कसलाई वास्तविक पुरुष भन्ने ?

शुक्रबार, ०९ फागुन २०७६, ०१ : ५० प्रकाश जंग थापा
कसलाई वास्तविक पुरुष भन्ने ?

अधिकांश मानिसको वास्तविक पुरुष, पूर्ण पुरुष अथवा मर्द कस्तो हुनुपर्छ भन्नेबारेमा केही स्टेरीओटाइप (रुढिवादी मान्यताहरु) हुन्छन्। जस्तो उनीहरु शारीरिक रुपमा सुगठित ६ फिट अग्लो, बहिर्मुखी स्वभावको, राम्रो पहिरन लगाउने, आकर्षक व्यक्तित्वको धनी, बोलीमा गहिराइ भएको केटा मान्छेलाई नै वास्तविक पुरुष वा मर्द पुरुषको रुपमा चित्रण गर्छन्। उदाहरणार्थ ब्राड पिट, आर्नोल्ड स्वर्जनेगर, भिन डिजेल, जेम्स बोन्ड जस्ता हलिउडका चरित्र अभिनेताहरुलाई असली पुरुषका रुपमा स्वीकार गर्छन्। जुन सरासर गलत हो। उसो भए कस्ता व्यक्तिलाई वास्तविक पुरुष, पूर्ण पुरुष अथवा असली मर्द मान्ने?

वास्तविक पुरुषको विशेषताहरू
अमेरिकी लेखक डेभिड डेइडाको ‘दि वे अफ दि सुपेरियर म्यान’ पुस्तकमा वास्तविक पुरुष र तीनका विषयमा राम्रोसँग वर्णन गरिएको छ। सोही पुस्तक, सम्बन्धको

विज्ञ, सेल्फ हेल्प गुरु एवं आध्यात्मिक गुरुअनुसार वास्तविक पुरुषको निम्न विशेषताहरू छन्:

–सतप्रतिशत विश्वसनीयः
वास्तविक पुरुषले कोही कसैबाट असुरक्षित महसुस गर्दैन। आफूलाई अरुसामु स्वतस्फूर्त प्रस्तुत गर्छ। भित्र जे छ बाहिर पनि त्यही व्यक्त गर्छ। कुनै कुरा सेन्सर गर्न वा लुकाउने भन्ने एक रत्तिभर सम्भावना हुँदैन। त्यसैले वास्तविक पुरुषलाई सतप्रतिशत विश्वास गर्न सकिन्छ।

–भावनात्मक स्थिरताः
वास्तविक पुरुषमा भावनात्मक स्थिरता हुन्छ। अरुले के भन्छन्, त्यसतर्फ ध्यान दिँदैन। परिस्थिति जस्तो होस्, कहिल्यै प्रतिक्रियात्मक हुँदैन। उसलाई आफ्नो मूल्य, मान्यता र सिद्धान्तमाथि अटुट विश्वास रहन्छ। यस अतिरिक्त उसले रचनात्मकता, सत्यता जस्ता विषयलाई बढी महŒव दिन्छ।

–पहिचानयुक्तः
वास्तविक पुरुषले आफ्नो पहिचान पत्ता लगाइसकेको हुन्छ। म को हुँ भन्ने उसलाई पूर्ण ज्ञान हुन्छ। प्रायः २० देखि ३० वर्षभित्रको अवधिमा पहिचान निर्माण गरिन्छ। र, वास्तविक पुरुषले आफ्नो पहिचान निर्माण गरिसकेको हुन्छ।

–आत्मनिर्भरः
वास्तविक पुरुषमा आत्मविश्वासको स्तर उच्च रहन्छ। उसलाई कसैको स्वीकारोक्ति चाहिँदैन। ऊ हरेक कुरामा आत्मनिर्भर रहन्छ। खुसी हुन आकर्षक महिलाको आवश्यकता पर्दैन। उसको जीवनमा नयाँ महिला आए ? ऊ खुसी हुन्छ। त्यसैगरी ती महिलाले छाडेर गए ? ऊ यस्तो अवस्थामा पनि दुखी हुँदैन, खुसी नै हुन्छ।

–खुला विचारकः
वास्तविक पुरुषले खुला विचारधारा राख्छ। यौन विषयमा बोल्न कुनै संकोच मान्दैन। यौनप्रति कहिल्यै नकारात्मक दृष्टिकोण राख्दैन। यौनकार्यमा संलग्न हुनुलाई शारीरिक आवश्यकताको रुपमा चित्रण गर्छ। कहीँ कतै उपयुक्त यौन पार्टनर भेटे वा शारीरिक आवश्यकता पूर्ति गर्ने अवसर मिले कामोत्तेजक संवाद गर्न र यौनको भरपुर आनन्द लिन डर मान्दैन।
यद्यपि यस्ता पुरुषमा यौनप्रति भने कत्ति पनि आशक्ति हुँदैन।

