नयाँ पुस्ताकी कलाकारमा आशालाग्दो अनुहारमध्येमा रेबिका गुरुङ पनि एक हुन्। विज्ञापन मोडलिङ हुँदै अभिनयतर्फ आकर्षित उनले बेलायती भिसा नपाएपछि डेब्यु फिल्म ‘लिलिबिली’ छुट्यो। ‘मारुनी’मा आफ्नो कौशल देखाउन सफल उनले हालै ‘म’मा अभिनय गरेकी छन्। महोत्सव लक्षित सो फिल्मबाट राम्रो प्रतिक्रियाको अपेक्षा गरिरहेकी उनै रेबिकासँग शुक्रवारकर्मी भोला अधिकारीले गरेको अन्तरंगः
हेर्दा त तपाईं गुरुङ देखिनु हुन्न नि ?
मेरी आमा कल्पना खतिवडा र बुबा रमेश गुरुङको लभ म्यारिज हो। मेरै हजुरबुबा गुरुङ भइकन क्षेत्रिनीसँग बिहे गर्नुभएको थियो। मिक्स ब्लड भएकोले म गुरुङ्सेनीजस्ती नदेखिएकी हुँला।
फिल्म खेल्ने रहर चाहिँ कहिलेदेखिको हो नि ?
रहर त मेरो बच्चैदेखिको हो। सानैमा हिन्दी सिरियल र फिल्मबाट प्रभावित भइन्थ्यो। त्यसका हिरोइनहरुले राम्रा कपडा, गहना लगाएको देख्दा मलाई पनि टिभी र फिल्ममा त्यसरी नै देखिने इच्छा हुन्थ्यो।
अनि ?
मेरो मामा विकास खतिवडा फेसन फोटोग्राफी गर्नुहुन्थ्यो। म उहाँसँगै हिँड्थेँ। मलाई त्यहाँको वातावरण खुब मनपथ्र्यो।
मामा फेसन फोटोग्राफर भएको फाइदा पाउनु भएन त ?
पाउन त पाएँ तर तपाईंले भनेजस्तो चाहिँ पाइनँ। मामासँग फोटोसूटमा हिँड्दा मलाई धेरैले क्युट भन्थे। अनि त बिस्तारै विज्ञापनमा खेलेँ। तर मामाका कारण अञ्जानवश नै मैले ग्ल्यामर उद्योगका धेरै कुरा सिक्ने/बुझ्ने मौका पाएँ।
कस्ता विज्ञापनमा काम गर्नुभयो त ?
दुई वटा टेलिभिजन विज्ञापन र तीन वटा पेपर एड गरेँ। खासगरी टेलिभिजनमा देखिन थालेपछि नोटिस गर्न थाल्नुभयो।
फिल्म खेल्ने रहर चाहिँ कसरी पूरा भयो त ?
फिल्ममा खेल्ने रहरले मात्र हुनेवाला थिएन। पढाइ छोडेर त्यता लाग्ने कुरा पनि भएन। जसको घरमा पनि परिवारको फोकस पढाइ नै हुन्छ। त्यही टेलिभिजन विज्ञापन हेरेर ‘लिलिबिली’मा अफर आयो। स्टारकास्ट पनि राम्रो थियो। कुनै ट्राई नै नगरी निर्देशक मिलन चाम्सले खोज्दै आउनुभएको थियो।
तर ब्याडलक ! ‘लिलिबिली’मा काम गर्ने अवसर नै पाउनु भएन !
फिल्मको अफर त आयो तर सुटिङका लागि लण्डन जानु पथ्र्यो, भिसा लागेन। दुई पटकसम्म भिसाको प्रोसेस गर्दा पनि नदिएपछि दिक्क लाग्यो। (निर्देशक) मिलन (चाम्स) दादाले त फेरि ट्राई गर, तीन पटकसम्म कसो नलाग्ला भन्दै हुनुहुन्थ्यो तर त्यो बेलासम्म मेरो मनै मरिसकेको थियो।
तेस्रो ट्राई गरेको भए लाग्थ्यो कि ?
हैन, पहिला ममा जुन ऊर्जा थियो, पछि त मरिसकेको थियो। मिलन दादाले ठीकै छ, अर्को पटक फेरि काम गरौँला भन्नुभयो।
दुई वटा फिल्ममा अभिनय गरिसक्नुभयो। फिल्म क्षेत्र कस्तो लाग्यो त ?
मैले त सोचेभन्दा फरक नै पाएँ। फिल्म क्षेत्र राम्रै हो। स्ट्रगल गरेर म फिल्ममा आएकी होइन। तर यति छोटो समयमा मैले के बुझेँ भने फिल्म उद्योगमा बढी नै राजनीति हुँदोरहेछ।
भन्नाले ? कस्तो राजनीति ?
