जिम लभर सबिन

मङ्गलबार, २८ माघ २०७६, ०२ : ३० उपेन्द्र खड्का
जिम लभर सबिन

नायक श्रेष्ठ आफ्नो शरीर स्वस्थ, सुन्दर तथा मजबुत राख्न दैनिक व्यायाम गर्छन्। उनको दैनिकी व्यायामबाटै सुरु हुन्छ। बिहान सात बजे उठ्नेबित्तिकै उनी ट्वाइलेट–बाथरुम गइसकेपछि एक गिलास पानी पिउँछन्। चारवटा उसिनेका अण्डा अनि ओट्स खान्छन्।

त्यसपछि (काठमाडौंको) कमलपोखरीस्थित घरबाट आफैँ गाडी हुइँक्याएर साढे सात बजे जिम गर्न सुन्धारामा रहेको सिटिसी मलको ‘फिटनेस पार्क’ पुग्छन्। स्पोर्ट्स ड्रेस लगाएर जिम हलमा छिर्छन्। जिम हलमा छिरेर केहीबेर शरीर तन्याकतुनुक पार्दै वामअप गरेपछि जिम गर्न थाल्छन्।

आइतबारदेखि शुक्रबारसम्म हप्तामा छ दिन व्यायाम (जिम) गर्ने श्रेष्ठ फिटनेसको सूत्र अनुसार प्रत्येक दिन शरीरको फरक–फरक भागकोे व्यायाम गर्छन्। चेस्ट, बाइसेप, ट्राइसेप, सोल्जर, ब्याक, थाइजस्ता दैनिक शरीरका फरक भागको व्यायाम गर्छन्, उनी। श्रेष्ठले भने, ‘दैनिक ३५ मिनेट जति कार्डियो गर्छु।’ करिब दुई घण्टा उनी जिम हलमा बिताउँछन्।

केहीबेर जिम खानाकै क्यान्टिनमा खाजा खाँदै साथीहरुसँग गफिन्छन्। जिम सकेर नुहाइधुवाइ गरेर निस्कँदा घडीले बिहानको साढे नौ हानिसकेको हुन्छ।

जिमबाट निस्किएपछि गाडी हुइँक्याएर उनी कमल पोखरीमा रहेको कार वास सेन्टरमा पुग्छन्। त्यहाँ केहीबेर बसेपछि १२ बजे घरमा पुगेर खाना खान्छन्। खानपान गरिसकेपछि एक घण्टा टिभी हेर्दै आराम गर्छन्। आराम गरिसकेपछि आफ्नो नियमित काम गर्न थाल्छन्। चलचित्र तथा व्यवसायका काममा व्यस्त रहन्छन्।

बेलुकीको खाजामा चारवटा अण्डा, ब्राउन ब्रेड, पिनट बटरजस्ता खाजा खान्छन्। उनलाई अण्डा त्यति मन पर्दैन तर पोषणका लागि अण्डाको पहेँलो भाग फ्यालेर खान्छन्। पहेँलो भागले शरीरमा बोसोको मात्रा बढाउने उनको भनाइ छ। जसले मोटोपना बढाउन सक्छ। बेलुका घर फर्कनुअघि कमलपोखरीमै रहेको मोबाइल पसलको हिसाब–किताब हेर्छन्।

टुट्दैन मासु
व्यस्त दैनिकीलाई छिचोल्दै बेलुका करिब आठ बजे घर पुग्छन्। नौ बजे खाना खान्छन्। गर्मी मौसममा बेलुकी छ बजेभन्दा अघि नै खाना खाइसक्छन्। विशेषगरी गर्मी मौसममा खानाको रुपमा ब्राउन राइस, ब्राउन ब्रेड खान्छन्।

उनको घरमा सामान्यतः मासु टुट्दैन। श्रेष्ठले भने, ‘बेलुका नर्मल नेवारी खाना नै खाइन्छ।’ उनको पहिलो रोजाइमा कुखुराको मासु पर्छ। ‘हप्तामा एकपटक माछा खान्छु,’ नायक श्रेष्ठले सुनाए। धेरैजसो उनकी आमाले खाना बनाउँछिन्। खानपान गरिसकेपछि टिभी, कम्प्युटर, मोबाइलजस्ता सञ्चार साधनमा रमाउँछन्, उनी।

सुटिङमा घरबाटै खाना
सकभर घरमै खाना खान्छन्, श्रेष्ठ। झन् तौल घटाउने तथा शरीरलाई राम्रोसँग सेपमा ल्याउनुपरेको अवस्थामा त उनी बाहिरको खानपान गर्दैनन्। श्रेष्ठले भने, ‘सुटिङमा पनि घरबाटै खाना बोकेर जान्छु। धेरै दिन घरबाहिर बस्नु परेको अवस्थामा सुटिङ गर्ने ठाउँमै म्यानेज हुन्छ।’

विशेषगरी गर्मी मौसममा खानपानमा निक्कै ध्यान दिन्छन्। प्रायः उसिनेका खानपान गर्छन्। सुटिङ परेको समयमा जस्तो खाना उपलब्ध छ, त्यस्तै खान्छन्। उनले भने, ‘सुटिङमा डिमाण्ड गर्दिन। जे छ, त्यही खान्छु।’ उनी मम, चाउमिन, चाउचाउजस्ता खाजा सकभर खाँदैनन्। मनपर्ने फलफूलमा स्याउ हो तर जाडोमा केरा, गर्मीमा जुस, खर्बुजा बढी खान्छन्। फुर्सदमा फलफूल खान्छन्।

जिम लभर
आफू स्वस्थ, फिट र सुन्दर रहने उनको पहिलो सूत्र नै व्यायाम हो। उनी आफूले चलचित्रका लागि नै भनेर कहिल्यै पनि जिम नगरेको सुनाए। ‘म जिम लभर हो, खाना छुट्न सक्ला तर जिम छुट्दैन,’ नायक श्रेष्ठ हाँस्दै भन्छन्, ‘शरीर फिट राख्न जिम गर्छु।’ नियमित तथा सन्तुलितरुपमा व्यायाम गर्नाले जवान रहिरहन समेत सहयोग पुग्ने उनको विश्वास छ। जिम चुनौतीपूर्ण र महँगो खेलमा पर्छ।

उनले सुटिङ गर्ने क्रममा बाहेक अनुहारमा लोसन पनि नलगाएको बताए। सुटिङमा मेकअप गर्न पनि उनलाई झन्झट लाग्छ।

गर्मीमा सचेत
जाडोको समयमा सामान्य खानपान नै गर्छन्। जाडो मौसम जिमको अफ सिजन भएकाले सामान्य मोटाउँदा पनि फरक नपर्ने रहेछ। ‘यो हाम्रो अफ सिजन हो,’ नायक श्रेष्ठले भने, ‘शरीर मोटाए पनि बाक्ला लुगाले ढाक्ने भएकाले धेरै मोटाएको जस्तो देखिँदैन।’ त्यसैले गर्मी मौसमको तुलनामा मोटाउने किसिमका खानपान गर्दा पनि खासै फरक नपर्ने उनको मान्यता छ तर गर्मी मौसममा भने पातलो कपडा लगाउने भएकाले परबाट हेर्दै बडी (शरीर) को सेप देखिने भएकाले शरीर फिट राख्न अलि बढी ध्यान दिनुपर्ने उनको भनाइ छ।

सप्लिमेन्टको असरले ब्लड प्रेसर
उनले जिमको सुरुवातीमा बडीलाई चाँडै सेपमा ल्याउने भन्दै सप्लिमेन्ट खाए। कसैको बिनासल्लाह आफूले त्यस्तो सप्लिमेन्ट खाएको बताए।

‘सुनेको भरमा धेरै प्रोटिन (सप्लिमेन्ट) युज गरेँ,’ श्रेष्ठले सुनाए, ‘युट्युबमा अरुको बाइसेप बढेको देखेर अनावश्यक रुपमा खाएँ।’ तर त्यस्ता सप्लिमेन्टले शरीर सेपमा आउनुको सट्टा उल्टै उनको रक्तचाप उच्च (ब्लड प्रेसर) समस्या भयो। सप्लिमेन्टका असरका कारण आफूले करिब ६ महिना प्रेसरको औषधि नै खानुपरेको उनले सुनाए।

त्यसैले आफ्नो कोच तथा विज्ञको सल्लाहमा मात्रै सप्लिमेन्ट खान उनको सुझाव छ। फिटनेस स्ट्राइकर तथा कोचको सल्लाहबिना जिम गर्दा शरीरमा नकारात्मक असर पर्ने भएकाले यसमा सचेत हुन उनको सुझाव छ।

एलर्जीको समस्या
स्वास्थ्यमा उनी सचेत रहेछन्। वर्षमा एक पटक सम्पूर्ण शरीरको चेकअप गराउँछन्। अहिलेसम्म आफू अस्पतालै भर्ना हुनेगरी बिरामी नपरेको श्रेष्ठले सुनाए। धुलो तथा चिसोको एलर्जीको समस्या भएकाले बेलाबेलामा उनलाई खोकीले सताइरहन्छ। यस्तो मौसमी रुघाखोकी तथा एलर्जी भएको अवस्थामा मेडिकल पसलबाटै औषधि किनेर प्रयोग गर्छन्, उनी।

Leave A Comment