सन् १९९१ मा एमबिबिएस सकेलगत्तै चिकित्सकीय पेशामा प्रवेश गरेका प्रा.डा. गेहनाथ बराल यतिबेला परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीका प्रमुख कन्सल्टेन्ट छन्। उनको खातामा सात हजारभन्दा बढी महिलाको मेजर सर्जरी गरिसकेको क्रेडिट छ। दुई हजारभन्दा बढीको त उनले गर्भपतन नै गरेका छन्। विराटनगरबाट चिकित्सकीय यात्रा शुरु गरेका उनले क्यानडाबाट चिकित्सकीय व्यवस्थापनको उच्च अध्ययन गरेका छन्। उनै स्त्रीरोग विशेषज्ञ प्रा.डा. बरालसँग नेपालमा अबोर्सनको अवस्था, बद्लिँदो जमाना, गर्भपतनका कारण उत्पन्न हुने विविध स्वास्थ्य समस्यामाथि केन्द्रित रही उपेन्द्र खड्काले गरेको अन्तरंगः
चिकित्सकीय पेशा गरेको पनि झण्डै ३० वर्ष पुग्न लाग्यो। पहिलो सेवाको त विशेष सम्झना हुँदो हो, हगि ?
अँ, एमबिबिएस सकेपछि १९९१ मा विराटनगरको कोशी अञ्चल अस्पतालबाट जागिरे जीवन सुरु गरेको हुँ। त्यहाँ इमर्जेन्सीमा करिब डेढ महिना र त्यसपछि पाटन अस्पतालम १५ महिना काम गरेँ।
अनि सरकारी सेवामा कहिले प्रवेश गर्नुभयो त ?
१९९३ बाट।
पहिलो सरकारी जागिरको अनुभव ?
प्राथमिक स्वास्थ्य केन्द्र धादिङको गजुरीमा केही समय काम गरेँ। रमाइलै भयो !
प्रसूतिसम्बन्धी सेवा कहिलेबाट र कसरी थाल्नु भयो ?
विभिन्न अस्पतालमा काम गर्दागदै १९९५ मा एक वर्ष पोस्ट ग्र्याजुएट डिप्लोमा इन गाइनोक्लोजी एन्ड अब्स्टेट्रिक्स (डिजिओ) पढेँ। त्यसपछि विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रुपमा काम गर्न थालेँ। यस क्रममा मैले भरतपुर अस्पतालमा झण्डै ८/९ महिना काम गरेँ। भरतपुरमा काम गर्दागर्दै पूर्वी अफ्रिकामा गएर काम गर्ने मौकासमेत पाएँ।
अनि स्त्रीरोग विशेषज्ञका रुपमा कहिलेबाट सेवा थाल्नुभयो त ?
१९९९ एमडी सकेपछि।
विशेषज्ञ नै भएपछि पहिलो पटक कहाँ सेवा थाल्नुभयो ?
एमडी गरिसकेपछि मेची अञ्चल अस्पताल झापामा अढाई वर्ष, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पाँच वर्ष र झण्डै एक वर्ष भेरी अञ्चल अस्पतालमा सेवा गरेँ।
सामान्य अवस्थामा गर्भमा बच्चा बसिसकेको छ भने बच्चा जन्माउने नै सल्लाह दिन्छु। पुनः बच्चा नजन्माउनुपर्ने अवस्थामा भने स्थायी परिवार नियोजनको विधि अपनाउन सल्लाह दिन्छु।
मैले त यहाँलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा देखेको निकै भयो नि ?
अँ, २०६५ सालदेखि म यहीँ छु। सुरुमा काजमा आएँ, पछि स्थायी भयो। न्याम्सको फ्याकल्टी टिचरका रुपमा पनि काम गरेँ। बीचमा दुई वर्षे बिदा मिलाएर क्यानडा पढ्न गएँ।
क्यानाडा चाहिँ किन जानु भएको नि ?
क्लिनिकल रिसर्च र बिजनेस एड्मिनिस्ट्रेसन अध्ययन गर्न।
डाक्टर भएर पनि बिजनेस एड्मिनिस्ट्रेसन पढ्ने ? कुरा अलि नमिलेजस्तो लाग्यो नि ?
यो विषयको ज्ञान भयो भने प्रोजेक्ट मेनेजमेन्ट गर्न जानिन्छ भन्ने लाग्यो। हस्पिटल मेनेजमेन्ट र मेनेजरका रुपमा काम गर्नका लागि यो विषय अध्ययन गर्न आवश्यक हुँदोरहेछ।
अब गर्भपतनसम्बन्धी कुरा गरौँ। पहिलो पटक कहिले गर्भपतन गर्नुभयोे ?
