पहिलो पहिलो हो मेरो माया हजुरलाई...

शुक्रबार, ०२ फागुन २०७६, ०१ : ४६ शुक्रवार
पहिलो पहिलो हो मेरो माया हजुरलाई...

हरेक मानिसको जीवनमा पहिलो पटकको प्रेमाकर्षण विशेष सम्झना मनमा रहिरहेको हुन्छ। अञ्जानमा नै जोडिएको त्यो सम्बन्ध लामो समय अघि नबढे पनि तिनको सम्झनाले मनमा काउकुती लगाउने गर्छ। पहिलो प्रेमाकर्षणबारे सेलिब्रिटीहरुले ईश्वर कुमार मैनालीलाई यसो भनेः

विराज भट्ट
धेरै पुरानो कुरा हो। अहिले खासै याद छैन तर अरुलाई जस्तै मलाई पनि आकर्षण चाहिँ भएको थियो। अहिले सम्झन खोज्दा छिमेकमा एउटी केटी थिई। उसप्रति म आकर्षित थिएँ।

ऊसँग त्यो बेला सँगै खेल्ने गर्थें। सँगै सधैँ भइन्थ्यो। ऊ नहुँदा खल्लो हुन्थ्यो। शायद त्यही हो आकर्षण, त्यही थियो मेरो पहिलो प्रेम।

त्यतिबेला म जसप्रति हुरुक्क हुन्थेँ, अहिले उसको अनुहार सम्झने कत्ति प्रयास गर्छु तर झल्याकझुलुक घटना याद भए पनि अनुहारको झल्को आउँदैन। अनुहार याद नहुँदा निराश हुन्छु।

पहाडमा हुँदा बसेको माया तराईमा झरेपछि छुट्टिनुप¥यो। लामो समयको अन्तरालमा जब म पहाड गएँ, उनको बिहे भइसकेको रहेछ। त्यसपछि मैले आजसम्म उनलाई भेटेको छैन। मैले कतै उनलाई देखेँ भने पनि शायद म चिन्दिनँ। फेरि भेट भयो भने नै पनि के भन्ने होला !

विपिन कार्की
मेरो आफन्तको घरमा छिमेकी गाउँकी युवतीप्रति म पहिलो पटक आकर्षित भएको थिएँ। घर टाढा भएकाले हाम्रो भेट हुन लामै समय कुर्नुपथ्र्यो। त्यतिबेला चिठ्ठीको जमाना थियो। खुब लामालामा चिठ्ठी लेखिन्थ्यो। चिट्ठी पनि अन्त हो र ? कलेजको ठेगानामा पठाइन्थ्यो।

त्यो बेला सधैँ उसैको अघिल्तिर हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। खुब सम्झना आइरहन्थ्यो। एसएलसीपछिको समय थियो त्यो। खाली समयको सदुपयोग कसरी गर्ने भनेर सोचिरहेको बेला उनी भेटिएकी थिइन्। त्यसपछि हामी प्रेममा प-यौँ।

अहिले फर्केर हेर्दा त्यो प्रेम थिएन। एउटा आकर्षण मात्र थियो। तर त्यो बेला आफू एक नम्बरी प्रेम नै गरेको हो कि जस्तो लाग्थ्यो।

भर्खरैको नवयुवक भएकाले हामी नजिकिएका थियौँ। दुवैमा शारीरिक र मानसिक परिवर्तन शुरु भएको थियो। हरेक भेटमा मलाई उनी नयाँ पाउँथेँ। शायद उनले पनि मलार्य नयाँ–नयाँ देख्थिन्। पढाइको सिलसिलामा उनी बाहिर जानुपर्ने भयो। त्यसपछि हामीले चाँडै भेट्ने शर्तमा एकअर्कालाई बिदा ग-यौँ। ती बिदाईमा उठेका हात आजसम्म दोहो-याएर उठ्न सकेनन्। अन्ततः हामी फेरि कहिल्यै नभेटिने गरी छुट्टियौँ।

