माछा थेरापीकाे अनाैठाे उपचार

मङ्गलबार, २१ माघ २०७६, ०१ : ३५ शुक्रवार
माछा थेरापीकाे अनाैठाे उपचार

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

माछाबाट टोकाएर गरिने थेरापीलाई ‘फिस थेरापी’ भनिन्छ। यस किसिमको प्राकृतिक थेरापीलाई ‘इथियो थेरापी’ का नामले पनि चिनिन्छ। यो थेरापी विशेषगरी जापान, कोरियाजस्ता मुलुकबाट परम्परागत किसिमले सुरुवात भएको हो।

माछाबाट टोकाएर गरिने थेरापी थाइल्यान्ड, मलेसिया, इन्डोनेसियाजस्ता मुलुकमा प्रसिद्ध छ। युरोप, अमेरिकाजस्ता मुलुकमा पनि यसलाई खुट्टाको नङ सफा गर्ने ‘फिस पेडिक्योर’ थेरापीको रुपमा प्रयोग गरेको पाइन्छ। ‘फिस थेरापी’ व्यक्ति स्वस्थ, फिट तथा सुन्दर रहन प्रयोग गरिन्छ।

नेपालमा पनि प्राकृतिक किसिमको यो थेरापी करिब सात वर्षअघि भित्रिएको हो। विशेषगरी स्पा, फिटनेस क्लब, होटल तथा प्राकृतिक चिकित्सालयमा यस्तो थेरापीको अभ्यास तथा प्रयोग गरिन्छ। काठमाडौं, पोखराजस्ता मुख्य सहरमा ‘फिस थेरापी’को प्रयोग बढ्न थालेको देखिन्छ।

यसरी गरिन्छ ?
माछाबाट टोकाएर गरिने थेरापी गर्नका लागि स–साना भुरा माछाको प्रयोग गरिन्छ। नुहाउन मिल्ने किसिमका बाथटपजस्ता सिसाका एकुरियममा माछालाई राखिन्छ। एउटा एकुरियममा करिब एक सय माछा राखिन्छ। औंलाभन्दा साना भुरामाछा राखिन्छ। विशेषगरी ‘गारा रुफा’ प्रजातिका माछा राखिन्छ। यस्ता जातका माछा थाइल्यान्ड, कोरियाजस्ता मुलुकमा पाइन्छ। अहिले भने विस्तारित भएर संसारका धेरै मुलुकमा पाइन्छ। माछा राख्ने एकुरियममा माछालाई सहजताका लागि अक्सिजनको प्रयोग गरिन्छ।

त्यसपछि एकुरियममा घुँडाभन्दा तलको भाग पानीमा डुब्नेगरी राखिन्छ। पानीमा राखिएको खुट्टाको छाला माछाले टोक्छ। विशेषगरी कुर्कुच्चाको तल्लो भाग र नङको कापमा टोक्छ। यसरी टोक्नेक्रममा सियोले घोचेझैं घोच्छ। त्यसरी टोक्दा अकुपञ्चरको काम पनि हुन्छ। ‘गारा रुफा’ जातकै माछालाई टोकाउनुको कारण, यो माछाले खुट्टाका मृत छालाका कोष आहाराका रुपमा खान्छन्। मृत कोष कमलो हुने भएकाले यही कोषमा नै माछाको बढी ध्यान जान्छ। सक्रिय कोष खाँदैनन्।

यसरी मृत कोष माछाले खाँदा खुट्टामा नयाँ कोष तथा मांशपेशीको उत्पादन हुन्छ। जसका कारण शिरदेखि पाउसम्म रक्तप्रवाह सहजरुपमा हुन्छ। यसरी सहजरुपमा रक्त प्रवाह खुट्टासम्म हुँदा खुट्टाको भाग मजबुत बन्न पुग्छ। खुट्टा मजबुत बन्ने भएकाले सहजै खुट्टा मर्किने, सड्किने तथा बाथको समस्याबाट समेत बच्न सकिन्छ। खुट्टा मजबुत हुँदा चिसोको असरबाट समेत बच्न सकिन्छ।

