बबिट–बदला !

शनिबार, १० फागुन २०७६, ०१ : ५३ ऋतु काफ्ले
बबिट–बदला !

प्रेमका लागि प्रेमिकाले केसम्म गर्दैनन् ? प्रेमीका लागि ज्यान दिन्छन् तर कहिलेकाहीँ ज्यान पनि लिन सक्छन्। पछिल्लो समय एउटा यस्तो घटना घट्यो, जुन नेपालको सन्दर्भमा बिल्कुलै पहिलो घटना भएको छ। जसले एउटा नयाँ उक्ति बनाउनुपर्ने अवस्था आएको छ, प्रेममा बदलाको नियत छिरेपछि प्रेमिकाले केसम्म गर्दैनन् ? प्रेमिकाले प्रेमीको लिङ्गसमेत काटिदिन पछि पर्दैनन् !

प्रेमीप्रति हुरुक्क हुने प्रेमिकाले कसरी यस्तो गर्लिन् भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं लगत हुनुहुन्छ। काठमाडौँको महांकालमा गएको मंसिर २३ मा घटेको घटनाले तपाईंलाई सोच्न बाध्य पार्छ, वास्तवमा प्रेममा मान्छेले जे पनि गर्न सक्छ !

मंसिर २३ मा रामेछापकी कमला तामाङ (नाम परिवर्तन)ले आफ्ना प्रेमीलाई आफूकहाँ बस्ने निम्तो मात्र दिइनन्, बदला लिन छुराले लिङ्ग नै काटिदिइन्। यतिबेला कमला पुर्पक्षका लागि थुनामा छिन् भने उनका प्रेमी राजीव सुनुवार पुरुषत्व लुटिएपछि अस्पतालबाट डिस्चार्ज भई आराम गरिरहेका छन्।

यसरी कसैले बदलाको भाव राखेर सेक्स पार्टनरको लिङ्गै काटिदिने प्रवृत्तिलाई ‘बबिटाइज्ड पनिसमेन्ट’ अर्थात् ‘बबिट–बदला’ भनिन्छ। अमेरिकामा सन् १९९७ मा आफ्नो लोग्नेको यौन दुव्र्यवहारबाट दिक्क भएपछि पत्नीले लिङ्ग काटिदिएकी थिइन्। उनैको नामबाट ‘बबिटाइज्ड पनिसमेन्ट’ शब्द जन्मिएको हो।

काठमाडौँको महांकालमा मंसिर २३ गते अनौठो घटना घट्यो। २० वर्षीया एक प्रेमीकाले १९ वर्षे प्रेमीको लिङ्गै काटिदिइन्। अहिले उनी पुर्पक्षको लागि थुनामा छिन्।

कसरी घट्यो यस्तो घटना ?
रामेछाप मन्थली घर भएकी कमला दुई वर्षयता रोजगारीको सिलसिलामा काठमाडौं बस्दै आइरहेकी थिइन्। काठमाडौं जिल्ला अदालतमा कमलाका प्रेमी राजीव सुनुवारले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि दुवै पक्षको फरक–फरक दाबी बाहिर आएको छ। दुवै जनाले यस्तो घटना घट्नुमा एकअर्कालाई दोष दिएका छन्। तर, प्रेमिका रहेकी कमलाले भने राजीवलाई चक्कु प्रहार गरेको स्वीकार गरेकी छन्। कमलाको बयानअनुसार राजीवले पटक–पटक आफूलाई यौन दुव्र्यवहार गरेकाले आफूले चक्कु प्रहार गरेर लिङ्गमा घाउ बनाइदिएको उल्लेख छ। यता राजीवले भने कमलाले आफूलाई मार्ने नियतले चक्कु प्रहार गरेको दाबी गरेका छन्।

एउटा आम प्रेमकहानी
जसरी एउटा आम प्रेमकहानी शुरु हुन्छ, कमला र राजीवको पनि त्यसरी नै शुरु भएको थियो। कमला र राजीवका साथीहरुका कारणले यी दुई बीच चिनजान मात्र भएन, केही समयभित्रै मोबाइल नम्बरसमेत आदानप्रदान भयो। एक वर्षअघि भएको सो चिनजान छोटो समयमा नै आत्मिय सम्बन्धमा परिणत भयो। ६ महिनायता उनीहरु दुवै प्रेम सम्बन्धमा थिए।