उनका बारेमा सोधखोज गर्न नखोजेको होइन तर त्यस बेलाको समय र किशोर अवस्थाको काँचो दिमागले सही तरिका ठम्याउन सकेन। केही समयपछि जब उनको ठेगाना थाहा पाएँ, उनको बिहे भइसकेको रहेछ।

त्यसपछि म आफ्नो पढाइमा नै केन्द्रित भएँ। मेरो यो घटनामा गुरुकूलमा मञ्चन भएको नाटक ‘ताराबाजी लै लै’मा पनि देख्न सकिन्छ।

जीवन भट्टराई
पाँच–छ कक्षामा पढ्दा साथीहरुले हामीसँगै पढ्ने एक केटीको नाम जोडेर जिस्क्याउन थाले। उनीहरुको जिस्काईले ममा कुन बेला उसको बानी नै बस्यो थाहै भएन।

त्यसपछि साँच्चै हो न हो, ऊ मेरै प्रेम हो जस्तो लाग्न थाल्यो। ऊ देख्यो कि लाज लाग्न थाल्यो। लुकीलुकी उसलाई हेर्न थालियो। उनको अघि पर्नासाथ मुटु त बाब्बा हो, बाहिरै निस्केलाजस्तो हुने गरी धड्किने हुन थाल्यो। बिस्तारै म उनलाई मन पराउन थालेँ तर उनलाई मैले भन्न चैँ सकिनँ। सात कक्षासम्म सँगै पढ््यौँ। उनी फेल भएपछि निकै पीर लाग्यो। आँखैअघि देख्न नपाइने भयो भनेर आफू पनि फेल भैदिएको भए हुन्थ्यो भनेर भगवान्लाई पनि सरापेँ। उनी फेल भएर कक्षामा सँगै नभएपछि बिस्तारै साथीभाइले जिस्क्याउन छाडे, आफूलाई भने जिस्काइदिए हुन्थ्योजस्तो लागिरहन्थ्यो।

स्कुल जान उनको आँगन हुँदै जानु पथ्र्यो। म उनलाई कुर्ने पनि गर्थें। उनी नकुर्न आग्रह गर्थिन्। हाम्रो बढ्दो हिमचिमका कारण एक पटक त उनका दाइहरुले मलाई झण्डै कुटे ! त्यसपछि चैँ उनलाई कुर्न छाडिदिएँ तर उनलाई लुकीलुकी हेर्ने, उनको खैरखबर लिइरहने सिलसिला चलिरह्यो। एसएलसी सकेपछि उनी काठमाडौँ आइन्। म गाउँघरमै अल्झिएँ। त्यसपछि हाम्रो देखभेट लामो समयसम्म भएन।
त्यसपछि मैले पनि बिस्तारै भुल्दै गएँ। पछि सामाजिक सञ्जालमा भेटेँ। त्यतिञ्जेलसम्म पनि अविवाहित नै रहिछन्। मैले भने विवाह गरिसकेको थिएँ।

कामेश्वर चौरासिया
मलाई प्रेम भनेको के हो अझै पनि राम्रोसँग थाहा छैन तर बच्चा हुँदै यति थाहा थियो कि केटा केटीका लागि अनि केटी केटाको लागि हो भनेर। चार पाँच कक्षा पढ्दा एक सहपाठीसँग म बिनाकारण आकर्षणमा परेको थिएँ। एसएलसीसम्म सँगै पढियो तर उनको अघि म कहिल्यै बोल्न सकिनँ। एसएलसीको अन्तिम परीक्षामा मलाई समस्या आइलाग्यो।

कुरा के थियो भन्दा म फाउन्टेन पेनले लेख्थेँ। लेख्दालेख्दै परीक्षाको बीचमै मसी सकियो। बडो डरले इशारामै उनीसँग मन माग्नु पर्ने ठाउँमा मसी मागेको थिएँ। उनले त्यति मसी दिँदा पनि ममा बडो प्रेमिल भावना उब्जेको थियो। यसले मलाई साँच्ची माया गर्छे, नत्र किन मसी दिन्थी र ? भन्ने सोच्थेँ। अहिले सोच्छु, परीक्षाको बेला छ। लेख्दालेख्दै मसी सकियो भने जसले पनि सहयोग गर्छ नि, ठूलो कुरै होइन नि, हैन र ?