सन् १९९५ डिजिओ गरिसकेपछि गर्भपतन सेवा दिन थालेँ। एक जना विवाहित महिलाको करिब सात हप्ताको गर्भपतन गरेको मेरो पहिलो अनुभव थियो। ती महिलाले रोगका कारण लामो समयसम्म औषधी सेवन गरेकी रहिछन्। यस्तो अवस्थामा गर्भ बस्नु खतरनाक हुन्छ भनेर गर्भपतनका लागि श्रीमान/श्रीमती नै आए। औषधी सेवनका कारण बच्चा स्वस्थ जन्मदैन कि भन्ने लागेछ। त्यसैले उनले गर्भपतन गर्ने निर्णय गरेकी रहिछन्।
पहिलो पटक गर्भपतन गर्दा कस्तो अनुभव भयो त ?
मलाई सामान्य नै फिल भयो किनभने पढ्दाखेरी नै गरिन्छ। त्यो माइनर प्रसुडियर थियो, मेजर हैन। कुनै त्यस्तो ठूलो फिलिङ्स भएन। सामान्य उपचार गरेजस्तो सम्झिएँ।
पहिलो गर्भपतन गरिरहँदा नेपालमा यससम्बन्धी कुनै कानुन छैन, पछि समस्या होला भन्ने लागेन ?
त्यो समय गर्भपतन गर्ने कुराको कानुनी मान्यता थिएन। तर महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन भने गरिन्थ्यो।
अहिलेसम्म कति जनाको गर्भपतन गराउनु भयो ?
दुई हजार जतिको त गराइयो होला।
गर्भपतन सेवा दिने ठाउँ (संस्था) पनि सुरक्षित हुनुपर्छ। सूचीकृत सेवाप्रदायक संस्थामा सेवा लिनुपर्छ तर औषधी पसलमा जथाभावी गर्भ पतन गराउनु हुँदैन।
अहिले पनि गराउनुहुन्छ ?
अहिले करिब ३/४ वर्षयता गर्भपतन गराएको छैन। अन्य मेजर सर्जरीमै व्यस्त हुन्छु।
सबैभन्दा कम उमेरमध्ये कति वर्षकी महिलाको गर्भपतन गर्नुभएको छ ?
सन् २००४ तिर एक जना १४ वर्षीया नाबालिकाको गर्भपतन गरेकोे सम्झना छ। ती अविविहीत थिइन्। अभिभावकले गर्भपतन गराउन ल्याएका थिए।
अनि बढी उमेर ?
त्यस्तै ४५ वर्षकी महिलाको होला। ती महिलाको महिनावारी हुँदाहुँदै पनि खुला यौनसम्पर्क गर्दा लामो समयसम्म बच्चा नबसेको हुँदा अस्थायी साधन प्रयोग नगरी यौन सम्बन्ध भइरहेको रहेछ। तर अचानक ४५ वर्षको उमेरमा बच्चा बसेछ। त्यसपछि गर्भपतन गराउन आइन्। गरिदिएँ।
महिलाको उमेर ३५ नाघेपछि बच्चा जन्माउनु उचित मानिदैन, किन होला ?
महिलाको उमेर ३५ नाघेपछि गर्भ रहेको खण्डमा बच्चा अपाङ्ग हुने दर बढ्दै जान्छ। ४५ वर्ष उमेर पुगेका महिलाले बच्चा जन्माउने इच्छा नहुँदानहुँदै अचानक गर्भ रहेको खण्डमा गर्भपतन गर्नु नै ठीक हुन्छ ।
गर्भपतन गराउँदा एउटा सग्लो बच्चालाई टुक्राटुक्रा पार्नुपर्ने हुन्छ, कहिलेकाहीँ त साह्रै अपराध गरियो कि भन्ने लाग्दैन ?
हेर्नुस्, पहिलो कुरा त गर्भपतन जो गराउन आउँछन्, ती ठूलो समस्यामा पर्ने भएपछि मात्र आउँछन्। तिनको स्वास्थ्य वा गम्भीर समाजिक समस्याका गर्भपतन गराउनुपर्ने हुन्छ। गर्भपतनपछि उनीहरुको गह्रौँ र भारी मन हलुङ्गो भएको मैले देखेको छु। त्यसैले अपराधै गरेजस्तो लाग्दैन।
गर्भपतन भनेको त भ्रूणमा प्राणै नपसेको अवस्थामा समेत भ्रूण फ्याँक्ने प्रक्रिया हो। यसरी आफ्नो गर्भमा रहेको भ्रूण फ्याल्दा गर्भपतन गराउने महिलालाई कस्तो अनुभूति भएको देखिन्छ ?
