भ्रूण हत्या र अमेरिकी अनुभव

शनिबार, १८ माघ २०७६, १० : ५८ अच्युत काेइराला
भ्रूण हत्या र अमेरिकी अनुभव

गएको साता अचम्म भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गर्भपतनविरोधी -यालीमा सहभागी भए। जो स्वयं युवावस्थामा कयौँ युवतीलाई गर्भवती बनाएर बिचल्लीमा पार्ने गर्थे !

गर्भपतनको मामिलामा युरोप उदार देखिए पनि अमेरिका पहिलेदेखि नै वक्र रहँदै आएको छ। तापनि अमेरिकाका केही यस्ता पात्र छन्, जसले गर्भपतन र महिला सशक्तीकरणको मुद्दालाई उचाइमा पु-याउन मद्दत पु-याए।

यहाँ त्यस्ता दुई वटा अभियानका बारेमा चर्चा गरिनेछ, जसले गर्भपतनलाई कसरी खुकुल्याउन भूमिका खेल्यो र खुकुलिएपछि कसरी यो एउटा पैसा छाप्ने मेसिनका रुपमा परिवर्तन हुँदै विरोध ¥यालीसम्म आयोजन हुन थाल्यो भन्ने स्पष्ट हुनेछ।

जेन कलेक्टिभको प्रयास
युरोप र अमेरिकामा विश्वयुद्ध सकिँदै गर्दा यौन स्वच्छन्दता पनि उचाइमा पुग्यो। अधिकांश युवती यौन स्वच्छन्दताको आवेगमा गर्भिणी बन्न थाले। स्टिभ जब्सजस्ता शिशु किशोरी आमाले जन्माउने र अरुलाई नै पाल्ने उद्योग त्यहाँ फैलिन थाल्यो। भर्खरै कलेज टेकेका युवतीहरु सुरक्षित यौन अभ्यासको अभावमा गर्भधारण गर्न थाले। अमेरिकाको अधिकांश भागमा त्यो बेला गर्भपतन गैरकानुनी थियो।

सन् १९६० सम्म आइपुग्दा किशोरी आमा र अनिच्छित गर्भाधानको संख्या ह्वात्तै बढ्यो। ‘मेरो शरीर, मेरो अधिकार’को जागरण पनि बढ्दै जाँदा युवतीहरुमा उमेर नपुगी सन्तान जन्माउनु हुँदैन भन्ने चेत छिर्न थाल्यो र गैरकानुनी गर्भपतनले आकार लिन थाल्यो।

नेपालमा नीतिगत रुपमा भ्रूण हत्या बढाउने प्रयास भइरहेको छ, त्यसले अमेरिका दुई घटनालाई नियालेर हेर्न प्रेरित गरिरहेको छ।

त्यसमध्ये एउटा थियो, जेन कलेक्टिभ। अभियन्ता थिइन्, हिथर बुथ। हिथरकी साथीकी दिदीलाई १९६५ मा गर्भपतन गराउनै पर्ने बाध्यतामा सहयोग गर्दा उनी यो अभियानको एउटा अंग बन्न पुगेकी थिइन्।

क्याथोलिक समुदायकी हिथरकी साथीकी दिदी गर्भवती भएको चाल पाए, बाबुआमाले घरबाटै निकालिदिन्थे। बेघरबार हुनबाट जोगिनका लागि गर्भपतन गर्न जरुरी थियो। दिनरात रोएर आँखा सुन्निएकी ती युवतीको समस्या समाधान गरेपछि जुन खुसी हिथरले उनको आँखामा देखिन् र कृतज्ञता व्यक्त गरिन्, त्यसपछि उनलाई बोध भयो– अनिच्छित गर्भाधानको पीडा कति गहिरो हुन्छ !

यसपछि सुरु भयो, एउटा अभियान– जेन कलेक्टिभ। यसले युवतीहरुलाई गर्भपतनसम्बन्धी जानकारी, सचेतना कक्षा र हिम्मत दिन्थ्यो। प्रायः कलेज पढ्न निस्किएका युवतीहरु गैरकानुनी गर्भपतन गर्न लाग्ने ठूलो रकम कसरी जुटाऊन् ? त्यस्ता युवतीका लागि हिथरले सस्तो दरमा गर्भपतन गराइदिने व्यवस्था गर्न थालिन्।

जेन कलेक्टिभमा प्रहरीले छापा नमार्ने होइन तर यस्तो समस्या त प्रहरीकै पनि हुन्थ्यो। तिनकै सन्तानले अवैध गर्भ बोक्नेदेखि लिएर आफैँ अवैध गर्भका पितासमेत हुने गर्थे। त्यसैले जेन कलेक्टिभको सेवा र सहयोग उनीहरुका लागि तनाव बिसौनी हुन्थ्यो। यही कारण ‘जेन कलेक्टिभ’का अभियन्ताहरु पक्राउ पर्नबाट जोगिन्थे।

