दुई बर्ष पुरानो घाउको दुश्मनी

शनिबार, २५ माघ २०७६, १२ : १८ इश्वर कुमार मैनाली
दुई बर्ष पुरानो घाउको दुश्मनी

म्युजिक नेपालले नेपाली श्रष्टाका करोडौँ मूल्य बराबरका गीत र भिजुअल आफ्नो पेवा जसरी प्रयोग गरिरहेको र सोबापत दिइनुपर्ने रोयल्टी र अन्य लाभांशमा वञ्चित गरेको भन्दै केही श्रष्टाहरुले प्रहरीमा जाहेरी दिने तयारी गरिरहेका छन्। करोडौँ रुपैयाँ बराबरको अनियमितता म्युजिक नेपालले गरिरहेको दाबीका साथ गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यसँगै गीतकार यादव खरेल, गायक प्रेमध्वज प्रधान, संगीतकारद्वय लक्ष्मण शेष र राजन ईशान लगायतका केही श्रष्टाले जाहेरी दिने अन्तिम तयारी गरिरहेका हुन्।

त्यसो त केही मिडियामा जाहेरी दर्ता भइसकेको समाचार आए पनि यो समाचार तयार पारुञ्जेल जाहेरी दर्ता गरिएको छैन। अन्तिम तयारी भइरहेको संगीतकार संघ नेपालका निवर्तमान अध्यक्ष लक्ष्मण शेषले बताएका छन्।

हेर्दा सबै स्रष्टाको मागजस्तो देखिए पनि यो केही सीमित व्यक्तिहरुको माग रहेको संगीत उत्पादक संघका अध्यक्ष बि. पाण्डे बताउँछन्। त्यसैले यो मुद्दा अदालतमा जाओस् र सरकारले निक्र्यौल गरोस् भन्ने उनी चाहन्छन्।

यस्तै विन्ध्यवासिनी म्युजिकका सञ्चालक तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष सुवास रेग्मीले त एक कदम अघि बढेर भने, ‘बाटोमा हिँड्ने केही फुर्सदिला कलाकारहरुले गरेको रोइलो मात्र हो। उनीहरुको कुरामा कुनै सत्यता छैन। यदि संगीत कम्पनीहरुले चोरेर व्यापार गर्दैनन्, बरु चोरी भएका मालहरु व्यापार भएका हुन सक्छन्। देशमा कानुन छ, हामी कानुनमा विश्वास गर्छौं। दोषीले उचित दण्ड पाउनुपर्छ।’

सत्य–स्वरुपले रोइलो मात्र गरेका हुन् त ?
गएको एक वर्षयता गायक सत्य–स्वरुपले आफ्ना पिता भक्तराज आचार्यका गीतहरु कहाँ–कहाँ बजिरहेका छन् र तिनले कति व्यापार गरिरहेका छन् भनी खोजी गरिरहेका थिए। उनीहरुको अध्ययनअनुसार म्युजिक नेपालले संसारभरिका दुई सयभन्दा बढी डिजिटल प्लेटफर्ममा सङ्गीत बेचिरहेको पाए। गायक सत्यराज भन्छन्, ‘स्रष्टाहरुलाई कुनै पनि जानकारी नदिई संसारभरि नै व्यापार गर्ने अनि स्रष्टाहरुलाई चाहिँ रोयल्टीको नाममा भिख दिएजस्तो बाँडेको देखेपछि हाम्रो मनले मानेन।’

रेडियो नेपाल, रत्न रेकर्डिङ लगायत अन्य कम्पनीका गीतलाई आफ्नै स्वामित्वमा रहेजस्तै गरी तीन दशकदेखि लगातार ठगी गरिरहेको आरोप गायक आचार्यको छ। यस किसिमको विष्फोटक बयान मिडियामा आएलगत्तै वर्षौंदेखि निदाइरहका सजर्कहरु झल्याँस्स ब्युँझिएका छन्। यससँगै अधिकांश कलाकारहरु आफ्ना पुराना सिर्जनाको हालखबर बुझ्न थालेका छन्। चाहे ओमविक्रम विष्ट होऊन् या कुमार बस्नेत, आफ्नो अधिकार खोजी छाड्ने मूडमा देखिन्छन्।