मञ्जुरी लिएर नै गर्भपतन गरिन्छ। यसरी अनिच्छित रुपमा रहेको गर्भपतन गराउँदा महिला खुसी नै भएको देखिन्छ। गर्भपतन गर्नुपूर्व तनावमा रहेका महिलाको गर्भपतनपछि तनाव कम हुन्छ।
त्यसो भए गर्भपतन गराउँदा महिला दुःखी नै हुँदैनन् त ?
कुनै रोगको कारण र औषधी सेवन गर्ने महिलाले गर्भपतन गर्नुपर्ने अवस्था आउँदा उनीहरु दुःखी हुन्छन्। यसरी रोग र औषधीका कारण बाध्यताले गर्भपतन गराउँदा गर्भपतन गर्नुपरेकोमा दुःख मान्छन्। यस्ता घटना त हुन्छन् नै !
तपाईं आफूलाई गर्भपतन गराउने क्रममा कस्तो अनुभूति हुन्छ ?
लिमिटभित्रको गर्भपतन गर्दा पनि कहिलेकाहीँ केही महिनापछि यो भ्रूण पनि ठूलै हुन्थ्यो नि भन्ने त लाग्छ। तर गर्भपतन गर्नुपर्ने कारण नभई गर्भपतन नगरिने हुनाले सामान्य नै लाग्छ। गर्भपतन नगराउँदा आत्महत्यासम्मको जोखिममा पुगेका महिलाको गर्भपतन गरी ज्यान बचाउन पाउँदा खुसी लाग्छ।
प्रसूति गृहमा गर्भपतन गर्न आउनेमध्ये बढीजसो कस्ता महिला हुन्छन् ?
पेसेन्टले दिएको हिस्ट्रीलाई नै हामी आधार मान्छौं । कतिपय विवाह नगरेका महिलासमेत विवाहित भन्दै गर्भपतन गर्न आउँछन्। विश्वासको भरमा नियमअनुसार मन्जुरीनामा लिएर गर्भपतन गरिन्छ। सरकारी अस्पतालमा गोप्य हुँदैन भन्ठानेर सकेसम्म कम उमेरका र अविवाहित महिला आउँदैनन्।
श्रीमान् लिएर गर्भपतन गर्न आउने महिला कत्तिको हुन्छन् ?
धेरैजसो श्रीमान्–श्रीमती नै आउँछन्।
कस्ता किसिमका गर्भपतन बढी आएको पाउनुभयो ?
गर्भपतन गर्नुपर्ने कारण हुनुपर्छ। आमाको ज्यानमै खतरा हुने अवस्थामा गर्भपतन गर्नुपर्ने हुन सक्छ। आमाको मानसिक स्वास्थ्यलाई ख्याल गरेर पनि गर्भपतन गरिदिनुपर्ने हुन्छ।
खासमा गर्भपतन गराउनु कत्तिको ठीक हो ?
उपचारका हिसाबले त ठीक हो। त्यसमा बाध्यात्मक कन्डिसन हुन्छ। कन्ट्रासेफ्टीको अभाव भएका ठाउँमा बेलैमा स्वास्थ्य संस्थामा पुगेकालाई गरिदिनु राम्रै हो। तर त्यसरी कन्ट्रासेफ्टीको बारेमा थाहा नभएका महिलालाई कन्ट्रासेफ्टीको प्रयोग गर्नका लागि काउन्सेलिङ गरेर पठाइन्छ र पठाउनुपर्छ।
गर्भपतन गर्न आउने महिलालाई गर्भपतन नगर्ने सल्लाह कत्तिको दिनुहुन्न ?
दिन्छु नि ! सामान्य अवस्थामा गर्भमा बच्चा बसिसकेको छ भने बच्चा जन्माउने नै सल्लाह दिन्छु। पुनः बच्चा नजन्माउनुपर्ने अवस्थामा भने स्थायी परिवार नियोजनको विधि अपनाउन सल्लाह दिन्छु।
कम हप्ताको गर्भको बच्चा पनि जन्माएर बचाउने प्रविधिको विकास भैरहेको अवस्थामा नेपालमा भने २८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था राख्नु हामी पछाडि धकेलिएको जस्तो देखिन्छ। समय घटाउनु पर्नेमा उल्टै बढाउँदा हामी पछाडि फर्केजस्तै हुन्छ।
कस्तो अवस्थामा गर्भपतन नगर्ने सल्लाह दिनुहुन्छ ?