पछि यो अभियानले ‘विमेन्स लिबरेसन मुभमेन्ट’ जन्माउन सफल भयो, जसमा असुरक्षित गर्भपतनबारे सचेतना बढाइन्थ्यो। अति कम रकममा गर्भपतनको सुविधाको पैरवी गर्ने भएपछि जेन कलेक्टिभको इज्जत मात्र बढेन, साथमा केही विवाद पनि लिएर आयो।

जस्तो कि, उनीहरुलाई साथ दिने एक जना चिकित्सकसँग गर्भपतनको प्रमाणपत्र थिएन। यो थाहा भएपछि यो समूहलाई एउटा दुस्साहस गर्न उक्सायो। ती चिकित्सकले समूहका अन्य युवतीलाई पनि सुरक्षित गर्भपतन गराउने तालिम दिए। केही समयभित्रै तालिमप्राप्त युवतीले ‘डाइलेसन र क्युरेटेज’ तरिकाबाट सफलतापूर्वक गर्भपतन गराउन सफल भए। समूहले ११ हजार गर्भपतन गराएको एउटा अनुमान छ।

जब प्रमाणपत्रविहीन युवतीको समूहले यस्तो काम गरिरहेको एक कान दुई कान मैदान भयो, सन् १९७२ मा स्थानीय प्रहरीले यस संस्थाको अवैध अपार्टमेन्टमा छापा मा-यो। समूहका सात सदस्य पक्राउ परे। तिनलाई प्रहरीले सामूहिक रुपमा ११० वर्षको जेल सजाय दाबी ग-यो। मुद्दा एक वर्षसम्म लम्बियो। लामो छलफल, कयौँ बयान र पीडितको भनाइपछि सर्वोच्च अदालतले रो भर्सेस वेडको मुद्दामा जेन कलेक्टिभलाई विनाशर्त मुक्त ग¥यो। यसरी एउटा महिलाको समूहले गुपचुप रुपमा गरेको सुरक्षित मातृत्व र गर्भपतनको अधिकारको लडाईंका कारण यसले त्यस क्षेत्रमा कानुनी मान्यता मात्र पाएन, यो घटना अरुका लागि पनि एउटा उदाहरणका रुपमा रह्यो।

सन् २०१८ सम्म आइपुग्दा यसरी संघर्ष गरेर हासिल गरेको गर्भको स्वतन्त्रता खुम्चँदै जान थालेको छ। र, कतिपय राज्यमा त यसलाई गैरकानुनी करारसमेत गरिएको छ। त्यसो हुनु पनि अकारण भने थिएन।

नाफाखोरीको सेवा
सन् २०११ मा एबी जोन्सनले एउटा पुस्तक प्रकाशन गरिन्। पुस्तकको नाम थियो, ‘अनप्लान्ड’। कसरी विनायोजना गर्भाधान हुन्छ, त्यो गर्भाधानलाई प्लान्ड प्यारेन्डहुड नामक संस्थाले कसरी दोहन गर्छ भन्नेबारे लेखिएको सो पुस्तक निस्कनेबित्तिकै विवादमा फँस्यो।

प्लान्ड प्यारेन्टहुड नामक संस्थामा एउटा सहयोगीका रुपमा छिरेकी एबीले आफ्नै आँखाले कसरी सुरक्षित मातृत्वको नाममा नाफाखोर गैरसरकारी संस्था चलिरहेको छ, सरकारबाट कति ठूलो रकम अनुदानका रुपमा असुलिरहेको छ भन्ने थाहा पाइन् र त्यसको खुलासा ‘अनप्लान्ड’मा गरेकी थिइन्। यो खुलासालाई उनले पछि २०१६ मा लेखेको पुस्तक ‘द वाल्स आर टकिङ’मा पनि जारी राखेकी थिइन्, जसमा प्लान्ड प्यारेन्टहुडमा काम गरेका पूर्व कर्मचारीको बयान लिपिबद्ध गरिएको थियो।

एबी जोन्सन गर्भपतनविरोधी परिवारमा जन्मिएकी थिइन्। उनका बा–आमा धार्मिक र संकुचित धारणा राख्थे। कलेजको अध्ययनपछि उनी सन् २००१ मा प्लान्ड प्यारेन्टहुडमा मनोवैज्ञानिक परामर्शदाताका रुपमा छिरेकी थिइन्।

शुरुमा उनी पनि गर्भपतनको पक्षमा थिइन्। आफ्नो स्वास्थ्य र जिन्दगीलाई नै खतरामा पार्ने गरी जीवन बिताउनुभन्दा गर्भपतन गरेर स्वतन्त्र जीवन रोज्नु नै उत्तम हो भन्ने उनलाई लाग्थ्यो। टेक्ससको ब्रायनमा रहेको क्लिनिकमा हरेक दिन गर्भपतनका लागि आउने युवतीहरुलाई सहजीकरण मात्र होइन, यस्तो कार्य रोक्न दबाब दिनेहरुबाट सुरक्षित घर फर्काउने उनको जिम्मेवारी थियो।

