यौनको पहिलो खुड्किलो

सोमबार, ०५ फागुन २०७६, ११ : ११ डा. दिनेश बाँस्ताेला
यौनको पहिलो खुड्किलो

संसारभर मनाइने विभिन्न किसिमका दिवसमध्ये एक हो, प्रणय दिवस। यौन जोडीका रुपमा नजिकिने तथा माया पिरती साटासाट गर्ने व्यक्तिका लागि यो दिवस उत्सवमय पर्व हो।

यौन जोडी छान्ने उत्सव    
प्रणय दिवस पनि सामाजिक सिकाइ हो। पहिलोपटक सामीप्य हुन लागेका यौन जोडीका लागि यो दिन एक अर्कालाई बुझ्ने उपयुक्त उत्सवको दिन हो। माया, प्रेम अंकुराउँदै गरेका जोडीले पहिलो भेट वा ‘भ्यालेन्टाइन डे’ को उपलक्ष्यमा मायाको प्रतीकका रुपमा रातो गुलाफको फूल दिने चलन छ। गुलाफ मात्रै होइन पुस्तक, गर–गहना दिएर मनपरेको व्यक्तिलाई यौन जोडी बनाउने उद्देश्य राखेको देखिन्छ। यसरी उपहार दिएपछि यौन जोडीका रुपमा सम्बन्धलाई विकास गर्न सकिने उद्देश्य हुनु स्वाभाविकै हो। यो दिन उपहारका रुपमा दिइने चकलेट, पोस्टकार्डजस्ता सामग्रीमा छुटसमेत दिइएको हुन्छ। पहिलो भेट आनन्दमयी हुन्छ। पहिलोपटक भेट भएका यौन जोडीबीच भावना तथा विचार आदान–प्रदान गर्ने उपयुक्त उत्सव हो, प्रणय दिवस।

यौनको पहिलो खुड्किलो
प्रयण दिवसलाई यौन तृप्ति मेट्ने पर्वका रुपमा लिनु उचित हुन्न। प्रणय दिवसको मौका छोपेर पहिलो भेटमै यौनको प्रस्ताव राख्दा यौन जोडीबीचको सम्बन्ध अगाडि बढ्नुको सट्टा सम्बन्धमा ब्रेक लाग्ने जोखिम हुन्छ। यसमा सचेत हुनुपर्छ। प्रणय दिवस यौन सम्पर्क दिवस नभई भविष्यमा सम्बन्ध विस्तार गरी यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्ने माध्यम होे। यो दिवस प्रेमी–प्रेमिकाबीच चिनजान गर्ने पर्व हो। प्रेम दिवसलाई यौन दिवसका रुपमा लिने यौन जोडीको सम्बन्धमा ब्रेक लाग्ने सम्भावना  भएकाले प्रेम दिवसलाई प्रेमको पहिलो खुड्किलोको रुपमा लिन आवश्यक हुन्छ।

कतिपय मुलुकमा त प्रणय दिवसमा बिदा नै दिने चलन छ। किशोरावस्थामा प्रवेश गरिरहेका बालबालिका बाहिरी संसारको जीवनमा प्रवेश गर्ने दिनको रुपमा यो दिवस मनाउन सकिन्छ। यो दिवस यौन जोडीसँग सामीप्य हुने उपयुक्त उत्सव हो। यो उत्सवलाई नयाँ यौन जोडी रोज्ने उपयुक्त उत्सवका रुपमा लिन सकिन्छ। यो दिवस यौन जोडीसँग प्रेम गर्ने, सिक्ने विभिन्न तरिकामध्ये एक हो। यसमा किशोरावस्थामा प्रवेश गरेका व्यक्तिका अभिभावकले प्राकृतिक तथा सामान्य रुपमा लिन आवश्यक देखिन्छ। किनकि किशोरावस्थाका छोराछोरीका लागि यौन जोडी रोज्ने उपयुक्त उत्सव हो, प्रणय दिवस। तर किशोर किशोरी गलत बाटोमा हिँडेका छन् कि छैनन् भन्ने कुरामा अभिभावकले विशेष ध्यान दिन आवश्यक हुन्छ।

सक्रिय पुरुष
अधिकांश पुरुष यौनका मामलामा बढी सक्रिय हुने भएकाले प्रणय दिवसमा यौन जोडी भेट्ने अन्तिम लक्ष्य नै यौन सम्पर्क हुन्छ। सामान्यतः यौनको मामलामा महिलाको निष्क्रिय सहभागिता हुने भएकाले भावनात्मक सम्बन्धपछि भविष्यको विचार गरेर महिलाले यौन क्रियाकलापमा सहभागिता जनाउँछन्। यसको अर्थ पुरुषको तुलनामा महिला यौन सम्पर्कका लागि लिप्त हुँदैनन्। समलिंगी तथा तेस्रो लिंगीले समेत प्रणय दिवसलाई राम्रो सदुपयोग गरेको देखिन्छ। महिला आफू सुरक्षित भएको महसुस नगरेको अवस्थामा यौन सम्पर्कका लागि तयार नहुने भएकाले विश्वास दिलाएर सहमतिमा मात्रै यौन सम्पर्क गर्नुपर्छ।

किशोरावस्थामा असफलता बढी
किशोरावस्थाका व्यक्तिले आफूलाई मन परेको व्यक्तिलाई उपहार दिँदैमा सम्बन्ध विस्तार भई यौन सम्पर्क नहुन सक्छ। त्यति मात्रै हैन। किशोरावस्थाका व्यक्तिले यौनजोडीसँग यौन सम्पर्क गर्दैमा त्यस्तो सम्बन्ध टिक्छ नै भन्ने हुन्न। विशेषगरी किशोरावस्थाका व्यक्तिले यौन जोडीसँग यौन सम्पर्क गरेको खण्डमा विवाह नहुने सम्भावना पनि बढी नै हुन्छ। किशोरावस्थाका यौन जोडीको दीर्घकालीन समयसम्म यौन जोडीका रुपमा कायम रहने सम्भावना कमै हुन्छ।

अध्ययनअनुसार किशोरावस्थामा सामीप्य भएका यौन जोडीमध्ये दश प्रतिशतभन्दा कमको यौन सम्पर्क हुन्छ। यौन सम्पर्क गरेका दशप्रतिशत जोडीमध्ये पनि एक प्रतिशत भन्दा कम यौन जोडीले मात्रै विवाह गरेको पाइन्छ।

किशोरावस्थामा यौन सम्पर्क गर्दा विवाह गर्न पाउने कानुनको वैधानिक पक्षलाई पनि ख्याल गर्नुपर्छ। यस्तो पक्षलाई ख्याल नगरेको अवस्थामा व्यक्तिले शारीरिक, मानसिक मात्रै हैन सामाजिक तथा कानुनी झमेलासमेत झेल्नुपर्ने अवस्था निम्तन सक्छ। प्रायः स्कुल कलेजका विद्यार्थीमा यो दिवस प्रसिद्ध छ। यौन शिक्षाविनाको यौन कर्ममा माया, प्रेमको अभाव हुनसक्छ। कतिपय धर्म सम्प्रदायले त यो पर्व मनाउनका लागि प्रतिबन्ध लगाउँछन्।

प्रणय दिवसलाई विभिन्न देश र संस्कृतिअनुसार प्रजनन् दिन, प्रेमिल दिन, कुमार, कुमारीलाई शुद्धताको आशीर्वादको दिन, काल्पनिक प्रेमको दिन, प्रेमको अधिकार प्राप्त गर्ने दिन, प्रेम र मित्रताको दिन, अनुरागको दिन, प्रशंसाको दिन, गोप्य साथी बनाउने दिन, प्रेमको देवताको दिन, सम्पूर्ण मुटुको दिनका रुपमा व्यख्या गरिएको पाइन्छ।

वयस्कमा सफलता
युवायुवती मात्रै नभई एकल पुरुष तथा महिलाले यो दिवस मनाउने प्रचलन बढी देखिन्छ। विभिन्न कारणले यौन जोडी गुमाएका, यौनजोडीसँग बिछोडिएका र लामो समय विवाह नगरेका (कुमार–झुमा) जस्ता एकल पुरुष तथा महिलाले प्रणय दिवसका दिन यौन जोडी तथा जीवनसाथी रोज्ने सुवर्ण मौका हो।