सम्बन्ध नजिकिदै जाँदा दुई युवा जोडीबीच यौन सम्बन्ध कायम भएको दुवैले स्वीकार गरेका छन्। तर जब दुईबीच यौन सम्बन्ध भयो, त्यसपछि क्रमशः राजीवले कमलालाई वास्ता गर्न छाडे। राजीवले वास्ता गर्न छाडेपछि कमलामा झर्कोफर्को गर्ने प्रवृत्ति बढेर जान थाल्यो।

जसै कमलाको झर्कोफर्को बढ्यो, राजीव झन् चिढिन थाले र कमलासँगको दुरी बढाउँदै जान थाले। यसबाट आहत भएकी कमलाले राजीवसँग नजिकिन अनेक नाटक गर्न थालिन्। पछिल्लो समय भने आफू गर्भवती भएको र सहयोग गर्न आग्रह गर्न थालेकी थिइन्।

यसअघि पनि यौन सम्बन्ध भएको केही समयपछि आफू गर्भवती भएको बताउने र राजीवले वास्ता गर्न थालेपछि गुनासो नगर्ने उनको व्यवहार रहेको राजीवले बयानमा बताएका छन्।

पछिल्लो समय राजीव पुनः कमला गर्भवती भएको सुनेपछि वास्ता गरेका थिएनन्। एक सातापछि साँच्चिकै गर्भवती भइन् कि भन्ने लागेपछि ‘गर्भ व्यवस्थापन’ गर्ने चासो देखाए। राजीवलाई आफ्नो कोठामा बोलाएर आफ्नो सोझोपनको फाइदा उठाउनेलाई पाठ पढाउने निर्णय कमलाले गरिन्।

राजीव उनको कोठामा पुगेको दिन कमलाले आफूमाथि आक्रमण गर्ने आशंका भने गरेका थिए। तसर्थ उनी सचेत थिए। त्यो दिन कमलाले राजीवलाई मनपर्ने मासुसमेत पकाएकी थिइन्। खान दिँदा कतै त्यसमा विष त छैन भनेर नखान जोडबल गरेका थिए तर कमलाले रुँदै आफूमाथि शंका गरेको भनेपछि मरे मरौँला भनी मासु खाए। प्रेमिकाको विश्वासमा मासु खाएपछि राजीवलाई निद्राले झ्याप्प छोप्यो, सोही मौकामा कमलाले चक्कु झिकिन् र लिङ्ग च्वाट्ट काटिदिइन्।

कमलाले बयानमा आफूलाई राजीवले यौन सम्पर्क गर्न जबरजस्ती गरेका कारण आत्मरक्षाका लागि चक्कु चलाएको जवाफ दिएकी छन्। यता राजीवले भने यौन सम्बन्ध सहमतिमा भएको र उनले अचानक यस्तो घटना घटाएको बयान दिएका छन्।

यस घटनामा आफ्नो छोराको ज्यानै लिने नियतले आक्रमण गरेको दाबीका साथ राजीवकी आमा ताराले छोराका तर्फबाट कमलालाई हदैसम्मको सजाय माग गरी मुद्दा दायर गरेकी छन्।

कमलाले राजीवलाई लिङ्गमा चक्कु प्रहार गर्दा उनको लिङ्गमा गम्भीर क्षति पुगेका कारण भविष्यमा राजीवको प्रजनन क्षमता नै नरहने चिकित्सकहरुले बताएका छन्। ओम अस्पतालमा एघार दिने उपचारपछि राजीव यतिबेला घर फर्किएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, दुवैजना बीच विवाहको विषयमा कुरा नमिल्दा घटना घटेको हो। प्रेममा परेका युवायुवतीबीच हुने असमझदारीको परिणामले यस्तो अपराध हुने प्रहरीको भनाइ छ।

