विछोडको व्यवस्थापन

बिहिबार, ०८ फागुन २०७६, ११ : ५२ उपेन्द्र खड्का
विछोडको व्यवस्थापन

गएको शुक्रबार (माघ २४) २१ वर्षीया किशोरी कान्ति बाल अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अरुणराज कुँवरकहाँ पुगिन्। ती युवती ब्वाइफ्रेण्डसँग सम्बन्ध विच्छेद (ब्रेकअप)भएको दुई हप्तापछि विछोडको तनावका कारण मनोपरामर्शका लागि डा. कुँवरकहाँ पुगेकी रहिछन्।

सम्बन्ध विच्छेदपछि २१ वर्षीया ती किशोरीमा तनावका कारण मानसिक समस्या उत्पन्न भयो। ट्र्याजेडीपछि तनावका कारण ती किशोरी कलेजसमेत निक्कै दिन गइनन्।

‘ती किशोरीमा निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, कहीँ हिँड्न मन नलाग्ने, रोइरहने समस्या देखियो,’ डा. कुँवरले भने, ‘सामान्य व्यक्तिमा भन्दा तनावका लक्षण एकदमै बढी थियोे।’ त्यसपछि मानसिक रोग विशेषज्ञ डा. कुँवरले ती २१ वर्षीय किशोरीलाई ब्वाइफ्रेण्डसँगको ब्रेकअपलाई सामान्य रुपमा लिन परामर्श दिए। परामर्शपछि युवती घर फर्किइन्। अहिले बिस्तारै उनी सामान्य अवस्थामा फर्किंदै गएको डा. कुँवरले सुनाए।

‘उहाँलाई भर्ना नै गर्नुपर्ने जरुरत थिएन,’ डा. कुँवरले भने, ‘४÷५ पाँच दिन नसुतेको हुनाले केही दिन निद्रा लाग्ने औषधी सेवन गर्नु परेको मात्र हो।’ उपचार पूर्ण भइनसकेका कारण अझै केही दिन फलोअपमा आउनुपर्ने डा. कुँवरले सुनाए।

यी युवतीको प्रेम समस्या मात्र होइन, यौन जोडीसँगको ब्रेकअप भएर मनोचिकित्सक तथा मनोविद्कहाँ पुग्नेको संख्या मनग्ये छ। चिकित्सकका अनुसार किशोरावस्थाका व्यक्ति मात्रै हैन, वयस्क पनि यौन जोडीसँगको ट्र्याजेडी व्यवस्थापन गर्न परामर्शका लागि चिकित्सककहाँ पुग्ने गरेका छन्।

वास्तविक प्रेममा विच्छेद हुने सम्भावना अत्यन्तै कम हुन्छ। यौन जोडीबीचको सम्बन्ध वास्तविक तथा साँचो मायाको गहिराइमा नपुगेको अवस्थामा ट्रयाजेडी पर्न सक्छ। छोटो समयमै झांगिएको यौन जोडी बीचको प्रेम वास्तविक रुपमा सच्चा प्रेमको रुपमा विकास नहुनाले सम्बन्ध विच्छेदको जोखिम हुने चिकित्सकहरुको भनाइ छ।

डा. कुँवरले एक वर्षअघि ४८ वर्षे वयस्क पुरुष गर्लफ्रेडसँगको ट्र्याजिडीको तनाव थेग्न नसकेपछि मनोपरामर्शका आएको बताए। अधिकांश अवस्थामा भने युवा र किशोर उमेरका यौन जोडीबीच विच्छेदपछि तनाव झाङ्गिन गई मनोपरामर्शदातकहाँ पुग्ने गरेको मनोचिकित्सकहरुको अनुभव छ।

‘पहिलो पटक ट्र्याजेडी पर्दा व्यक्ति बढी तनावमा पर्ने भएकाले लभ ट्र्याजेडीको समस्या लिएर किशोर–किशोरी नै बढी आउने गर्छन्,’ डा. कुँवरले भने, ‘वयस्क भने बानी पर्ने भएकाले तुलनात्मक रुपमा धेरै चिन्ता लिँदैनन्।’