सुन्दरताका लागि थेरापी
सुन्दरताका लागि पनि यो थेरापी अत्यन्तै प्रख्यात छ। यो थेरापीलाई मालिस तथा पेडिक्योरका रुपमा समेत प्रयोग गरिन्छ। माछाले खुट्टाका मृत मांशपेशी खाँदा खुट्टा सफा र सुन्दर हुन्छन्। यो थेरापी एक किसिमको फेसियल जस्तै हो।

विशेषगरी सुविधा सम्पन्न मुलुकमा महिलाले यो थेरापी खुट्टाको सुन्दरताका लागि गर्ने चलन छ। सुरुसुरुमा यो फिस थेरापी गराउँदा काउकुति पनि लाग्छ। तर केही मिनेटपछि शरीरलाई बानी पर्छ। हल्का सियोले खोपेजस्तो दुख्न सक्छ। तर यसरी खोप्दा नकारात्मक असर भने पर्दैन। पुरुषको तुलनामा महिलाले नै यो थेरापीको सेवा बढी लिएको देखिन्छ।
छालालाई धक्का दिई ठुंग्ने भएकाले छालामा हल्का दबाब पर्छ। जसले मालिसको काम गर्छ।

वयस्क र पाकोलाई बढी लाभदायक
माछाबाट टोकाएर गरिने ‘फिस थेरापी’वयस्क व्यक्तिले नै बढी लिएको पाइन्छ। यो थेरापी बालबालिकाले लिन त्यति आवश्यक हुन्न। किनकि उनीहरुको खुट्टाको मांशपेशी मृत भैहाल्ने अवस्था हुन्न। तर पाको उमेरका व्यक्तिमा खुट्टाको मांशपेशी तथा कोषिकाको मृत्यु हुने दर बढ्दै जाने भएकाले त्यस्ता पाका उमेरका व्यक्तिले यो थेरापी लिनु लाभदायक हुन्छ। पाका उमेरका व्यक्तिले प्रत्येक महिना यो थेरापी गर्नाले खुट्टा दुख्ने, सुन्निने, हाडजोर्नीसम्बन्धि समस्याबाट बच्न सकिन्छ।

यो थेरापी गर्मी महिनामा बढी लिने चलन छ। गर्मी मौसममा लिनु ठिक पनि हो। गर्मी मौसममा धेरै पसिना आउने भएकाले खुट्टाका छालामा मृत कोषिका बढी निस्कन्छन्। त्यसैले जाडोको तुलनामा गर्मी मौसममा यो थेरापी गर्नु उचित हुन्छ। तर सामान्यतः सबै मौसममा लिन सकिन्छ।

पेशागत हिसाबले अफिसियल काम गर्ने व्यक्तिले लिनु उचित हुन्छ। अफिसियल काम गर्ने तथा व्यायाम कम गर्ने व्यक्तिको व्यायामको अभावमा खुट्टामा मृत कोषिका बाहिर निस्कन नपाई बसिरहन्छन्। त्यसैले व्यायाम कम गर्ने व्यक्तिले खुट्टा र शरीरै फिट राख्न यो थेरापी गर्नु उचित हुन्छ।

महिनामा एक पटक थेरापी
वयस्क व्यक्तिले पनि यो थेरापी महिनामा एकपटक गर्नु उचित हुन्छ। महिनामा एकपटक शरीरका कोषिका पुननिर्मित हुन्छन्। तर व्यायामको अभावमा शरीरमा नयाँ कोषिकाको पुनर्निर्माण हुन पाउँदैनन्। त्यसैले यसरी कोषिकाको पुनर्निर्माणका लागि यो थेरापी गर्न सकिन्छ। ‘फिस थेरापी’ गर्नाले खुट्टामा मात्रै नभई सिंगो शरीर नै स्वस्थ र सुन्दर मात्रै हैन फिट रहन पनि सहयोग मिल्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment