्या भएका व्यक्तिमा स्वास लिन त्यति असहज नहुने भए पनि फ्याँक्न कठिन हुन्छ, डा. श्रेष्ठले भने, ‘स्वास फेर्दा हावाका नली खुम्चन सक्दैनन्।’ फोक्सोमा रहेको श्वासप्रश्वास प्रक्रियालाई सहज बनाउने झिल्लीलाई समेत प्रदूषित हावाले क्षति पु¥याउँदा श्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ। जसका कारण श्वासप्रश्वास सहज बनाउनका लागि व्यक्तिलाई थप बल गरेर श्वास फेर्नुपर्ने हुन्छ। मुटुको समस्याजस्ता कारणले पनि दमको समस्या हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्।

दमको दीर्घ रोग भएका व्यक्तिलाई चिसो मौसममा संक्रमणको जोखिम बढी हुने भएकाले श्वासप्रश्वासमा जटिलता निम्तन सक्ने डा. पुनले बताए। इन्फ्लुएन्जाको संक्रमण कडा भए निमोनिया भएर शरीरका अंगले काम नगर्दा व्यक्तिको ज्यान जाने जोखिम हुन्छ।

डा. पुनका अनुसार चिसो मौसममा पाका उमेरका व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमतासमेत कमजोर हुने भएकाले दमले बढी च्याप्छ। ‘चिसो मौसममा दमका दीर्घरोगी र पाको उमेरका व्यक्तिलाई फ्लुको संक्रमणले समेत छिटो आक्रमण गर्नसक्छ,’ डा. पुनले भने,‘ त्यसैले पाका उमेरका व्यक्ति सचेत हुन आवश्यक छ।’

जाडो र गर्मी मौसममा मनसुन सुरु हुने अवस्थामा फ्लुको जोखिम हुने चिकित्सक बताउँछन्। इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण अचानक अत्यधिक ज्वरो आउने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीर दुख्ने, घाँटी दुख्ने, नाक बन्द हुने, आँखाका गेडी दुख्नेजस्ता फ्लुका लक्षण हुन्।

दीर्घरोगीले पूर्व सावधानी
चिकित्सकका अनुसार दीर्घकालीन किसिमको दम पूर्णरुपमा ठिक नहुने किसिमको समस्या हो। ‘क्षति पुगिसकेको श्वासप्रश्वास नली पुरानै अवस्थामा फर्काउन सकिँदैन, डा. श्रेष्ठले भने, ‘सावधानी अपनाउँदा र उपचार गर्दा रोकथाम भने गर्न सकिन्छ।’ 

दमको दीर्घ रोगको समस्या भएका व्यक्तिले धुलोधुवाँ र चिसोबाट बच्नुपर्ने डा. घिमिरेको सुझाव छ। काम गर्ने ठाउँमा धुलोधुवाँयुक्त वातावरण भए पेशै परिवर्तन गर्नुपर्ने हुन्छ। आफूले काम गर्ने संस्थान अन्तर्राष्ट्रय मापदण्डअनुसारको वातावरण भए–नभएको ख्याल गर्नुपर्ने डा. श्रेष्ठको सुझाव छ। दमका समस्या भएका व्यक्तिले वायुप्रदूषण तथा धुलोधुवाँ भएको ठाउँमा काम गर्न हुन्न।

पाका उमेरका व्यक्तिले मर्निङवाक गर्नु उचित नहुने चिकित्सक बताउँछन्। ‘विशेषगरी सहरी क्षेत्रमा बिहानको समयमा बढी प्रदूषण हुने भएकाले पाका उमेरका व्यक्तिमा दमको समस्या बढ्न सक्छ,’ श्रेष्ठले भने, ‘हिँड्नै पर्दा सुरक्षित किसिमको माक्स लगाएर हिँड्नुपर्छ।’

दम हुनबाट बच्न र दमको समस्या भएका व्यक्तिले घरभित्र धुवाँमा बस्न नहुने चिकित्सक बताउँछन्। भ्याल–ढोका नभएका वा कम भएका घरमा धुवाँको समस्या बढी हुने भएकाले सुधारिएको चुल्होमा खाना बनाउँदा धुवाँबाट बच्न सकिन्छ। घरमा क्रस भेन्टिलेटर रहन आवश्यक हुन्छ।

चुरोट सेवन गर्ने बानी परेका व्यक्तिले चुरोट सेवन गर्न छाडे दमको समस्याबाट बच्न सकिन्छ। एउटा व्यक्तिले चुरोट सेवन गर्दा अन्य व्यक्तिलाई पनि असर गर्ने भएकाले घर वा कोठामा चुरोट सेवन गर्न नहुनेतर्फ चिकित्सक सजग गराउँछन्।

बेलैमा उपचार
श्वासप्रश्वास प्रक्रिया असहज हुँदा शरीरमा अक्सिजनको मात्रा कमी भई विकार तत्वको मात्रा बढी हुँदा दमको समस्या जटिल बन्दै जान सक्छ। त्यसैले यस्तो समस्या भएका व्यक्तिले समयसमयमा चिकित्सकको सल्लाह लिई उपचार गर्नुपर्ने डा. घिमिरेको सुझाव छ।

त्यसैगरी दमको दीर्घकालीन समस्या भएका व्यक्तिमा अवस्थाअनुसार चिकित्सकको सल्लाहमा दैनिक १८ देखि २० घण्टा अक्सिजन लगाउनुपर्ने हुन्छ। । बेलैमा चिकित्सकको सल्लाहमा उपचार नगरे समस्या बढ्दा व्यक्तिको ज्यानै जोने जोखिम नआउला भन्न सकिन्न। तान्ने किसिमको औषधिको कुनै साइड इफेक्ट नहुने चिकित्सक बताउँछन्। दमका लागि प्रयोग हुने ‘इन्हेलर’ औषधिले फोक्सोमा असर नभई फाइदा गर्ने भएकाले चिकित्सकको सल्लाहमा यसको प्रयोग गर्न डा. पुनको सुझाव छ। ‘इन्हेलरले साँघुरिएका श्वासप्रश्वासको नली फुलाउँछ, जसले श्वास फेर्न सहज हुन्छ,’ डा. पुनले भने,‘ दमका दीर्घरोगीले निमोनिया र फ्लुको भ्याक्सिन वर्षमा एक पटक लगाए संक्रमणबाट बच्न सकिन्छ।’ दमको दीर्घकालीन समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहमा नियमित स्वास्थ्य जाँच गराउनु आवश्यक हुन्छ।

साधारण रुघाखोकीका कारण श्वासप्रश्वासमा समस्या भएको खण्डमा प्रशस्त मात्रामा झोलिलो पदार्थ पिएर करिब एक हप्ता आराम गर्दा ठिक हुन सक्छ। फ्लुका कारण समस्या भएको अवस्थामा जटिलता निम्तिने जोखिम भएकाले जतिसक्दो चाँडै चिकित्सकको परामर्शमा उपचार गनराउनुपर्ने हुन्छ। दमको समस्या भएका व्यक्तिले समेत इन्फ्लुएन्जा संक्रमित व्यक्तिबाट टाढा रहनुपर्ने चिकित्सकको सुझाव छ।

Leave A Comment