नाकामा पुस्तक: ‘व्यवसायीकै सुराकीका आधारमा कन्टेनर नियन्त्रणमा': राजश्व अनसुन्धान विभाग

शुक्रबार, १७ माघ २०७६, ०८ : ५० शुक्रवार
नाकामा पुस्तक:
‘व्यवसायीकै सुराकीका आधारमा कन्टेनर नियन्त्रणमा': राजश्व अनसुन्धान विभाग

भारतबाट आयात गरिने पुस्तकमा न्यून विजकीकरण गरेर एक कन्टेनर ल्याइँदै गरेको सूचना पुस्तक व्यवसायीहरुले नै दिएपछि राजश्व अनुसन्धान विभाग, पथलैयाले गएको पुस १५ मा पुस्तकसहित कन्टेनर नियन्त्रणमा लिएको थियो ।

व्यवसायीहरुले न्यून विजकीकरणमा बदमासी भएको स्वीकार गर्दै पूरै रकम तिर्न सहमत भएपछि नियन्त्रणमा लिइएको एक महिनापछि पुस्तकका कन्टेनरलाई मुक्त गरिने भएको छ ।
कन्टेनरमा ५४ व्यवसायी (फर्म)का पुस्तक एकमुष्ठ ल्याइएको थियो, जसमध्ये ११ व्यवसायीको न्यून विजकीकरण गरिएको पाइएको हो । यसरी न्यून विजकीकरण गर्ने पुस्तक व्यवसायीहरुले ३० लाख ६९ हजार धरौटी बुझाएपछि कन्टेनर छाडिने तयारी भइरहेको राजश्व विभाग, पथलैयाले जनाएको छ । यससँगै पुस्तक पसलमा देखिएको विदेशी किताबको अभाव हाललाई टर्ने भएको छ ।

भएको के थियो ?
पुस १५ गते राजश्व अनुसन्धान विभाग पतलैयाले पुस्तक बोकेको कन्टेनरलाई नियन्त्रणमा लिएको थियो । न्यून विजकीकरण गरिएको मूल्य अनुसारको भन्सार महसुल तिरिसकेर राजधानी आउनेक्रममा विभागले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
अनुसन्धानसँगै सम्बन्धित पुस्तक व्यवसायीहरुलाई न्यून विजकीकरण कसरी भयो भनी अनुसन्धानमा सघाउन पत्राचार गरेको थियो । लामो समयसम्म पुस्तक व्यवसायीहरुले सो पत्राचारलाई महŒव दिएका थिएनन् ।

के भन्छ राजश्व अनुसन्धान विभाग ?
राजश्व अनसुन्धान विभागका कर्मचारीका अनुसार भारतस्थित कम्पनी स्काई रोड क्यारियरको नेपाल शाखाले विदेशी पुस्तक आयात गर्ने गर्छ । नेपालमा ती पुस्तकको  भन्सार विभागले अंकित मूल्यको ५७ प्रतिशत मूल्य कायम गरी त्यसको १० प्रतिशत भन्सार महसुल असुल्ने गर्छ । तर व्यवसायीहरुले उतैबाट पुस्तक आयात गर्दा न्यून विजकीकरण गरी ल्याउने गरेको विभागमा सूचना आएपछि अनुसन्धानका लागि कन्टेनर नियन्त्रणमा लिँदा ५४ फर्ममध्ये ११ वटाले बदमासी गरेको खुल्न गएको विभागले जनाएको छ ।

