‘लेखेको पाइन्छ देखेको पाइँदैन,’ ‘आफ्नो भाग्य उस्तै कस्लाई के भन्नु र ?’ आदि नेपाली समाजमा चलेका भाग्यसम्बन्धीका उखानहरु हुन्। अझै पनि नेपालीहरु भाग्यमा विश्वास गर्छन्। ज्योतिषीलाई चिना देखाउँछन्। भविष्यमा के हुन्छ भनी जान्न चाहन्छन्।
भाग्यवादी सोचको कटु आलोचना गर्दै ‘नेपालको मानवशास्त्रीका पिता’ भनेर चिनिने प्राध्यापक डोरबहादुर बिष्टले सन् १९९० मा ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ पुस्तक प्रकाशन गरे। आलोचना र प्रशंसाका बाबजुद पुस्तक निकै चर्चित भयो। अहिले पनि यो पुस्तकको एक तप्कामा उस्तै आलोचना र समर्थन भइरहेको छ। हालै अनुवादक वसन्त थापाले यस पुस्तकलाई नेपाली अनुवाद गरेका छन्, ‘भाग्यवाद र विकास’को नाममा।
सन् १९९५ मा जुम्ला गएका बिष्ट कहाँ हराए, अत्तोपत्तो छैन। उनी हराएको पनि दुई दशक नाघिसक्यो। तर उनले छोडेर गएका पुस्तकहरु अझै पनि चर्चालायक छन्।
पुस्तकमा थोरै नेपालीको इतिहास, अनि धेरै नेपालीको सोच व्यवहार, काम गर्ने व्यहोरा, तत्कालीन शासकहरुको रवैयाबारे पुस्तकमा उल्लेख छन्। आठ अध्याय रहेको यस पुस्तकमा नेपाली समाज र शासकको व्यवहारलाई मिहिन ढंगले त केलाएका छन् नै सँगैमा बाहुनवादको पनि चर्काे आलोचना गरेका छन्। नेपालको विकास नहुनुमा भाग्यवादी सोच र काम नगर्ने बाहुनवादी क्रियाकलाप रहेको उनको निक्र्योल छ।
त्यसो त पुस्तक पढ्दै जाँदा ब्राह्मणहरुमाथि एकोहोरो खनिएको महसुस त हुन्छ नै तर उनले त्यसलाई पाँडे गालीको स्तरमा राखेका भने छैनन्। उनका कुरा पढ्दा पाठक त्यसमै सहमत हुन्छन्।
‘राणाहरुले आफू र आफू नजिककालाई श्रेय दिन्थे,’ भन्ने बिष्टको परिचय र औँल्याएको प्रवृत्ति अहिले पनि देखिन्छ। नेतृत्वमा पुगेकाले अथाह सम्पत्ति जोड्नु, अवसर आएको खण्डमा आफ्नालाई मात्र प्राथमिकता दिनुजस्ता राणाकालीन चरित्र अहिलेका नेतृत्व वर्गमा अझै पनि छ भन्ने टड्कारो महसुस पुस्तकले गराउँछ।
नेपालको विकास नहुनुमा चाकरी प्रथा मुख्य देख्ने उनी भन्छन्, यो नहटाई मुलुकको विकास हुँदैन। तर वाग्मतीमा धेरै पानी बग्यो। देशकै शासन व्यवस्था एकतन्त्रीय राजतन्त्र हटेर संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक पुगिसक्यो तर मुलुकले सोचे जति प्रगति गर्न सकेको छैन। चाकरी प्रथा राणा, राजा हुँदै राजनीतिक दलहरुका शीर्ष नेताहरुको घरघरमा पुगेको पुस्तकले छर्लङ्ग बनाइदिन्छ। गएको साता मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामको प्रशंसा गर्ने मन–मुटु नभएका सम्पादक भनी गुनासो गरेका थिए। यसैबाट शासन व्यवस्था र व्यक्ति फेरिए पनि चाकडी चाहने नेतृत्वको सोच फेरिएको छैन भन्ने पुष्टि हुन्छ।
शिक्षाबारे टिप्पणी गर्दै विष्टले शिक्षा आर्जन गरेर हैसियत प्राप्त गर्ने, उत्पादनसँग नजोडिने, हुनेखानेले मात्रै शिक्षा आर्जन गर्न सक्ने स्थिति रहेको उल्लेख गरेका छन्। सन् १९९० अघिको नेपालको शैक्षिक नीति र अहिलेको नीति पनि उस्तै छ। हुने खाने र हुँदा खानेले लिने शिक्षामा आकाश जमिनको फरक छ। हालै आफूलाई समाजवादी भन्न रुचाउने सरकारले ल्याएको राष्ट्रिय शिक्षा नीतिमा निजी क्षेत्रलाई नै पोस्ने नीतिले गरिबका लागि गुणस्तरीय शिक्षा आकाशको फल आँखा तरी मर भने जस्तै भएको छ।
‘पृष्ठभूमि’ अध्यायमा विष्टले लिच्छवीकालदेखि हालसम्मको नेपालीहरुको धर्मको अर्थ कुनै एक धर्म मान्नु मात्र नभई धर्म मान्नुको अर्थ कर्तव्य, सदाचार, नैतिकता, नियम, गुण र पवित्र कार्यहरु रहेको नेपालीहरु ११ औं शताब्दीमा शंकाराचार्य आउनुभन्दा अघि झाँक्री, शैव, बौद्ध, तान्त्रिक र वैष्णव रहेको उल्लेख गरेका छन्। भाग्यवादको मूल जरो हिन्दू धर्म रहेको उनको ठम्याइ छ। त्यो पनि भारतबाट आयातित भएको उनको बुझाइ छ।
राणा शासकको दूरदृष्टि अभावको खरो आलोचना गरेका बिष्टले नेपालीलाई ब्रिटिस सेनामा भर्ना गर्न प्रोत्साहित गरेकोमा नेपाल राज्यप्रति बफादारी र देशभक्तिको भावना वृद्धि गर्न खासै अभिप्रेरित नगरिएको उल्लेख गरेका विष्टले नेपाल कसैको औपनिवेश नभएको कारण ‘...भौतिक विकासको पूर्वाधारको अभाव खेप्नुपरेको छ’ भनि लेखेका छन्।
अघिल्लो पृष्ठमा ब्रिटिस सेनामा नेपाली पठाउने कार्यलाई राष्ट्रहितको विपरीत देख्ने उनले अर्काे पानामा औपनिवेशिक नभएकै कारण भौतिक पूर्वाधार अभाव खेप्नुपरेको भन्ने भनाइ आफँैमा विरोधाभाषपूर्ण छ। उनले खोजेको राष्ट्रियताको धारणा के हो बुझ्न कठिन छ। विकास हुनलाई शासन चलाउने शासकको इच्छा आकांक्षामा र कामप्रतिको इमान्दारितामा भर पर्ने कुरा हो कि कसैको औपनिवेशिक हुनुपर्ने हो ? प्रश्न उठ्नु स्वाभाविक हो किनभने विश्वमा औपनिवेशिक नभएका विकसित राष्ट्रहरु पनि उत्तिकै छन्।
दोस्रो अध्याय ‘नेपालको जात प्रथा’ मा नेपालमा पहाडको तुलानामा तराईमा जात प्रथा उति नराम्रो नभएको उल्लेख गरेका छन् तर अहिले अवस्था फेरिएको छ पहाडमा भन्दा तराईमा दलितको अवस्था दयनीय छ।
उनले नेपालको अरु ठाउँ हेरी गण्डकी प्रदेशका जनता आफ्नै बलबुतामा केही गर्न खोज्ने भाग्यवादमा कम विश्वास गर्ने उल्लेख गरेका छन्। अहिले गण्डकी प्रदेशको शैक्षिक उन्नति र आम्दानी हेर्ने हो भने पनि यो कुरा पुष्टि हुन्छ।
