पुष्पको कमलो मन

बुधबार, १५ माघ २०७६, १२ : ३७ शुक्रवार
पुष्पको कमलो मन

यो फिल्म उद्योग हो। कसैले कसैलाई सहयोग गर्छ भने पक्कै पनि त्यहाँ लेनदेन हुन्छ नै ! संसारै स्वार्थमा चलेको छ भने त झन् फिल्म उद्योग यसबाट टाढिने कुरै भएन !

तर पख्नुस्, सबैमा यो कुरा लागू हुँदैन है ! कोही यस्ता व्यक्ति पनि छन्, जसलाई निःस्वार्थ सहयोग गर्न पनि आउँछ। अब अहिलेका चल्तीका हिरो पुष्प खड्कालाई नै हेर्नुस् !

पछिल्लो समय ‘मारुनी’मा राम्रै काम गरेर प्रशंसा बटुलेका पुष्पले पछिल्लो समय कैलाली जिल्लामा रहेको एउटा अनाथालयलाई सहयोग गरे। उनले ‘सहारा घर’लाई ५० हजार नगद दिएको खबर यस्तो बेला बाहिरिएको छ, जुन बेला उनको न फिल्म चलिरहेको छ न त हातमा कुनै फिल्म पर्नेवाला छ।

हलमा फिल्म चलिरहेको बेला वा फिल्मले मज्जैले कमाइरहेको बेला सहयोग गरेको नसुनिने होइन। केहीले त एम्बुलेन्ससमेत किनिदिएका छन्। तर बेरोजगार हिरोले, फिल्म नचलेका बेला सहयोग गर्नु चाहिँ फरक कुरा हो है !

हुन त उनको फिल्म ‘चालबाज’ प्रदर्शनमा आउनै बाँकी छ। कतै यो ‘दान’को प्रतापले त्यसलाई फाइदा गर्ला कि त !

Leave A Comment