के भन्छन् पुस्तक व्यवसायी ?
पुस्तक व्यवसायीले सब्सिडीमा पुस्तक ल्याउने गरेको बताए । भारतमा विभिन्न मल्टिनेसनल पब्लिकेसनका भारतस्थित अफिस छन् । भारतको व्यापार ठूलो भएको हुँदा उनीहरुले एकैचोटी पुस्तक उठाउँदा निकै सस्तो मूल्यमा उठाउँछन् र त्यही आधारमा नेपालमा भारतीय विक्रेताले पुस्तक बिक्री गर्छन् । पुस्तक निकै सस्तोमा आउँछ तर किताबमा अंकित मूल्यमा नै भन्सार महसुल लिन खोजेपछि पुस्तक दोब्बर महँगो हुने भएकाले थप रकम तिर्ने कि नतिर्ने भन्ने निक्र्योल हुन नसक्दा करिब एक महिना लागेको एक व्यवसायीले बताए ।
एक पुस्तक आयात कर्ताले भने, ‘मानौँ १५ पाउण्ड मूल्य पर्ने पुस्तक छ । भारतीय व्यवसायीले एकैचोटी अर्बाैंको पुस्तक ल्याउँदा त्यो पुस्तकलाई ५÷७ पाउण्डमा ल्याउँछन् र ६÷८ पाउण्डमा विक्री गर्छन् । नेपालमा पनि त्यही पुस्तक आउँदा अब त्यही प्रिन्टेड मूल्यमा भन्सार खोजेपछि भारतीय पुस्तकबाहेक तेस्रो देशको पुस्तक किन्नै सकिन्न नि !’  

किताबको खास मूल्य कति ?
राजश्व अनुसन्धान विभागका कर्मचारीका अनुसार अहिलेको नयाँ नियमअनुसार कुनै पनि पुस्तकको अंकित मूल्यमा ४३ प्रतिशत छूट दिएर ५७ प्रतिशत कायम गरिन्छ । सो मूल्यको १० प्रतिशत भन्सार महसुल लिइन्छ ।
यसको अर्थ, मानौँ कुनै पुस्तकको अंकित मूल्य एक हजार रुपैयाँ छ भने पुस्तक व्यवसायीहरुले ५७ प्रतिशत अर्थात् ५७० रुपैयाँको १० प्रतिशत भन्सार महसुल (५७ रुपैयाँ) बुझाउनुपर्ने हुन्छ । तर पुस्तक आयात गर्दा न्यून मूल्य गराएर कम राजश्व तिर्ने नियतले ल्याइन्छ ।
‘हामी पनि पुस्तकै पढेर आएका हौँ,’ राजश्व विभागका ती कर्मचारीले भने, ‘भन्सार महसुल के कति लिने भनेर सरकारले नै तोकिदिएअनुसार हामीले उठाउनुपर्ने हुन्छ । हामी किताब विरोधी होइनौँ, भएको कानुन कार्यान्वयन गरेका हौँ । त्यही आधारमा अनसुन्धान गरेका हौँ ।’
सरकारले नै पुस्तक व्यवसायीले पाउनुपर्ने ४३ प्रतिशत छूट दिइरहेकै रहेछ, तपाईंहरुको गुनासो चाहिँ के हो नि ? भन्ने प्रश्नमा एक व्यवसायीलाई सोधिएको प्रश्नमा ‘अहिले यो प्रमुख विषय नभएको र यो ५७ प्रतिशत मात्र पुस्तकको मूल्य लिइन्छ भन्ने कुरा बिर्सन’ आग्रह गरे ।
‘यो अहिले मेजर विषय हैन,’ ती व्यवसायीले भने, ‘यहाँ त अब तेस्रो मुलुकको पुस्तक पढ्नै नदिने सरकारको नियत देखियो । नेपालीहरुले अब भारतमा छापिएको पुस्तक मात्र पढ्ने हो ?’
भारतबाहेक अन्य मुलुकमा छापिएको पुस्तकको प्रिन्टेड मूल्यमा नै भन्सार लगाउनुपर्ने नियम रहेको राजश्व अनसुन्धान विभागले जनाएको छ । ‘त्यसो गर्दा डलरमा तिर्नुपर्ने भनेर हल्ला गर्ने काम भएको’ राजश्वका एक कर्मचारीले गुनासो गरे ।

 

Leave A Comment