‘रोयल्टीको कुरामा यति धेरै अनिमियतता भएको छ कि त्यसको हिसाब–किताब निकाल्न धेरै समय लाग्छ,’ गायक सत्यराज भन्छन्, ‘अहिलेलाई हामीले पाँच जना श्रष्टाहरु माधव घिमिरे, प्रेमध्वज प्रधान, अमर गुरुङ, भक्तराज आचार्य र यादव खरेलको रोयल्टीको हिसाब–किताब खोजिरहेका छौँ।’

यता म्युजिक नेपालका प्रमुख कार्यकारी सन्तोष शर्माले भने म्युजिक नेपालले हिसाब किताबमा कुनै गडबडी नगरेको, स्रष्टाहरुसँग सम्झौता गरेर नै गीत तथा भिडियो बिक्रीवितरण गरेको दाबी गरे। यता गायक सत्यराज भने पछिल्लो समय कयौँ वेबसाइटबाट गीतहरु निकालेर म्युजिक नेपालले प्रमाण नष्ट गरिसकेको दाबी गरे, जसका लागि म्युजिक नेपालले कुनै किसिमको सम्झौता गरेको थिएन। उनी थप्छन्, ‘हामीलाई थाहा भएको त एउटा युट्युब मात्र हो। यो त बढी कमाई हुने प्लेटफर्ममध्ये नवौँ स्थानमा पर्छ। अब भन्नुस्, अन्य आठ वटा प्लेटफर्मको कमाई कति होला ?’ उनको चित्त दुखाई छ, ‘म्युजिक नेपालले नयाँ नयाँ प्लेटफर्ममा गीतहरु राख्दा नयाँ सम्झौता किन नगरी मनलाग्दी ग-यो ?’

‘श्रष्टाहरुलाई भिख बाँडेजस्तो दशैँको मुखमा रोयल्टी घरमा पु-याउने र आफू पारदर्शी भएको ढोंग गर्ने ?’ उनको प्रश्न छ, ‘बाँकीको करोडौँ रकम खोई ? अहिलेको हाम्रो चासो त्यही रकमको हो।’

आफूहरुले सम्पूर्ण श्रष्टाको हितका लागि कुरा उठाएका कारण अन्य स्रष्टाहरु पनि पछि गाँसिदै आउने आशा आचार्यले व्यक्त गरे।

हुन पनि अन्य आम्दानी घटिरहेका बेला म्युजिक नेपालबाट ठूलो रोयल्टी हिनामिना भएको खबर सार्वजनिक भएसँगै अन्य श्रष्टाहरु पनि पुराना सम्झौता खोज्न थालेका छन्। तीमध्ये एक हुन्, अनील सिंह। उनले गएको साता आफूले संघर्ष गर्दाताकाको सम्झौतापत्र सार्वजनिक गर्दै आफू पीडित भएको दाबी गरेका छन्। उनले पुरानो सम्झौतापत्र च्यात्तै आफ्ना सिर्जनामा पूर्ण हकका लागि म्युजिक नेपाल र इमेज च्यानलसँग वार्ता गरेका छन्। उनले भने, ‘संघर्षका बेला सहयोग गरेजस्तो गर्ने र वर्षाैंसम्म त्यसलाई दोहन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। त्यसका लागि म अन्तिम समयसम्म लड्न तयार छु।’ यसरी लड्दा आफू असुरक्षित भएको, धम्कीहरु दिन थालिएको समेत गुनासो गर्न थालेका छन्।

यसैबीच सत्य–स्वरुप, यादव खरेल, किशोर गुरुङ लगायतका श्रष्टाहरुले प्रधानमन्त्री केपी ओलीसँग भेट गरी श्रष्टामाथि भइरहेको अत्याचार अन्त्य गर्न सरकारको पहल खोजेका छन्। प्रधानमन्त्री ओलीले अन्यायमा परेका स्रष्टाले न्याय पाउनुपर्ने बताएका थिए। यसका लागि उनले एक साताको समय मागेका थिए तर समय सकिए पनि सरकारका तर्फबाट कुनै पहल नभएपछि स्रष्टाहरुले मुद्दा हाल्ने तयारी गरेका हुन्।

सत्य–स्वरुपको चासो किन ?
२०७४ सालमा सत्यराज आचार्य र उनका भाइ स्वरुपराज आचार्यले केही साथीभाइसँग मिलेर ‘साढे ७’ नामक फिल्म बनाएका थिए। फिल्म नराम्रोसँग फ्लप भयो। यसपछि फिल्मको डिजिटल अधिकारका लागि १५ लाखमा म्युजिक नेपालसँग सम्झौता भयो। साढे सात लाख रुपैयाँ लिएपछि उनीहरु विदेशको प्रदर्शनको तयारीमा लागे।

