भाषा पढाउने शिक्षकहरू होइनन्, पत्रकारहरू हुन् !

शुक्रबार, ०७ जेठ २०७३, ०२ : ५६
भाषा पढाउने शिक्षकहरू होइनन्, पत्रकारहरू हुन् !

–डा. बलदेव शर्मा अधिकारी
हिजोआजका विद्यार्थीहरू पाठ्यपुस्तक पढ्दैनन्, गाइड सार्छन्् । आमाबाबुको उपदेश सुन्दैनन्, एफ.एम. बुझ्छन् । विचार पढेर ठूलो भइँदैन भन्ने उनीहरूलाई राम्ररी थाहा छ यसकारण समाचार पढ्छन् । आधुनिक नेपाली विद्यार्थीहरूले एफ.एम. र पत्रपत्रिकालाई नै पाठशाला बनाएका छन् । शिक्षकले सिकाउनुपर्ने नेपाली भाषा पत्रकारहरूले सिकाउन थालेका छन् । यो कुरो पत्रकार मित्रहरूमध्ये कतिपयलाई थाहै नहोला । कृपया, भाषा नजानीकन जानेको छु, नठानिदिनुहोला । भाषै नजानेको भए पत्रकार हुँ पनि नभनिदिनुहोला । एक जना टिमुरिएका पत्रकारले सगौरव भन्नुभएको थियो, “मेरो विषय त पत्रकारिता हो मलाई भाषाको कुरो नसुनाउनुहोला ।” बाउँठिनै परेपछि मलाई पनि जो कसैले भेट्टाउन सक्तैन, “महाशय, म त दही हुँ । मलाई दूधको वास्ता छैन ।” भन्न मिल्छ ? मैले जन्तुवत् जाई लागेपछि तिनी पनि पशुवत् बरबराउँदै बाटो लागे ।

संसारका सबै भाषाहरू उस्तै शब्दक्रमका हुँदैनन् । संस्कृत र संस्कृतबाट बनेका भाषाहरूमा शब्दक्रम प्रायः समान देखिन्छ । यस्तो समानता अङ्ग्रेजीमा खोजेर पाइँदैन । अङ्ग्रेजीको आफ्नै प्रकारको शब्दक्रम छ । नेपाली भाषाको शब्दक्रममा देखिएको मुख्य समस्या भनेको षष्ठी विभक्ति अर्थात् ‘को, का, की, रो, रा, री, नो, ना, नी’ लागेका ‘उसको, उसका, उसकी, मेरो, मेरा, मेरी, आफ्नो, आफ्ना, आफ्नी’ आदि भेदक विशेषण अर्थात् लिङ्गभेद, वचनभेद अथवा आदरभेद जनाउने शब्दहरूको क्रममा देखिएको छ ।

‘शेरबहादुर देउवाको पार्टी–कार्यालयमा अमेरिकी राजदूतसँग भेट भयो ।’ यस वाक्यले पार्टी–कार्यालय नै शेरबहादुर देउवाको भएको भन्ने बुझायो । पत्रकारले लेख्न चाहेको वाक्य चाहिँ ‘पार्टी–कार्यालयमा अमेरिकी राजदूतसँग शेरबहादुर देउवाको भेट भयो ।’ नै हो । ‘उनको आर्यघाटमा दाहसंस्कार गरियो ।’ यो वाक्य अस्पष्ट छ यसैले सोझै अशुद्ध छ किनभने आर्यघाट उनको होइन । दाहसंस्कार गरिएको चाहिँ उनको हो । ‘आर्यघाटमा उनको दाहसंस्कार गरियो ।’ यो वाक्य शुद्ध वाक्य हो । फलानाको अस्पतालमा उपचार भयो । नभनेर ‘अस्पतालमा फलानाको उपचार भयो ।’ भन्नुपर्छ ।
यस्तै गरी विशेषणको क्रम नमिल्दा पनि अर्थको अनर्थ हुन सक्छ । ‘यहाँ शुद्ध गाईको दूध पाइन्छ ।’ यस वाक्यको अर्थमा गाई पो शुद्ध हो । दूध चाहिँ कस्तो हो थाहा हुँदैन ।  ‘यहाँ गाईको शुद्ध दूध पाइन्छ ।’ यस वाक्यमा दूधलाई नै शुद्ध भनिएको छ ।

अचेल अधिकांश पत्रिकामा ‘भन्दा’भन्ने नामयोगी देख्नै छाडिएको छ । ‘दुर्घटनामा ४० जना बढीको मृत्यु भयो ।’ यस वाक्यले ‘अरूको मृत्यु हुनु चाहिँ उचित हो । चालीस जनाको चाहिँ मृत्यु हुनु नहुने थियो’ भन्ने बुझाएको छ । यही वाक्यमा ‘भन्दा’ भन्ने नामयोगी जोडिँदा मात्रै आशय स्पष्ट हुन्छ । ‘दुर्घटनामा ४० जनाभन्दा बढीको मृत्यु भयो ।’ यस वाक्यले चालीस जनाको मृत्यु भएको निश्चय ग¥यो अनि बाँकी सङ्ख्या चाहिँ अनिश्चय रहेको बुझायो ।

 

Leave A Comment