परिवार नियोजनको हिसाबले गर्भपतन गर्नु ठीक हैन। व्यक्तिगत जीवनमा असर पर्दैन र बच्चा जन्माउनुपर्ने छ तर तत्काल जन्माउने योजना नरहे पनि गर्भ रहेकोे अवस्थामा बच्चा जन्माउँदै राम्रो। गर्भमा रहेको बच्चा गर्भपतन गराउँदा फेरि गर्भ नरहन पनि सक्छ।
गर्भपतन गर्दा पुनः गर्भ रहँदैन भनिन्छ नि ?
सुरक्षित गर्भपतन गरेको अवस्थामा गर्भपतन गरेकै कारण पुनः गर्भ नरहने समस्या हुँदैन। तर असुरक्षित गर्भपतन गरेको अवस्थामा इन्फेक्सन हुन सक्छ। गर्भपतन गर्ने स्किल राम्रो नभएका व्यक्तिसँग जथाभावी गर्भपतन गराउँदा पुनः स्वास्थ्य समस्या निम्तन सक्छ।
त्यसो भए कस्तो किसिमको गर्भपतनलाई सुरक्षित गर्भपतन मान्ने त ?
गर्भपतन गर्दा आमाको स्वास्थ्यमा तत्काल र दीर्घकालसम्म असर गर्दैन भने त्यो सुरक्षित गर्भपतन हो।
गर्भपतन गराउने महिलाले म सुरक्षित गर्भपतन गर्दैछु भनेर कसरी थाहा पाउन सक्छन् ?
यहाँ दुईवटा कुरा छन्। एउटा कुरा सेवा प्रदायक सर्टिफाइड र ट्रेनिङप्राप्त हुनुपर्छ। अर्को, गर्भपतन सेवा दिने ठाउँ (संस्था) पनि सुरक्षित हुनुपर्छ। सूचीकृत सेवाप्रदायक संस्थामा सेवा लिनुपर्छ तर औषधी पसलमा जथाभावी गर्भ पतन गराउनु हुँदैन।
विकसित मुलुकमा गर्भपतन गर्ने समयावधि कम हुँदै गएको छ। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त एबोर्सनविरोधी प्रदर्शनमा सहभागिता नै जनाएर अहिलेसम्म नभएको काम गरे। विश्व स्वास्थ्य संगठनले पनि २८ हप्तासम्म गर्भपतन गर्न पाउने व्यवस्थालाई घटाएर २२ हप्तामा झारेको छ। विकसित मुलुकमा गर्भपतन गर्ने प्रवृत्ति कस्तो पाउनु भएको छ ?
विकसित मुलुकमा गर्भपतन बढी हुन्छ तर कतिपय मुलुकमा कानुनी छैन। नेपालबाट अरब मुलुकमा गएका महिला त्यहाँ कानुनी गर्भपतन नहुँदा नेपालमा आएर गर्छन्। अमेरिकाकै पनि कतिपय स्टेटमा गर्भपतनलाई लिगल मानिँदैन। उपचारात्मक हिसाबले भने गर्भपतन गरिन्छ। देश र स्टेट अनुसारको आफ्नै रुल हुन्छ।
गर्भपतन बढ्दो दरमा छ भन्नु भएको हो ?
त्यसो पनि हैन। पपुलेसन कम भएको ठाउँमा त जन्माउनै प्रोत्साहन गरेको देखिन्छ। फिनल्यान्ड, नर्वेजस्ता मुलुकमा बच्चा जन्माउन प्रोत्साहन गरिन्छ। जनसंख्या बढी भएको कतिपय देशमा गर्भपतन बढी हुन्छ।
चिकित्सकीय रुपमा कस्तो गर्भलाई गर्भपतन मान्ने ?
गर्भपतनको प्राविधिक र लिट्ररल मिनिङ फरक हुन्छ। भएको गर्भ जानु गर्भपतनको लिट्ररल मिनिङ हो। प्राविधिक परिभाषा फरक छ। भ्रूण गर्भमा बसेपछि बाँच्न सक्छ कि सक्दैन भन्ने हिसाबले हामी हेर्छौं। २० देखि २२ हप्ता भन्दा कमको गर्भमा रहेको बच्चा बाहिर पनि बाँच्न सक्दैन। त्यसैले यसलाई अबोर्सनको विधामा राख्छौँ।
त्यसो भए कस्तोलाई जन्म मान्ने त ?