विदेशमा प्रदर्शन हुनु केही समयअघि म्युजिक नेपालले फिल्मका टुक्राटाक्री डिजिटल प्लेटफर्महरुमा हाल्न थाल्यो। सामान्यतः कुनै पनि कम्पनीले फिल्म किनिसकेपछि तीनदेखि छ महिनाभित्रमा प्रदर्शन प्रसारण गर्ने गर्छ। सोहीअनुसार म्युजिक नेपालले गीत र फिल्मका ससाना दृश्यहरु हाल्न थाल्यो। यस्ता दृश्यको प्रसारणले आफ्नो विदेश प्रदर्शनको बजार बिग्रिएको आरोप लगाउँदै आफूहरुलाई नसोधी सो कार्य गरेकामा गम्भीर असहमति व्यक्त गरे।

यो विवादलाई सल्ट्याउन म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मा, ‘साढे सात’ समूह र अन्य सहभागी भए। म्युजिक नेपालका कारण क्यानडा र अमेरिकामा प्रदर्शनको तयारी भइरहेको फिल्मको बजार बिगार्न म्युजिक नेपालले षडयन्त्र गरेको उनीहरुको बुझाइ थियो।

त्यस विवादयता सत्य–स्वरुप म्युजिक नेपालमा नटेकेको म्युजिक नेपालका एक कर्मचारीले बताए। ‘त्यसअघिसम्म उनीहरुले बुबा भक्तराज आचार्यको रोयल्टी वार्षिक रुपमा बुझिरहेका थिए तर यस घटनापछि भने उनीहरुले दुस्मनी नै गरे,’ ती कर्मचारीले भने।

यता सत्यराज आचार्य भने यो विशुद्ध श्रष्टाको अधिकार भएकाले आफूहरुले श्रष्टाको अधिकारका लागि खटिरहेको बताउँछन्।

म्युजिक नेपालका प्रमुख कार्यकारी शर्मा भने पहिला यसबारे कसैको कुनै चासो थिएन तर अन्य माध्यमको आम्दानी घट्न थालेपछि डिजिटल आम्दानीको खोजीका कारण यो विवाद शुरु भएको आँकलन गर्छन्। ‘बिक्री भएअनुसारको रोयल्टी हामीले तिरिरहेका छौँ। हामीले दिने भनेको सम्झौताले तोकेको पैसा हो। आफूले सोचेजस्तो ठूलो रकम भएन भनेर जथाभावी आरोप लगाउन पाइन्छ र ?’

म्युजिक नेपालको विरोधमा आलेख लेखेका यादव खरेलले समय–समयमा रोयल्टी बुझिरहेको तर उनको गुनासो रोयल्टीमा नभई सिर्जनामाथिको प्रतिलिपि अधिकारको रहेको शर्मा बताउँछन्। कतिपय स्रष्टाले युट्युबको व्यापारिक नियम नबुझेका कारण आफू मर्कामा परेको गुनासो आएको तर आफ्नोतर्फबाट ब्लक गर्ने लगायतका कार्य नगरेको शर्माको दाबी छ।

के भन्छन् सन्तोष शर्मा ?
तपाईंहरुले त करोडौँ झ्याम पार्नु भयो भन्ने आरोप लागिरहेको छ नि ?
यो सब झूट कुरा हो। नियोजित रुपमा एन्टी म्युजिक नेपाल क्यापेन नै चलिरहेको छ । साथीहरुले किन यो सब गरिरहनु भएको छ, हामी नै अन्योलमा छौँ।

तपाईंहरु सत्य भए मिडियामा तपाईंका कुरा देखिएनन् नि ?
हामीले प्रमाण देखाउँदा पनि मिडियाले हाम्रा कुरा सुन्न र भन्न चाहेन।

तपाईंले त रेडियो नेपालको गीत चोरेको भन्छन् त ?
हेर्नुस है, अलिकति इतिहास बताउँछु। हाम्रो संस्थालाई पहिलो एल्बम सुम्पिने मान्छे जयनन्द लामा हुन्। उनले त्यतिबेला १५ हजार रोयल्टी बुझे। त्यसपछि अन्य सर्जकहरु पनि लोभिए। त्यसपछि हामीलाई मेरो अधिकारको गीत हो भनेर सम्झौता गर्दै गीत दिन थाले। त्यसपछि गीत दिनेको संख्या बढ्न थाल्यो।