विवाहपूर्वको अवैध सम्बन्धका कारणले यस्ता घटना घटिरहेको भए पनि कुनै प्रेमिकाले प्रेमीको लिङ्ग नै काटिदिने यस्तो घटना नेपालको सन्दर्भमा पहिलो भएको बौद्ध प्रहरी प्रभागका प्रहरी निरीक्षक रमेश सुवेदी बताउँछन्।

‘विवाहपूर्वको अवैध सम्बन्धले यस्ता घटना घट्छन्,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘कमला र राजीवको कामवासनाको परिणामले यो घटना भएको हो।’ विवाह नहुँदै शारीरिक सम्पर्क गरेर दुवैजनाले अपराध निम्त्याएको उनको भनाइ छ।

‘हामीले गरेको अनुसन्धानका विवरणहरु सबै सरकारी वकिलको कार्यालयलाई दिइसकेका छौँ,’ उनले भने, ‘अदालतको फैसलालाई हामी पर्खिरहेका छौँ।’

आखिर किन हुन्छन् यस्ता घटना ?
दुईजना बीचको झगडाले प्रेमलाई अपराधउन्मुख बनाउने विज्ञहरुको धारणा छ। होच्याउने, अपमान गर्ने, दुव्र्यवहार गर्ने तथा एकअर्कामा असमझदारी बढ्दै जाँदा यस्ता अनपेक्षित घटना घट्ने मनोविद्हरु बताउँछन्।

प्रेम पवित्र सम्बन्ध हो। माया मनबाट गरिने कुरा हो। सम्बन्धले गहिरो रुप धारण गरेपछि मायाको टुसा पलाउन थाल्छ। यस्तो टुसोलाई मलजल गर्ने हुर्काउने बढाउने काम उनीहरुको विवेक र समझदारीमा भर पर्छ। कसैले बीचैमा निमोठेर हिँड्छन्। यसका पछाडि कि स्वास्थ्यले काम गरेको हुन्छ कि त विवेक, ज्ञान र सीपको अभाव हुन्छ।

कमला र राजीवको सन्दर्भमा पनि त्यही कुरा लागू भएको देखिन्छ। प्रायः प्रेममा आवेगको निर्णयले सम्बन्धलाई अपराधतिर डो-याउने गरेको मनोविद्हरुको भनाइ छ।

मनोविद् गोपाल ढकाल भन्छन्, ‘प्रेमको परिभाषा र शाब्दिक मिठास जति छ, यो त्यत्तिकै जटिल पनि छ। जो कोहीले प्रेम गर्दैमा त्यसलाई निभाउन सक्दैनन्। अझ प्रेम निभाउन त बढी नै गाह्राे छ। कतिपय मानिसले आफ्नो स्वार्थ पूरा गर्नका लागि प्रेम गरेका हुन्छन्। कसैले अपेक्षा राखेर प्रेम गरेका हुन्छन्।’

भौतिकवादी, धन सम्पत्ति हेरी गरिने प्रेम, सर्तहरु राखेर गरिने प्रेम, विवाह गर्छु भनेर फकाई गरिएको प्रेम, आवश्यकता परिपूर्तिका लागि गरिएको प्रेमले सम्बन्ध बिगार्ने र एक अर्काका आवश्यकता परिपूर्ति हुन छाडेपछि प्रेममा आशंका जन्मिने उनको भनाइ छ।

हाम्रो समाजले प्रेमलाई पवित्र बन्धनको रुपमा हेर्ने गरेको छ। जब त्यो प्रेममा परिपक्वता हुँदैन, एकअर्काले भावना बुझ्दैनन्, एकअर्काप्रति सद्भाव राख्दैनन्, एकअर्कालाई हेर्ने दृष्टिकोणमा बदलाव आउँछ, प्रेमी वा प्रेमिकालाई यौन चाहना पूरा गर्ने साधनको रुपमा लिन थाल्छन्, प्रेमलाई खेलौनाको सम्झिन्छन्, यस्तो बेला यस्ता दुर्घटना घट्ने मनोविद् ढकाल बताउँछन्। उनी भन्छन्, ‘एकअर्काका विचार मेल नखाँदा, जुनसुकै कुरालाई नकारात्मक रुपमा हेर्ने, घमण्ड देखाउनेजस्ता कुराले प्रेमलाई हिंसात्मक मोडमा पु-याउने गर्छ।’

