विवादमा गजल: गजलकारहरुबीच घम्साघम्सी

शनिबार, २५ माघ २०७६, ०१ : ०४ इश्वर कुमार मैनाली
विवादमा गजल: गजलकारहरुबीच घम्साघम्सी

नेपालमै पहिलोपटक यहि माघ १५ र १६ गते गजल महोत्सव  गरियो।प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय युवा परिषद्को सहकार्यमा महोत्सवमा हरेक प्रदेशबाट पाँच गजलकार आएका थिए भने राजधानीबाट मात्रै २८ गजलकारको  सहभागिता थियो।

प्रथमपटक महोत्सवमा गहन छलफल हुनुपर्ने हो तर श्रष्टाहरु नै घस्साघस्सीमा नै उत्रीएपछि गहन छलफल हुन सकेन नै स्रस्टाहरु पनि विभाजीत देखिए।

नेपाली गजलमा विवाद चुलीमा पुगिरहँदा राज्य तहबाट त्यसलाई न्यूनीकरण गर्न र गजलको निश्चित दिशानिर्देश गर्न महोत्सव आयोजना गरिएको राष्ट्रिय गजल महोत्सव २०७६ का संयोजक प्रा. डा. हेमनाथ पौडेल बताउँछन् तर सहभागीहरुको मत भने फरक देखियो।

नेपाली गजलको आफ्नै निश्चित नियम नतोकिएको कारण बाहिरी गजलका नियम अनुसार नै नेपाली गजलहरु लेखिएका छन्। मोतीराम भट्टबाट सुरु भएको गजलको इतिहास आज एक सय तीस वर्ष कटिसक्दा पनि उही बाहिरी प्रभावमा नै अल्झिरहेको चिन्ता महोत्सवमा व्यक्त गरिएको थियो।

हरेक भाषाको आफ्नै महत्व र व्याकरण हुने गर्छ। गजलको विश्वव्यापी रुपलाई मध्यनजर गर्दै आफ्नो भाषाअनुकूल नेपाली गजलको आधारशीला बनाउन नसक्दा विवाद चुलिएको महोत्सवमा प्रस्टै देख्न सकिन्थ्यो।

नेपाली गजललाई निश्चित आकार दिन भन्दै छलफल, विचार–गोष्ठी तथा घोषणापत्र पनि जारी त भयो तर यस सम्मेलनपछि गजलले पुराना विवादसँगै नयाँ पनि सिर्जना गर्दैछ कि भन्ने भान उब्जिएको छ।

तर जति गम्भीर विषयमा महोत्सव आयोजना गरिएको थियो, त्यति गम्भीरता न त स्रष्टामा देखियो, न आयोजक र श्रोताहरुमा नै। कार्यक्रम अवधिभरि सभाहलभित्र भन्दा बाहिर झुण्डझुण्डमा मानिसहरु बढी देखिन्थे भने अधिकांश गुनासोमै व्यस्त थिए। सहभागी छनोट राम्रो नभएको भन्दै आलोचना गर्ने पनि देखिए। समग्रमा सकारात्मक भन्दा पनि नकारात्मक र असन्तुष्टिका स्वरहरु बढी सुनिए।

नेपाली गजल लेखनमा उब्जिएको स्वतन्त्र वा बहर भन्ने प्रश्नको उचित उत्तरको बाटो खोजिनु जरुरी रहेको अधिकांश सहभागीको भनाइ थियो। महोत्सवमा जारी भएको घोषणापत्रका अनुसार विवाद साम्य हुने भन्दा पनि विवाद बढ्ने देखिएको एक सहभागीले बताए। तर विवाद साम्य पार्नैका लागि सबैको भावना समेटिएको आयोजकहरुको दाबी छ।

विवादको चुरो
नेपाली गजलको सतहमा देखिएको विवाद भनेको बहर वा स्वतन्त्र भन्ने हो तर भित्री रुपले केलाउने हो भने विभिन्न गुट–उपगुट मज्जैले देख्न सकिन्छ। सामान्यतः बहर भन्नाले छन्दजस्तै लय विधानलाई बुझिन्छ। यो सूत्रात्मक हुने गर्छ।

स्वतन्त्र गजल भन्नाले बहरका नियमबिना स्वतन्त्र तवरले लेखिएका गजल भन्ने बुझिन्छ। स्वतन्त्र गजल लेखनमा पनि गजलकारहरुको एक मत छैन। नेपाली गजल लेखनमा चल्दै आएको परम्परालाई मान्ने कि सिद्धान्तको पछि कुद्ने भन्ने विषयको छलफल पहिलेदेखि नै चल्दैआएको छ।

नेपाली गजल लेखनमा मूलतः चार धार देखिएको छ। पूर्ण रुपमा सिद्धान्तमा लेखिनु पर्छ भन्ने जमात एकातिर छन् भने गजलको संरचनामा स्वतन्त्र लेखे पनि गजल त गजल हो भन्ने मान्यता अर्को थरिको छ। तेस्तै, तेस्रो जमातले संरचनामा रही जसरी लेखे पनि लयलाई प्राथमिकतामा राखे पुग्ने बताउँदै आएका छन्। चौथो समूहले भने बहरमा लेखिए अरु कुरालाई जसोतसो स्वीकार्न सकिन्छ भनिरहेका छन्।

भाव पक्ष सवाल भए र गजलका केही सामान्य नियमहरु, जस्तोः रदिफ, काफिया लगायतका आधारभूत संरचना मिले त्यो गजल हो भने जमात पनि देखिएको छ।

यीमध्ये कुन ठीक भन्नेबारे भने निक्र्यौल ननिस्की सबै ठीक भन्ने निष्कर्ष निकालिएकामा अधिकांशको चित्त नबुझेको देखियो।

के भन्छन् त विज्ञ?

