स्वाभाविक रात्रि स्खलन

बुधबार, ०८ माघ २०७६, ११ : ३७ डा. दिनेश बाँस्ताेला
स्वाभाविक रात्रि स्खलन

जन्मिएपछि व्यक्तिको शारीरिक तथा मानसिक वृद्धि–विकास हुनु सामान्य पक्रिया हो।  उमेरअनुसार व्यक्ति शारीरिक, मानसिक र सामाजिकरुपमा परिवर्तन हुँदै जान्छ। जुन नियम किशोरावस्थाका व्यक्तिमा लागू नहुने कुरै भएन।

किशोरीको स्तन बढ्नु शारीरिक परिवर्तन हो। पुरुषको हकमा किशोर अवस्था सुरु भएसँगै जुँगाको रेखी बस्ने र दाह्री पलाउन थाल्छन्। महिला होस् वा पुरुष किशोर अवस्थामा प्रवेश गरेसँगै विपरीत लिंगप्रति आकर्षण बढ्नु, शरीरबाट गन्ध आउनु स्भाविकै हो। किशोर अवस्थामा प्रवेश गरेका आफ्ना सन्ततिको लिंग र योनि स्खलनका विषयमा प्रायः अभिभावक गौण बसेका हुन्छन्। किशोर–किशोरी भने यौनका मामलामा पनि जिज्ञासु हुन्छन्। उनीहरुमा कौतुहल उत्पन्न हुन्छ।

आफ्ना अभिभावकलाई किशोरावस्थामा हुने उतारचढावका विषयमा किशोर–किशोरीले भन्न लाज मान्छन्। अभिभावकले पनि यस्ता विषयमा भन्न रुचाउँदैनन्। त्यसैले किशोर अवस्थामा प्रवेश गरेका व्यक्तिले साथीभाइ तथा अग्रज व्यक्तिसँग यौवनका विषयमा जिज्ञासा मेटाउने प्रयास गर्छन्। यसरी यौवन तथा यौनको विषयमा जिज्ञासा लिँदा पाइने (असल–खराब) ज्ञानले जीवनभर असर गर्छ।

स्वाभाविक रात्रि स्खलन
सुतेको समयमा सपदा देखिन्छ। सपनाको चरणमा पुरुषले लिंगबाट वीर्य स्खलन गर्नु र महिलाले योनिबाट चिप्लो पदार्थ निष्कासन गर्नु स्वाभाविकै हो। स्खलन हुने क्रियाकलापलाई रात्रिकालीन निर्गमन वा बहाव भनिन्छ। यसलाई ‘नाइटफल’ पनि भनिन्छ। दिउँसो सुतेको अवस्थामा यसरी स्खलन हुनुलाई दिवा स्खलन भन्न सकिन्छ।

सामान्यतः व्यक्तिको आँखाको चाल तिब्र (हल्का निद्रा) भएको अवस्थामा स्खलन हुन्छ। गहिरो निद्रा लागेको अवस्थामा स्खलन हुन्न। रात्रि वा दिवा स्खलन एउटै पक्रिया तथा अवस्था हो।

आकस्मिकरुपमा यौन जोडीसँग यौन क्रियाकलाप तथा यौन सम्पर्क गरेको सपना देख्दा पुरुषको लिंग ठडिने र महिलाको योनि खुम्चिने तथा फुक्ने प्रक्रिया हुनाले कामोत्तेजना आउँछ। जसको कारण निदाएको अवस्थामा स्खनल हुन पुग्छ। मस्तिष्कले निर्देशित गरेपछि यौन उत्तेजना हुने भएकाले स्खलन भएको अवस्था मस्तिष्कलाई थाहा हुन्छ। यो महिला–पुरुष दुवैमा हुने स्वाभाविक अवस्था हो।
पुरुषको स्खलन भएर व्युँझिएको अवस्थामा लिंग दह्रो भई कामोत्तेजनाले वीर्य स्खलन गर्छ।

