प्रेम दिवसको अवसर पारेर हामीले केही साहित्यकारलाई कुन उपन्यास पूरै प्रेमिल लाग्यो भनेर सोध्यौँ।
विश्वेश्वर प्रसाद कोइरालाको ‘सुम्निमा’
सरस्वती प्रतीक्षा
प्रेमकथाको दृष्टिकोणले मलाई विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘सुम्निमा’ मनपर्छ। शुरुमा किशोरावस्थामा यो किताब पढ्दा ठीकै मात्र लागेथ्यो। त्यतिबेला किताबको कथा मात्र बुझेर त्यस्तो लागेको रहेछ । दोस्रोपटक साठीको दशकमा फेरि दोहो¥याएर पढेपछि भने यो किताब मेरो प्रिय किताब बन्न पुग्यो।
दोस्रोपटक पढ्दा म मानसिक तथा शारीरिक रुपमा ‘सुम्निमा’ आत्मसात गर्ने स्तरमा पुगेथेँ सायद। सुम्निमा एउटा लोग्नेमान्छे र स्वास्नीमान्छे बीचको सपाट प्रेमकथा मात्र होइन। यो त द्वन्द्व नै द्वन्द्वले भरिएको प्रेमको फरक खाले कथा हो। आफूलाई सगर्व ब्राह्मण पिताको छोरा हुँ भन्ने सोमदत्त र आफूलाई सगर्व किराँती आमाकी छोरी हुँ भन्ने सुम्निमा बीचको गहिरो वैचारिक, सांस्कृतिक द्वन्द्वको साथमा प्रेमको आरोह–अवरोह यसमा पाइन्छ। सोमदत्तले अर्कैसित बिहे गर्छ। सुम्निमाले अर्कैसित बिहे गर्छे। प्रेम शारीरिकभन्दा पनि भावनात्मक रुपमा घटित भएपछि छुट्टिनुले वा फरक–फरक ठाउँमा रहनुले अर्थ राख्दैन भन्ने सुम्निमा उपन्यासले बोल्छ।
शास्त्र, पूजापाठ, यज्ञदानादि, तपस्या आदिको भरमा आफ्नो चाहना र शरीरलाई दबाएर बाँच्ने सोमदत्तलाई सुम्निमाले नक्कली आवरण र ढोंग फुकालेर प्राकृतिक रुपमा बाँच्ने कला सिकाइदिन्छे। सुम्निमा सोमदत्तलाई प्रेम गर्छे तर प्रेमको नाममा दासता बाँच्दिन। कतिले सुम्निमालाई यौन मनोविज्ञानमा आधारित किताब माने पनि म चाहिँ यसलाई प्रेम मनोविज्ञानमा आधारित किताब मान्छु। कताकता सुम्निमाको अनुहारमा आफ्नो अनुहार देख्ने गरेकाले पनि सुम्निमा उपन्यासप्रतिको मेरो प्रेम वर्णनातीत छ।
एरिका ल्युक्ट्याकको ‘त्रिभुवनकी एरिका’
नेत्र एटम,समालोचक
एरिका ल्युक्ट्याकको ‘त्रिभुवनकी एरिका’ आत्मकथामा रहेको एरिका र त्रिभुवनको वास्तविक प्रेमकथा मलाई अत्ति नै मन पर्छ। यसमा दुईजनाका बीचमा निकटता, आकर्षण, विश्वास र समर्पणबाट विकसित प्रेमको उच्चस्तरीय प्रस्तुतीकरण छ। मौनतामा पनि उनीहरुले बुझ्ने गहिरो स्पर्श र हृदयको प्रेमिल भाषा यसमा अति सशक्त छ। उनीहरुमा एकापसमा देखिने आदर र स्नेहको सम्बन्धले पाठकलाई गौरवबोध गराउँछ। यस कृतिले प्रेमको एउटा विशिष्ट मानक सिर्जनाको सामथ्र्य राखेको छ।
‘द गुड अर्थ’की ओलान
विवेक ओझा,लेखक
