युट्युबले टेलिभिजन संकटमा

शनिबार, ११ माघ २०७६, १२ : २० सुरज खड्का
युट्युबले टेलिभिजन संकटमा

केही समयअघि रामशुभक महतोले एभिन्युज टेलिभिजनबाट राजिनामा दिए। टेलिभिजन पत्रकारितामा लामो समय बिताएका महतोले देशकै चर्चित टेलिभिजन छाडेर युट्युबमा च्यानल खोलेका छन्, साझा कथा नाउँमा। उनले यस च्यानलका लागि क्यामेराम्यान, दृश्य सम्पादक, रिपोर्टर लगायतका सात जनाको भ्याकेन्सीसमेत घोषणा गरे। आउँदो माघ १६ देखि साझा कथामा भिडियो अपलोड हुँदैछ।

एभिन्युज तथा न्युज २४ लगायतका टेलिभिजनमा दशक बढी समय बिताइसकेका महतो अपराध र खोजमूलक रिपोर्टका परिचित छन्। उनी टेलिभिजन छोडेर किन युट्युब च्यानलतर्फ आकर्षित भए त ?

उनले एक वाक्यमै यसको जवाफ दिए, ‘नेपाली टेलिभिजन सञ्चालकले दर्शकको पछिल्लो रुचि र मागलाई सम्बोधन गर्न सकेनन्। त्यसैले विकल्प खोज्नुबाहेक केही उपाय छैन।’

समाचार च्यानलहरु स्थापनाकालमा जुन फ्रम्याटमा थिए, अहिले पनि उस्तै शैलीमा चल्न खोज्नु भनेको दर्शकको नजरमा ‘आउटडेटेड’ हुनु रहेको महतो बताउँछन्।

टेलिभिजनमै करियर बन्नेमा कत्ति पनि विश्वस्त हुन नसकेपछि नयाँ मिडियाको रुपमा उदाएका युट्युब च्यानल र अनलाइनतर्फ ठूलो संख्यामा पत्रकारहरु पलायन भएको महतोको भनाइ छ।

महतो मात्र होइन, यो सूचीमा बिबिसीले उत्पादन गर्ने साझा सवालजस्तो लोकप्रिय कार्यक्रमकी प्रस्तोता विद्या चापागाईंदेखि नामै नसुनिएका नयाँ पुस्तासमेत छन्।

यसैगरी एफएम, छापा पत्रकारिता हुँदै टेलिभिजन छिरेका विश्व लिम्बुले पनि पछिल्लो समय मेरो अनलाइन टिभीलाई युट्युबमार्फत पस्किरहेका छन्। उनले यस च्यानलमा विभिन्न समसामयिक विषयवस्तुमा अन्तर्वार्ता पस्किरहेका छन्। उनको च्यानल सब्सक्राइबर १० लाख पुग्न लागिसकेको छ।

लिम्बु कान्तिपुर टिभीको जागिर छोडेर युट्युब र अनलाइनमा सक्रिय भएका हुन्। कान्तिपुर टेलिभिजनमै छँदा गायक राजेश पायल राईको एउटा अन्तर्वार्ता ट्रेन्डिङमा परेपछि उनको च्यानलको सब्सक्राइब र आम्दानी बढ्दै गयो। युट्युबमा आकर्षक आम्दानी देखेपछि उनले जागिर छोडेर आफ्नै केही काम गर्ने निर्णयमा पुगेका हुन्।

लिम्बु भन्छन्, ‘न्यु मिडियामार्फत मैले झन् धेरै दर्शक र आम्दानीको दायरा पनि फराकिलो बनाउन सकेँ।’
आफ्ना हरेक कन्टेन्टले राम्रै भ्युज पाउने गरेकोमा उनलाई सन्तोष छ। युट्युबबाटै गरेको कमाइले जग्गा जोडेको र गाडी चलाएर हिँड्न सक्ने अवस्थामा पुगेको उनले बताए। साथै, युट्युबमा कार्यक्रम चलाएरै विभिन्न समस्यामा परेकालाई एक करोड रुपैयाँभन्दा बढी सहयोगसमेत जुटाउन सफल भएकोमा उनी गर्व गर्छन्।