हार्मोनको खेल
किशोरीहरुमा ‘गौण यौन विशेषता’ स्ट्रोजेनले ल्याउँछ। केही स्ट्रोजेनले महिला मस्तिष्क र बाहिरी महिला रुप तथा भित्री जनेन्द्रियको वृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्छ। यस्तै पुरुषको टेस्टोस्टेरोन हार्मोनले भित्री पुरुष जनेन्द्रियको विकास गराउँछ। ‘डिहाइड्रो टेस्टोस्टेरोन’ले पुरुष बाहिरी जनेन्द्रियको विकास गराउँछ। यसले पुरुष गौण विशेषताको वृद्धि–विकास गर्छ। पुरुष मस्तिष्कको वृद्धि–विकास हुनमा टेस्टोस्टेरोनको भूमिका अवस्य हुन्छ।

पुरुषको अण्डाशयमा मुख्यगरी ‘लेडिग’ र ‘सेरटोली’ गरी दुई किसिमका कोष हुन्छन्। लेडिगले शुक्रकिटको सृजना गर्छ भने सेरटोली कोषले टेस्टोस्टेरोनको निष्कासन गर्छ। पुरुषमा टेस्टोस्टेरोनको मात्रा उच्च हुँदा पनि रात्रि वा दिवा स्खलन हुन्छ। जसले व्यक्तिमा यौन उत्तेजना बढाउँछ।

प्राकृतिक प्रक्रिया
कहिल्यै पनि यौन सम्पर्क नगरेको व्यक्तिले यौन क्रियाकलाप तथा यौन सम्पर्क गरेको कल्पना गर्दा कल्पनाकै कारण स्खलन हुन्छ। मस्तिष्कले यौन क्रियाकलापलाई यथार्थमा परिणत गर्ने कोसिस गर्छ।
किशोरावस्थादेखि नै यौन सम्पर्क गरेको सपना देख्नु तथा स्खलन हुनु स्भाविक हो। लामो समयसम्म यौन सम्पर्क गर्न नपाउँदा वयस्क व्यक्तिमा अझ बढी स्खलन हुन्छ। स्खलित हुनु समस्या नभई प्राकृतिक प्रक्रिया भएकाले समस्याका रुपमा लिनु हुन्न।

अध्ययनअनुसार करिब ३३ प्रतिशत पुरुषले यौन सम्पर्क हुनुभन्दा अगाडि नै रात्रि स्खलनको अनुभव लिएका हुन्छन्। स्खलन हुनुको कारण, उच्च मात्रामा यौन हार्मोनको उतारचढाव हो। 

सुतेको समयमा यौनजन्य अंगमा रक्तसञ्चारको प्रवाह बढेको हुन्छ। जसले यौन उत्तेजना बढाउँछ। पुरुषको लिंग ठडिने र महिलाको योनि खुम्चने र फुक्ने प्रक्रियामा ‘नाइट्रिक अक्साइड’को भूमिका हुन्छ।

रात्रि स्खलन हुने एकिन कारण अहिलेसम्म पत्ता लागेको छैन। तर केही सम्बन्धित कारण पाइन्छन्। स्वप्न स्खलन दरमा वृद्धि हुनु, यौनजन्य क्रियाकलामपा कमी र यौनाङ्गमा चलाएर हस्तमैथुनको अभ्यास गरेर यौन उत्तेजनामा आउँदा स्वप्न स्खलन हुन सक्छ। स्खलन हुनु व्यक्तिको यौन चाहना, इच्छा, आकांक्षाको स्वप्न चित्र हो।

व्यक्तिमा यस्तो यौन तृप्तिको इच्छा तथा आकांक्षा आफू निद्राबाट ब्यूँझँदा स्वाभाविक रुपमा यौन अनुभूति र ज्ञानका रुपमा प्राप्त हुन्छ। स्खलन हुनु आनन्दमयी अवस्था हो। राति हुने यौन स्खलनले व्यक्तिमा आनन्दानुभूति प्राप्त हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment