नेपाल आइडल: भोटका लागि प्याटर्न नै चेन्ज

शनिबार, १८ माघ २०७६, १२ : ५३ शुक्रवार
नेपाल आइडल: भोटका लागि प्याटर्न नै चेन्ज

नेपाल आइडल सिजन ३ को गाला राउण्डमा टप १२ जना प्रतिस्पर्धी पुगिसकेका छन्। टप १२ मा पुगेसँगै भोटिङ राउण्ड खुलिसकेको छ।

पहिलो प्रस्तुति दिन स्टेजमा देखापरेकी थिइन्, हेटौँडाकी स्वस्तिका ढकाल। उनले ‘फर्केर लिन आएनौ’ बोलको गीत गाइन्। उनको गायन सुनेर अतिथि जेम्स प्रधानले बोकेर लैजाउँजस्तो लाग्यो भनी टिप्पणी गर्दा उनले खुसीले मुन्टो हल्लाइन्। जेम्सले उनलाई अहिले नै आफ्नो रेकर्डिङ स्टुडियोमा लगेर दुई चार वटा गीत गाउन लगाउँ र दुई चार वटा म्युजिक भिडियोमा खेलाउँजस्तो लागेको बताए।

उनको गीतमा जज कालीले सोचेको जस्तो अझै नगाएको प्रतिक्रिया दिए। अलिक कन्फिडेन्ट नपुगेको भन्दै जज इन्दिराले कन्फिडेन्ट बढाउन सुझाव दिइन्। तर खासमा भन्ने हो भने उनको गायकी अन्यको तुलनामा अलि कमजोर नै थियो।

चटपटेबाट गायिका
जज न्ह्युले झापाबाट उठाएर ल्याइएकी रचनाको आवाज रचना रिमाल अहिले नेपाल आइडल सिजन ३ की सम्भावना भएकी गायिकामा गनिएकी छन्। अटो चालक बुबा र लुगा सिलाउने काम गर्ने आमालाई सघाउन स्कुलमा पढ्दै चटपटे बेच्ने रचनाको पसलमै पुगेर टप १२ राउण्डसम्म जज न्ह्युले ल्याएका हुन्। गीत गाउँदा सधैँ डराउने रचनाले यस पटक ‘कसरी भनुँ म, मनको कुरा’ नाच्दैनाच्दै गाइन्। उनको कन्फिडेन्ट देखेर सबै जज छक्क परे। उनलाई होस्ट माम्पीले नाचेको देखेर कसरी पो नाचेको भन्दै फेरि नाच्न आग्रह गरिन्।

सैनिकका छोरा गायक
संगीतमा स्नातक प्रविन बडुवालले ‘के भूल भयो प्रिया’ गाए। गायकीमा उनले ठाउँठाउँमा लिएको हर्कतले जज इन्दिरालाई छोएको थियो। उनकी गायकी जजहरुलाई यति छोयो कि सबै जजले स्ट्यान्डिङ ओभेसन दिएका थिए। उनी कोकाकोला अफ द डे घोषित मात्र भएनन्, २० हजार नगद पनि प्राप्त गरे।

गीतार भोकल र म्युजिक सिकिरहेका कैलालीका कमल सोबले ‘मेरो आँखामा हरदिन बादल छाइरह्यो’ गाए। अतिथि जेम्सले भोकल अनुसारको गीत गाएकोमा प्रशंसा गरे।

मोरङकी सज्जा चौगालाईंले ‘रुन्न भन्थेँ कहिलै हेर आज आँसु खस्यो’ गाइन्। उनको गायन पावरफुल रहेको जज इन्दिराले प्रतिक्रिया दिइन्। यसअघि सविन राईको गीत गाएकी सज्जालाई उनले एक पटक भेट्न मन गरेको जानकारी दिइएको थियो।

यस्तै पोखराकी ममता गुरुङले ‘मनको न्यानो स्पर्श’ गाएकी थिइन्। उनको गायकीको भन्दा बढी उनको पोशाकको चर्चा भयो।

माम्पीलाई उडाए जज र होस्टले
माम्पीसँग आफूले कार्यक्रम चलाएर होला, बाटोमा हिँड्दा पनि माम्पा दाइ माम्पा दाइ भनेर बोलाउन थालेको भन्दै होस्ट आसिफले हँसाएका थिए।

ग्ल्यामर अफ द विक मेघा
नेपाल आइडल सिजन ३ मा गोल्डेन माइक्रोफोन होल्डर मेघा श्रेष्ठले अरु दिनको भन्दा फरक गाइन्। उनले रकपप गाउँदै आएकोमा यस पटक भने आधुनिक गीत गाएर सुनाइन्। उनले ‘पर्खि बसेँ आउँला भनी, मेरो उठ्ने पालो’ गाइन्। मेघाले प्याटर्न चेन्ज गरेको प्रतिक्रिया अधिकांश जजको थियो। अतिथि जेम्सले त मेघासँग गीत गाउने उद्घोष नै गरे।
उनी ग्ल्यामर अफ द विक बनिन् भने २५ हजार रुपैयाँ पनि प्राप्त गरिन्।

हेटौँडाकी मिग्मा लामाको गायकी पनि कम छैन। ‘पल पल तिम्रै सम्झनामा’ गाएर उनले सबैलाई मन्त्रमुग्ध बनाइन्। आयुर्वेदिक औषधि पसलमा काम गर्दै आएकी मिग्मालाई यस्तो मीठो स्वर कुन आयुर्वेदिक औषधिले भएको भन्दै जिस्क्याउन पनि भ्याए जजहरुले !

अर्का प्रतिस्पर्धी केविन तामाङको प्रस्तुति पनि कम देखिएन। ‘बेलाबेलाको’ गीत गाउँदा जज इन्दिराले उनको गायनको भन्दा   कपालको चर्चा बढी गरिन्। संगीत भनेको अनुभव गर्ने कुरा रहेको बताउँदै उनको मन छोएको प्रतिक्रिया दिइन्। मेरो चाही मन छोयो भनिन्। जज कालीले स्वप्निलले यो कार्यक्रम हेरेको भए धन्यवाद दिने थिए भन्दै प्रतिक्रिया दिए। उनी यस हप्ताको पर्फर्मर अफ द डे भए।

पोखराका नेशन पुन मगरले ‘डढेलो लाग्यो’ गाउँदा अतिथि जेम्स छक्कै परे। उनले यस्तो खालका गीत गाउने पुस्ता अझै पनि छन् है भनेका थिए।

अर्की प्रतिस्पर्धी मुस्कान रानाभाटले ‘अनौठो व्यथा भएछ’ गाउँदा जज इन्दिराले भर्सटायलमा गएको प्रतिक्रिया दिएकी थिइन्। अर्का जज कालीले मुस्कानले ह्याट्रिक नै गरेको बताए।

जजलाई गुलाफ
किरण भुजेलले ‘भन्छु आज मनका कुरा’ गीत गाए। उनले गीत गाउँदागाउँदै जज इन्दिरालाई गुलाफको फूल दिएका थिए। फूल पाएपछि फुरुङ्ग भएकी इन्दिराले यो क्षण यादगर बनेको बताइन्। अर्का जज न्ह्युले आफूहरुको भागमा पात नै परेको भए पनि याद गर्ने थियौँ भन्दै हँसाएका थिए। अतिथि जेम्सले त उनको तारिफमा स्टेजमा पुगेर तस्बिर नै खिचाएका थिए।

Leave A Comment