एसएलसीपछिउनी कता गइन्, के भयो, केही खबर भएन। मेरो त नबोलेर नै प्रेम सकियो। अलि पछि फिल्मसिल्म हेर्ने नशा बढ्दै गयो। जुन लभस्टोरी फिल्म हेरे पनि त्यो घटना मेरै हो कि जस्तो लाग्थ्यो।
अहिले पो प्रेमको भावना संसारभर उस्तै उस्तै हो भन्ने थाहा भयो त ! त्यति बेला त कहा थाहा हुनु ? सोधखोज गर्न उनको घरतिरको बाटो निकै लामो समय नै हिँडेँ। साथीभाइ जस–जसबाट खबर पाउन सकिन्छ कि भन्ने आशा हुन्थ्यो, सबैबाट निराशा मात्र पाएँ। समयक्रमले उनलाई बिस्तारै भुलायो। उनलाई मैले नभनेर नै यो प्रेम सकियो। म असफल प्रेमी भएँ तर त्यै असफल प्रेमले मलाई असल मान्छे बन्न भने सिकायो।

लक्ष्मी बर्देवा
मलाइ हत्तपत्त कोही मान्छे मन पर्दैनथ्यो। अहिले पनि मन पर्दैन तर स्कुले जीवनमा एक जना केटालाई म मनदेखि नै सम्मान गर्थें्र। उहाँ सोझो, इमान्दार र बडो पढन्ते हुनुहुन्थ्यो। साथीहरुले उहाँ र मेरो बारेमा जिस्क्याउँथे र त्यही जिस्काएको भरमा मलाई पनि प्रेममा छु कि झैँ भान हुन थालेको थियो। सात कक्षाको परीक्षा सकेर उहाँ घर जानु भयो। त्यो बेला हाम्रो अन्तिम परीक्षा के कारणले हो, होलीअगाडि नै सकिएको थियो। हामीले होली सँगै खेल्ने वाचा गरेका थियौँ तर त्यसपछि उहाँ आउनु भएन। मैले सकेको खोजी गरेँ पनि तर  उहाँका बारेमा केही अत्तोपतो भएन।

उहाँलाई म सपनामा देखिरहन थालेँ। धेरै जसो त होली नै खेलिरहेको सपना देख्थेँ। उहाँ स्कुल आउन छाड्नु भएपछि साथीहरुले पनि जिस्क्याउन छाडे। 

एउटा रोचक कुरा के छ भने, त्यतिबेला अटो भर्ने फेसनजस्तै हुन्थ्यो। अटोमा फोटो टाँसिन्थ्यो र मनका भावनाहरु लेखिन्थ्यो। अटोमा राखिएका मेरा फोटाहरु उत्तिकै हराउँथे पनि। अटोमा राखिएका मेरा फोटाहरु त्यो बेला निक्कै हराए। त्यतिबेला कता हरायो होला भनेर त्यत्ति खोजी गरिएन। पछि सामाजिक सञ्जालले उहाँसँग पुनः भेट गराइदियो। त्यसपछि पो बल्ल थाहा भयो, उहाँले त मैले मन पराउनुअघि नै मलाई मन पराउनु हुँदोरहेछ अनि हराएका सबै फोटाहरु उहाँले नै पो राख्नुभएको रहेछ !
उहालाई मनमा भएको सबै कुरा भनेँ। त्यसपछि भने सपनामा फेरि देखेकी छैन।  उहाँलाई त्यो बेला भेट्दा हामी दुवैले विवाह गरिसकेका थियौँ। हामी एकअर्काको विवाह भएकोमा निकै खुसी भयौँ। अहिले पनि हामी राम्रो साथी छाँै। म उहाँलाई दाइ भनेर सम्बोधन गर्ने गर्छु।