–जीवन उद्देश्य सहितकोः
वास्तविक पुरुषले उद्देश्यसहितको जीवन बाँचेको हुन्छ। केका लागि जन्मेको, के गर्दै छु र कुन दिशातिर उन्मुख छु भन्नेबारेमा ऊ स्पष्ट हुन्छ। यति मात्र होइन, ऊसँग भविष्य निर्माणको मानचित्र पनि हुन्छ। यस मानचित्रलाई यथार्थमा परिणत गर्न कुनै पनि चुनौती मोल्न तयार हुन्छ। उद्देश्य नजिक नलैजाने कुनै पनि कार्यमा ऊ आबद्ध हुन चाहँदैन। जीवन उद्देश्य अथवा भविष्य निर्माण कार्य र महिलामध्ये कुनै एक छनोट गर्नुपरे उसले जीवन उद्देश्य छनोट गर्छ। कारण ? उसले जीवन उद्देश्यलाई पहिलो प्राथमिकतामा राखेको हुन्छ न कि महिलालाई। महिला त उसको तेस्रो वा चौथो प्राथमिकतामा पर्न सक्छ।

वास्तविक पुरुष कसरी बन्ने ?
एउटा व्यक्तिले शारीरिक सुगठनअनुसार पुरुषको परिचय पाए पनि उसको मानसिक विकास नभएको हुन सक्छ। उसमा अपरिपक्वता, भावनात्मक अस्थिरता प्रस्ट देख्न सकिन्छ। त्यसैगरी ऊ अरु व्यक्तिको मूल्य मान्यता र सिद्धान्तअनुसार बाँच्ने, जे काम पाउँछ त्यही गर्ने, डरपोक र रिसाहा प्रवृत्तिको हुन्छ। यस्तो अवस्थामा उसलाई पूर्ण पुरुष मान्न सकिँदैन। वास्तविक पुरुष, पूर्ण पुरुष अथवा असली मर्द बन्नका लागि निम्न विधि अवलम्बन गर्न सकिन्छः

(क) धेरैभन्दा धेरै महिलासँग शारीरिक सम्बन्ध राख्नेः
महिलाहरु विश्वसनीय, आत्मविश्वासी, अनावश्यक प्रतिक्रिया नजनाउने, भावनात्मक रुपमा स्थिर, खुला विचारधाराको र कामुक पुरुषप्रति आकर्षित हुन्छन्। यी विशेषताहरूले भरिपूर्ण पुरुष बन्न धेरैभन्दा धेरै महिलासँग शारीरिक सम्बन्ध राख्न सकिन्छ। जीवनभरिमा सयौँ महिलासँग घनिष्ठता बढाएर र नियमित शारीरिक सम्बन्ध राख्न सफल पुरुषको विश्वसनीयता, आत्मविश्वास, भावनात्मक स्थिरता, कामुकतालगायत विशेषताहरुको स्तर कम महिलासँग मात्र शारीरिक सम्बन्ध राख्न सफल पुरुषको भन्दा निकै उच्च रहन्छ। त्यसैले वास्तविक पुरुष हुन धेरै भन्दा धेरै महिलासँग शारीरिक सम्बन्ध राख्नोस्। यसको अर्थ यो होइन कि भेटेको जति सबै महिलालाई प्रस्ताव राख्ने र अस्वीकृत गरेको खण्डमा बलात्कार गर्ने। बलात्कार नामर्दले गर्ने कुकर्म हो। मर्द वा वास्तविक पुरुष त सहमतिमा सम्बन्ध राख्न सफल हुन्छ। त्यसैगरी धेरैभन्दा धेरै महिलासँग शारीरिक सम्बन्ध राख्नोस् भन्नुको अर्थ यो पनि होइन कि बिहेपश्चात् परस्त्रीसँग भावनात्मक निकटता बढाउँदै र सम्बन्ध राख्दै जाने।

(ख) महिलालाई खुसी बनाउन सोच परिवर्तन नगर्नेः
महिलाहरु आत्मनिर्भर पुरुषप्रति आकर्षित हुन्छन्। उनीहरु स्वतन्त्रता चाहन्छन्। त्यसैले महिलालाई आफूतर्फ खिच्न आत्मनिर्भर हुनोस्। स्वतन्त्रता दिनोस्। कुनै पनि कार्य गर्दा, निर्णय लिँदा महिलालाई खुसी बनाउने उद्देश्यले कार्य तथा निर्णय लिने नगर्नोस्। आफ्नो व्यक्तिगत निर्णय लिनोस्। यसको अर्थ महिलालाई सुन्दै नसुन्ने भन्ने होइन। ध्यानपूर्वक सुन्ने गर्नोस् तर कार्य तथा निर्णय गर्दा आफ्नै अन्तरआत्माको आवाज सुन्नोस्। मानौँ, तपाईंलाई विदेशी कम्पनीबाट जागिरको प्रस्ताव आयो। यस्तोमा तपाईंको महिला साथीले तपाईंलाई विदेश नजान र स्वदेशमै जीवन जिउन आग्रह गरिन्। अब तपाईं कस्तो निर्णय लिनुहुन्छ ? महिला साथीलाई खुसी बनाउन विदेश नजाने निर्णय लिनुभयो भने तपाईं वास्तविक पुरुष हुन सक्नुहुन्न।

(ग) सुरक्षाको घेरा तोड्नेः
सुरक्षाको घेराभित्र जिउन सजिलो छ तर त्यसले वास्तविक पुरुष, मर्द बनाउँदैन। त्यसैले नयाँ नयाँ चुनौती मोल्ने गर्नोस्। सुरक्षाको घेरा तोड्न निरन्तर प्रयास गर्नोस्। जुन कार्य गर्न असहजता महसुस हुन्छ त्यही कार्यमा समय, पैसा र उर्जा लगानी गर्नोस्। मानौँ, तपाईंलाई नयाँ ठाउँमा जाने इच्छा छ तर एक्लै जान असहज महसुस गर्नुहुन्छ।

यस्तोमा त्यो ठाउँको भ्रमण गर्न ढिलासुस्ती नगर्नोस्। मानौँ, तपाईंलाई बन्जी जम्प गर्न डर लाग्छ। यस्तोमा निश्चित मिति तोकेर बन्जी जम्प गरिहाल्नुस्। समग्रमा भन्नुपर्दा, जुन गतिविधिले सुरक्षाको घेरा तोड्न मद्दत गर्छ त्यो गतिविधिमा संलग्न हुन साइत कुर्ने नगर्नोस्। वास्तविक पुरुष, मर्दले साइत हेर्दैन। कुनै पनि किसिमको बहानाबाजी गर्दैन।

(घ) जीवनको उद्देश्य पहिल्याउनेः
महिलाहरु सुरक्षाको सुनिश्चितता अनुभूत गर्न चाहन्छन् जुन कुरा उद्देश्यविहीन पुरुषबाट सम्भव हुन सक्ने सम्भावना रहेन। यसकारण उनीहरू उद्देश्यविहीन पुरुषप्रति आकर्षित हुनै सक्दैनन्। उद्देश्यप्रति र भविष्य निर्माण कार्यमा सक्रिय पुरुषप्रति अत्यधिक आकर्षित हुन्छन्। त्यसैले आफ्नो जीवनको उद्देश्य पत्ता लगाउनुस्। त्यसैमा प्रतिबद्ध हुनोस्। बाटो बिराउने गल्ती नगर्नोस्। जुन दिनदेखि बाटो बिराउनु हुन्छ, त्यही दिनदेखि तपाईंको पुरुषत्व धरापमा पर्छ। यसर्थ वास्तविक पुरुषको पहिचान सुरक्षित राख्न जीवनको उद्देश्यलाई महिलाभन्दा धेरै माथि राख्नोस्। भनाइको मतलब, उद्देश्य प्राप्तिलाई पहिलो प्राथमिकतामा राख्नोस्।

(ङ) स्त्री गुणहरू आत्मसात गर्नेः
वास्तविक पुरुष बन्न महिला जस्तै व्यवहार गर्नोस्। महिलाको गुणहरू आत्मसात गर्नोस्। यो एउटा काउन्टर इन्टुअटिभ मुभ, कदम हो। यही कदम चाल्ने कोसिस गर्नोस्। अर्थात् भावनात्मक हुने, प्रेमिल हुने, समानुभूति भाव राख्ने, सबैको ख्याल राख्ने, विनम्र हुने, मनमा लागेको खुलस्त भन्ने, रोमान्टिक बन्ने तथा रुने गर्नोस्। तपाईं आकर्षक महिलासामु रुन सक्नुहुन्छ भने त्यसले तपाईंको पुरुषत्व मापन गर्छ न कि तपाईंको नामर्दपनको पुष्टि गर्छ। यहाँ रुने भन्दैमा जतिबेला पनि महिलाको अगाडि रुने भन्ने अर्थ नलागोस्। रुवाइ महिला आकर्षित गर्ने सस्तो हतियारको रुपमा प्रयोग गरिनुहुँदैन भन्ने अर्थ लाग्छ। कृत्रिम रुवाइले आकर्षण होइन विकर्षण बढाउँछ। त्यसैगरी प्रायः महिलाले गर्ने कार्यमा पनि सक्रिय हुनोस्। जस्तो खाना पकाउने, भाँडा माझ्ने, सेलरोटी पकाउने, टपरी बनाउने, योगा गर्ने आदि। जब तपाईं यस्ता गतिविधिहरु गर्नुहुन्छ, महिलाहरु तपाईंप्रति आकर्षित हुन्छन्। तपाईंलाई प्रगाढ प्रेम गर्छन्। त्यसैले वास्तविक पुरुष बन्न महिलाको जस्तै व्यवहार र गतिविधि निष्पादन गर्नोस्।

Leave A Comment