दुई वितरकको भाले जुधाई : उदाङ्ग भयो अव्यवसायिकता !

सोमबार, २० माघ २०७६, १२ : २० भोला अधिकारी
दुई वितरकको भाले जुधाई : उदाङ्ग भयो अव्यवसायिकता !

सिनेमा हल र चलचित्र निर्माताबाहेक मनोरञ्जन उद्योगमा अर्को एउटा महत्वपूर्ण पाटो फिल्म वितरण पनि हो। तर यो कति अव्यवसायिक छ भन्ने कुरा हालै दुई वितरकहरु एकआपसमा भिडेबाट प्रस्ट हुन्छ।

‘पोइ प-यो काले’को वितरण अधिकार पाएका दुई वितरक गोपाल कायस्थ र करण श्रेष्ठबीच गएको साता झण्डै हात हालाहालको स्थिति आयो। कुरा फेसबुकसम्म चुहियो र मामिला अदालतसम्म पुग्ने धम्की दिइएको छ तर हाललाई यी दुई वितरकबीच कुरा नचर्काउने भनी सहमति भएको छ।

के भएको थियो ?
हालै ५१ दिन मनाएको फिल्म ‘पोइ प-यो काले’ कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आएको थियो। फिल्मले करोड बढी व्यापार गरेको बताइन्छ। ‘पोइ प-यो काले’को सेयर भागबण्डा नमिल्दा यी दुईबीचको झगडा सार्वजनिक भएको हो।

काठमाडौँ उपत्यकाभित्र वितरण जिम्मा पाएका दुई कम्पनीका सञ्चालकमध्ये एक कायस्थले फिल्म प्रदर्शनबापतको १८ लाख नपाएको झोँकमा नेपाल चलचित्र संघमा मुद्दा हाले। चलचित्र संघ अन्तर्गत वितरण विभाग छ र सो विभागले वितरकहरुका समस्याहरु समाधान गरिदिने गर्छ।

कायस्थले मुद्दा दर्ता गरेपछि अर्का वितरक करण श्रेष्ठले सबै रकम सिनेमा हलबाट उठाउन भ्याइनसकेका कारण बक्यौता बाँडफाँडमा ढिलाई भएको स्वीकारेका छन्। तर आफ्नो भागबाट कायस्थले पाउने ६ लाख भने दिइसकेको बताएका छन्।

कायस्थको बिके इन्टरटेन्मेन्ट र श्रेष्ठको रिच इन्टरटेन्मेन्टबीचको यो झगडाले फिल्म उद्योगमा जसले सक्यो, उसैले पैसा उठाउने र खाइदिने प्रचलन कति छ भन्ने देखाउँछ।

कसरी भयो विवाद
फिल्म वितरक गोपाल कायस्थ र अर्का फिल्म वितरक करण श्रेष्ठबीच दुवैले हलमा सिनेमा वितरण गर्ने र सेयर पनि बराबर भाग लगाउने सम्झौता गरेका थिए। सो सम्झौतामा दुवै मिलेर हलबाट फिल्मको पैसा उठाउने भन्ने थियो। तर कायस्थ काम विशेषले अस्ट्रेलिया गएका बेला श्रेष्ठले एकलौटी ढंगबाट हलबाट पैसा उठाएर खाएको आरोप बिके इन्टरटेन्मेन्टका तर्फबाट कायस्थले लगाएका थिए।

यता रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले भने आफूहरुबीच कुनै झगडा नभएको बताए। ‘हामीबीच त्यस्तो कुनै ठूलो झगडा भएको होइन,’ उनले बेलिबिस्तार लगाए, ‘पार्टनरसिपमा फिल्म लिएका थियौँ। उहाँले लगाउनु भएको आरोप सबै गलत छ। उहाँ (कायस्थ)ले मलाई ४५ लाख रुपैयाँ हलबाट उठाएर खाएको आरोप लगाउनुभएको छ।’

गाेपाल कायस्थ, किरण श्रेष्ठ

बरु उनलाई यो कुरा फेसबुकमा प्रचार भएकामा दुःख लागेको छ। ‘हुँदै नभएको कुरा मिडियामा प्रचार ल्याइयो,’ उनले दुखेसो पोखे, ‘चलचित्र विकास बोर्डमा रिच इन्टरटेन्टमेन्टकै फिल्म भनेर गएपछि रिच इन्टरटेन्टमेन्टबाहेक कसले पैसा उठाउँछ त ?’

यता कायस्थले सम्झौतामा दुवै जनाले संयुक्त रुपमा पैसा उठाउने र बाँड्ने सहमति भएको लिखित सम्झौता देखाउँदै भने, ‘यी हेर्नुस्, मैले झूटो बोलको भए ! यही पत्रले बोल्छ।’

उनले भने, ‘करण श्रेष्ठ र मेरो समन्वयमा फिल्म ‘पोइ प-यो काले’ लिएर चलाउने भनेको हो। दुवैले हलबाट पैसा उठाउने सहमतिमा हस्ताक्षर भएको छ तर म अस्ट्रेलियामा भएका बेला पैसा उठाइयो र त्यसको हिसाब किताब भएन।’