तर यहाँ हुने गर्भपतनप्रति नजिकैको चर्चका सदस्यहरु र अन्य पनि विरोधी थिए। खासगरी कतिपय परिवार अविवाहित सन्तानको गर्भपतनलाई ईश्वरविरोधी कार्य मान्दै बरु आफूले नै पालनपोषण गर्ने भनी सम्झाउँथे। तर युवतीहरु सन्तान जन्माउने झञ्झटमा फस्न चाहदैनथे। उनीहरुलाई रोक्न त्यहाँको स्थानीय संस्था कोएलिसन फर लाइफ (जीवनका लागि सहकार्य)ले त गर्भपतनका लागि जाने युवतीहरुमाथि तानातान नै गर्न थालेको थियो।

पछि संस्थाले गर्भपतनमा जाने युवतीका परिवारलाई नै मार्ने धम्की दिन थाल्यो। यसमा एबी जोन्सनको सक्रियता, उनले खेलेको भूमिका र त्यहाँ आउने युवतीको संख्याका कारण सन् २००८ मा ‘वर्ष कर्मचारी’का रुपमा पुरस्कृतसमेत भइन्।

एक वर्ष नबित्दै २००९ को सेप्टेम्बरमा उनको पदोन्नति भयो। अब उनले गर्भपतन गरिएका भ्रूणहरुको विश्लेषण गर्ने जिम्मेवारी पाइन्। तर जसै उनी त्यो जिम्मेवारीमा छिरिन्, १३ साता अर्थात् तीन महिना कटिसकेको भ्रूणका हात, गोडा, टाउको छान्नुपर्ने काम पाइन्। पहिलो दिन उनले यसलाई गम्भीरतापूर्वक लिएकी थिइनन् तर बिस्तारै उनले थाहा पाइन्, जति बढी अवधि लम्ब्याइयो, भ्रूण हत्यामा उति नै नाफा बढ्ने रहेछ ! यो त गर्भपतनको मूल उद्देश्यभन्दा बिल्कुलै फरक प्रकृतिको परिणाम देखियो।

कानुनले छूट दिएको समयावधिभन्दा बढी समय गुजारेका भ्रूणलाई पनि आमाको कोखबाट निकाल्नुपर्ने परिस्थिति सिर्जना भएपछि भने उनलाई नैतिकताले यस कार्यको प्रशंसा गर्न दिएन। त्यसमाथि उनकी प्रबन्धक साअन कार्नीले गर्भपतनअघि दिइने काउन्सिलिङ (सरसल्लाह)मा भन्दा गर्भपतनमा जोड दिन उनलाई दबाब दिन थालिन्।

यसपछि भने उनलाई यसमा केही गडबड भएको महसुस हुन थाल्यो। उनी त महिलाको स्वास्थ्यका खातिर यो अभियानमा जोडिएकी थिइन् तर संस्थाले नाफा बढाउन गर्भपतनमा बढी जोड दिइरहेको थियो। यो थाहा पाएपछि उनले सन् २००९ अक्टोबर ६ मा राजिनामा दिइन्। आफूले राजिनामा किन दिइन् भनेर उनले चर्चित म्यागेजिन सलोन.कममा खुलासा गर्दै गर्भपतनमा सरकारले दिइरहेको आर्थिक अनुदानमाथि प्रश्न उठाइन्। कसरी जनताले तिरेको करको दोहन प्लान्ड प्यारेन्टहुडजस्ता संस्थाले गरिरहेका छन्, कसरी अकूत नाफा कमाइरहेका छन् खुलासा गरिन्।

यसपछि त उनीमाथि अनेक किसिमका आक्षेप पनि आए। त्यसैको जवाफका लागि उनले दुई पुस्तक लेखेकी थिइन्। एबी यतिबेला गर्भपतनविरोधी धार्मिक समूह ‘एन्ड देन देयर वेयर नोन्’ (एटन) सञ्चालन गरिरहेकी छन्। समूहले गर्भपतन कार्यमा संलग्न हुनेहरुलाई जागिर छाड्न सहयोग गर्ने गरेको छ।

हुँदाहुँदा यतिबेला अमेरिकामा गर्भपतनविरोधी स्वर पनि एउटा ठूलो अभियानकै रुपमा लिन थालेको छ। त्यसैले त ट्रम्प पनि भोटको लोभले यसको -यालीमा सहभागिता जनाउँछन् !

नेपालमा पनि पछिल्लो पटक जब तीन महिनाभन्दा बढीको भ्रूण हत्यालाई पनि कानुनी रुप दिन खोजिएको खुलासा भयो, गर्भपतनको इतिहास र यसको विकृत वर्तमान संस्मरण गर्न आवश्यक भएर आयो। जसरी गर्भपतनलाई व्यापार बनाउने खेल भइरहेको छ, यसले भविष्यमा गम्भीर परिणति निम्त्याउने कुरामा दुई मत छैन।

Leave A Comment