सृसौ जोडी

बुधबार, १५ माघ २०७६, १२ : ४५ शुक्रवार
सृसौ जोडी

एक समय थियो, सौगात मल्ल आफ्नो प्रेम जीवनका बारेमा खुलेर कुरा गर्न चाहँदैनथे। झन् आफ्ना प्रेमिकासँग हातमा हात, साथमा साथ लिएर अघि बढ्न त मरेझैँ हुन्थ्यो।

जुन दिनदेखि मिस नेपाल भइसकेकी सृष्टि श्रेष्ठ उनको जीवनमा आइन्, उनको चालढाल नै परिवर्तन भयो। सृष्टि र सौगातको संयुक्त नाम पनि सृसौ भइसक्यो। उनी पनि अन्य लभ बर्डझैँ साथमा साथ त दिइरहन्थे, हातमा हात पनि राख्न थाले।

यो जोडी कति प्रिय छ कतिपय फ्यानका लागि भने, उनीहरुलाई अब सँगै कुन फिल्ममा हेर्न पाइन्छ हँ भनेर सोध्न पनि भ्याइसकेका छन्। अब यो कुरा त उनीहरुको हातमा हुँदैन। निर्माता–निर्देशकले यो जोडीलाई सँगै देखाउन चाहे पो देखिने हुन् त !
तर फ्यानहरुले यो दिन पनि देख्न पाउने भए।

यसअघि ‘पोइ प-यो काले’ र ‘मासुभात’मा सँगै देखापरेको सृसौको यो जोडी अब चाहिँ फिल्ममा रोमान्स गर्दै गरेको भेटिनेछन्।

रञ्जित रौनियारले रियलमा विवाहमा बाँधिने सम्भावना भएको जोडीलाई रिल लाइफमा श्रीमान्–श्रीमती नै देखाइदिने भएका छन्।

त्यसका लागि पनि धेरै समय कुरिरहनु भने पर्दैन। आउँदो चैत २८ देखि प्रदर्शनमा आउन लागेको ‘माइकल अधिकारी’मार्फत् उनीहरुको कमेडी रोमान्स हेर्न पाइने भएको हो। हालै सार्वजनिक भएको फिल्मका तस्बिरहरुमा सौगातको नक्कली कपाल देखिएको छ भने सृष्टिको सिउँदोमा सिन्दुर छ। हातमा चुरा र गलामा पोते पनि छ। अब दिल माँगे मोर भनेजस्तो रिलमा यत्ति देखिएपछि त फेरि उनका प्रशंसकहरुले रियलमा चाहिँ यस्तो कहिले हो भनेर नसोध्लान् भन्न सकिन्न।

Leave A Comment