२२ हप्ता भन्दा बढीको गर्भको बच्चा बाहिरी वातावरणमा बाँच्न सक्छ। त्यसैले २२ हप्तामाथिकोलाई जन्म भनिन्छ। यसलाई प्रिमेचोर डेलिभरी भनिन्छ। त्यसैले जन्मिएको बाँच्न सक्छ भने त्यो गर्भपतन हैन। त्यो प्रिमेचोर डेलिभरी हो। बाँच्न सक्दैन भने अबोर्सन हो।
विद्यार्थीलाई पढाउने क्रममा सैद्धान्तिक रुपमा कति हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्थाको बारेमा अध्यापन गराइन्छ त ?
विश्वव्यापी रुपमै पढ्दा र पढाउँदा २० देखि २२ हप्तासम्मकोलाई गर्भपतन मानिन्छ। टेक्स्ट बुकमा त्यही लेखिएको छ। हाम्रो मेन टेक्स्ट बुकमै ५०० ग्रामसम्मको भ्रूणलाई गर्भपतन भनिन्छ। सामान्यतः २२ हप्ताको भ्रूण ५०० ग्रामको हुन्छ। यसैको आधारमा अध्ययन र अध्यापन गरिन्छ। अधिकांश मुलुकमा २२ हप्तासम्मको गर्भपतन गरिन्छ।
त्यसो भए रिसर्च पेपर तयार गर्दा कति हप्तासम्मको गर्भलाई गर्भपतन भ्यालिड हुन्छ ?
हाम्रो रिसर्च पेपर लेख्दा २८ हप्तासम्म गर्भपतन गर्न पाइने व्यवस्थाका बारेमा लेख्यो भने रिसर्च पेपरै इन्भ्यालिड हुन्छ। २२ हप्ता माथिको लागि गर्भपतनका रुपमा डेटा राखियो भने त हामी उल्लु बन्छौं। यो त प्रिमेचोड डेलिभरी हो, गर्भपतन हैन।
त्यसो भए गत वर्ष आएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार, ऐन २०७५’ मा गर्भपतनसम्बन्धी २८ हप्ते प्रावधान राखिनु गलत हो ?
हो। अहिले त टेक्नोलोजीको सुविधा छ। टेक्नोलोजी र औषधी पाइन्छन्। कम हप्ताको गर्भको बच्चा पनि जन्माएर बचाउने प्रविधिको विकास भैरहेको अवस्थामा नेपालमा भने २८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था राख्नु हामी पछाडि धकेलिएको जस्तो देखिन्छ। समय घटाउनु पर्नेमा उल्टै बढाउँदा हामी पछाडि फर्केजस्तै हुन्छ।
त्यसो भए यो ऐनअनुसार काम गर्न सकिँदैन भन्न खोज्नुभएको हो ?
हो। ऐनअनुसार काम गर भन्यो भने प्रोफेसन छोड्ने अवस्था छ। काम गर्ने अवस्था छैन। यो ऐन संशोधन नै संशोधन गर्नुपर्छ। आमा र बच्चाको स्वास्थ्यलाई हेरेर उपचार गर्नुपर्छ। कतिपय महिलाको २८ हप्तापछि बच्चा ठूलो भएको अवस्थामा डेलिभरी गराउनुपर्ने हुन्छ। यो ऐनअनुसार त यसरी उपचार गर्नसमेत गाह्रो देखिन्छ। उपचार त गर्नुप-यो नि !
सरकारी तथ्यांकअनुसार वार्षिक १५ हजार हाराहारी २० वर्षभन्दा मुनिका महिलाले गर्भपतन गरेको देखिन्छ। २० वर्षभन्दा बढी उमेरका वार्षिक एक लाख बढी महिलाले गर्भपतन गराएको देखिन्छ। यो नियम आएपछि गर्भपतन गराउनेको संख्या बढ्ने सम्भावना कत्तिको हुन्छ ?
संख्या त बढिहाल्छ नि ! कमर्सियल हिसाबले गर्भपतन गर्ने पनि छन्। कमर्सियल हिसाबले गर्भपतन गर्ने संस्थालाई त जति धेरै समयसम्म गर्भपतन गर्न पाइयो, त्यति फाइदा हुन्छ नि ! तर स्वास्थ्यको हिसाबले त लामो समयको गर्भ पतन गर्नु खतरनाक हो।
उपचारात्मक हिसाबले बाहेक २८ हप्तासम्ममा गर्भपतन गर्नु अमानवीय व्यवहार भन्न खोज्नुभएको हो ?
