नेपालमा पछिल्लो समय संगीत क्षेत्रमा एउटा जागरण आएको छ। त्यो जागरण हो, आफ्ना गीत–संगीतको डिजिटल अधिकार खोज्ने। सत्यराज आचार्य, स्वरुपराज आचार्य, यादव खरेल, अमर गुरुङ, प्रेमध्वज प्रधानका पुराना गीतको डिजिटल अधिकार खोज्ने अभियान यतिबेला राजन ईशानसम्म आइपुग्दा प्रहरी जाहेरीसम्म पुगेको छ। गायक तथा संगीतकार ईशानले आफ्नो सिर्जना ईन्द्रेणी क्यासेट सेन्टर हुँदै रञ्जना क्यासेट सेन्टरको पोल्टामा पुगेको र त्यो गीत अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रयोग भए पनि त्यसका लागि ती कम्पनीले आफूसँग सहमति नलिई अर्काको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका छन्।
संगीतमा डिजिटल अधिकार माग्दै प्रहरीकहाँ पुगेको जाहेरी यो पहिलो बन्न पुगेको छ। यसअघि सत्य–स्वरुप र अन्य कतिपय सर्जकहरु जाहेरीको तयारी गरिरहेको जानकारी आए पनि अझै त्यसले मूर्त रुप लिन सकिरहेको छैन।
यसैगरी गायक अनील सिंहले पनि आफ्ना सिर्जनाहरु बिना अनुमति म्युजिक डटकमले उपभोग गरिरहेको र आफूले पाउनुपर्ने नैतिक र अन्य अधिकार नपाएको गुनासो गर्दै आइरहेका छन्।
र, यी सबै गुनासाहरुका बीचमा बाजी भने राजन ईशानले मारेका छन्। उनले आफ्नो सिर्जना स्वीकृतिबेगर बेचिएको गुनासो मात्र गरेनन्, अन्तर्राष्ट्रिय प्लेटफर्ममा बेच्ने संगीत कम्पनीलाई कानुनको दायरामा ल्याउने काम पनि गरिरहेका छन्।
यो जाहेरीसँगै अबका दिनमा संगीत उद्योगमा एउटा जागरण आउने पक्का छ। सर्जकहरुलाई कुनै जानकारी नै नदिई तिनका गीत संसारभरि बेच्ने र आम्दानीको लेखाजोखा नराख्ने परिपाटीमा अब अंकुश लाग्नेछ। यति मात्र होइन, आफ्ना सिर्जनालाई विश्वासको भरमा सुम्पने जुन संगीतकर्मीहरुको बानी छ, त्यसमा समेत सुधार आउनेछ।
जसरी संगीत कम्पनीहरुले गायक–कलाकारको सिर्जनालाई आफूखुसी उपभोग गरेर लाभांशबाट वञ्चित गरिरहेका छन्, त्यसमा कलाकारको कमजोरी पनि उत्तिकै छ। संघर्षका बेलामा कम्पनीहरुले जे र जस्तो कागज बनाए पनि सही धस्काउने र केही हजार र केही लाख रुपैयाँमै चित्त बुझाएर आफ्नो सारा सिर्जना अरुको पोल्टामा पारिदिने प्रवृत्तिलाई पछिल्ला घटनाले उदाङ्ग पारिदिएको छ।
छुद्र फाइदाका लागि आँखा चिम्लने र चाँडै फाइदाका लागि जे पनि सम्झौता गर्ने कलाकर्मीको प्रवृत्तिलाई ईशानको कदमले भने कलाकारहरुलाई एउटा नयाँ बाटो मात्र देखाएको छैन, कसरी आफ्नो अधिकार सुरक्षित गर्ने भन्ने पनि बताएको छ।
अहिले संगीत उद्योग संक्रमणकालमा छ। न त पहिलेको जस्तो क्यासेट चक्का बिक्री हुन्छ, न त सिडी नै चल्तीमा छ। फिजिकल म्युजिकको प्रचलन हराउँदै जाँदा यतिबेला डिजिटल प्लेटफर्मबाट आम्दानी सुरक्षित गर्नुपर्ने अवस्था आएको छ। डिजिटल आम्दानीका लागि केही बाठा कलाकारहरुले एउटै गीतलाई लिरिकल, अडियो र भिडियो गरी तीन किसिमले दोहन गरिरहेका छन्। राम्रा गीतसंगीतले करोड भ्युज बटुलिरहेका छन् भने स्पोटीफाई, एप्पलको आइट्युन लगायतका सयौँ डिजिटल प्लेटफर्मले कमाईको बाटो खुला गरिदिएका छन्।
पहिला युट्युबमा सित्तैमा गीत हालिन्थ्यो भने पछिल्लो समय त्यही गीत बढीभन्दा बढी बजेको खण्डमा त्यसबाट केही आम्दानीसमेत आउन थालेको छ। सन् २००७ मा एप्पल कम्पनीका प्रमुख कार्यकारी स्टिभ जब्सले आइट्युन नामक सफ्टवेयर बजारमा ल्याएपछि त्यसमा सर्जकले आफ्ना गीत बेच्ने अवसरसमेत पाएको छ। एक डाउनलोड बराबर एक डलर पाइने भएपछि यसमा सर्जकहरुको चासो ह्वात्तै बढेको थियो।
अब त्यो सपना नेपाली गायक कलाकारले पनि देख्न थालेका छन्। संसारभर फैलिएको नेपाली डायस्पोराले त्यहीँबाट नेपाली गीतसंगीत डाउनलोड गर्ने प्रवृत्ति पछिल्ला दिनमा ह्वात्तै बढेर गएको छ। जसको फाइदा संगीत कम्पनीले उठाइरहेका छन्। आइट्युनजस्ता फाइदा दिने संस्थाहरु संसारभर ७० भन्दा बढी छन्।
यो फाइदा भने संगीत कम्पनीले मात्र पाउने र सर्जक तथा कलाकार भने वञ्चित रहने अवस्था हुनुहुँदैन। सत्य–स्वरुप तथा राजन ईशानको अभियान त्यही वञ्चितीविरुद्धको अभियान हो। यस मुद्दालाई टुङ्गोमा पु¥याउनका लागि कलाकारहरु एक्लाएक्लै लड्ने या आफ्नो मुद्दा टुङ्गिएपछि चुप लागेर बस्ने प्रवृत्तिले समग्र संगीत उद्योगलाई हानि पु¥याउनेछ। यस्तो प्रवृत्तिले एउटा ठूलो उपलब्धि गुम्ने खतरा नै रहन्छ। तसर्थ, यस कार्यलाई एक्लो अभियानका रुपमा अघि बढाउने भन्दा पनि सामूहिक अभियान बनाउनु अत्यन्त जरुरी छ।
Leave A Comment