जासुसीको जालो र ह्विसल ब्लोअर

शुक्रबार, ०९ फागुन २०७६, १२ : ३६ शुक्रवार
जासुसीको जालो र ह्विसल ब्लोअर

बिबिसी

पछिल्लो समय जासुसी मामिलाको बहुचर्चित काण्ड सतहमा आएको छ। भारत र इरानजस्ता देशले करोडौँ डलर खर्च गरेर आफ्ना गोप्य जानकारी लुकाउने प्रयास गर्दै आइरहेका थिए। जुन देशमा तिनका सूचना लुकाइन्थ्यो, ती सूचनाहरु भने जर्मनी र अमेरिकी जासुसी संयन्त्रको नियन्त्रणमा रहेको खुलासा भएको छ।

सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिएपछि सन् २००० सम्म जर्मनी र अमेरिकाका जासुसी संस्थाहरुले एक सय २० देशको जासुसी गरे। करिब ५५ वर्षसम्म गरिएको सो जासुसीमा पश्चिम जर्मनीका जासुसी संस्था बिएनडी र अमेरिकी सिआइएजस्ता संस्था संलग्न थिए।

गएको मंगलबार अमेरिकी अखबार वासिङ्टन पोस्ट, जर्मनीको सरकारी टेलिभिजन च्यानल जेडडिएफ र स्विट्जरल्यान्डको सरकारी प्रसारक एसआरएफले गरेको सामूहिक अनुसन्धानले यस कुराको खुलासा गरेको हो। सन् १९९० अक्टोबरअघि पूर्वी र पश्चिम जर्मनी बेग्लाबेग्लै देश थिए।

अनुसन्धानका बेलामा संसारका अधिकांश देशले आफ्ना गोप्य जानकारी सुरक्षित राख्न स्विट्जरल्यान्डको एउटा कम्पनी क्रिप्टो एजीको सेवा लिएका थिए। दोस्रो विश्वयुद्धका बेलामा यो कम्पनीले अमेरिकी सेनाका लागि कोड मेसिन बनाएको थियो। मेसिनले गोप्य सन्देश पठाउन र लिन भूमिका खेलेको थियो र यो मामिलामा मेसिन निकै सफल मानिएको थियो।

विश्वयुद्धपछि कयौँ देशले सोही सफलता मध्यनजर गर्दै क्रिप्टो एजीसँग गोप्य दस्तावेज सम्हाल्ने सेवा लिन थाले। कम्पनीको कोड मेसिनमार्फत ती देशले आफ्ना जासुस, राजनेता, सेना तथा वरिष्ठ नेताहरुलाई गोप्य सन्देश पठाए। ती देशहरुमा भारत, पाकिस्तान, इरान तथा दक्षिण अमेरिकाका अनेकन् सहित संसारभरिका १२० मुलुक थिए।

पछिल्लो अनुसन्धानले सो कम्पनी पूर्ण रुपमा सिआइए र बिएनडीको नियन्त्रणमा रहेको देखाएको छ। अनुसन्धानअनुसार १९७० मा बिएनडी र सिआइएले चुपचाप क्रिप्टो एजीलाई आफ्नो नियन्त्रणमा लिएका थिए। यो कम्पनीको ग्राहक बनेका कुनै पनि देशलाई यसका बारेमा कुनै जानकारी थिएन।

क्रिप्टोको स्विट्जरल्यान्डमा कार्यालय
ती दुई जासुसी संस्थाले क्रिप्टोका मेसिन, इलेक्ट्रोनिक सर्किटहरु, चिप र सफ्टवेयरमार्फत संसारभरिका सरकारका सन्देश र कोड रेकर्ड गरेका थिए। सिआइएका गोप्य रेकर्डहरुमा यस कार्यलाई ‘थेसारस’ नामकरण गरिएको थियो। पछि ‘अपरेसन रुबिकन’ नाम राखियो।

