माघ २५ गते मानव बेचविखन तथा अनुसन्धान ब्युरो बबरमहल पुग्दा ८/१० जना युवा हातमा कागजात लिएर ब्युरो वरपर बसिरहेका थिए। ब्युरोमा कार्यरत प्रहरीहरु उनीहरुलाई मानव तस्करीमा संलग्नहरुको खोजीमा पीडितहरुले सघाउनु पर्ने बताइरहेका थिए।
पीडितहरु तस्करीमा संलग्नको हुलिया बताउँदै थिए। हातमा सरकारी कागजात, तस्करहरुलाई बुझाएको बैंक भौचर, मोबाइलमा तस्करको फोटोसहित उनीहरुले आफूलाई अमेरिका पु-याउने लोभमा कसरी फँसाइयो भनी एकआपसमा कुराकानी गरिरहेका थिए।
रोल्पा घर भएका पूर्व माओवादी लडाकु श्याम पुन (नाम परिवर्तन) पनि अमेरिका जाने लोभमा चिनेजानेकै तस्करको फन्दामा परे। वैदेशिक रोजगारीमा गई कमाएको सबै पैसा डुबेपछि उनी इन्डोनेसियाबाट फर्केको ४ महिना भइसक्दा पनि घर जान सकेका छैनन्।
उनी भन्छन्, ‘कुन मुखले जाऊँ म ? घरमा छोराछोरीलाई के उपहार लिएर जाउँ ?’ यसो भन्दा उनको अनुहारमा विषाद देखिन्थ्यो।
उनले थपे, ‘अमेरिका पुगेपछि महिनाकै लाखभन्दा बढी कमाउने कुरा थियो उल्टो भएको पैसा पनि गुम्यो।’
उनी मात्रै हैन रुकुमका हरि थापा (नाम परिवर्तन ) २२ वर्षका भए। उनी पनि एक वर्षअघि अमेरिका पुग्ने लोभमा दलालको फन्दामा परेका अर्का पीडित हुन्। ‘घरमा ऋण गर्न लगाएर २३ लाख रुपैँया झिकाएँ,’ उनले भने, ‘आखिरीमा पुरै पैसा डुब्यो इन्डोनेसियामा कुटाइ पनि खाइयो।’
श्याम पुन
खान नपुग्दा युद्धमा
हाम्रो गरेर खान पुग्ने जग्गा थिएन। त्यसमाथि जनयुद्धको उद्गम थलोको बासिन्दा म। खासै पढ्न पनि पाइएन। खान पुग्ने जग्गाा नहुनाले स्कुलमा भन्दा खेतबारीमा समय धेरै बित्थ्यो। २०५७ सालमा साथीहरुको लहैलहैमा लागेर क्रान्ति गर्न बन्दुक समाइयो, करिब साढे दुई वर्ष। अहिलेका उपराष्ट्रपति नन्दबहादुर पासाङ मेरो नजिकका नातेदार पर्छन्।
३/४ वटा दोहोरो भिडन्तमा म प्रत्यक्ष सहभागी भएँ। राजा वीरेन्द्र मारिएको बेलामा हाम्रो विभिन्न अप्रेसनहरु चलिरहेको थियो। म त्यतिबेला पाल्पामा थिएँ। त्यो बेला टाइगर अप्रेसन चलिरहेको थियो। ती अढाइ वर्ष निकै सकसमा बित्यो। घरको कमाउने एक्लो छोरो युद्धमा हिँडेको थिएँ। बा–आमाको सम्झनाले आँखा भरिन्थे। त्यसमाथि नेताहरुको महान् क्रान्तिका लागि बलिदानी दिनुपर्छ भन्ने भनाइले कहिले उत्साही त कहिले निरुत्साही भइन्थ्यो।
उत्साही यस अर्थमा कि देश बनाउन हिँडिएको छ भन्ने लाग्ने। निरुत्साही यस अर्थमा कि यो युद्ध कहिल्यै टुंगिएलाजस्तो लाग्दैनथ्यो। त्यसपछि युद्धबाट मसहित केही साथी भाग्यौँ। म भागेर मेरो जिल्लाको सदुरमुकाम पुगेँ। परिवारसँग सल्लाह गरेर विदेश जाने योजना बनाए।
म विदेश नगएको भए राज्य पक्षबाट पनि र माओवादी पक्षबाट पनि मारिन सक्थेँ। माओवादीको लागि म भगौडा थिएँ, राज्यको लागि विद्रोही ! परिवारको लागि भरथेग गर्ने आशाको केन्द्र पनि थिएँ। यी सबै कुरा सम्झँदा म कहाँ जाऊँ, के गरौँ भनेर उकुसमुकुस हुन्थ्यो। मेरा नजिकका आफन्तले नै विदेश जान सुझाव दिनुभयो। सरकारले भर्खरै मलेसिया सरकारसँग श्रम सम्झौता गरेको रहेछ। आफन्तीबाटै काठमाडौँँ आएपछि थाहा पाएँ अनि २०६० सालमा मलेसिया उडेँ।