हेर्नुस्, म ओपन छु। जे देख्छु, त्यही भन्छु। फिल्मका बारेमा बोल्दा कसैले केही भन्लान् कि भन्ने डर पनि लाग्दैन। कसैले केही सोच्ला भन्ने पनि सोच्दिनँ। यहाँ पोलिटिक्स गर्न जान्यो भने उसका लागि फिल्म क्षेत्र राम्रो हो। खेल्न नसके दुभाग्र्य। हामी जस्ता सोझा र सिधा मान्छेका लागि त्यति राम्रो लागेन।
किन नि ?
यहाँ त ट्यालेन्टको कदर नहुँदोरहेछ। कसैले आफ्नो छोरीलाई भित्र्याउने, कसैले गलफ्रेन्ड भित्र्याउने रहेछ। मेकिङमा भन्दा पनि आफन्त घुसाएकै भरमा फिल्म चलाउन खोज्ने देखेँ। यही कारण पनि फिल्म उद्योग दिनप्रतिदिन ओरालो लागेको हो।
छोरी र गलफ्रेन्डको कुरा गर्नुभयो, त्यस्ता को–को रहेछन्, हामी पनि थाहा पाऔँ न !
मैले सबै भनिरहन पर्ला र ? दिनहुँ त समाचारमा आइरहेकै छ नि ! त्यस्ता समाचारमा चाख हुनेले बुझ्नुहुन्छ।
तपाईं त आफ्नै पहिलो फिल्मको प्रचारमा पनि देखिनु भएन, कतै त्यही कुरामा त पोलिटिक्स भन्नु भएको होइन ?
बल्ल लाइनमा आउनुभयो। पहिलो फिल्म ‘मारुनी’मा मलाई पनि रहर थियो होला ! मलाई पनि सार्वजनिक कार्यक्रममा देखिने, बोल्ने, केही भन्ने मन थियो होला ! तर मलाई भेदभाव गरियो। प्रचारका लागि जाऊ भनिएन। यो पोलिटिक्स नभए के हो त ?
ए ! बडो अन्याय भएछ त !
मेरो आफ्नो काम भएको बेला बोलाइदिने, कामै नभएको बेला नबोलाउने ! उहाँहरुले नबोलाउनु भएको त हैन है ! तर म ज्यादै व्यस्त भएको बेला बोलाइदिने, अनि कसरी हुन्छ ? खासमा त उहाँहरुले मलाई अगाडि ल्याउन नै खोज्नु भएन भन्ने मलाई लाग्छ।
पुनम इन्टरटेन्मेन्टले आफ्नो प्रोडक्टभन्दा पनि आफैँलाई बिकाउन खोज्नुभयो। अनि, उहाँहरुले त मलाई आफू अन्डरमा मात्र राख्न खोज्नुभयो। फिल्म चल्न लाग्यो, कहाँ फिल्मको प्रचार छ, कलाकार कहाँ जाने, के गर्ने केही थाहा दिइएन। यस्तो पनि हुन्छ ?
तपाईंलाई ‘मारुनी’ टिमले उपेक्षा नै गरेको हो त ?
फिल्म रिलिज हुने बेलामा कहिल्यै नाम नसुनेका मिडिया, युट्युब च्यानलतिर पठाउने काम गरियो। अनि, राम्रा–राम्रामा चाहिँ आफैँ जाने र बोल्ने गरियो। यसमा निर्देशक नवल नेपाल, पुष्प खड्का र साम्राज्ञी लक्ष्मीको गल्ती छैन। जसले कार्यक्रम म्यानेज गर्नुहुन्थो, उहाँले नै मलाई पाखा लगाउनुभएको हो।
भनेपछि तपाईं त पूरै अन्यायमा पर्नुभएछ !
हो, यस कुरामा चाहिँ ममाथि अन्याय भएकै हो। फिल्ममा म, पुष्प अनि साम्राज्ञी मुख्य कलाकार हौँ। तर पोस्टर हेर्नुभयो भने मलाई देख्नुहुन्न। म त एउटा नयाँ मान्छे। एउटा सपना बुनेर आएकी थिएँ। उहाँहरुको सानो सहयोगले मेरो करियरै अर्को हुने थियो। म त घरबाट कलेज अनि कलेजबाट घर गर्ने बच्चा न हुँ ! मान्छेको एउटा प्यासन हुन्छ। यस्तो व्यवहारका कारण त्यो प्यासन मर्दै जाने रहेछ ! यस्तो भेदभावले मस्तिष्कमा गहिरो असर पार्छ र मान्छे फस्ट्रेड हुँदै जाने रहेछ।
तपाईंलाई त खानेकुरामा पनि भेदभाव गरियो रे भन्ने सुनिएको थियो। खासमा कुरा के हो त ?
सही सुन्नु भयो। खानामा पनि भेदभाव भएकै हो। कोहलपुरमा सुटिङ हुँदा खाना खाने बेलामा जब होटलमा आइन्थ्यो, त्यहाँको वातावरण नै बेग्लै हुन्थ्यो। सबैभन्दा सानी मान्छे म नै थिएँ। नवल सरले खाना खायौ ? खाजा खायौ ? भनेर ड्याडी जसरी नै केयर गर्नुहुन्थ्यो। उहाँले नसोध्नु भएको भए त खान पनि पाइन्नथ्यो होला !
तर जे होस्, ‘मारुनी’मा तपाईंको अभिनयको त निकै तारिफ भयो नि ?
अँ, धेरैले रेबिकाको अभिनय राम्रो छ भन्नुहुन्थ्यो। तर मेरो कमजोरी मैलाई थाहा हुन्छ नि ! अर्को फिल्ममा यहाँ यसरी सुधार्नुपर्छ भन्ने त लागेको छ।
पहिलो फिल्ममा अभिनय कत्तिको सहज महसुस भयो ?
म त आफूलाई लक्की ठान्छु। किनभने लक्की भएरै नवल सर, क्यामेरामेन सञ्जय सरसँग काम गर्न पाएँ। उहाँहरुले मलाई कहिले पनि अप्ठेरो फिल हुन दिनु भएन। नवल सरको अभिनय सिकाउने तरिका अनि सञ्जय सरको अभिनय बिग्रियो भने सम्झाउने तरिका मन प-यो। पहिलो पटक अभिनय गर्दैछु जस्तो फिल नै भएन। अर्को कुरा, मलाई त टेक्निकल कुरा केही थाहा थिएन। सञ्जय सरले त टेक्निकल्ली अभिनय कसरी गरिन्छ भनी सिकाउनुभयो।
तपाईंले फिल्ममा आउनुअघि अभिनय सिक्नु भयो कि ?
कहाँ सिक्नु र ? अभिनय पनि सिक्ने कुरा हो र ! कतिले अभिनय पढ्नुपर्छ भन्छन् तर मलाई त्यस्तो लाग्दैन। तर टेक्निकल पाटो जान्न जरुरी चाहिँ छ। ‘मारुनी’मा टेक्निकल कुरामा सञ्जय सरले हेल्प गर्नुभयो। यसरी बस्यौ भने तिमीलाई राम्रो देखिन्छ या ओभरल्याप हुन्छ भनी सिकाउनुभयो। यस्ता धेरै कुरा उहाँले सिकाइरहनुहुन्थ्यो। नवल सरले ओके भनेको सिनमा पनि उहाँले फेरि टेक लिऊँ भन्नुहुन्थो।
ए, उसो भए अभिनय सिक्ने कुरा होइन त ?
किताब पढेर अभिनय गरिन्छ जस्तो मलाई लाग्दैन तर पढ्नै हुन्न भन्ने कुरा पनि होइन है ! तपाईंमा भएको कुरालाई पढाइले निखार्ला तर प्रकृतिले तपाईंलाई दिनुपर्छ।
नयाँ कलाकारले त फिल्ममा आफैँ लगानी गर्छन्। कति लगानी गर्नुभयो ?
नो नो। मैले लगानी गरेकी छैन। फिल्ममा लगानी गरेर पनि कोही खेल्छन् र ?
खेल्छन् नि ?
खै, त्यो त मलाई थाहा भएन। मैले चाहिँ लगानी गरेकी छैन।
हिजोआज फिल्म क्षेत्रमा मीटूको कुरा उठ्ने गर्छ। तपाईंले कत्तिको भोग्नुभयो नि ?
अवश्य नै नेपोटिज्म (भाइभतिजावाद) र मीटू त हुन्छ। तर सबैभन्दा डरलाग्दो कुरा चाहिँ मानसिक शोषण हुँदोरहेछ। फिजिकल ह्यारस देखिन्छ, मेन्टल नदेखिदोरहेछ। तपाईंले मानसिक शोषण कसरी देखाउनुहुन्छ ? भन्दा पनि त्यो साह्रै सानो र औचित्यहीन देखिने ! बडो गाह्रो रहेछ, मेन्टल ह-यासमेन्ट ! न देखिन्छ, न व्यक्त गर्न सकिन्छ ! यस्तो ह्यारेसमेन्ट नयाँ मान्छेलाई किन गरिदोरहेछ भने हाम्रो आवाज दबाउन सजिलो हुन्छ। हाम्रो आवाज न कसैले सुन्छ, न मिडियामा हाम्रो साथी हुन्छ ! त्यसकारण पनि नयाँ कलाकार यस्तो सम्भावनामा फस्दा रहेछन्।
भनेपछि तपाईंमाथि पनि यस्तो भयो !
