कुनै समय यहाँ निर्माण हुने हरेक क्षेत्रमा विदेशी सिमेन्ट प्रयोग हुन्थ्यो। तर, अहिले यहाँको सिमेन्ट उद्योगले स्वदेशी बजारको माग धानेर विदेश निर्यात गर्ने क्षमता विकास गरेका छन्। सिमेन्ट उद्योगमा निजी क्षेत्रको प्रवेशपछि मुलुकमा सिमेन्ट उद्योग फस्टाए। फलस्वरुपः मुलुक सिमेन्टमा आत्मनिर्भर बन्यो।
सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रवराज थापाका अनुसार नेपाली बजारमा करिब ९० लाख मेट्रिक टन सिमेन्टको माग छ। यहाँका उद्योगको सिमेन्ट उत्पादन गर्ने क्षमता एक करोड ३० लाख टन पुगेको छ। यो वर्षको अन्तिमसम्म यहाँका सिमेन्ट उद्योगको क्षमता एक करोड ७० लाख टन पुग्ने थापाको दाबी छ। यहाँका उद्योगले ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गरिरहेका छन्। थापाले भने, ‘छोटो अवधिमै नेपाली सिमेन्ट उद्योग फस्टाए।’
सरकारले सिमेन्ट उद्योगका लागि अनुकूल वातावरण तयार गरेपछि स्वदेशी तथा विदेशी लगानी आकर्षित भएका हुन्। नेपालमा पहिलोपटक १९७४ मा सरकारी लगानीमा हिमाल सिमेन्ट स्थापना भए पनि निजी क्षेत्रले ०५७÷५८ सालदेखि उत्पादन सुरु गरेका थिए। दुई दशककै अवधिमा मुलुकमा सिमेन्ट उद्योगको संख्या ५७ पुगेको छ। त्यसमा दुईवटा मात्र सरकारी सिमेन्ट उद्योग छन्। उदयपुर र हेटौंडा सिमेन्ट सरकारको र अन्य ५५ वटा उद्योगमा निजी क्षेत्रको लगानी छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका निजी क्षेत्रको प्रवेशपछि सिमेन्ट उद्योग फस्टाएको हो। उनका अनुसार उपयुक्त सरकारी नीति, निजी क्षेत्रको अग्रसरता, बैंक तथा वित्तीय संस्थाको लगानी, स्वदेशी कच्चा पदार्थको उपलब्धताले धमाधम सिमेन्ट उद्योग खुलेका हुन्। उद्योग विभागका अनुसार एक सय १३ वटा सिमेन्ट उद्योगले अनुमति लिएका छन्। ‘सिमेन्टमा अवसर देखेर नै निजी क्षेत्रले लगानी गरेका हुन्,’ मुरारकाले भने, ‘नयाँ उद्योग पनि आउने क्रममा छन्।’
मुलुकमा हरेक वस्तु विदेशबाट आयात भैरहेको अवस्थामा स्वदेशी सिमेन्ट उत्पादनहरु निर्यात गर्ने तयारीमा छन्। ‘सरकारले सहजीकरण गरे सिमेन्ट निर्यात गर्न सकिन्छ,’ उनले भने।
गत वर्ष बजार मागको ९५ प्रतिशत सिमेन्ट स्वदेशमा उत्पादन भएको थियो। पाँच प्रतिशत मात्र विदेशबाट आयात भएको भए पनि यो वर्ष मुुलुक चाहिने जति सिमेन्ट स्वदेशमै उत्पादन हुने संघले जनाएको छ। सिमेन्टको माग वार्षिक १० प्रतिशत वृद्धि हुँदै गएपछि उत्पादन धेरै भएकाले निर्यात गर्नुपर्ने उद्योगी बताउँछन्। नेपालमा अहिले सरदर प्रतिव्यक्ति दुई सय ५० किलो सिमेन्ट खपत भएको उद्योगी बताउँछन्।
विकासले गति लिएका मुलुकमा सिमेन्ट प्रयोग दर प्रतिव्यक्ति करिब पाँच सय किलो रहेको छ। यसले पनि नेपालमा सिमेन्टको बजार अझै बढ्नेमा उद्योगी आशावादी छन्। करिब तीन करोड जनसंख्या भएको नेपालमा वार्षिक करिब १५ लाख मिलियन टन सिमेन्ट खपत हुनुपर्छ भन्ने उद्योगीको विश्वास छ।
संघका अनुसार सिमेन्ट बजार एक सय ५० अर्ब रुपैयाँको पुगेको छ। यहाँका खानीमा गुणस्तरीय कच्चा पदार्थ पाइने भएकाले पनि लगानीकर्तालाई सहज भएको हो। अन्य सबै क्षेत्रमा मुलुक परनिर्भर भएर व्यापार घाटा चुलिइरहेको अवस्थामा सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ। सिमेन्टमा निजी क्षेत्रले करिब दुई सय अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। सिमेन्ट उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी पनि भित्रिएको छ।
नेपालका लागि सिमेन्ट निर्यात गर्न भारतमा युपी, विहार राम्रो बजार हुन सक्छन्। यहाँ उत्पादित सिमेन्टहरु गुणस्तरीय रहेको सरकारी निकाय बताउँछन्। नेपाल नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार स्वदेशी सिमेन्ट तुलनात्मक रुमपा गुणस्तरीय छन्। उद्योगले सिमेन्ट उत्पादन गर्न नयाँ प्रविधि प्रयोग गरेका छन्। यहाँको सिमेन्ट अन्तर्राष्ट्रिय ब्रान्डका सिमेन्टसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको उद्योगीको दाबी छ।
नयाँ सिमेन्ट उद्योग आउने क्रमसँगै उद्योगले धमाधम क्षमता पनि बढाएका छन्। अवसर देखेर लगानी थप्दै उत्पादन क्षमता बढाएका हुन्। ६ सय टन सिमेन्ट उत्पादन गर्ने अर्घाखाँची सिमेन्टले १२ सय टन हुँदै २३ सय ५० टन पु¥याउने तयारी गरेको छ। भारत निर्यात गर्ने योजनाअनुसार क्षमता बढाउन लागेको अर्घाखाँचीका सञ्चालक रहेका मुरारका बताउँछन्। सिमेन्ट उद्योगमा बैंकहरुले लगानी गरेकाले पनि उद्योगीलाई सजिलो भएको हो। बैंकहरुले अर्बौं रुपैयाँ लगानी गरेका छन्। रिद्धिसिद्धि सिमेन्टमा आधा दर्जन बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ, सौर्यमा १५ अर्ब रुपैयाँ लगानी गरेका छन्।
सिमेन्ट उत्पादनमा प्रयोग हुने क्लिंकरमा भने मुलुक अझै आत्मनिर्भर बन्न सकेको छैन। गत वर्ष ३० अर्ब रुपैयाँको क्लिंकर आयात भएको थियो। यो आयात क्रमशः प्रतिस्थापन हुँदै गएको संघले जनाएको छ। क्लिंकरलाई ग्राण्डिङ गरेपछि सिमेन्ट तयार हुन्छ। ‘स्वदेशी उद्योगले धमाधम क्लिंकर प्लान्ट पनि स्थापना गरिरहेका छन्,’ थापाले भने, ‘क्लिंकरमा पनि आत्मनिर्भर बन्छौं।’ सिमेन्ट उद्योगहरुका लागि करिब १४.५ मिलियन टन क्लिंकर आवश्यक पर्ने संघले जनाएको छ। सिमेन्ट उद्योग बढेपछि क्लिकरको माग पनि दोब्बर वृद्धि भएको छ। अघिल्लो वर्ष ७ मिलियन टन क्लिंकरको माग रहेकोमा अहिले ११ मिलियन टन पुगेको छ। यहाँका पहाडमा चुनढुंगाको खानी भएकाले उद्योगीले क्लिंकर उत्पादनलाई पनि उच्च प्राथमिकता राखेका छन्।
मुलुकको समृद्धिका लागि पूर्वाधार विकास पहिलो प्राथमिकता भएकाले सरकारले पूर्वाधार योजनालाई प्राथमिकतामा राखेको छ। मुलुक निर्माणमा प्रवेश गरेकाले सिमेन्टलाई अवसर बढेको छ। भूकम्पपछि मुलुकमा पूर्वाधार निर्माणले गति लिएको छ। सडक, सिंचाइ, जलविद्युत् आयोजना, सहरीकरण बढिरहेको छ। स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश सरकारले उच्च प्राथमिकता राखेर सडक निर्माण गरिरहेका छन्।
सिमेन्ट उद्योग फस्टाए पनि यस क्षेत्रका नीतिगत झन्झट हटाउनुपर्ने उद्योगीको माग छ। उत्पादन लागत घटाउनका लागि सरकारी निकायले सहयोग गर्नुपर्ने संघका अध्यक्ष थापा बताउँछन्। ‘हाम्रो सिमेन्ट तुलनात्मक रुपमा महँगो छ,’ थापाले भने, ‘निर्यात बढाउन उत्पादन लागत घटाउनु पर्छ।’ सिमेन्ट उद्योगमा प्रयोग हुने कोइला भने विदेशबाट आयात गर्नुपर्छ। यहाँका उद्योगले दक्षिण अफ्रिका, अस्ट्रेलियालगायतका मुलुकबाट कोइला आयात गर्ने गरेका छन्। यसले पनि लागत बढेको छ।
Leave A Comment