मलेसियामा चार वर्ष बसेपछि नेपाल आएँ। त्यतिबेला माओवादी शान्ति प्रक्रियामा आइसकेका थिए। घर गएको त मलाई माओवादीका जिल्ला नेताले ६५ हजारको बिल थमाइदिए। उनीहरुले त म युद्धमा हिँड्दा लगाएको पोसाक र के–के खर्च जोडेर निकालेका रहेछन्। मैले पैसा नबुझाउने कुरा बताएपछि उनीहरुले मसँग झगडा गरे। मलेसियाको तालु पोल्ने घाममा कमाएको पैसा मलाई दिन मन लागेन। बरु तराई झर्ने निणर्य गरे। परिवारसहित तराई झरेँ।
मलेसियाबाट फर्केको एक वर्षपछि फेरि कतार गएँ। कतारमा ग्याँस चेम्बरमा काम गरियो। चार वर्ष त्यहाँ पनि काम गरेँ। फेरि नेपाल आएँ। विदेश जाँदै परिवारलाई पाल्दै गरेको म फेरि साउदी गएँ। यसपाला भने काम अलि सहज थियो। भ्याकु चलाउँथे। ४ वर्ष काम गरेपछि साउदीबाट फर्केको पनि एक वर्षभन्दा बढी भयो।
यो एक वर्षमा मेरो उठिबास भयो। यत्रो वर्ष मलेसिया, कतार र साउदीमा कमाएको पैसा बालुवामा पानी खनाएको जसरी सकियो। आफन्तीले नै यसरी फसाएँ कि न त घर जान सकेको छु, न त खर्च पठाउन नै।
आफन्तीबाटै ठगिदा
पोहोर साल बिदामा साउदीबाट घर आएको थिएँ। घर नजिकैको एक जना आफन्तीका ज्वाइँले अमेरिका पठाउने गरेको बताउनुभयो। त्यहाँ गएर काम गर्दा अढाइ तीन लाख रुपैयाँ कमाइ हुने कुरा थियो। मन लोभियो। त्यसैकारण लागि काठमाडौँ आएँ। तीन लाख र पासपोर्ट मागियो। भर्खरै साउदीबाट आएको थिएँ। पैसा पनि अलिअलि थियो, दिएँ। २७ लाख रुपैयाँ लाग्छ भनेको थियो। अरु पैसा ऋण नै खोज्नुपर्ने थियो। त्यसको एक महिनापछि बोलायो।
फेब्रुअरी २४ तारिख २०१९ को दिन काठमाडौँ आएँ। त्यही दिनमा हामीलाई उडाइयो। दलालले भनेको थियो– विमानस्थलमा जे सोधे पनि घुम्न जान लागेको भन्नू। म आफैँ धेरै चोटी विदेश आउजाउ गरिरहेको मान्छे। विमानस्थलका मानिसहरुले सोध्दा मैले घुम्न जान लागेको भनी ढाँटे।
यताबाट सिधै मलेसिया ट्रान्जिट राखेर इन्डोनेसियाको बाली लग्यो। त्यहाँ होटलमा राम्ररी राखेको थियो। त्यहाँ १४ दिन बसियो। त्यसपछि दुबई ट्रान्जिट हुँदै ३६ दिन राख्यो। त्यहाँ पनि होटलमा नै राख्यो। खानापिना आफैँ गर्नुपर्ने भए पनि ठीकै थियो। केही केटाहरुलाई दक्षिण अमेरिका झारिहाल्यो तर हामी भने जान पाएनौैँ। हामीलाई थाइल्यान्डको बैंकक ट्रान्जिट बनाएर फेरि इन्डोनेसियाको जकार्ता पु-याइयो। त्यहाँ हामीलाई १४ दिन राख्यो। त्यसपछि केही दिन सिंगापुर पु¥याइयो। त्यसबेलासम्म मैले २२/२३ लाख पैसा दिइसकेको थिएँ।
त्यहाँबाट पनि भएन। फेरि हामी इन्डोनेसिया पुग्यौँ। त्यहाँ अर्पाटमेन्टमा राखे। त्यहाँ पनि आइएमई गरेर २७ लाख बुझाइसकेको थिएँ। पैसा पूरै बुझाएपछि भने नेपालको दलाल सम्पर्कविहीन भयो। यसपछि हामीले बसेको अपार्टमेन्ट छोडनु प-यो। हाम्रो बास सडकमा भयो। त्यहाँ हामी त्यस्तै १२ जना जति थियौँ। हाम्रो २७ लाखका दरले हाम्रो करौडौँ गुम्यो।
अलपत्र भएपछि घर फर्कन केही सहयोग हुन्थ्यो कि भनेर इमिग्रेसन गयौँ। त्यहाँ त तिमीहरु यहाँ काम गरेर बसेको भनी बुटैबुटले मुखैमुखमा हाने। २/४ दिन त थला नै परियो। त्यहाँ कुट्ने कारण के रहेछ भने इन्डोनेसियाकै मान्छेले काम नपाउने रैछन्। बाहिरियाहरु लुकेर काम गरे भन्ने उनीहरुको आपत्ति रहेछ। हामीले जति सम्झाउँदा पनि मानेनन्। त्यसपछि भने कागजात मिलाएर नेपाल पठाइदिए। नेपाल फर्केर आएको चार महिना भयो। अहिलेसम्म परिवार भेट्न जान सकेको छैन। यो मुद्दा वारको पार नगरी के मुखले घर जानु ?
Leave A Comment