सम्बन्ध सुमधुर नहुँदा सम्बन्ध दिगो पनि हुँदैन। सम्बन्ध टुटेपछि उनीहरु त्यस्तो अवस्थाको सामना गर्न असमर्थ हुन्छन् र बदलाको भावना जागृत भई आवेशमा आएर निर्णय लिँदा यस्ता दुर्लभ घटना घट्ने मनोविद् ढकालको भनाइ छ।

प्रहरीकै पछिल्लो तथ्यांकलाई हेर्ने हो भने पनि शारीरिक सम्बन्धमा हुने तिक्तताका कारण अपराधका घटना धेरै भएका छन्। ‘आवेग वा रिस र नियत यस्ता घटनामा मिसिएका हुन्छन्,’ प्रहरी प्रवक्ता होविन्द्र बोगटी भन्छन्, ‘खासगरी आपराधिक मानसिकता भएका व्यक्तिवाट आक्रमणका घटना सिर्जना हुन्छन्।’

के भन्छिन्, कमला ?
घर रामेछाप, काठमाडौँ बसेको चार वर्ष भयो। फुपूसँग बस्दै आइरहेकी थिएँ। पढ्दापढ्दै बौद्धस्थित होटल हयातमा वेटरको रुपमा काम गर्न थालेँ। त्यहीँ होटलमा राजीवसँग चिनजान भयो। त्यसपछि एकअर्कालाई मन पराउन थाल्यौँ। यही क्रममा राजीवले विवाहको कुरा ग-यो। अब चाँडै इन्गेजमेन्ट गर्नुपर्छ भनेर उसले शारीरिक सम्पर्क गर्न आग्रह गरिरहन्थ्यो।

बेलाबेलामा कोठा आउने र शारीरिक सम्पर्कका लागि कर गरिरहन्थ्यो। एक महिनाअघि ऊ मेरो कोठामा आयो। उसले फेरि उही सम्पर्कका लागि कर गर्न थाल्यो। मैलै हुँदैन भनेँ। म त्यो बेला कोठामा एक्लै थिएँ। मेरो इच्छा विपरीत हातखुट्टा समातेर मुख थुन्यो र जबरजस्ती ग-यो। यसपछि पनि उसले एक वर्षमै बिहे गर्ने र विदेश जाने कुरा ग-यो। करणीको कुरा कसैलाई नभन्नू भनेर फकाउन थाल्यो।

यसपछि हामी दुई जना बीचमा यसरी प्रेम सम्बन्ध चलिरहेको थियो। हाम्रो फोन सम्पर्क भेटघाट भइरहन्थ्यो। यो घटनाको अगाडि पनि अस्वीकृतिका बाबजुद  ३÷४ पटक मेरै कोठामा आएर जबरजस्ती करणी ग-यो। त्यसपछि भने ऊ हरायो।

उसले मेरो फोन उठाउन तथा म्यासेजहरुको जवाफ लेख्न छोड्यो। तर यसबीचमा नियमित महिनावारी हुनुभन्दा एक हप्ता स-यो। यसपछि गर्भ बस्यो कि भनेर डर लाग्यो। त्यसपछि झन् फोन र म्यासेज गर्न थालेँ। महिनावारी रोकिएको म्यासेजपछि भने बल्ल म्यासेज रिप्लाई पठायो। र, केही समयमै कोठामा आइपुग्यो।

धोका दिन खोजेको हो भनेर सोधेँ। उसले भने पारिवारिक समस्या देखाएर टाढिने कुराहरु ग-यो। शारीरिक सम्पर्क हुनुअघि यस्तो कुरा तिमीले किन सोचेनौ ? आज आएर यस्तो कुराहरु गर्ने ? भन्दा उसको जवाफ थियो, ‘मैले गर्दा तिमीलाई एचआइभी/एड्स नै त लागेको छैन नि !’ मजाकमा मेरो कुरा उडाएपछि उसले त्यो दिन पनि करणी गर्ने प्रयास ग-यो।