सन् १९८० को दशकमा क्रिप्टो मेसिनले संसारभरिका गोप्य सन्देशका करिब ४० प्रतिशत अंश सिआइए र बिएनडीलाई दिएको थियो। सन् १९७९ मा इरानमा अमेरिकी दूतावासमा बन्धक संकटका बेला र १९८२ ताका बेलायत र अर्जेन्टिनाका बीच फकल्यान्डमा भएको युद्धमा पनि जर्मन र अमेरिकी जासुसी संस्थाले सटीक जानकारी भेला पारेका थिए।

शीतयुद्धका बेला चरममा थियो जासुसी
आफूलाई अन्तर्राष्ट्रिय राजनीतिमा तटस्थ बताउने देश स्विट्जरल्यान्डमा भएको यस खुलासापछि संसारभरिका गोप्य दस्तावेज बुझाउने संस्थाहरु यतिबेला तनावमा छन्। देशकै प्रमुख अखबारमध्ये एक ट्रिब्युन दे जेनेभाले लेखेको छ, ‘हाम्रो देश जासुसीमा माहिर कम्पनीलाई मज्जैले अतिथि बनाएर राख्यो र सूचना दिएर गुन लगायो। यसले देशको असंलग्नताको सिद्धान्तको धज्जी उडेको छ।’

स्विस अधिकारीहरुलाई यस्तो भइरहेको छ भन्ने थाहा नहुने कुरै भएन। तटस्थताको सिद्धान्तका बाबजुद पनि आफ्ना आँखा चिम्म गरिरहे। स्विट्जरल्यान्डको जेनेभा शहरमा संयुक्त राष्ट्रसंघको युरोप कार्यालय छ। शहरमा इन्टरनेसनल कमिटी अफ द रेड क्रसको मुख्यालय छ। उसको तटस्थताको दाबीकै कारण पनि स्विट्जरल्यान्डलाई विवादमा इमान्दार मध्यस्थकर्ता पनि मानिन्छ।

स्विट्जरल्यान्डमा शताब्दीदेखि नै आफूलाई तटस्थ मान्ने परम्परा छ। पहिलो र दोस्रो युद्धका बेलामा पनि यो देशले आफूलाई कुनै पनि युद्धमा सामेल गरेन। युरोपमा कडा सैन्य तनावका बीचमा पनि स्विट्जरल्यान्ड कहिल्यै नाटोजस्तो सैन्य संगठनको अंशका रुपमा रहेन। युरोपको केन्द्रमा रहेको स्विट्जरल्यान्ड अहिले पनि युरोपेली संघको सदस्य छैन।

तर यो खुलासापछि स्विस सरकार दबाबमा छ। सरकारले एउटा रिटायर्ड संघीय न्यायाधीशलाई यसबारे अनुसन्धान गर्ने जिम्मा सुम्पिएको छ। सन् २०२० को जुन महिनासम्म यो जाँचको परिणाम आउने अपेक्षा गरिएको छ। यसबीच क्रिप्टो एजीले पाइरहेको व्यापार लाइसेन्स निलम्बित गरिएको छ। यत्रो गम्भीर अपराधका लागि कम्पनीको लाइसेन्स निलम्बित मात्र गरिएकामा राजनीतिक दलका सदस्यहरु सन्तुष्ट छैनन्।

मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलको स्विस शाखाले ट्वीट गर्दै सोधेको छ, ‘हाम्रा जासुसी संस्था र सरकारलाई यसका बारेमा थाहा थियो कि चिली र अर्जेन्टिनाका सैन्य तानाशाहीले सर्वसाधारणलाई प्रताडित गरिरहेको थियो र तिनको दिनदिनै हत्या गरिरहेको थियो !’

यस्तो गोप्य दस्तावेज कसरी र कसले ग-यो, अहिले रहस्यमा नै छ। खासगरी स्विट्जरल्यान्डमा बसेर संसारको गतिविधि कसरी नियालिन्थ्यो भन्ने कुरालाई चर्चित ह्विसल ब्लोअर एडवार्ड स्नोडनले पनि खुलासा भने गरेका थिए तर उनले क्रिप्टो एजीका बारेमा भने खुलासा गरेका थिएनन्।

