को हौ तिमी ?

शुक्रबार, ०२ फागुन २०७६, १२ : ४५ नीरा शर्मा
को हौ तिमी ?

तिमी को हौ?
को हौ तिमी ?
तिमी के हौ ?
के हौ तिमी ?

तिमीलाई पहिलोचोटि देख्दा लाग्यो–
मेरा हाराएका घामजून भेटेँ
तर तिमीले भन्यौ
यी त मेरा आँखा हुन् !

अँ त्यतिखेर
मेरो सपना पनि हराएको थियो
हेर्दै लाँदा
खोज्दै जाँदा
त्यो पनि तिमीमै भेटेजस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरीर हो
मेरो आफ्नो फैलावट हो !

म रुँदा पनि
हाँस्दा पनि गुञ्जिरहने
मेरो संगीत हराएको थियो
अचानक एक दिन
तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर तिमीले प्रमाणसहित भन्यौ
यो त मेरो हृदयको आवाज हो

त्यसरी एकएक गर्दै
मेरो सबैथोक हराएपछि
हराएको थियो मेरो खुसी पनि
हेर्दै जाँदा त्यो पनि
तिम्रो ओठहरुमा अल्झिएको पाएँ
तर फेरि तिमीले भन्यौ
यो त मेरो मुस्कान हो

अब म के भनौँ ?
के सोचौँ?
कतै तिमी मेरो अमूल्य सम्पतिको थुप्रो त हैनौ ?
कि मेरो सानो देशको
सानो झुप्रो हौ तिमी ?

भन न भन...
तिमी के हौ ?
तिमी को हौ ?

Leave A Comment