यी दुई त प्रतिनिधि पात्र मात्रै हुन्। अहिले युट्युबमा स्वतन्त्र रुपमा विभिन्न कन्टेन्ट बनाउनेको संख्या हजारभन्दा बढी छ। युट्युब श्रव्यदृश्य माध्यम भएका कारण अहिले एफएम र टेलिभिजनमा काम गर्ने धेरै पत्रकारको गन्तव्य युट्युब हुन थालेको छ। राम्रो कन्टेन्ट बनाएको खण्डमा र राम्रो भ्युज जाँदा कतिपयले एफएम वा टेलिभिजनमा एक वर्षमा हुने आम्दानीभन्दा बढी एक दुई महिनामै आर्जन गर्न पनि सफल भएका छन्।

किन घट्यो टिभीमा आकर्षण ?
कुनै समय टेलिभिजनमा काम गर्नु धेरैका लागि आकर्षक जागिर थियो। जो कोहीलाई टेलिभिजनमा जागिर पाउनु असम्भव जस्तै थियो। तर आज टेलिभिजनको त्यो आकर्षण हराइसकेको छ।

कुनै सामान्य मानिसलाई समेत रातारात स्टार बनाउन सक्ने टेलिभिजन किन आज यो अवस्थामा पुगे त ?
करिब दुई दशक पत्रकारिता गरेका मनोज श्रेष्ठ टेलिभिजन यस्तो अवस्थामा आइपुग्नुमा धेरै कारक तत्व रहेको बताउँछन्। ‘टेलिभिजनमा भविष्य बनाउन खोज्नेहरुको आकर्षण घट्नुको मुख्य कारण आर्थिक पाटो नै हो,’ उनले शुक्रवारसँग भने, ‘एकाध टेलिभिजन छोडेर नेपालका अधिकांश टेलिभिजनमा पारिश्रमिक विकराल समस्या बनेको छ। कतिपय टेलिभिजनले त आठ महिनासम्म कर्मचारीलाई पारिश्रमिक दिन नसकेको उदाहरण छ। र, अझै पनि अधिकांश टेलिभिजनमा यो समस्या जस्ताको तस्तै छ। यही कारण अहिले हरेक टेलिभिजनबाट दिनहुँजस्तो जागिर छोड्नेहरुको संख्या बढिरहेको छ। फलानो टेलिभिजनसँगको यति वर्षको यात्रा आजबाट टुंगिएको छ टाइपका फेसबुक स्टाटस हरेक दिनजस्तो देख्न सकिन्छ।’

स्थापनाकालदेखि नै पारिश्रमिकको विषयमा बदनाम हुँदै आएको एउटा टेलिभिजनको उदाहरण हेर्ने हो भने अहिले टेलिभिजन छोड्नेहरुको हुल कस्तो छ भन्ने प्रस्टै हुन्छ। उक्त टेलिभिजनमा कार्यरत करिब ३० जनाभन्दा बढीले गएको दसैंयता मात्रै जागिर छाडिसके। ‘यो उदाहरणबाटै पनि स्पष्ट हुन्छ, अहिले टेलिभिजनको अवस्था कस्तो छ !’ श्रेष्ठ भन्छन्।

म्यानपावर क्राइसिस
हुलका हुल पत्रकारले टेलिभिजन छाडेपछि अहिले नेपालका हरेक टेलिभिजन ‘म्यानपावर क्राइसिस’मा छन्। टेलिभिजन छोड्नेहरुको लर्को एकातिर छ भने जतिसुकै भ्याकेन्सी घोषणा गरे पनि कर्मचारी नपाइने समस्या पनि उत्तिकै छ। धेरै टेलिभिजनले भ्याकेन्सी निकाले पनि काम गर्न चाहनेहरुको आवेदन शून्यजस्तै हुने गरेको छ। भ्याकेन्सी निकालेपछि टेलिभिजनको मानव संशाधन विभागमा तनाव सुरु हुन थाल्छ। आवेदन नै नपरेपछि मानव संशाधन विभागले टेलिभिजनमा कार्यरत कर्मचारीलाई भनसुन गरेर आफूले चिने जानेकालाई आवेदन दिन लगाउनुस् न भन्नुपर्ने बाध्यता रहेको एक चर्चित टेलिभिजनकी मानव संशाधन अधिकृतले बताइन्।