हो। २२ हप्तापछि गर्भपतन गर्नु भ्रूण हत्याजस्तै हुन्छ। अहिलेको ऐनले भ्रूण हत्या गर् भनेजस्तै हुन्छ। भ्रूण हत्यालाई प्रश्रय दिएको देखिन्छ। जति बच्चा ठूलो हुँदै गयो, त्यति नै जोखिम बढ्छ, गर्भपतन गराउँदा। १२ हप्तामा गर्भपतन गर्नु जोखिम कम हुन्छ। यो ऐन अमानवीय किसिमको छ।
सुरक्षित गर्भपतन प्रक्रिया २०६० अनुसारै गर्भपतन गरिरहेको अवस्थामा नयाँ ऐन आइसकेपछि कार्यान्वयन गर्न सम्भव छ त ?
यहाँ प्रब्लम छ। डाक्टरले अहिलेको संविधानअनुसार पनि म उपचार दिन्न भन्न पाइँदैन। जबकि यो ऐनलाई आधार मान्दा २८ हप्तासम्मको मात्रै गर्भपतन गर्न पाइने देखिन्छ। उपचारात्मक हिसाबले त्यो भन्दा बढीको गर्भपतन नगर्ने त ? साइन्सको अगेन्स्टमा कानुन बन्यो क्या !
यसरी २८ हप्तासम्म गर्भपतन गर्न पाउने ऐन किन र कसरी आयो त ?
ऐनमा यो प्रावधान आउनुमा कतिपयको भेस्टेड इन्ट्रेस्ट होला। कमर्सियल्ली गर्भपतन गर्नेले यो प्रावधान राखेजस्तो लाग्छ।
यो प्रावधान राखिनुमा एनजीओ र आइएनजीओको पनि भूमिका छ भनिन्छ। उनीहरुलाई २८ हप्ते प्रावधान राख्दा के फाइदा हुन्छ ?
एनजीओ, आइएनजीओले आफ्नो प्रोग्राम चलाउन गर्भपतनको समयावधि बढाउन भूमिका खेलेको हुनसक्छ। यस्तो काम भएन भने प्रोग्राम नआउँदा काम पनि पाइँदैन। एनजिओ, आइएनजिओको प्रोग्राम जारी राख्न यसरी गर्भपतन गर्ने समयावधि बढाइएको हो। यसमा डब्लुएचओको पनि संलग्नता हुनसक्छ।
यत्तिका वर्षको डाक्टरी पेशाको कुनै खुसीको क्षण ?
सुसाइड गर्न हिँडकी १५/१६ वर्षकी युवतीको गर्भपतन गरिदिएँ। सुसाइड गर्न हिँडेकी महिलालाई परिवारले बाटामा भेटेर ल्याएका रहेछन्। बलात्कार भएको रहेछ। १८ हप्ता मुनिको गर्भ थियो, उनी बाँचिन्। उनी बाँचेकामा मलाई पनि आनन्द लाग्यो। म आफू चिकित्सक हुँदा, विशेषज्ञ हुँदा खुसी भएको थिएँ। आफूले गरेको उपचार सफल हुँदा खुसी भइने रहेछ !
गर्भपतन गरिसकेपछि फलोअपमा आउनेको संख्या कत्तिको हुन्छ ?
अत्यन्तै कम आउँछन्। सबैले फलोअपमा आउनु पर्दैन पनि।
गर्भपतनका कारण समस्यामा परेर आएकी महिलालाई बचाउन नसकिएको कुनै घटना ?
केही वर्षअघि बाहिर असुरक्षित गर्भपतन गराएकी तर समस्या भएपछि उपचार गर्न आउँदा महिलाको मृत्यु भएको घटना याद छ। पाठेघरमा प्वाल परेर ब्लिडिङ भएर आएकी थिइन्। तर उपचारपछि पनि बचाउन सकिएन। त्यस्तो समस्या भएर आएका धेरैलाई बचाएर पठाइन्छ तर उनलाई समयमा ल्याइएको थिएन र दुर्घटना घट्यो। समयमै आइपुगेको भए बचाउन सकिन्थ्यो भन्ने अझै लागिरहन्छ।
Leave A Comment