कमेडी च्याम्पियन: भाइरल बनेका सुमन

शनिबार, १८ माघ २०७६, १२ : ४३ शुक्रवार
कमेडी च्याम्पियन: भाइरल बनेका सुमन

घिरौँली सञ्जु

कमेडी च्याम्पियनबाट आउट भएर पनि वाइल्ड कार्डमार्फत सन्जु कटुवाल पुनः देखा परिन्। उनले आउनेबित्तिकै आफैँलाई व्यङ्ग्य गरिन्। उनले फेमस भइन्छ भनेर हुँदाखाँदाको जागिर छोडेर कमेडी च्याम्पियनमा आउँदाको दुःख बिसाइन्। अहिलेका युवतीलाई घर–समाज सबैतिर कसरी बिहेको दबाब र प्रश्नले हैरान पार्छ भन्ने सन्दर्भमा उनले गरेको व्यंग्यले हँसाउन बाध्य पारेको थियो।

बिहेको सन्दर्भ निकाल्दै उनले जन्तीको बानीबेहोरादेखि दाइजोसम्मका कुरालाई लिएर व्यंग्य कस्न भ्याइन्। तर उनको हँस्यौलीलाई जज प्रदीपले पञ्च कम भएको भन्दै उल्टै पञ्च हान्न भ्याए।

जज ऋचाले पनि उनलाई अर्को पञ्च त्यही पञ्चलाइनका सन्दर्भमा हानिन्, भनिन्, ‘राम्रो गरेको तर पञ्चलाइनलाई अझ राम्रोसँग व्यक्त गर्नेबेलामा छोडेको देखियो। त्यसलाई समाउनुस्।’

जज मनोज चाहिँ आफ्नो कला प्रदर्शन गर्ने मौका छाड्दैनन्। उनले काव्यात्मक शुभकामना दिन भ्याइहाले, ‘जहिले र जोसित बिहे गरे पनि वर्ग र मन मिलोस्’ भनेर।

अतिथिका रुपमा दुई जना पूर्व मिस नेपालहरु माल्भिका सुब्बा र शृंखला खतिवडाले सहभागिता जनाएका थिए।

भ्रष्टाचार कसरी घरबाटै शुरु हुन्छ भन्ने सन्दर्भलाई क्षितिज केसीले राम्रैसँग व्यक्त गरेका थिए। ‘आमाले तँ नर्सरीमा टप थ्रीमा परेर देखा तँलाई साइकल किनिदिन्छु भन्नुभयो। मैले दश रुपैयाँ जम्मा गरेर पहिलोलाई तँ दोस्रो हो, नत्र म तेरो खाजा खाइदिन्छु भनेर धम्क्याएँ। नभन्दै ऊ सेकेन्ड भयो, म तेस्रो। त्यसपछि आमालाई साइकल खोई भनेँ, आमाले अहिलेलाई यो डेरी मिल्क खा, अर्को पालि किनिदिउँला रे !’

शृंखलाले नियमित रुपमा क्षितिजको प्रस्तुति हेर्ने गरेको खुलासा गरेकी थिइन्। उनले क्षितिजका बारेमा लेखिएका युट्युब कमेन्ट अझ रमाइलो हुने पनि बताएकी थिइन्।

जोकर बनेकोमा गुनासो
आफूसँगै कलेज पढेकी साथी शृंखला कहाँ पुगिसकी अनि आफू भने जोकर बनेर हँसाइरहनु परेकामा दुःख मनाउ गर्दै उनले दर्शकलाई हँसाउने प्रयास गरे।

उनले यस पटक थरिथरिका भुतहरुको प्रसंग सुनाएर हँसाउन खोजे। उनले भुतहरु गरिबहरुको घरमा नजाने तर ठूला महल र हवेलीहरु नछाड्ने प्रसंग जोड्दै गरिबकोमा सातु पनि खान मुस्किल हुने बताउँदै धनीहरुकोमा त सातो नै खान पाइने भएकाले उनीहरु धनीहरुकोमा बढी हुने बताउँदा दर्शकदीर्घामा हाँसो गुञ्जियो।

रोल्पाका खड्गबहादुर पुन मगरले यत्रो जोक गर्न थालेपछि बल्ल श्रीमतीले चिन्न थालेकामा खुसी प्रकट गरेका थिए। वाइल्ड कार्डबाट पुनः ल्याइएका उनको प्रस्तुतिलाई माल्भिकाले क्युट मानिन्।

भाइरल बनेका सुमन
‘वाइल्ड कार्ड इन्ट्री’ पाएर टप ७ मा फर्केका सुमन कोइरालाको प्रस्तुति  उत्कृष्ट बन्यो। उनले स्टेजमा छिर्दै गर्दा एक दुई घण्टीमा फोन उठाउने नै हैन भन्दै स्टेजमा पुगेपछि फोन उठाए। जग्गा दलालका रुपमा उनले दिएको प्रस्तुतिले पेट मिचीमिची हँसाएको थियो। उनले कसरी सरकारी र महँगा जग्गाहरु राजनीतिक सेटिङमा मिलाइन्छन् भन्ने विषयलाई व्यंग्य पस्किँदा दर्शक र जज सबैलाई मख्ख पार्न भ्याएका थिए।

एक जग्गा दलालका रुपमा आफू प्रधानमन्त्री केपीकहाँ पुग्दा आफूले बाहिरको दलाल हायर नगर्ने आफ्ना सबै कारोबार विष्णु भाइले नै हेर्ने भन्दै बालुवाटार जग्गा काण्डको भण्डाफोर नै गरिदिए।

अतिथिका रुपमा आएकी श्रृंखला खतिवडालाई समेत व्यंग्य कस्न भ्याए सुमनले। श्रृंखला र सिसन बानियाँको नाम सँगै जोडिने गरेको छ। सोही सन्दर्भमा फोनमा कुरा गर्दै जग्गा दलाल बनेका सुमन भन्छन्, ‘कुन जग्गा रे ? सिसन बानियाले ड्रोन उडाएको जग्गा क्या त ! के हो ड्रोन भन्या रे ? ड्रोन राम्रै कुरा हो क्या ! त्यो पनि सिसन बानियाले उडाएको कुरा नराम्रो हुन्छ र ?’

पछिल्लो समय उनको यो जग्गा दलालीको भिडियो भाइरल भइरहेको छ। यही भिडियोका कारण उनलाई एउटा सम्भावनायुक्त कमेडियनका रुपमा हेरिदैछ। उनले अचानक राम्रा मानिएका अन्य प्रतिस्पर्धीलाई प्रतिरक्षात्मक बनाइदिएका छन्।

टप १० बाट आउट भएका सुमन वाइल्ड कार्डमार्फत टप ७ मा फर्किएका छन् भने यो एपिसोडमा सर्वोकृष्ट घोषित भएर १० हजार नगद प्राप्त गरेका छन्।

Leave A Comment