यत्तिकैमा मैले भित्तामा काँटी ठोक्न भनेर तरकारी काट्ने चक्कु ओछ्यानमाथि राखेकी थिएँ। उसबाट जोगिन प्रयास गर्दैजाँदा उक्त चक्कु मेरो हातमा प-यो। आफ्नो बचाउका लागि उसलाई अन्धाधुन्धा प्रहार गर्दा राजीवको लिङ्गमा लाग्न गई रगत बग्न थाल्यो। यसपछि म आत्तिएँ र यही क्रममा आफ्नै नाडीमा सोही चक्कुले घाउचोट बनाएँ।

यही क्रममा प्रहरी आइपुग्यो र हामी दुवैलाई घटनास्थलबाट उद्धार गरी अस्पताल पु-याइयो। मेरो सामान्य उपचारपछि प्रहरीले पक्राउ ग-यो, उसलाई भने अस्पतालमा नै राख्नुपर्ने भयो।
 
राजीवको बयान
म हयातको क्यासिनो प्राइडमा काम गर्थें। त्यहीँ वेटरको रुपमा ऊ काम गर्थी। काम गरेको ६ महिनामै उसको फ्रेन्ड रिक्वेस्ट पाएँ। यसको तीन दिनमा एस्सेप्ट गरेँ। यसपछि सामान्य कुराकानी हुनथाल्यो। साथीभाइले मलाई उसले मन पराउने कुरा सुनाउन थाले। म्यासेन्जरमा मन पराएको कुरा साथीले गरे, तिम्रो धारणा के हो भनेर सोधेँ। आफैँ बुझ भनेर उसले भनी। यसपछि बाहिर भेट्ने क्रम शुरु भयो। नजिकिदै जाने क्रममा म उसको कोठामा पनि जान थालेँ।

यसपछि भेटघाट भएको पाँच महिनापछि एक दिन उसले कोठामा बोलाई। उनकी बहिनी पनि थिइन् तर दिउँसो काममा नभएको मौकामा मलाई बोलाइन्।

उसले खाजा बनाइन्, खायौँ र कुराकानी गर्ने क्रममा उसले राति निद्रा लाग्दैन, तिमीसँगै हुँदा निद्रा लाग्छ, एकछिन सुतौँ भनी। यसपछि दुवै सिरक ओढेर सुत्यौँ। सो क्रममा मैले सुरुमा गाला र निधारमा किस गरेँ। उसबाट कुनै प्रतिवाद नभएपछि मेरो ओठमा किस गरी।

त्यहीँ पहिलो पटक शारीरिक सम्बन्ध भयो। त्यहीँ उसले बिहे गर है भनी। त्यो बेला म अकमकिएँ र केही छिनपछि उसलाई हुन्छ भनेँ। त्यो बेला हाम्रो शारीरिक सम्पर्कको बारे कसैलाई नभन्नू, कसैलाई भन्यौ भने झुन्डिएर मर्छु, हामी बिहे गर्नु पर्छ भनी।

मैले पनि घरमा भन्नुपर्छ भनेको थिएँ। पछि म घर गएँ। आमालाई काम छाडेर विदेश जान्छु र विदेशबाट आएर कमलालाई बिहे गर्छु भनेको पनि थिएँ। यो कुरा उसलाई मैले सुनाएको थिएँ।

त्यसपछि हामीबीच सहमतिमा नै पटक–पटक शारीरिक सम्पर्क भयो। हामीले हाम्रा बारेमा घरमा कुरा गरे पनि घरमा सहमति थिएन। त्यसैले हामी दुवै कहिलेकाहीँ सँगै रुने गथ्र्यौं।

यसको केही समयमा उसले क्यासिनोमा रातिको काम गर्न नसक्ने भएकाले काम छाडी। म पनि विदेश जाने तयारी गर्न काम छाडेँ। उसलाई अर्कैतिर काम पनि मिलाइदिएँ ताकि खाली नबसोस्। तर कहिले टाढा भयो भन्ने, कहिले तलब कम भयो भनेर वाक्क दिक्क बनाएपछि उसको फोन उठाउन छाडेको हो।
एक दिन मलाई गर्भवती भएको भनी मेसेजमा लेखी पठाई। पहिला पनि एक पटक उसले गर्भवती भएँ भनी झुक्याएको हुनाले यस पटक पनि ब्ल्याकमेल गरेको होला भनेर म्यासेजलाई वास्ता गरिनँ।