पछिल्लो समय गोप्य रुपमा भइरहेका, जनतालाई धोका दिने गतिविधिमाथि ह्विसल ब्लोअरहरुले निकै ठूलो भूमिका खेलिरहेका छन्। जुन उद्देश्यका लागि संस्थाले काम गर्नुपर्ने हो, सो उद्देश्यअनुरुप कार्य नगरेको खण्डमा ह्विसल ब्लोअरले ठूला संस्थाविरुद्ध जमेरै दुस्मनी गरिरहेका छन् र सत्यतथ्यलाई बाहिर ल्याउने काम गरिरहेका छन्।

अमेरिकाका एडवार्ड स्नोडनले कसरी अमेरिकी सरकारले सर्वसाधारणका कुराकानी, भिडियो चोरेर निगरानी बढाइरहेको छ भन्ने खुलासा गरेका थिए। त्यस्तै बेलायती जासुसी संस्था जिसिएचक्युमा काम गरेकी क्याथरिन गनले कसरी अमेरिकाको पिछलग्गु भएर प्रधानमन्त्री टोनी ब्लेयरले इराकका सद्दाम हुसेनलाई सत्ताच्यूत गर्न सत्ताको दुरुपयोग गरे भन्ने खुलासा गरेकी थिइन्।

त्यसैगरी यस्ता हिम्मतिला ह्विसल ब्लोअरकै कारण अमेरिकाको अबुघैरब यातनागृहमा आतंककारीको आशंकामा यातना दिइएका र आतंककारी गतिविधिसँग कुनै साइनो नै नभएका सर्वसाधारणहरुको कथालाई ड्यानियल जे. जोन्सले सार्वजनिक गर्न बाध्य पारेका थिए।

एबी जोन्सनको प्लान्ड प्यारेन्टहुडविरुद्धको जेहाद होस् या भेरोनिका गुरिनको शक्तिशाली कलम होस्, जसले त्यो बेलाको आयरल्यान्डका शक्तिशाली डनहरुलाई तह लगाउन भूमिका खेलेको थियो।

यति मात्र होइन, अमेरिकाबाट बोस्नियामा शान्ति स्थापनाका लागि जाने शान्ति मिसनकी एक अमेरिकी प्रहरी अधिकारी क्याथीले त्यहाँ भएका भ्रष्टाचार, लुट र बहुराष्ट्रिय कूटनीतिक समूहले खेलेका घिनलाग्दा खेलको खुलासा गरेकी थिइन्।

यी सबै ह्विसल ब्लोअरकै कारण संसारमा भएका निर्गतिला कामहरुको खुलासा हुन सम्भव भयो। यस्ता खुलासाहरु बेलाबखतमा भइरहनु पर्ने हो तर सधैँ त्यस्तो अवसर आउँदैन।

पछिल्लो समय जब स्विट्जरल्यान्डजस्तो कुनै पनि पक्ष नलिई सबैको हितमा काम गर्ने नीति लिने मुलुकको आडमा संसारभरिको चियोचर्चो गरेको प्रसंगले पुनः एक पटक आफ्ना लागि मात्रै हित चिताउने मुलुकले कतिसम्म बदमासी गर्न सक्छन् भन्ने खुलासा गरेको छ। यस्तो खुलासाले अन्ततः संसारकै रखवाला भनेर चिनिएको अमेरिकाकै इज्जतमा धब्बा लाग्नेछ। यस्तो धब्बाले जुन नीतिको पक्ष उसले लिएको छ, मानव अधिकार, प्रजातन्त्रजस्ता विषयमा उसको जुन अडान हुने गरेको छ, त्यसमा उसको पकड खुकुलिँदै जानेछ। यसमा खुकुलो हुने भनेको संसारमा निर्धाका लागि बोलिदिने समूहको अभाव हुनु हो र यस्तो अभावले निर्धा मुलुक, निर्धा जनता र पिँधमा पिल्सिरहेका नै अझ बढी मारमा पर्ने हुन्।

तसर्थ पर्दा पछाडि, अँध्यारा कुनामा गरिने षडयन्त्रपूर्ण कामलाई यसरी उजागर गर्दै भविष्यमा सचेत हुने वातावरण मिलाउन ह्विसल ब्लोअरको भूमिका अझ बढेर गएको छ।

Leave A Comment