‘जाडोमा कफी नै प्यारो’

बुधबार, २९ माघ २०७६, ११ : ४३ शुक्रवार
‘जाडोमा कफी नै प्यारो’

पछिल्लो समयमा कमेडी च्याम्पियनमा व्यस्त रहेकी अभिनेत्री रीमा विश्वकर्मासँग गरिएको जाडो गफः

जाडो मौसम कस्तो लाग्छ ?
मलाई त जाडो मौसम एकदमै मनपर्छ। जाडो मौसममा कफी खान र साथीहरुसँग बसेर गफ गर्न आनन्द लाग्छ।

जाडो मौसम मन पर्ने कारण चाहिँ ?
खासमा मलाई गर्मी भन्दा पनि जाडो मनपर्छ। म जाडो सहन सक्ने मान्छे त होइन, छिट्टै चिसोले छुन्छ पनि तर आगो ताप्न, घाम ताप्न मज्जा हुन्छ नि त ! जाडोमा ग्रीन टी र कफी पिउन असाध्यै मनपर्छ। चिसो मौसम स्वास्थ्यका लागि राम्रो जस्तो लाग्छ।

जाडोको मन नपर्ने कुराहरु पनि होलान् नि ?
यस्तो हो, गर्मीमा सबेरै उठिन्छ। काम गर्न जाँगर चल्छ। जाडोमा काम गर्न हत्तपत्त आँट आउँदैन। जाडोमा हातखुट्टाका औँलाहरु सुन्निने गर्छ। यसको मन नपर्ने कारण यही लाग्छ।

जाडोमा सुटिङको तनाव थियो कुनैबेला ?
हाम्रो लागि त सधैँ नै जाडोमा नै सुटिङ भइरहेको हुन्छ। खै अरु बेला भन्दा जाडो मौसममा नै निर्देशकहरुले फिल्म या म्युजिक भिडियो सुटिङमा हाल्छन्। किन हो, बुझ्नै सक्तिनँ।

कुनै स्मरणीय क्षण ?  
निकै पहिलाको कुरा हो। निर्देशक आलोक नेम्वाङको एउटा म्युजिक भिडियो गरेकी थिएँ। सायद पुसमाघमा नै परेको थियो। वसन्त चौधरीको गीत ‘तिम्रो प्रेमले’ गीतमा श्रेया घोषालको स्वर थियो। पाटनमा सुटिङ भइरहेको थियो। अभिनय गर्दा पानी पार्नुपर्ने सिन रहेछ। मैले भिज्नुपर्ने सिन भएकाले भिजेँ तर मेरो जोडी भएर खेल्ने अभिनेता त पानीमा पस्नेबित्तिक्कै हाछ्युँ कि हाछ्युँ गरेर बिजोग भयो। मलाई भन्दा उहाँलाई गाह्रो भयो। यस्तो त्यसअघि र अहिले पनि नदेखेकोले त्यो घटना स्मरणीय लाग्छ।

जाडोमा कस्ता पहिरन लगाउन मनलाग्छ ?
जाडोमा मलाई त लङकोटहरु नै मनपर्छ। ठाउँअनुसार नै चेन्ज त भइहाल्छ ! विशेष गरेर मलाई जाडो मौसममा शरीर ढाक्ने पहिरन नै ठीक लाग्छ।

जाडोमा घुम्न कत्तिको मनपर्छ ?
ठीकै लाग्छ। प्रायः घुमिरहेकै हुन्छु।

Leave A Comment