युवायुवतीको प्रेमलाई प्रधानरुपमा चित्रण गरी लेखिएका पुस्तकमा सानैदेखि रुचि भएन। त्यसको प्यास सिनेमाले मेटाएको हुनसक्छ। प्रेमकथालाई मात्र प्रधानमा राखी लेखिएका आख्यान निकै दुर्लभ पढेको हुँला। यद्यपि प्रेम आफैँमा जीवन र समाजको प्रधान चिज हो। पुस्तकमा प्रेम कुन रुपमा आयो भन्ने कुरा बेग्लै होला तर प्रेमलाई पूर्णतया इग्नोर गरेर सुन्दर पुस्तक निस्किन्छन् भन्नेमा मलाई विश्वास छैन। मलाई पर्ल एस. बकको ‘द गुड अर्थ’की ओलानको याद आइरहन्छ। ओलानको आफ्ना पतिमाथिको अव्यक्त प्रेम र उसको प्रेमको अपेक्षा निकै लोभलाग्दो छ।
अमर न्यौपानेको ‘सेतो धरती’की ताराको तड्पन होस् वा सञ्जीव उप्रेतीको ‘हंश’को लहडे हाँस र काली हँसिनीको प्रेमगाथा होस्, यी प्रेमका फरक रूप हुन्, जो जीवनको लयसँगै मिसिएर बगिरहन्छन्– बिपी कोइरालाको उपन्यास ‘नरेन्द्र दाइ’मा नरेन्द्र, गौरी र मुनरियाको प्रेम होस् वा मदनमणि दीक्षितको ‘माधवी’मा चित्रित गालव र माधवीको प्रेम होस्। ‘माधवी’मा दास र दासीबीचको प्रेमले पनि मलाई निकै प्रभावित गरेको हो। मलाई प्रेमको माध्यमबाट गरिएको मानिस/समाज आदिको चित्रभन्दा समाज आदिको माध्यमबाट गरिएको प्रेमको चित्रणमा रुचि छ। त्यो नै बढी सुन्दर लाग्छ।
‘बसाइँ’मा उपन्यास
उमा सुबेदी
नेपाली आख्यानको सन्दर्भमा ‘बसाइँ’मा अभिव्यक्त झुमाप्रतिको मोटे कार्कीको प्रेम मलाई श्रद्धेय लाग्छ। त्यो प्रेमको पृष्ठभूमिमा हाम्रा समाजका समस्या, दुःख, रहर र भ्रमका विविध आयामहरू प्रकट भएका छन्। यो उपन्यास मैले पटक–पटक पढेकी छु र जति पटक पढे पनि एकदम आनन्दानुभूति हुन्छ।
सरुभक्तको ‘पागलवस्ती’
रामलाल जोशी
सबैभन्दा दमदार लभ स्टोरी त सरुभक्तको ‘पागलवस्ती’ उपन्यासमै छ। प्रेम र समर्पण भइकन पनि मानवीय अहंको स्थापना गरी प्रेमलाई प्राप्तिभन्दा माथि राखेर एउटा आदर्शको निम्ति समर्पित हुन सिकाउने सैद्धान्तिक उपन्यास हो। त्यसैले मैले पढेका उपन्यासहरुमा मानवीय उच्च भावको रक्षा गर्ने उपन्यास हो।
देवकोटाको ‘मुनामदन’
नीलम कार्की निहारिका
झ्याउरे लयमा लेखिएको ‘मुनामदन’ खण्डकाव्यले सामाजिक कोणबाट विश्लेषण गर्दै प्रेम सम्बन्धको पन गहिरो विश्लेषण गरेको छ। सायद त्यही भएर होला मैले मुनामदन धेरै पटक पढेकी छु। ‘मुनामदन’को लयात्मक र सरलताका कारण अनि मुना र मदनको प्रेमको कारण पनि स्मरणीय कृति हो भन्ने लाग्छ। तत्कालीन समाजको सामाजिक, राजनीतिक, आर्र्थिक अवस्था बुझ्न सकिन्छ। त्यस परिवेशको प्रेम अनुभूति गर्न सकिन्छ। मलाई के लाग्छ भने प्रेमको उच्च नमूना हो ‘मुनामदन’को प्रेम।
Leave A Comment