तिम्रो आगमन

शुक्रबार, ०२ फागुन २०७६, १२ : २५ नवीन प्यासी
तिम्रो आगमन

युद्धको समयमा
दुश्मनले कतै पड्काएको बन्दुकको आवाज
ड्युटीमा निदाएको सिपाहीको कानमा ठोक्किए जसरी
तिम्रो आगमन भयो

मानौँ
मध्यराति
युद्धले ध्वस्त सहरको कुनै कुनामा
पियानोको रुमानी धुन बजिरहेको छ
र त्यो मृत सहरमा अचानक एक जीवन भेटिएको छ  

हप्ता दिन भोको रहेको कुनै घरमा
अचानक थाल बजेको छ– खन्द्र्यङ्ग !
पर... रूखमा
कलिला आरूबखडा खोजिरहेका केटाकेटी आँखाले
घरको चिम्नीबाट धुवाँ निस्किरहेको देखेका छन्

तिम्रो आगमन यसरी भयो कि
सुत्केरी मृगको थुनमा पहिलोपटक
पाठोको मुख परेको छ
वर्षौंपछि श्रीमानलाई आँगनमा देख्दा
कुनै महिला मुख छोपेर घरभित्र दौडिएकी छे

तिम्रो आगमन यसरी भयो
मानौं
दुश्मनको घेरोभित्र
छातीमा गोली आइपुग्नुअघि
कसैले कसैलाई प्रेम प्रस्ताव राखेको छ

तिम्रो आगमनले
ढुंगालाई विश्वास बनाएको छ
फूललाई आस्था बनाएको छ
मामुली इँटालाई पर्खाल बनाएको छ
सामुन्ने उभिएको मृत्युलाई मजाक बनाएको छ
मजाक त
सिलिङमा झुण्डाउन तयार डोरीलाई
तिम्रो आगमनले मजाक बनाएको छ
टेबलमाथि हावामा फर–फर नाचिरहेको
सुसााइड नोटलाई पनि मजाक बनाएको छ

तिम्रो आगमन पूर्व
–सुनसान गल्लीमा
पैतालाको टक... टक...ले झस्किन्थ्यो कोही
–सानो... आवाजले मात्र पनि झस्किन्थ्यो कोही
–आफ्नै अनुहार आफैं हेर्दा झस्किन्थ्यो कोही
तिम्रो आगमन पूर्व
–खाली ठाउँलाई छाता ओढाएर
झरीमा आफू रुझेर गाउँथ्यो कोही– दुःखको गीत

तिम्रो आगमनअघि
आफूलाई लास देख्थ्यो ऊ
उसको आँखा ग्याँस च्याम्बर थियो
सपनाहरू थुनिएका थिए
उसको छातीमा पहिरो गइरहन्थ्यो
उसका लागि बाटाहरू उदास बनिदिन्थे
तिम्रो आगमन यसरी भएको छ कि
तिमी कसैको जिन्दगीको सबैभन्दा ठूलो उत्तर हौ
र आजबाट केही प्रश्नहरू सदाका लागि बिदा भएका छन्।

Leave A Comment