चोरी भनिएको गीतहरु कसको हो भन्ने थाहा थिएन र ?
ती गीतहरु रेडियोका हुन् कि रत्न रेकर्डिङका हुन्, हामीलाई थाहा भएन। सर्जकले मेरो हो भनेर ल्याए, हामीले उनीहरुलाई रोएल्टी दिने गरी सम्झौता ग-यौँ र आर्थिक अधिकार लियौँ।  

उसो भए किन यो विवाद त ?
३०/३५ वर्षसम्म सबैलाई हाम्रो काम सर्वमान्य भयो। अब अहिले पैसा कम भयो भन्दैमा यसरी अनेक आरोप लगाइएको छ। सबै कुरा खुला छ। बुझ्न चाहनेलाई हामी सप्रमाण देखाइदिन तयार छौँ।

रेडियोका गीत परेका छन् कि छैनन् त ?
परेनन् नै म भन्दिनँ, परे होलान्। हामीभन्दा पहिला त रेडियो नेपाल नै त थियो ! रत्न थियो, परे होलान् तर हामीलाई सर्जकले नै दिएका हुन्। उनीहरुले मेरो अघिकारको हो लिनुस् भनेर ल्याएपछि हामीले लियौँ तर रोयल्टी वितरणमा गीतकार, संगीतकार, गायक र लगानीकर्ता सबैलाई रोएल्टी दिएका छौँ।

त्यसो भए यो विवाद किन त ?
म पनि सोचिरहेछु। हामी झन् एक भएर जानुपर्ने बेलामा साथीहरु किन यसरी रोइलो गर्न थालेका हुन् ? हामीसँग आए त छलफल गरे सत्य बुझाइदिइ हाल्छौँ नि ! सत्य बुझ्न नखोज्ने, अल्पज्ञान भएर यो समस्या आएको हो जस्तो लाग्छ। संगीतको लागि केही गर्न नै भनेर आएको हुँ। संगीतबाट धन कमाउन आएको होइन। नत्र अरु कुनै व्यवसाय गर्थें होला।

त्यसो भए समस्या समाधानका लागि के गर्नु भयो त ?
रोयल्टी संकलनदेखि नेपाली संगीतको उचित बजार व्यवस्थापनको कुरामा छलफल गरेको थियौँ तर हामीलाई कसैको सहयोग पुगेन। हामी मात्रैले गर्न सकेनौँ। हामीले सके जति गरेकै छौँ। पहिलो पल्ट नेपालमा रोयल्टी बाँढ्ने हामी नै हौँ। हराइसकेका गीतहरुको संरक्षण गरेर विश्वबजारमा लाने पनि हामी हौँ। नेपाली संगीतको कुनै पक्षलाई असर पर्ने काम हामीबाट भएको भए छलफलको लागि तयार छु।

स्रष्टालाई नसोधी २५० भन्दा बढी डिजिटल प्लेटफर्ममा अर्काका सिर्जना बेच्न पाइन्छ त ?
७७ हाराहारीमा मात्रै छन्। बजारमा जति कुरा भएका छन्, ती गफ हुन्।

नयाँ प्लेटफर्ममा तपाईंहरुले मनपर्दी गर्न पाउनु हुन्छ त ? स्रष्टालाई सोध्न पर्दैन ?
पहिल्यै अख्तियारीपत्र लिएरै काम गरेका हुन्छौँ। सर्जकले बकाइदा स्वीकृति दिएका छन्। यस्तो अवस्थामा हामीले नयाँ नयाँ प्लेटफर्ममा व्यापारको खोजी त गर्छौं नै। यसबाट सर्जकदेखि सबैलाई फाइदाको काम भइरहेकै छ।

रेडियो नेपालले तपाईंहरुसँग पैसा माग्यो भने के हुन्छ ? दिनुहुन्छ त ?
१० हजारभन्दा बढी हाम्रो अधिकारका गीतहरु रेडियो नेपालले बजाइरहेको छ। त्यसको रोयल्टीको हिसाब गर्न रेडियो तयार छ ? त्यसमाथि हामीले त रेडियोसँग पनि लिएका हैनौँ, सर्जकसँग लिएका हौँ।

