खलनायक खै ?

बुधबार, ०१ भदौ २०७३, ०९ : ५० माधव ढुङ्गेल , Kathmandu
खलनायक खै ?

खलनायकको महŒव नै के कुरामा छ भने उसको उपस्थितिबाट नायकको व्यक्तित्व निर्माण हुन्छ । उसकै सापेक्षतामा नायकको चरित्रले प्रकाश पाउँछ । उसैसँगको प्रतिस्पर्धा र संघर्षमा नायकले नायकत्व प्राप्त गर्छ । ऊ शक्तिशाली हुँदा नायक स्वतः शक्तिशाली हुनु तथा ऊ कमजोर हुँदा नायक पनि स्वतः कमजोर हुनु त्यसैले स्वाभाविक छ ।
नेपाली चलचित्रमा खलनायकलाई सजिलैसँग ‘गुन्डा’ भन्ने गरियो । नायकलाई हिरो र खलनायकलाई गुन्डा । अनि, हाम्रो खलनायक वास्तविक खलनायक हुनुको साटो ‘गुन्डा’को व्यक्तित्वमा झुल्किन थाल्यो । खलनायकसँग संघर्ष गर्न पो नायक चाहिन्थ्यो, गुन्डासँग लड्न त अर्को गुन्डा नै चाहियो । त्यसैले हाम्रा हिरोहरू पनि आभारा र मनमौजी अनि बाहुबलमा विश्वास गर्ने करिबकरिब गुन्डैजस्ता भए । नायिकाको रूप लावण्यमा मोहित भएर उसैका पछि लाग्ने, ‘हिरोइज्म’मा विश्वास गर्ने, संसारमा शक्तिशाली चाहिँ मै मात्रै छु भने जस्तो ठान्ने, नायिकालाई रोमान्सको वस्तु सम्झने जस्ता अनेक विशेषता हिरो र गुन्डामा उस्तै छन् । कहिलेकाहीँ त यस्तो लाग्छ, हिरोनी पाउने हिरो भयो, नपाउने चाहिँ गुन्डा । हिरोनीको प्राप्ति नै हिरो र गुन्डा छुट्याउने मापदण्ड भयो ।
विभिन्न क्षेत्रका विशेषताहरूलाई मिसाएर नेपाली चलचित्रमा ‘गुन्डा’ बनाउने गरिएको छ । शारीरिक सुगठन र मारपिट गर्ने शैली मार्सल आर्टका खेलाडीहरूको जस्तो हुन्छ । कपालको कटाइ र रङरोगन तथा उसले लगाउने पहिरन कुनै फेसनवाला तन्नेरीको जस्तो हुन्छ । बोलीचाली केही अश्लील, भद्दा र आक्रामक प्रकारको हुन्छ । पढ्न अल्छी गर्ने र अन्यत्र नै मात्रै रुचि राख्ने विद्यार्थीको जस्तो स्वभाव हुन्छ । पेसामा कि त धनीमानी परिवारको बिग्रेको बेरोजगार छोरो हुन्छ, होइन भने तस्करी वा अवैध कारोबारी हुन्छ । अनि, यस्ता दुर्जनसँग भिड्नका लागि बनाइएको हिरो चाहिँ कि त पुलिस अफिसर हुन्छ होइन भने पुलिसजस्तै चरित्र र स्वभाव भएको शासनसत्ताकै विचारधाराको प्रतिनिधि हुन्छ ।
प्रहरीलाई नायक बनाउनुको अर्थ राज्य व्यवस्थालाई नायक बनाउनु हो, राज्य व्यवस्थालाई लोक कल्याणकारी छ भनेर देखाउनु हो । किनभने, प्रहरी राज्य व्यवस्थाका प्रतिनिधि मात्रै होइनन्, त्यसका सबैभन्दा विश्वासिला सैन्य हतियार पनि हुन् । राज्यको नीति र कानुनको पालना गर्दै सोहीअनुसार चल्नु उनीहरूको दायित्व हो । जनताको भनेर भनिए पनि प्रहरीले सेवा गर्ने अन्ततः शासनसत्ताको हो । उनीहरूमाथि विश्वास पैदा गर्न सक्दा, प्रहरी फोर्सलाई आदर्शीकरण गर्दै उनीहरूप्रति जनभावनामा भरोसा जगाउन सक्दा बलियो हुने पनि शासनसत्ता नै हो । त्यसैले सत्तासीनहरूले नेपालमा मात्रै होइन, विश्वभरि नै प्रहरी फोर्सलाई आदर्शीकरण गर्ने, उनीहरूलाई नायकत्व प्रदान गर्ने र उनीहरूप्रति आस्था जगाउने काम गरेका हुन्छन् । त्यही काम नेपाली चलचित्रहरूले पनि गर्दै आएका छन् । तर, प्रश्न उठ्छ, के त नेपालको राज्य व्यवस्था साँच्चै नायक भनिन योग्य छ ?