प्रा. डा. कृष्णहरि बराल


नेपालमा बूढादेखि साना बच्चाले समेत लेख्ने विधा हो गजल। नेपालमा कुनै गजल विवाद छ जस्तो मलाई लाग्दैन। विवाद छ भने पनि त्यो समाधान हुने अवस्था चैँ म देख्दिनँ। सबै आफ्नाआफ्नै आग्रह पूर्वाग्रह राखेर बसेका छन्। यसले नेपाली गजलको श्रीवृद्धि गर्छ भन्ने म ठान्दिनँ। जहाँसम्म लेखिँदै आएको र लेखिनु पर्नेको कुरा छ, हामीले भाषालाई राम्रोसँग अध्ययन गर्यौं भने यो विवाद विवाद नै होइन। भाषाको आफ्नै विशेषता हुन्छ। मौलिक र भाव सशक्त भएर सूत्रवात, जुन गजलको अत्यावश्यक संरचना छ, त्यसलाई ध्यान दिएर लेख्न सके बहरमै मात्र लेखिनु पर्छ भन्ने हुँदैन। स्वतन्त्र गजलले पनि तहल्का मच्चाउन सक्छ। नेपाली गजल लेखनमा हाम्रो आफ्नै पहिचान पनि हुनसक्छ, विवादमा नअल्झी त्यता पनि सोच्नुपर्छ। जहाँसम्म प्रज्ञाले आयोजना गरेको महोत्सवको कुरा छ, सुधार गर्नुपर्ने, हुनुपर्ने कुरा हुँदै जाला।

डा. धनश्याम परिश्रमी


गजलको एकै सूत्र छ, एकै मत छ। गजल विशुद्ध सिद्धान्तअनुसार लेखिनु पर्छ। अन्यथा त्यो गजल नभएर अरु नै केही हुनजान्छ। पहिलो पटक आयोजना भएको कार्यक्रमले पनि नेपालको खाइपाई आएकै रोगलाई बढावा दियो। निष्पक्ष भएन। मनलाग्दी आफ्ना मान्छेहरु हालिए। यो महोत्सव भेला भो, मेला भो भन्दा माथि उठ्न सकेको छैन। गजल सिद्धान्तमा लेखिनु पर्छ। यसमा विवाद जरुरी नै छैन।

रवि प्राञ्जल


जहाँसम्म नेपाली गजलको विवादको कुरा छ, त्यसलाई जतिसक्दो चाँडो टुंग्याउन जरुरी छ। गजलको आधारभूत संरचनालाई ध्यानमा राखेर स्वतन्त्र तवरले लयात्मक रुपमा लेख्दा पनि गजल हुँदैन भन्ने कुरा होइन। जहाँसम्म प्रज्ञाले घोषणापत्र जारी गरेको छ, अब यसले भोलिको दिनमा के असर गर्छ हेर्दै जाऊँ, तर नेपाली गजल लेखन विवादमा अल्झिनु हुँदैन भन्ने लाग्छ।

करुण थापा


नेपाली गजल कस्तो के भनिरहँदा पनि गजल गजलजस्तो हुनुप¥यो। सिक्न जसरी लेखे पनि गजल चैँ बहरमा लेखिनु पर्छ भन्ने म ठान्दछु। राज्य तहबाट पनि यसरी महोत्सव आयोजना गरिनु सकारात्मक कदम हो। पहिले गजललाई एकेडेमीले कुनै मान्यता नै दिएको थिएन तर अहिले कवितालाई जस्तै यसलाई पनि एउटा विधाको रुप दिन खोज्नु आफैँमा सकारात्मक कुरा हो। जहाँसम्म घोषणापत्रको कुरा छ, यसले नेपाली गजललाई एक हदसम्म भए पनि दिशानिर्देश गर्नेछ। धेरै कुराहरु सम्बोधन भएका छन् बाँकी हुँदै जानेछन्।  समग्रमा म भने यो कार्यक्रमबाट खुसी नै छु।

पुरु लम्साल

नेपाली गजललाई महत्वमा राखेर प्रज्ञाले यो कार्यक्रम आयोजना गर्नु सकारात्मक पक्ष हो तर यहाँ जुन खाले दृश्य देखिए, त्यो सन्तोषजनक छैन। नेपाली गजल लेखनमा एकमत नहुँदा झन् अर्को मोड लिन्छ किजस्तो देखियो। सबैलाई सम्बोधन गर्न खोज्दा प्रज्ञाले जारी गरेको घोषणापत्र अर्थहीन हुन खोजेको छ। सबैलाई मनाउने हो भने सबै आफ्नो आफ्नो पारामा रमिरहेकै छन् नि, किन यो महोत्सव ? किन यो घोषणापत्र चाहियो ? कार्यक्रम सन्तुलित भएन। आयोजकदेखि सहभागी छनोटसमेत सबैमा सुधारको खाँचो छ।

Leave A Comment