अनि कति सम्झौता त नक्कली छन् रे नि त ?
कुनै पनि सम्झौता नक्कली छैनन्। हामी प्रमाण देखाउन तयार छौँ। हामी सिस्टममा चल्ने संस्था हौँ। सिस्टमबाहिर गएर हामी कुनै काम कार्बाही गर्दैनौँ।

उसो भए सर्जकहरु किन यसरी तपाईंहरुसँग चिढिएका त ?
कुरो गम्भीर छ। सबैभन्दा पहिला त गीतहरु चोरी भए। गीतहरु पेन ड्राइभमा हाल्ने र बजाउने कार्य भयो। त्यहीँ बजार घट्यो। त्यसमाथि हाम्रो बजार पनि सानो नै छ। पोलिसीमा पनि गडबड छ। त्यसले पनि हाम्रो संगीतको व्यापारलाई रोकेको छ। युट्युबबाट आएको रोयल्टी सिधै प्रोड्युसरले लान्छन्। अनि सबैभन्दा ठूलो कुरा संगीत उद्योगमा आउनुपर्ने रेभिन्यु आएन। त्यसले गर्दा श्रष्टाले धेरै पैसा पाउन सकेनन्। हेर्दा हामीले कमाएर खाएजस्तो मात्र देखियो।

तपाईसँग भएका गीत उसो भए कसको हो त ?
यो हाम्रो होइन नि ! हामी त एउटा मध्यम मात्र हौँ। यो सर्जकको हो। हामीसँग त बस्, व्यापार गर्ने अधिकार मात्र छ।

अनि जसलाई पनि कपिराइट हान्नु हुन्छ रे नि ?
हामीले होइन, यो त युट्युबको नियमअनुसार हो। गुगलको नियम नै यस्तो छ। त्यहाँ सिस्टमले चल्छ। उसले यो वा ऊ, फलानो ढिस्कानो चिन्दैन नि ! यदि कसैले हाल्न चाहे रेभिन्यु सेयरिङबाट जान सकिन्छ। हामीले ब्लक कसैलाई गरेका छैनौँ।

तपाईंले बदमासी गर्नुभयो भनेर श्रष्टाहरु त प्रधानमन्त्रीकहाँसम्म पुगे नि ?
म त खुसी छु हेर्नुस्। चाँडै पुग्नु पथ्र्यो। मलाई गलत आरोप लगाइयो। नेपाल सरकारसँग मेरो आशा भनेको निष्पक्ष समिति गठन गरेर दुधको दुध, पानीको पानी बजारमा ल्याउन सकोस्। म राज्यलाई कुन हदसम्म सहयोग गर्नुपर्छ तयार छु तर मेरो एकै मात्र माग चैँ निष्पक्ष हुनुप-यो भन्ने हो।

अब यस्ता विवाद हुन नदिन के गर्दै हुनुहुन्छ ?
हामी एउटा एप बनाउँदैछौँ। जसले नेपाली गीतसंगीतको प्रवर्द्धन र विकास गर्दै रोएल्टी पारदर्शी रुपमा जसले जति पाउनुपर्ने हो सिधै उहाँकै खातामा जम्मा हुनेछ। यसबाट नेपाली संगीतको मात्र नभई देशकै अर्थतन्त्रमा पनि ठूलो सहयोग पु-याउन सक्छौँ।

‘फँस्ने अब श्रष्टा हुन् !’
बि. पाण्डे,अध्यक्ष, म्युजिक प्रड्युसर एसोशिएसन नेपाल


यो विवाद श्रष्टा, सर्जक र म्युजिक नेपाल बीचको हो भनिएको छ, जुन सरासर गलत छ। यो रोयल्टीको कुरो होइन। यो लाभांशको कुरा हो। राज्य तहबाट आफ्नो सम्पत्तिको उचित संरक्षण हुन नसक्दा यो घटना घटेको छ। तारादेवी, अरुणा लामादेखि नातिकाजी, नारायण गोपाल, भक्तराज आचार्यसम्मले अघिल्लो वर्षसम्मको लाभांश लिएका छन्। हामीले म्युजिक नेपालसँग गरेको छलफलमा म्युजिक नेपालले हामीलाई प्रमाण देखाएको छ। सर्जक–स्रस्टासँग नै आर्थिक अधिकार बकाइदाले हस्ताक्षर गरेर लिएको छ। व्यक्तिगत  दुश्मनीको आधारमा कुनै संस्थामाथि जाइलग्नु स्वाभाविक होइन। अब रोयल्टीको कुरा गर्ने हो भने राज्यले विभिन्न समूह बनाइदिएको छ, जसमध्ये रोयल्टी संकलन समाज छ, त्यसैले हेर्छ। जो–जो श्रष्टा र सर्जकले रेडियो नेपालको सम्पत्ति म्युजिक नेपाल लगायतका कम्पनीलाई बेचेका छन्,  तिनीहरुले अहिलेसम्म लाभांश रेडियो नेपालाई सावाँब्याजसहित तिर्नुपर्छ।

फुर्सदको रमाइलो
सुवास रेग्मी, रोयल्टी संकलक समाज,उपाध्यक्ष तथा सञ्चालक, विन्ध्यवासिनी म्युजिक

विरोध गर्नु पाउनु उनीहरुको अधिकार हो। त्यसमा मेरो भन्नु केही छैन तर आफ्नो स्वार्थका लागि सोच्नेले अरुको अघिकारको बारे पनि सोच्दिएको भए जाति हुने थियो। व्यापार गर्नेले कहिले पनि चोरेर गर्दैन। यदि चोरीको माल बिक्री गरेको हो भने राज्यले दण्ड दिनुप-यो। जसले चोरेर बिक्री गरेको छ, उसलाई पनि कानुनले समाउनु प-यो। यो जति जुन विवाद भनिएको छ, हाम्रो म्युजिक व्यवसायसँग जोडिएका गीतकार, संगीतकार लगायत विभिन्न संघहरुको साझा मुद्दा होइन, केही फुर्सदिला केही कलाकार भेला भएर रमाइलो गरेका मात्र हुन्।

नेपालमा कानुन छ। कानुनले सत्य बुझेर पक्कै समाधान गर्नेछ भन्नेमा आशावादी छु। जहाँसम्म सत्यस्वरुपले विन्ध्यवासिनीलाई पनि चोरीको आरोप लगाएका छन्, उनीहरुले अल्पज्ञानमा समय खेर फाले। सुवासचन्द्र ढुंगेलको ‘गीतिका’ एल्बम उहाँकै लगानीमा बनेको हो। त्यसमा आदरणीय भक्तराज आचार्यको कुनै हकअधिकार छैन। यसको अधिकार सुवासचन्द्र ढुंगेलमा निहित छ। यदि विन्ध्यवासिनीले गीतसंगीत चोरेको प्रमाणित भए म यो संगीतकर्म नै छाड्छु।

'म्युजिक नेपाल जस्ता बिचाैलियाले सर्जकलाई अपमान गरे'
चूडामणि देवकोटा, अध्यक्ष, गीतकार संघ नेपाल


सत्य–स्वरुपले उठाएका मुद्दालाई हामी सबैले समर्थन गर्नु जरुरी छ। सबैभन्दा बढी मार त गीतकारहरुलाई छ। न पैसा छ, न नाम नै। संगीतकारसम्मलाई जिनतिन पैसा दिएको देखिन्छ। हाम्रो बौद्धिक सम्पत्तिको त पूर्ण रुपमा चोरी भएको छ। म्युजिक नेपालजस्ता बिचौलिया संस्थाले चोरी गरेर हामीजस्ता सर्जकलाई अपमान गरेको छ। नराम्रो हुँदाहुँदै पनि केही राम्रो कुरा पनि भएका छन्। नेपाली गीतसंगीत विश्वबजारसम्म पुगेको छ। गीतसंगीत प्रवद्र्धन गर्ने निहुँमा व्यापार प्रवद्र्धन भयो र जसले वास्तवमै रोयल्टी पाउनुपर्ने छ, उनीहरुले पाएनन्। यो त सामूहिक लुट हो। हामीले आर्थिक–नैतिक दुवै अधिकार पाउनुपर्छ।। राज्यले यसका लागि उचित व्यवस्था गर्नुपर्छ। गीतकारहरु बढी मर्कामा छन्। तिनलाई राज्यले न्याय दिलाउनुपर्छ। गीतकार नभएका भए आज यो उद्योग यो स्थानमा पुग्न सक्तैनथ्यो। सबैभन्दा बढी सम्मान त गीतकारलाई गरिनु पर्ने हो तर बिडम्बना रोयल्टी त परको कुरा धेरैले गीतकारको नामसमेत लिन चाहँदैनन्।

Leave A Comment