प्रियंकाको ब्याचलर पार्टी

बुधबार, १५ माघ २०७६, १२ : ३३ शुक्रवार
प्रियंकाको ब्याचलर पार्टी

गएको एक वर्षदेखि फिल्म उद्योगका पण्डितहरु प्रियाष्मानको बिहे कहिले होला भनेर प्रतीक्षारत थिए। प्रियुष्मान बुझ्नु भएन ? प्रियंका प्लस आयुष्मान देशराज श्रेष्ठ जोशी !
उफ् यार, कत्ति लामो नाम ! त्यै भएर हामीले छोटकरी नाम राखिदिएको– प्रियुष्मान !
खैर, यो जोडीलाई त किस्ता–किस्तामा जिन्दगीमा कसरी रमाइलो गर्न सकिन्छ भन्ने थाहा छ।

गएको वर्ष उनीहरुले धुमधडाकाका साथ आफ्नो प्रेम सार्वजनिक गरेका थिए। त्यसपछि उनीहरुले इङ्गेज्मेन्ट गरे। अब यतिबेला बिहेको पक्का भएकाले होला, ब्याचलर पार्टी पनि गर्न भ्याए।

खासगरी आयुष्मानको ब्याचलर पार्टीको खबर त बाहिरिएको छैन तर प्रियंकाको चाहिँ इन्स्टाग्राम नै रङ्मङिने गरी ब्याचलर पार्टीको गर्मी छाएको छ।

हालै उनी आफ्ना केही नजिकका साथीहरुका साथ थाइल्यान्डमा पुगेको र त्यहीँ ब्याचलर पार्टी गरेको हल्ला बाहिरिएको छ। हेर्नेहरुलाई रमाइलो त त्यहाँको बिकिनी सो थियो।

उनका निकट सखीहरु सहाना बज्राचार्य, शिवांगी प्रधान, आस्था पोखरेल लगायत अन्य उनको ‘ब्याचलर पार्टी’मा रमाएको देखिन्थ्यो।

रोचक त के भने प्रियुष्मानको बिहे नहोला भन्ने धेरैले अड्कल काटिरहेका थिए। तर सबैको मुख थुनिने गरी ब्याचलर पार्टी नै गरेपछि यी दुईको लगनगाँठो कस्सिदैछ भन्नेमा दुई मत रहेन।

फेरि यिनको जोडी पनि कस्तो भने सर्ट फिल्म होस् कि विज्ञापन, कतै छुट्दैनन्। चाहे त्यसका लागि चाउचाउ होस् कि सर्ट फिल्म ! अब ईश्वरले नै जोडी बाँधेर पठाइसकेपछि कसको के लाग्छ ! आखिर यी दुईको बिहे हुने नै भयो !

तर शंकागर्नेहरुले पहिले पनि भनेकै थिए, इंग्जेज्मेन्ट पो भयो त बिहे नै त भइसकेको छैन नि ? अब भन्लान्, ब्याचलर पार्टी पो भयो त बिहे नै त भइसकेको छैन नि ? अब भन्नेको मुख पनि थुनेर साध्य होला त ?

Leave A Comment