राज्य व्यवस्था नायक भनिन योग्य छ भने ‘गुन्डाहरू’को जन्म र संरक्षण किन हुन्छ ? राज्यलाई जनहितका काम गर्न नदिएको गुन्डाहरूले हो ? चलचित्र हेर्दा यस्तो लाग्छ, गुन्डाहरू नै हाम्रो समाजका खलनायक हुन् । कपाल लामो पाल्नेहरू, त्यसलाई रंगिन बनाएर मोटरबाइकमा हुइँकिनेहरू, बाटामा बसेर युवती जिस्काउनेहरू, अवैध धन्दा वा तस्करीमा लागेकाहरू, लागू पदार्थ दुव्र्यसनीमा लागेका वा त्यसको ओसारपसारमा संलग्नहरू नै नेपाली समाजका खलनायक हुन् । यिनै र यस्तैका कारण नेपाली समाज र यहाँको जनजीवन कष्टकर बनेको छ । गुन्डाहरूको संरक्षण राज्यले होइन, मन्त्रीहरूले वा नेताहरूले गरेका छन् । राज्यव्यवस्था त गुन्डाहरूको सर्वनाश गर्न चाहन्छ र सुशासन, सुव्यवस्था स्थापित गर्न चाहन्छ । के वास्तविकता यस्तै छ ? तर चलचित्रहरूले गुन्डालाई खलनायक देखाएर वास्तविक खलनायकलाई लुकाइरहेका छन् ।
नेपाली समाजका खलनायक चलचित्रले देखाएका जस्ता रंगिन कपाल पाल्ने फेसनवाला युवा वा मार्सल आट्र्सका खेलाडी होइनन् । हाम्रा समाजका वास्तविक खलनायक नायिकाका लागि नायकसँग खुला मैदानमा कुस्ती खेलेर बस्दैनन् । तिनको बोलीवचन गुन्डाको जस्तो कर्कश र भद्दा पनि छैन ।  ती न त बेकारी छन् न मूर्ख नै ।
नेपाली समाजलाई बिगार्ने खलनायकहरू बुद्धिजीवी वर्गबाट खोज्दा फेला पर्न सक्ला । नीति निर्माणको तहमा बसेर विधिविधान बनाउनेहरूले पो नेपाली समाजलाई नकारात्मक दिशामा ठेलेका होलान् जो फेसन गर्नमा रुचि राख्दैनन् बरु दौरा सुरुवालमै रमाउँछन् । ती पो खलनायक होलान् जसले असाध्यै चिप्लो भाषामा मानिसहरूलाई फकाउने, फुल्याउने र फस्ल्याङफुस्लुङ पार्दै आएका छन् र मूलतः व्यवस्थाको मेरुदण्ड भएर काम गरेका छन् । हेर्दै गुन्डाजस्ता ती देखिँदैनन् बरु असाध्यै भलाद्मी, विद्वान् र ज्ञानीजस्ता देखिन्छन् ।
देख्नेबित्तिकै प्रस्टै चिनिने बिचरा ‘गुन्डा’हरूको हैसियत नै के हुन्छ र करोडौँ नेपालीहरूको भविष्य खोस्न सकून् । चलचित्रमा देखाइएका जस्ता सानातिना ‘गुन्डाहरू’को सानो दिमाग र सानो उद्देश्यले यो बर्बादी भइराखेको छैन । यति ठूलो बर्बादीका लागि सिंगो शासन व्यवस्था र त्यसले जन्माएका ठूलै दिमागहरू जिम्मेवार छन् । तर, दर्शकको आक्रोशलाई सानातिना ‘गुन्डाहरू’तिर केन्द्रित गरेर वास्तविकतालाई लुकाउने वा विषयान्तर गर्ने काम ज्यादाजसो चलचित्रहरूले गरिरहेका छन् ।
चलचित्रचकर्मी राज्य व्यवस्थालाई खलनायक देख्ने आँखामा पट्टी बाँधेर गुन्डाका रूपमा पैदा भएका त्यसका ‘बाइप्रोडक्ट’हरूलाई खलनायक भन्दै ढाँटिरहेका छन् । कुनै व्यक्ति वा नागरिकलाई भ्रष्ट वा जिम्मेवार कस्तो बनाउने भन्ने कुरा शासन व्यवस्थाले तय गर्छ । खलनायक भनेको व्यवस्था हो, व्यवस्थाको निर्माण र रक्षा गर्ने बुद्धिजीवीहरू हुन् । यति सजिलो र सोझो यथार्थलाई पूरै बेवास्ता गर्दै नेपाली चलचित्रकर्मीहरू व्यक्तिलाई गाली गरेर सन्तोष मान्ने अवस्थामा रमाइरहेका छन् ।
खलनायकलाई चिन्ने कुरामै भ्रम भएपछि नायकलाई चिन्ने कुरामा स्वतः भ्रम भई नै हाल्छ । नायकका लागि ‘स्पेस’ खलनायकले बनाइदिने हो । त्यसैले वास्तविक खलनायकहरूको अभावमा हाम्रा चलचित्रभित्र वास्तविक नायकहरू अटाउने ठाउँ नै छैन । यथार्थलाई ठीकसँग पक्रिन नसक्दा हाम्रा चलचित्रमा हिरो र गुन्डा भनिने भ्रमहरू त आएका होलान् तर वास्तविक नायक वा खलनायकहरू अझै पनि अटाउन सकेका छैनन् ।

 

Leave A Comment