त्यसो त पाको उमेरका व्यक्तिमा उमेरसँगै कयौँ दुःख र पीडा झेल्दै अघि बढ्ने बानी परेका कारण दुःख र तनाव व्यवस्थापन गर्ने बानी नै विकास भइसकेको हुन्छ। त्यही अनुभवका आधारमा जस्तोसुकै तनाव पनि उनीहरुले व्यवस्थापन गर्ने सक्ने मनोचिकित्सकहरु बताउँछन्।

प्राकृतिक प्रक्रिया
यौन जोडीसँगको सम्बन्ध विच्छेद हुँदा कति तनाव हुन्छ, त्यो कुरा यौन जोडी कत्तिको सामीप्य थियो भन्नेमा भर पर्छ। त्रि.वि.शिक्षण अस्पतालअन्तर्गत मानसिक स्वास्थ्य विभागका चिकित्सा मनोविद् (क्लिनिकल साइकोलोजिस्ट) तथा उपप्राध्यापक डा. सुरज शाक्य तनावलाई कसरी लिने भन्ने कुरा व्यक्तिमा भर पर्ने बताउँछन्। डा. शाक्यले भने, ‘यौन जोडीसँग सम्बन्ध विच्छेद हुँदा कसैलाई लामो समयसम्म तनाव हुनसक्छ।’ गहिरो प्रेममा परेका व्यक्तिलाई विछोडपछि तनाव व्यवस्थापन गर्न लामो समय लाग्नसक्ने डा. शाक्यले बताए। विच्छेद भैहालेको खण्डमा यसलाई सामान्य प्राकृतिक प्रक्रियाका रुपमा लिन उनको सुझाव छ। डा. कुँवर पनि यौन जोडी तथा अन्य व्यक्तिसँगको सम्बन्ध विच्छेद हुनुलाई प्राकृतिक प्रक्रियाका रुपमा लिन सुझाउँछन्।

त्यसो त त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ‘एमफिल’ क्लिनिकल साइकोलोजी प्रथम वर्षमा अध्ययनरत विद्यार्थी अनिल शर्मा पनि यौन जोडीबीचको सम्बन्ध विच्छेद भएको अवस्थामा व्यवस्थापन गर्नुको विकल्प नरहेको बताउँछन्। शर्माका अनुसार मन नपरेका घटना घटेको अवस्थामा त्यसलाई सामान्य रुपमा लिनुपर्छ। दैनिक क्रियाकलापमा बाधा नपार्ने प्रयास गर्न उनको सुझाव छ। शर्माले भने, ‘एक्कासि सम्बन्ध विच्छेद हुँदा गाह्रो त हुनसक्छ तर बिस्तारै तनाव व्यवस्थापन गर्दै जान सकिन्छ।’

यौन जोडीसँगको सम्बन्ध यौन तथा भावनात्मक हुन्छ तर यिनको सम्बन्ध विच्छेदलाई मनोचिकित्सकहरुले एउटा मानसिक प्रक्रिया (साइकोलोजिकल)का रुपमा लिन्छन्। त्यसैले यौन सम्पर्क भन्दा भावनात्मक सम्बन्धका कारण विछोडको पीडामा व्यक्ति तनावमा पर्ने मनोचिकित्सक बताउँछन्।

व्यवस्थापन गर्ने टेक्निक
यसरी यौन जोडी बीचको सम्बन्ध विच्छेद भएको अवस्थामा तनाव व्यवस्थापन गर्न जीवनशैली व्यवस्थित गर्न चिकित्सकहरु सुझाउँछन्। भावना र मन मिल्ने साथी तथा आफन्तलाई पीडाका कुरा सुनाए तनाव कम गर्न सकिने डा. शाक्यको सल्लाह छ।