एकल पुरुष तथा महिलामा विगतको अनुभूति र अनुभवका कारणसमेत जीवनको सहयात्री बनाउन सदुपयोग गर्ने राम्रो अवसर हो, प्रणय दिवस। किशोरावस्थामा व्यक्ति भावनात्मकरुपमा एक संसारबाट अर्को संसारमा प्रवेश गरेका हुन्छन्। किशोरावस्थाका व्यक्तिको तुलनामा प्रणय दिवसको अवसरमा यौन जोडी रोजेका तथा सामीप्यतामा पुगेका एकल पुरुष तथा महिलाको यौन जोडी रोज्ने तथा टिकाउने मामलामा सफलता भएको पाइन्छ। विगतमा आफूले अनुभूति गरेको यौन जोडीसँगको सम्बन्ध तथा यौनको अनुभवले परिपक्वताका कारण एकल पुरुष तथा एकल महिलाको यौन जोडी टिकेको देखिन्छ। वयस्क तथा पाको उमेरका यौन जोडीको सम्बन्ध दीर्घकालीनरुपमा कायम रहेको देखिन्छ। त्यसैले भन्न सकिन्छ कि, वयस्क यौन जोडी वैवाहिक जीवनमा गाँसिने सम्भावना बढी हुन्छ।

आफू सुरक्षित हुने संकेत पाएपछि वयस्क तथा पाका उमेरका व्यक्ति यौन जोडीसँग सामीप्य हुन्छन्। तर किशोरावस्थाका व्यक्तिमा त्यस्तो ध्यान जाने सम्भावनासमेत कम हुन्छ।

हार्मोनको उतारचढाव तथा शारीरिक वृद्धि विकासका कारण किशोर–किशोरी भविष्य नसोची प्रेम तथा यौन सम्पर्कमा पुग्छन्। तर वयस्क तथा पाको उमेरका व्यक्तिले भने कच्चा निर्णय गर्ने सम्भावना कमै हुन्छ। आफू सुरक्षित नभएको अवस्थामा वयस्क यौन जोडी यौनका लागि तयार हुँदैनन्। तर किशोरावस्थाका व्यक्ति भने वर्तमानमा रमाउँछन्। वयस्क व्यक्ति (एकल पुरुष वा महिला) भने भविष्य सुरक्षित हुन्छ वा हुन्न भन्ने सोच विचार गर्छन्। भविष्यको विचार गरेर यौन सम्बन्ध राख्छन्। त्यसैले किशोरावस्थाका व्यक्तिले पनि भविष्यमा आइपर्ने समस्या तथा व्यावहारिक पक्षलाई ध्यान दिएर मात्रै यौन जोडीको छनोट गर्नु तथा यौन क्रियाकलापमा सहभागी हुन आवश्यक हुन्छ।

यौन आनन्दमा रमाउने चाहना
किशोरावस्थामा शारीरिक अंगको वृद्धि र विकास छिटो र धेरै हुन्छ। किशोरावस्थाका व्यक्ति बढी चञ्चल हुन्छन्। यो उमेरमा शरीरका यौनजन्य हार्मोनको क्रियाशिलता पनि बढ्दै जान्छ। जसका कारण किशोरकिशोरीहरु बढी उत्सुक तथा जिज्ञासु हुन्छन्। यस्तो अवस्थामा किशोरावस्थाका व्यक्ति अग्रजले गरेका व्यवहार सिक्ने जमर्को गर्छन्।  यौनका मामलामा पनि यो लागू हुन्छ। सामाजिक सिकाइका कारण किशोरावस्थामा प्रवेश गरेका व्यक्ति यौन तृप्ति मेटाउनका लागि यौन जोडी रोज्न सक्छन्। किशोरावस्थामा प्रवेश गरेका व्यक्ति आफ्ना अभिभावक तथा परिवारभन्दा साथीसंगीको लहैलहैमा लाग्ने गरेको प्रवृत्ति देखिन्छ। त्यसै कारणले अभिभावकले किशोरावस्थामा प्रवेश गरेका आफ्ना सन्ततिले कस्तो संगत गरिरहेका छन् भन्ने निगरानी गर्नुपर्छ।

माया र प्रेमको भावना सुसुप्त रहेकोे अवस्थामा ऊर्जा दिने उपयुक्त उत्सव हो, प्रणय दिवस। प्रणय दिवसमा आफूलाई मन परेको यौन जोडीले अस्वीकार गरेको खण्डमा व्यक्तिले आत्महत्यासम्मको बाटो रोज्ने भएकाले यसमा सचेत हुन आवश्यक छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment