कमेडी च्याम्पियन : र्‍यापदेखि ट्याक्सीसम्म

शुक्रबार, १० माघ २०७६, १० : ५० शुक्रवार
कमेडी च्याम्पियन : र्‍यापदेखि ट्याक्सीसम्म

कमेडी च्याम्पियनबाट आउट भएका दार्जिलिङका अनिल राई यस पटक रोस्ट गर्न कमेडी च्याम्पियनमा आए। प्रतियोगितामा भोटिङबाट आउट भएका उनी कमेडी च्याम्पियनमा मज्जाले हँसाएका थिए। अतिथि बनेर आएकी अभिनेत्री बसुन्धरा भुषालले उनको अभिनयसँगै कमेडी गर्ने शैली मन पराइन्।

भिटेनको नक्कल हिमेश
यस च्याम्पियनको दरिलो प्रतिस्पर्धी रहेका हिमेश र्‍यापर बनेर स्टेजमा देखिए। उनीसँगै कमेडी च्याम्पियनबाट आउट भएकी सञ्जु कटवालले र्‍यापमा हिमेशलाई सघाएकी थिइन्। हिमेशले आफूलाई जितेनको नाम दिएर र्‍याप हानेका थिए। उनले र्‍यापमा अहिलेको  युवापुस्ताको आईफोन मोहमाथि व्यंग्य कसेका थिए।

उनकी सहयोगी सञ्जुले तपाईंका र्‍याप सुनेर गाउँका चेलिबेटी पोइला गए रे नि भन्दा उनले लोकगीत सुनाएर फिर्ता ल्याए भइहाल्यो नि भन्दा दर्शकको हाँसो रोकिएन। उनको यो पन्च एकदमै राम्रो थियो। हिमेशलाई जज सन्तोषले एकदमै राम्रो विषयवस्तुमा हँसाएको बताए। उनको र्‍याप सुनेर रमाएका जज मनोजले पनि र्‍यापमै उनको प्रशंसा गरिदिए।

गौडेलको संगीत व्यंग्य
विष्णुप्रसाद गौडेलले यस पटक संगीत नबुझेकाले गायन स्कुल खोलेको कुरालाई व्यंग्यमा पस्किएका थिए। उनी एउटा हार्मोनियम बोकर स्टेजमा देखा परे। पालैपालो आफ्ना शिष्यलाई भोकल सिक्न बोलाउँदै उनले सुरमा गाउनका लागि रक्सी पिउन सुझाव दिएका थिए।

गौडेलले ल्याएका दुई चेलाले रीमातिर हेरे पछि यता हेर, उता नहेर तेरी भाउजू हो भन्दै रीमालाई नै उल्याइदिएको सिनले राम्रो प्रभाव जमाउन सफल भयो।

स्टेजमा ट्याक्सी
विभिन्न प्रतिस्पर्धीहरुले प्रस्तुति रोचक बनाउन विभिन्न प्रप्स प्रयोग गर्दै आएका छन्। यस पटक साजन श्रेष्ठले ट्याक्सी चालक बनेर उधुम हँसाए। यात्रुसँगको गफ गर्ने शैलीले दर्शकलाई खुब हँसाएका थिए उनले। क्षितिज केसी यात्रु बनेका थिए, जो आउट भइसकेका प्रतियोगी हुन्।  

बसुन्धराको चित्त दुखाई
अतिथि बसुन्धरा भुषालले कमेडी च्याम्पियनमा महिलाहरुको सहभागिता कम भएको र उनीहरु अघि बढ्न नसकेकामा चित्त दुखाइन्। उनले सहभागिता बढाउन सुझाव दिएकी छन्।