बिष्टले यसै अध्यायमा नेपालमा जात प्रथा कट्टर रुपमा नरहेको ऐतिहासिक तथ्यहरु उल्लेख गरेका छन्। कट्टर जात प्रथा नरहेकै कारण हुन सक्छ २०६२/६३को जनआन्दोलनपछि भएका जातिवादी आन्दोलनहरु दरो गरी उठ्न सकेनन्। तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी हुनुभन्दा केही समय पहिले पहिचानवादीहरु सडक आउनुप¥यो भन्दा पनि खासै प्रभाव परेन। सायद कट्टर जात प्रथा भएको भए खुला समाज हुँदै गरेको नेपालको स्थिति छुट्टै हुन सक्थ्यो।
‘परिवार संरचना र बाल्यकालको सामाजिकीकरणमा’ उनले नेपाली बालबालिकालाई कसरी परनिर्भर बनाउँदै हुर्काइन्छ, छोराछोरीबीचको विभेद कस्तो छ भन्ने बारेमा मिहिन तरिकाले केलाएका उनले जातअनुसार महिला हिंसा हुने उल्लेख गरेका छन्। अहिले नेपाली पारिवारिक संरचना बदलिने क्रममा छ। हिजो हुने महिला हिंसा र अहिले हुने महिला हिंसामा हिंसाको तरिका फरक भए पनि अन्त्य भएको छैन। वंश र अंशमा महिला अझै पनि दोस्रो दर्जामै सीमित छन्। यस अध्यायमा विष्टले छोरी हुर्काउँदा र छोरा हुर्काउँदा गरिने फरक व्यवहार मिहिन ढंगले केलाएका छन्।
सरकारी कर्मचारी कामभन्दा पनि बढी ऐशआराम खोज्ने देखेका बिष्टले १९९० अघिको नभई अहिलेकै कर्मचारीको व्यहोरा लेखेका हुन् कि भन्ने भान हुन्छ।
कार्यालय समयमा कार्यालयमा नहुनु, हाजिर चप्काउनु, सेवाग्राहीबाट अतिरिक्त असुलउपर गर्नु कामभन्दा बढी विषयवस्तु बाहिरको गफमा समय बिताउनु अधिकांश सरकारी कर्मचारीको दिनचर्या रहेको छ। विष्टको भनाइ छ, ‘जब कामलाई महत्व दिइँदैन समयको ख्याल गरिन्न तबसम्म देशको विकास हुँदैन।’
वैदेशिक सहयोग आएको उति धेरै जिम्मेवारी वहन नगर्ने भाग्यमा विश्वास गर्ने नेपालीको बानीको कारण विकास नभएको निक्र्योलमा पुगेका विष्टले निरंकुश पञ्चायतको समर्थन र दलीय व्यवस्थाको विरोध गरेका छन्। सत्य के पनि हो भने शासक जस्तो चाहन्छ शासितले आफू सुरक्षित हुन शासकले भनेबमोजिम गर्छ। यसका बाबजुद सरकार र तत्कालीन समाजको नीति नियमलाई चुनौती दिने एक तहको तप्का भने रहिरहन्छ। यसबारे पुस्तक भने पूरै मौन छ।
बिष्टले किताबमा नेपालीहरु जिम्मेवारी नलिने, दोषजति अरुलाई थोपर्ने बानी भएका भनेर चित्रित गरेका बिष्टले नेपालीको आर्थिक विकास नहुनु भाग्यवाद र बाहुनवादतिर मिल्काई असल तरिकाले शासन सञ्चालन हुने अन्य तत्वहरु शासन व्यवस्था, शासकको मनोविज्ञान आदिलाई लुकाएर दोष जति दुई कुरामा मात्र थुपारेर अन्य कारणलाई नजरअन्दाज गरेका छन्।
समग्रमा यस पुस्तकले नेपालीहरुको गहिरो मानवशास्त्रीय विश्लेषण भएको मान्न त सकिन्छ तर बिष्टले दाबी गरेका कुरा सबै सत्य नै हुन् भन्ने निष्कर्षमा पुग्न भने सकिन्न।
Leave A Comment