गोपालले बेलिबिस्तार लगाए, ‘म अस्ट्रलियाबाट फर्केपछि करणलाई हलमा पैसा उठाउन जाऊँ भनेँ। उसले पैसा उठाउन बाँकी छ भन्यो तर बुझ्दा हलबाट पैसा उठाइसकेको रहेछ ! मलाई भने जहाँ पैसा आउँदैन वा थोरै पैसा उठ्छ, त्यो हलमा मात्र पैसा उठाउन बाँकी छ भनेर देखायो। जहाँबाट बढी पैसा उठ्छ र बढी उठ्छ, त्यसको भने एकलौटी उठाइसकेको पाएपछि मैले चलचित्र संघमा मुद्दा हालेको हुँ।’

यता करणले भने बिके इन्टरटेन्टमेन्टले पैसा उठाउने सम्झौतापत्रमा नभएको र पैसा उठाउने जिम्मा रिच इन्टरटेन्टमेन्टको मात्र रहेको बताए। ‘मैले उठाएपछि दुवैबीच बाँड्ने सहमति भएको हो,’ उनले भने, ‘गोपाल दाइले लगाएको आरोप झूटो हो। उहाँले त्यो कसरी भन्नुभयो थाहा भएन।’

‘पैसा भन्ने चिज एकै पटक कहाँ आउँछ र ?’ स्पष्टीकरण दिँदै करणले भने, ‘फिल्म अझै चलिरहेको छ। उहाँले सबै हलबाट पैसा लिएर खाएको आरोप लगाउनु भएको छ तर मैले पैसा कसरी खाएँ ?’

श्रेष्ठको भनाइ छ, ‘उहाँले मलाई आरोप लगाइरहँदा आधाभन्दा धेरै हलबाट अझै पैसा लिन बाँकी छ। चार वटा हलको पैसा त उहाँले नै राख्नुभएको छ, जसमा मैले केह ीभनेको छैन। बजारबाट ७५ प्रतिशत पैसा उठाउनै बाँकी छ। रिच इन्टरटेन्टमेन्टले नै पैसा उठाउने अधिकार छ तर बिके इन्टरटेन्मेन्टले पैसा उठाउन कसरी पाउँछ ?’
श्रेष्ठले कायस्थले आएर आफूसँग हिसाब माग्ने अधिकार भएको तर पैसा उठाउँदै हिँड्ने अधिकार नभएको बताए।

खोजी पुराना फिल्मको पुरानो रकमको
विवाद बढ्दै जाँदा करण श्रेष्ठले आफूलाई कायस्थले १५ वटा पुराना फिल्मको पैसा नदिएको आरोप उल्टै लगाएका छन्। आफूले दुई वर्षअघिदेखिको पैसा नपाउँदा आफूले केही नभनेको तर उनले साझेदारीमा चलाएको फिल्मको दुई महिनामै आधा बढी दिँदा पनि उल्टै बेइज्जती गरेकोमा खिन्नता प्रकट गरे।

यता आफूले पाउनुपर्ने रकमका बारेमा पटक–पटक फोन गर्दा पनि नउठाएको कायस्थको भनाइ छ। उनले फेसबुक र मोबाइलको म्यासेजहरु देखाउँदै भने, ‘यत्तिका धेरै म्यासेज गर्दा पनि करणले कुनै प्रतिक्रिया दिएन। न फोन उठाउँछ, न म्यासेजको रिप्लाई दिन्छ।’

अत्ति भएपछि आफूले चलचित्र संघको वितरण विभागमा मुद्दा हाल्न बाध्य भएको उनको भनाइ थियो। ‘पुराना फिल्मको कुरा गरेको मैले पनि सुनेँ तर त्यो पैसा लिन आइज भन्दा पनि अहिलेसम्म आएको छैन,’ कायस्थ भन्छन्, ‘करणले पन्ध्र वटा फिल्मको ७० हजार जति पाउन छ। लिन आए, अहिल्यै दिन्छु।’

तर यता करणले कहिलेकाहीँ फोन नउठ्ला, उठाउन नभ्याइएला तर टेबल टक गर्न त पाइयो नि भन्दै फोन नउठ्दैमा गम्भीर आरोप लगाउन नहुने गुनासो गर्छन्।

कुरा बिगा-यो उजुरीले
आफूभन्दा अग्रजले केही दिन प्रतीक्षा नगरी सिधै फेसबुकमा मान मर्दन गरेकामा चित्त श्रेष्ठ दुखाउँछन्। संघमा हालेको उजुरीपछि आफूलाई त्यहाँबाट कुनै बोलावट नभएको र जानकारी नपाएको बताउने करणले त्यहाँ छलफल भएको र मैले नमानेको भए अग्रजका हिसाबले कुटेको भए पनि फरक नपर्ने श्रेष्ठले बताए। तर सार्वजनिक रुपमा यसरी मानमर्दन गर्दा भोलिका दिनमा गालीबेइज्जतीको मुद्दा अदालतसम्म पुग्यो भने अग्रजहरुको हालत के होला भनी हल्का धम्क्याउन पनि भ्याए।

आफ्नो तर्फबाट कायस्थले पाउनुपर्ने केही रकम दिएको र बाँकी रकम हलबाट आइनसकेको सन्दर्भमा यत्ति चाँडै आवेशमा आउन नहुने उनको तर्क छ।

यता गोपालले पनि आफूले फेसबुकमा संघमा दिएको उजुरी फेसबुकमा राख्नु गल्ती भएको स्वीकारेका छन्। ‘मैले नहुने गल्ती गरेकै हो, त्यो मैले स्वीकारेँ पनि,’ उनले भने, ‘तर मैले पैसा पाउनु छ, त्यसका लागि त माफी किन माग्ने ?’

Leave A Comment