भनिन्छ, ‘दुःख बाँडे आधा घट्छ, सुख बाँडे बढ्छ।’ सोहीअनुसार आफ्ना मनका कुण्ठा मन मिल्ने व्यक्तिलाई सुनाएको खण्डमा तनाव व्यवस्थापनमा सहयोग मिल्छ। त्यसैले मनको कुरा खोल्न हिचकिचाउनु हुन्न तर कतिपय व्यक्ति दुःखका कुरा अरुलाई नसुनाउने स्वभाव हुने भएकाले त्यस्ता व्यक्तिले बोल्न मन नलागेको खण्डमा शान्तसँग बस्न डा. कुँवरको सुझाव छ। यस्तो स्वभाव भएका व्यक्तिले पनि अन्य व्यक्तिसँग घुलमिल हुन आवश्यक भने रहेको मनोचिकित्सक बताउँछन्।

सामान्यतः एकान्तमा एक्लै बस्दा तनाव व्यवस्थापन हुन नसक्ने भएकाले एकान्त कोठा वा ठाउँमा एक्लै नबस्न मनोचिकित्सकको सुझाव छ। व्यक्ति, परिवार तथा आफन्तसँग घुलमिल गर्नाले विछोडको पीडा भुल्न सकिन्छ। व्यस्त रहने प्रयास गर्नाले पनि विछोडको पीडा भुल्न सकिने मनोचित्सक बताउँछन्।

यौन जोडीबीचको सम्बन्ध विच्छेद हुनु असामान्य अवस्था भए पनि सामान्य रुपमा लिन डा. शाक्य सुझाउँछन्। नियमति व्यायाम गर्नाले शरीर थकित हुने भएकाले शारीरिक आनन्द हुन्छ। यसरी शरीर आनन्द भएको अवस्थामा विछोडको पीडा भुल्न सकिन्छ। डा. कुँवर भन्छन्, ‘तनाव व्यवस्थापनका लागि व्यायाम र योगमा ध्यान दिनुपर्छ।’

तनाव बढ्दै गएको अवस्थामा व्यक्ति डिप्रेसनसम्मको अवस्थामा पुग्ने भएकाले बेलैमा तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डा. शाक्यको सुझाव छ। तनाव बढ्दै गए व्यक्ति आत्महत्यासम्मको अवस्थामा पुग्न सक्ने भएकाले बेलैमा तनाव व्यवस्थापन गर्नुपर्ने तर्फ मनोचिकित्सकको सचेत गराउँछन्।

संयुक्त परिवारमा बस्ने व्यक्तिलाई यसरी सम्बन्ध विच्छेद भएको खण्डमा तनाव व्यवस्थापन गर्न तुलनात्मकरुपमा सहज हुनसक्ने शर्माको तर्क छ। परिवारका सदस्यले पनि यसरी यौन जोडीसँगको सम्बन्ध विच्छेदको पीडामा परेका व्यक्तिको समस्या सुनेर समाधानको प्रयासमा जुट्दा तनाव कम गर्न सहयोग मिल्ने मनोचिकित्सक बताउँछन्।

आघात व्यवस्थापन
व्यक्ति एकआपसमा माया प्रेममा बाँधिन्छन्। सम्बन्ध बिस्तार हुँदै जाँदा कतिपय यौन जोडीले यौन सम्बन्ध राख्छन् भने कतिले राख्दैनन्।