मैले ममाथि भएको मानसिक ह्यारेसमेन्टको कुरा सुनाइहालेँ। फिजिकल त भएन। (केहीबेर सोचेर) ममाथि नै प-यो भन्दा पनि संकेत चैँ आ’को थियो। यस्तो संकेत आइसकेपछि म आफैँ टाढा हुन थालिहाल्छु। उसलाई कुनै प्रतिक्रिया दिन्नँ। किनभने हामी छोरीमान्छे हौँ। कहीँ कतै न कतै नेगेटिभ संकेत आएकै हुन्छ। मुखै फोरेर त कसैले पनि भनेको छैन। मलाई त्यस्ता मान्छेको फिल्म गर्नु पनि छैन। मलाई यस्तो केसमा फँसेर फिल्ममा आउनु पनि छैन।
खासमा नयाँमाथि नै किन त यस्तो हुँदोरहेछ ?
अघि नै मैले भनेँ नि, हाम्रो आवाज दबाउन सकिन्छ। त्यही भएर हामीमाथि आँट गर्छन्।
तपाईंलाई कसले अश्लील संकेत ग-यो भन्नु त ?
यो त भन्न मिल्दैन। फिल्ममा काम गर्दा नै हो।
कतिले त फिल्मका लागि ‘जे पनि गर्छन्’ नि ?
अब फिल्म खेल्ने रहर हुनेहरुले त जे पनि गर्न सक्छन्।
अनि दोस्रो फिल्म ‘म’को अफर कसरी आयो त ?
कान्तिपुर फिल्म एकेडेमीमा प्रकाश सर हुनुहुन्छ। उहाँकैमा मैले ‘मारुनी’का लागि वर्कसप गरेकी थिएँ। उहाँले नै ‘म’ बनाउने कुरामा गर्नुभयो। मलाई स्क्रिप्ट मन प¥यो। यो चाहिँ कमर्सियल होइन, फेस्टिभलतिर देखाउने हो।
कस्तो भूमिका छ ?
अहिले नै क्यारेक्टर कसरी भन्नु ? म त सरप्राइज दिन चाहन्छु। यसको मेकिङ नै छुट्टै छ। पर्दामा आइपुग्दा कस्तो होला भन्ने उत्सुकता छ।
‘मारुनी’पछि त तपाईं यसरी हराउनु भएन नि ?
अफर नआएको होइन। केही स्क्रिप्ट पनि पढिरहेकी छु। मलाई चित्त बुझिरहेको छैन। चार वटा जति पढिरहेको अवस्था छ।
तपाईंको नजरमा पुष्प र साम्राज्ञी ?
मलाई पुष्पले यसरी काम गर, पेमेन्ट लिँदा यसरी लेऊ भनेर हरेक कुरामा सिकाउनुभयो। साम्राज्ञी म्याम पनि उत्तिकै रमाइलो मान्छे लाग्यो। अभिनयको मात्र होइन, हरेक कुरामा उहाँले सिकाउनुभएको छ।
साम्राज्ञीसँग फिल्म खेल्दा त म हराउँछु होला भन्ने लागेन ?
लागेन। फिल्म हेरेर फर्कने दर्शकले मलाई पनि नोटिस गरेको पाएँ। नयाँ भएरै पनि नोटिस हुनु मेरालागि ठूलो कुरा भयो।
नेपाली फिल्ममा हिरोइनको आयु छोटो हुन्छ। आफूलाई कत्तिको लामो दुरीसम्म लैजाने सोच छ ?
म त कलाकार हो। मेरो आयु यति नै हो भन्न त सक्दिनँ तर भोलिका दिनमा आमा, हजुरआमा बनेर भए पनि काम गर्ने इच्छा छ। राम्रो अवसर पाइनँ भने दुईतीन वर्षमा मेरो यात्रा पनि विदेश नै त हो ! विदेश गइनँ भने चाहिँ म आफ्नै फिल्म प्रोडक्डसन खोल्ने सोचमा पनि छु। प्रोडक्सन हाउस खोलेर आफैँ हिरोनी हुने होइन, नयाँ–नयाँलाई अवसर दिन हो।
यस्तो सोच कसरी आयो त ?
यो सबै मलाई पुनम इन्टरटेन्टमेन्टबाट नै आएको हो। यसले मलाई जुन व्यवहार देखायो, आफ्नो सोच पूरा गर्न आफैँ फिल्म बनाउनुपर्छ भन्ने लागेको छ।
फिल्म बनाउन त सजिलो छैन नि ?
फिल्म बनाउन गाह्रो छैन। युवाले काम पाउनुपर्छ क्या ! अवसर नै पाइँदैन अनि कसरी राम्रो फिल्म बन्छ त ?
Leave A Comment