तालिम केन्द्र बन्दै टेलिभिजन
पछिल्लो समय टेलिभिजनहरु नयाँ पुस्ताका लागि तालिम केन्द्रजस्तो बन्न थालेका छन्। एक त टेलिभिजनमा नयाँ कर्मचारी पाउनै सकस छ, पाइहाले पनि टिकाउन उस्तै मुस्किल भएको महतो बताउँछन्।

‘नियमित पारिश्रमिक नपाउनु त छँदै छ, त्यसमाथि एउटा रिपोर्टका लागि गर्नुपर्ने कडा परिश्रम र बिताउनु पर्ने लामो समयका कारण पनि टेलिभिजनमा आउने नयाँ पुस्ताले टेलिभिजनकर्ममा ‘इन्जोय’ गर्न सकिरहेका छैनन्,’ महतो भन्छन्।

त्यसैले टेलिभिजनमा काम गर्न कोही आइहाले उसको एक मात्रै उद्देश्य अनुभव बटुल्ने र टाप कस्नु रहेको महतोको अनुभवले बताएको छ।

‘अहिले धेरै टेलिभिजन हेर्नुपर्छ केही समय काम गरेर अलिअलि सिकेपछि कामदार विभिन्न बहाना बनाएर टेलिभिजनबाट बाहिरिने हतारोमै हुन्छन्,’ लिम्बु भन्छन्। यसरी टेलिभिजन छोडेका अधिकांशको शरणस्थल न्यु मिडियाको रुपमा उदाएको अनलाइन र युट्युब रहने गरेको छ।

पुराना छिमलका टेलिभिजन पत्रकारहरु भने टेलिभिजन छोडेपछि प्रोडक्सन हाउस खोल्छन्। टेलिभिजनमा छँदा बनाएको ‘पिआर’लाई प्रयोग गर्दै धेरै प्रोडक्सन  हाउसले वृत्तचित्र, टेलिभिजन कार्यक्रम, इभेन्ट, विज्ञापन लगायतका काममा आबद्ध हुने गरेका छन्। टेलिभिजनकै जस्तो तर आफ्नो इच्छाअनुसार र आम्दानी पनि ठिकै हुने भएकाले टेलिभिजनमा लामो समय बिताएकाहरु अहिले प्रोडक्सन हाउसमा व्यस्त हुन थालेका छन्।

प्रोडक्सन हाउसबाहेक विभिन्न अनलाइन मिडियामा जानेको संख्या पनि कम छैन। धेरै अनलाइन मिडियाले अहिले टेलिभिजनको तुलनामा निकै राम्रो पारिश्रमिक दिने गरेका छन्। त्यसैले पनि टेलिभिजनबाट बाहिरिनेहरुका लागि अहिले अनलाइन मिडिया भरपर्दो सहारा बनेका छन्।

यसबाहेक युट्युबमा कन्टेन्ट बनाएर बेच्ने पनि प्रशस्तै छन्, टेलिभिजन छाडेपछि। त्यस्तै कतिपय भने पत्रकारिताको अनुभवको आधारमा विभिन्न संघसंस्थामा मिडिया कोअर्डिनेटरको रुपमा समेत आबद्ध हुन थालेका छन्।

पत्रकारको आकर्षण किन युट्युबमा ?
करिब चार वर्षयता नेपालमा युट्युबको क्रेज निकै बढेको छ। युट्युबबाट पैसा आउँछ भन्ने सुन्दै आए पनि यही आधा दशकको अवधिमा ठूलो संख्यामा पत्रकारहरु पलायन भएका हुन्। पाँच लाखभन्दा बढी सब्सक्राइबर भएका युट्युब च्यानलले कन्टेन्टको भ्युज राम्रो गएको अवस्थामा महिनामा तीन लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्छन्। तर युट्युबमा गरिनेभन्दा बढी मिहिनेत गर्दा पनि टेलिभिजनमा २० हजार रुपैयाँको हाराहारीमा पारिश्रमिक पाइन्छ। ‘त्यो पनि कहिले आउँछ, ठेगान नभएपछि टेलिभिजनमा पत्रकार टिक्न नसकेका हुन्,’ लिम्बुको भनाइ छ।

Leave A Comment