व्यक्तिको मन र विचार एकै किसिमको हुँदैन। कुनै विन्दुमा पुग्दा यौन जोडी बीचका सम्बन्धमा पनि पूर्णविराम लाग्न सक्छ। यस्तो अवस्थामा व्यक्तिको मनमा आघात पुग्न जान्छ। यसरी आघात पुगेको अवस्थामा आफूलाई सम्हालिन मनग्य समय लाग्छ। नसमालिए मनमा गहिरो पिर परिरहेको अवस्थामा व्यक्ति तनावको स्थितिमा पुग्ने जोखिम हुन्छ। त्यसैले यौन जोडीबीच टुटेको सम्बन्धले व्यक्तिको मन र मस्तिष्कमा पार्ने आघात (चोट)को व्यवस्थापन गर्न आवश्यक हुने उपप्राध्यापक डा. शाक्यको सुझाव छ।
मस्तिष्कले मन र विचार सन्तुलित राख्न सहयोग मिल्छ। यसरी सम्बन्ध विच्छेद भएको अवस्थामा मन दुःखी हुँदा नकारात्मक विचार पैदा हुने भएकाले तनाव उत्पन्न हुने मनोचिकित्सक बताउँछन्।

व्यक्तिको मनलाई जहिल्यै पनि खुसी हुन मन लाग्ने भएकाले मनको खुसीका लागि माया र भावनाको मुख्य भूमिका हुन्छ। खुसी अवस्थामा मस्तिस्कबाट सेरोटोनिन, नरइपिनेफ्रिन र डोपामिनजस्ता मस्तिष्क रसायन सक्रिय हुन्छ तर विछोडको पीडामा यस्ता मस्तिष्क रसायनको कमी हुनाले व्यक्ति दुःखी हुन पुग्छ। त्यसलै विछोडले निम्त्याएको पीडाको व्यवस्थापन गरेर व्यक्ति खुसी रहन डा. कुँवरको सुझाव छ।  
माया पनि मनको भावना हो। मनभित्र हुने माया अनुभूति गर्न सकिन्छ। गहिरो मायालाई भने भावनाले असर नगर्ने मनोचिकित्सक बताउँछन्। सच्चा प्रेम निःस्वार्थ हुन्छ।

यौन जोडीबीचको मायामा यौन सन्तुष्टिसमेत समेटिएको हुन्छ। यौन जोडीबीच सन्तुलित रुपमा गरिने यौन सम्पर्कले मायालाई थप मजबुत बनाइराख्न सहयोग पुग्छ। त्यसैले यौनलाई मात्रै पे्रमको आधारका रुपमा लिनु हुन्न।

वास्तविक प्रेममा विच्छेद हुने सम्भावना अत्यन्तै कम हुने मनोचिकित्सक बताउँछन्। यौन जोडीबीचको सम्बन्ध वास्तविक तथा साँचो मायाको गहिराइमा नपुगेको अवस्थामा भने विच्छेद हुनसक्नेतर्फ मनोचिकित्सक सजग गराउँछन्। मनोचिकित्सकका अनुसार छोटो समयमै झांगिएको यौन जोडी बीचको प्रेम वास्तविक रुपमा सच्चा प्रेमको रुपमा विकास नहुनाले सम्बन्ध विच्छेदको जोखिम हुन्छ।

विवाहित यौन जोडीमा समेत माया वयस्क नभएको अवस्थामा खटपटको अवस्था उत्पन्न भई सम्बन्ध विच्छेद हुन सक्छ। वैवाहिक यौन जोडीबीच वास्तविक सच्चा प्रेमको अवस्थामा पुग्न करिब २० वर्ष लाग्ने मनोचिकित्सक बताउँछन्। यस्तो वास्तविक प्रेममा एक–अर्काबीच समर्पण भाव हुन्छ। सच्चा प्रेम गर्ने यौन जोडीमध्ये एकलाई दुखेको अवस्थामा अर्कोलाई पनि दुखाई महसुस हुने मनोचिकित्सक बताउँछन् तर व्यक्तिका फरक इच्छा, चाहना हुने हुँदा एकअर्काको भावना बुझ्न समय लाग्न सक्छ।

मनमा परेको आघातको व्यवस्थापन गर्न समय लाग्ने सक्ने भए पनि यसको व्यवस्थापनमा ध्यान दिन मनोचिकित्सकको सुझाव छ।

Leave A Comment