तर फेरि मेडिकल चेक गर्न तिमी पनि आऊ भनेपछि भोलि आउँछु भनी म्यासेज पठाएँ। तिमी आएनौ भने म त मरिदिन्छु भनेर तीन पटकसम्म मेसेन्जरमा लेखेपछि भेट्नै प-यो भन्ने लाग्यो। जाँच गर्ने किट ल्याउँछु भन्दा पनि उसले मानिन। खाली कोठामा नै आउन आग्रह गरी। तिमी मात्र आए पुग्छ भनेकाले म उसको कोठामा केही नलिई पुगेँ। दिउँसो साढे ११ बजे पुग्दा झ्याल–ढोका पूरै बन्द गरेर अँध्यारोमा बसिरहेकी थिई। त्यहाँ कुराकानी भयो, जसमा मैले दुवैबीच बिहे भयो भने पनि सम्बन्ध राम्रो हुँदैन, तिम्रो परिवारले तामाङ केटा नै चाहिन्छ  भनेको सम्झाएँ। बरु सामान्य साथीको रुपमा रहौँला, पढाइमा ध्यान देऊ, म पनि पढ्छु भनी सम्झाएँ।

उसले मेरा कुरामा कुनै वास्ता गरेकी थिइन। त्यसपछि उसलाई गर्भवती भएको जाँच्न मेडिकल लैजाने प्रयास गरेँ। उनले कहीँ जानु पर्दैन भनी। त्यसपछि उसले तिमीलाई मनपर्ने सुँगुरको मासु पकाएकी छु, यहीँ खाऊ भनी। त्यहीँ मोबाइल चेक गर्दा थाहा भयो, उसले आफ्नी साथीसँग बदला लिन्छु भनेको देखेँ। म्यासेज देखेपछि मलाई खानामा विष पो छ कि भनेर खाना नखाई जाने प्रयास गरेँ। उसले ठीक त्यही बेला खानामा विष छ भनेर खान डराएको भन्दै रुन थाली। बेकारमा शंका गरेँ भन्ने लागेर विष भए पनि खाइदिन्छु भनी खाएँ। खाना खाएपछि निद्रा लाग्यो र उसको बेडमा केही छिन ढलेँ। केहीबेरमै म निदाएँ। निदाएकै अवस्थामा मलाई केही हलचल भएको महसुस भयो। मेरो पेटतिर सुम्सुम्याएको अनुभव भइरहेकाले माया नै गरेको होला भन्ने ठानेँ। अचानक मेरो संवेदनशील अङ्ग लिङ्गमा एक्कासि दुख्यो। काटिएकै हो भन्ने लाग्यो। उठेर हेर्दा त उसको हातमा चक्कु थियो र मेरो लिङ्गबाट रगत बगिरहेको थियो।
उसले त्यसपछि आफ्नो हात काटी। हत्तपत्त मैले उसको हातबाट चक्कु खोसेँ र किचन -याकभित्र लुकाएँ। यसपछि एम्बुलेन्सलाई फोन गर्न खोजेँ तर उसले लुकाएर राखी। अनेक अनुनयपछि करिब १५ मिनेटमा मात्र मोबाइल दिई। गुगलमा खोजेर एम्बुलेन्सको नम्बर पाएँ तर एम्बुलेन्सले मेरो अवस्था हेर्दा प्रहरीको केस भएकाले आउन नमिल्ने बतायो।

फेरि १०० नम्बरमा फोन गरी प्रहरीलाई खबर गरेँ। केही समयभित्रै प्रहरी आइपुग्यो र दुवैलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पु-याइयो।

लिङ्गमा टाँका त लगाइयो तर भविष्यमा सन्तान हुने सम्भावना कम रहेको चिकित्सकले बताएका छन्। ११ दिनको उपचारपछि डिस्चार्ज भएँ। यो उपचार पनि पक्का भए/नभएको ६ महिनापछि थाहा हुने डाक्टरले बताएका छन्।

Leave A Comment