सृष्टि खड्का
१८ वर्षको हुँदा कलेजको सिनिएर केटासँग मेरो नाम जोडेर साथीहरुले जिस्काउन थाले। मलाई पनि उहाँलाई देख्दा लाज लाग्ने हुन थाल्यो। मुटु जोडले धड्किन थाल्यो। भनौँ न मैले पनि उहाँलाई मन पराउन थालेँ। हाम्रो घर पनि नजिक थियो। त्यसपछि आउने–जाने सँगै गर्न थाल्यौँ। उहाँको कलेज सकियो। त्यसपछि भेट पातलिन थाल्यो तर हाम्रो हिमचिम भने अझ बढ्यो। हिमचिम बढ्दै गएपछि परिवारले शंक ागर्न थाले। त्यसपछि मैले केही समय फोन बोक्न पाइनँ। परिवारको डरले म उहाँसँग टाढा भएँ। त्यसपछि हामी लगभग अलग नै भयौँ।

लामै समयपछि उहाँसँग पुनः फोन सम्पर्क भयो। त्यति बेला मैले बडो अचम्मको कुरा सुनेँ। उहाँको एक जना साथी हुनुहुन्थ्यो, बच्चैदेखिको, खुबै मिल्ने। उहाँहरु दुवैले मलाई मन पराउनु हुँदोरहेछ र मेरो कारणले नै उहाँहरुबीच झगडा भएछ।  त्यो दिनसम्म पनि उहाँहरु बीच बोलचाल भएको रहेनछ। त्यो थाहा पाउँदा नरमाइलो लाग्यो। किशोर अवस्थामा लहलहैमा आकर्षणलाइ प्रेम ठान्ने, त्यो चैँ गलत गरेँ भन्ने लाग्छ। उहाँसँग अझै पनि बेलाबेलामा फोन सम्पर्क हुन्छ तर अझै पनि मनको भावना चैँ उहाँले खोल्नु भएको छैन, मैले पनि उहाँलाई मन पराउँथेँ भनेर खोलेकी छैन। कति कुरा नभनेर नै मीठा हुन्छन् भनेको शायद यही हो कि !

रमेशराज भट्टराई
म आफूलाई भाग्यमानी ठान्छु। मेरो पहिलो प्रेम नै सफल भयो। हामी दुईको घर नजिकै थियो। दुवै परिवारबीच सम्बन्ध पनि राम्रो थियो। म बाक्लै आउने जाने गर्थें उनको घरमा। कुन बेलादेखि उनलाई मन पराउन थालेँ, हेक्का छैन।

रमाइलो कुरो, उनी मेरो विद्यार्थी थिइन्। उनको एसएलसी सकिएपछि मैले प्रेम प्रस्ताव राखेँ। आफैँले उनको घरमा चिट्ठी लगेर हातमा दिन्थेँ अनि भोलिपल्ट आफैँ उत्तर लिन जान्थेँ।

यो क्रम लामो समय नै चल्यो। गाउँघरमा बिस्तारै हल्ला फिँजिन थाल्यो। राम्रो पारिवारिक सम्बन्ध भएको छिमेकीसँगको सम्बन्ध बिग्रने डर भने मनमा थियो। हामी दुवैले घरमा भन्न सकिरहेका थिएनौँ। कति दिन लुकीछिपी बस्ने भनेर मैले नै आँट गरेर घरमा सबै कुरा भनँे। सुरुमा घरबाट आनाकानी भए पनि अन्ततः हाम्रो विवाह भयो।

जब हामी सम्बन्धमा थियौँ, उनलाई हेर्नका लागि मात्र भए पनि उनको घर जाने बहाना खोजिरहन्थेँ। त्यसको मज्जा बेग्लै हुन्थ्यो। उनलाई एक पटक देखेपछि एक दिनलाई डोज पुग्थ्यो। उनले पनि मलाई माया गर्थिन् भन्ने मैले बुझिसकेको थिएँ र मलाई सजिलो पनि भयो। स्कुल आउने जाने सँगै गरियो। धेरै त्यस्ता  यादगार पलहरु छन्, जुन म शब्दले व्यक्त गर्न सक्तिनँ। म भाग्यमानी रहेछु, जसलाई पहिलो प्रेम गरेँ, उसैसित बिहे गरेँ। आफैँले गाएको गीतजस्तो, ‘ऊ जितेर गई या हारेर गई...’ भन्ने अवस्था भोग्नु परेन।

Leave A Comment