आफूले ६ दशक यही क्षेत्रमा गरेका सम्झँदै आफ्नो पुरानो पिन्चेपनलाई पनि देखाउन बिर्सिइनन्। उनले आफूलाई घरकाले आफू त बिग्रिई नै, दिदीबैनीसमेत नबिक्ने भए भनी खानुपरेको खप्की पनि सुनाइन्। मनोरञ्जन संसारमा छिर्दा घरको एउटा अण्डा फुट्यो भन्दै गर्दा माहोल हास्यबाट गम्भीर बन्न पुगेको थियो।

नारियाको हजुरबालाई तँ
एपिसोड १७ मा च्याम्पियनबाट बाहिरिएकालाई रिइन्ट्री गराइएको थियो। जसमा नारिया गिरी पनि परेकी थिइन्। स्टेजमा ‘पोइला जान पाम्’ गाउँदै प्रवेश गरेकी उनले ‘केटीहरुले एक महिना तीजमा दर खाए भनेर केटाहरुले रिस गरेको’ भन्दै केटाहरुले जनै पूर्णिमामा एक महिनादेखि नै जनै लगाए भइहाल्यो नि’ भन्दै हँसाउन खोजेकी थिइन्।

‘बाले होली खेल्न जाँदा इज्जत बचाएर आइज है’ भन्ने गरेको बताउँदै होलीको विकृतिमाथि नारियाले प्रहार गरिन्।

यसैगरी आउट भइसकेका मोहनराज क्षेत्रीले पुनः इन्ट्री गर्दा पान पसलमा मात्र केटीहरु नपाइने, अन्यत्र जहाँ पनि केटीहरु पसलमा बस्ने कथा सुनाएर हँसाए।

उनले डिस्को जाँदा आफ्नो गलफ्रेन्ड नलैजाने किनभने अर्काकी गलफ्रेन्ड पाइहालिन्छ नि भन्दा हलै गुञ्जायमान भएको थियो।

कैलाश कार्कीको प्रस्तुतिमा लुट्ने त र ठग्नेको यो देशमा काम छैन भन्दै लखेटेको दृश्य बडो रमाइलो थियो।

‘कलेज जाँदा जाने पैसा दिन्छन्, फर्कने पैसा दिँदैनन्,’ उनले चुट्किला सुनाउँदै भनेका थिए, ‘त्यस कारण आधाबाटोबाटै फर्कने गरेको छु।’

उनको अर्को टिप्पणी पनि रुचाइएको थियो। उनले भनेका थिए, ‘धेरैले पैसाले खुसी किन्न सकिँदैन भन्ने गरेका छन्। अरे यार पैसाले नै खुसी (केटीसाथी) लाई घरमा ल्याउन सकिन्छ। कसले भन्छ, खुसी ल्याउँदैन ?’

अर्का प्रतियोगी गणेश राईले सँगै पढेको साथी अस्ट्रेलिया गएको र उतै कुचो लगाउने जागिर पाएको कुरालाई कन्टेन्ट बनाएका थिए। ‘अलिक पढेको भए त भाँडा नै मस्काउन पाउने रहेछ नि !’ भन्दा हाँसो छाएको थियो।

उनको प्रस्तुतिलाई भने जज सन्तोष र मनोजले रुचाएनन्। क्यरिकेचर जानेको, कन्टेन्ट पनि भेला गर्न जान्ने तर प्रस्तुति गर्न नजान्ने भनी उनले खप्की खाए।

आमा सम्झेर स्टेजमै रोइन् ऋचा
प्रतियोगी गणेश राईले जज ऋचालाई स्टेजमा गिफ्ट दिने भनेर बोलाए। स्टेजमा आएकी ऋचाले गिफ्ट हातमा लिएपछि भने रुन थालिन्। गणेशको गिफ्टमा ऋचा र उनकी आमाको तस्बिर थियो। गणेशले आफ्नै हातले बनाएकाले विशेष बन्न पुग्यो। ऋचाकी आमाको देहान्त भएको दुई हप्ता भइसकेको छ। ऋचा रोएपछि रीमाले सम्हालेकी थिइन् भने जज मनोजले सम्झाएका थिए।

Leave A Comment