फ्रान्समा ‘बुलबुल’ अवार्डेड

शनिबार, २५ माघ २०७६, ०२ : १४ शुक्रवार
फ्रान्समा ‘बुलबुल’ अवार्डेड

विदेशका विभिन्न फेस्टिभल चहारिरहेको बुलबुलले फ्रान्समा पब्लिक च्वाइस अवार्ड  जितेको छ। फ्रान्समा पाँच दिनसम्म चलेको साउथ एसियन फिल्म फेस्टिबलमा ‘बुलबुल’ले पब्लिक च्वाइस अवार्ड हात पारेको हो। फिल्म निर्देशक विनोद पौडेलले आइतबार साँझ घोषणा भएको कार्यक्रममा फिल्मले अवार्ड पाएको पुष्टि गरे। अभिनेत्री स्वस्तिमा खड्काका साथ फेस्टिभलमा सहभागी भएका पौडेलले तीन विधामा बाँडिने अवार्डमध्ये दुईमा भारतीय फिल्ममेकरले कब्जा जमाएको पनि जानकारी गराए।

दक्षिण एसियाली फिल्मका बीच भएको प्रतिस्पर्धामा भारतकै टेकिङ दि हर्सेज टु इट जलेबीज दि अनामिका हसकरले स्टुडेन्ट जुरी अवार्ड र भारतकै मोथोन दि गितु मोहनदासले जुरी अवार्ड हात पारेका थिए।

फिल्मको प्रदर्शनपछिको अन्तक्र्रियामा फिल्म हेर्ने दर्शकले फिल्ममा स्वस्तिमाको अभिनय र फिल्मको अन्त्य अत्यन्त मन पराएको पौडेलले बताए। ‘पुरुष फिल्ममेकरले महिलाको मनोविज्ञान कति मज्जाले उतारेको भनेर उनीहरुले तारिफ गरे,’ पौडेलले भने, ‘स्वस्तिमाको अभिनय र फिल्मको अन्त्य देखेर पनि उनीहरु प्रभावित भएका थिए। नेपालमा पनि राम्रा फिल्म बन्दा रहेछन्। अब खोजी खोजी हेरिन्छ भन्ने पनि उनीहरुको प्रतिक्रिया थियो।’

बुलबुलले यसअघि नेपालकै दुई राष्ट्रिय अवार्ड र सार्क फिल्म फेस्टिभलमा एउटा अवार्ड पाइसकेको छ। नेपालको राष्ट्रिय अवार्डमा अभिनेत्री र निर्देशन विधामा पुरस्कार जितेको फिल्मबाट स्वस्तिमा खड्काले सार्कमा जुरी अवार्ड हात पारेकी थिइन्।

Leave A Comment