शिल्पीमा ‘माधवी’

सोमबार, ३१ साउन २०७३, १० : १७ शुक्रवार , Kathmandu
शिल्पीमा ‘माधवी’

काठमाडौँ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा टंक चौलागाईं निर्देशित नाटक ‘माधवी’ मञ्चन भइरहेको छ । थिएटर प्रज्ञाले आफ्नो प्रस्तुतिको सुरुवात गर्दै ‘माधवी’ मञ्चन गरेको हो । भारतीय लेखक भीष्म साहनीले लेखेको नाटकलाई निर्देशक चौलागार्इंले नेपालीमा रूपान्तरण गरेका हुन् ।
साहित्यकार मदनमणि दीक्षितले पनि यही कथामाथि ‘माधवी’ पौराणिक उपन्यास लेखेका छन् । तर, चौलागाईंले साहनीको नाटक मञ्चन गरेका हुन् । ‘माधवी हिन्दू धर्मशास्त्र ऋग्वेदको एउटा पाटो हो,’ निर्देशक चौलागाईंले भने, ‘जसलाई मैले नेपाली नाटक बनाएर दर्शकलाई देखाएको छु ।’

‘माधवी’ नाटक एउटा क्लाइमेक्समा आएर टुंगिन्छ । जसले यसपछि के भयो होला भन्ने हुटहुटी दर्शकका मनमा जाग्छ । त्यसैले दर्शकहरू बाँकी कथालाई ऋग्वेद र दीक्षितको ‘माधवी’ उपन्यासमा खोज्न प्रेरित भएका छन् ।
चौलागाईं ‘माधवी’ नाटक आफैँ लेख्न मन भएको बताउँछन् । ‘ नाटक आफैँ लेख्ने मन थियो । तर, आफैँ लेख्दा तत्काल भनेजस्तो नहोला कि भन्ने डर लाग्यो । त्यसैले भारतीय लेखकको नाटकलाई अनुवाद गरेँ,’ चौलागाईंले भने ।
कथाकी मुख्य पात्र माधवीका रूपमा कलाकार अर्चना पन्थी छिन् । यायाति जीवन बराल बनेका छन् भने दिवोदासको भूमिकामा सरोज अर्याल देखिएका छन् । साउन ३१ गते सम्म चल्ने नाटकमा प्रदीप रेग्मी, किशोरकुमार चौलागाईं, राम केएसी, सविन कट्टेल आदि कलाकारले अभिनय गरेका छन् ।

 

Leave A Comment