सविन राईको गनगन

सोमबार, १३ माघ २०७६, ०१ : ३४ शुक्रवार
सविन राईको गनगन

हालै हिट्स एफएम म्युजिक अवार्डमा सामूहिक रुपमा सविन राई एन्ड फारोले अवार्ड जित्यो। तर अखबारमा भने सविन राईले अवार्ड हात पारे भन्ने समाचार आयो।

यो देखेपछि सविनको कन्पारो तातिहाल्यो। उनले फेसबुकमा लामो स्टाटस हाल्दै त्यस्तो समाचार लेख्नेको झाँको झारिहाले।

चार वर्षयता उनको ब्यान्ड सञ्चालनमा छ र त्यसमा उनको नामसँगै फारो पनि छुटाउन चाहँदैनन्। तर मिडियाले सधैँ सविन राईको नाम मात्र छापिदिन्छ। गायकको नाम मात्र छापिँदा ठूलो समस्या हुने गर्छ। ब्यान्डका अन्य सदस्यहरु आफूलाई हेपिएको वा किनाराकृत गरिएको महसुस गर्छन्। अनि त, ब्यान्ड टुक्रने अवस्थासम्म पुग्छ।

यो पीडाबाट सबैजसो ब्यान्डहरु गुज्रिएका छन्। यसअघि पनि सबिनका कयौँ ब्यान्ड बने, भत्किए। अब उनी त्यो गल्ती गर्ने पक्षमा छैनन्। जसले भोगेको छ, उसैलाई मात्र त्यसको पीडा थाहा हुन्छ।

पहिला यस्ता कुरालाई भैगो त भनेर छाडिदिनेहरु धमाधम बोलिरहेका छन्। सबिन पनि बोलिहाले। उनले मिडियालाई पाठ पढाउँदै यस्ता समाचार लेख्दा सबिन राई मात्र नलेखी पूरै ब्यान्डको नाम लेखिदिन अनुरोध गरेका छन्।

यो त भयो उनको अनुरोधको कुरा तर यस्ता गायकले ब्यान्डलाई नै चर्चामा ल्याउन खोजेको हो भने जसरी १९७४ एडी भनिन्छ, जसरी रक योगिज् भनिन्छ, उसैगरी द फारो मात्रै भने भइगो नि ! हेडलाइनमा त अगाडिको नाम मात्रै आउँछ नि, हैन र ?

पूरै लामो नाम राख्ने ‘सबिन राई एन्ड द फारो’ अनि सबिन राई मात्र आयो भनेर गन्गनाउने ? यो त अलि मिलेन यार !

Leave A Comment