डिआइजीको फिटनेस सूत्र: दैनिक दुई घण्टा व्यायाम गर्ने डिआइजी

मङ्गलबार, १३ फागुन २०७६, ०१ : ४२ उपेन्द्र खड्का
डिआइजीको फिटनेस सूत्र: दैनिक दुई घण्टा व्यायाम गर्ने डिआइजी

प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) विश्वराज पोखरेल शारीरिक रुपमा फिट र छरितो ज्यानका छन्। अग्लो कदका स्मार्ट देखिने ५३ वर्षीय पोखरेलको शारीरिक उचाइ पाँच फिट दश इन्च(५ः१०) र तौल ७३ किलो छ।

हाल महानगरीय प्रहरी कार्यालय रानिपोखरीको प्रमुखका रुपमा सेवारत पोखरेलले करिब आधा दर्जन प्रहरी कार्याल प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। ओखलढुङ्गाको रुम्जाटारमा जन्मिएका फुर्तिलो ज्यानदार पोखरेलले २०४९ सालमा प्रहरी निरीक्षक तहबाट नेपाल प्रहरीमा जागिरे जीवन सुरु गरेका हुन्। प्रहरी सेवामा प्रवेश गर्नुअघि पाँच वर्ष न्याय सेवामा समेत थिए।

डिआइजी पोखरेलको ज्यान जति फुर्तिलो र मजबुत देखिन्छ, अनुहारमा चमकता उत्तिकै छ। उनको अनुहारमा चाउरीपन देखिन्न तर उनी त्यसै फिट र सुन्दर भएका भने हैनन्। शारीरिक तथा मानसिक रुपमा फिट रहनका लागि उनी खानपान र व्यायाममा निकै ध्यान दिन्छन्। बिहान पाँचै बजे उठ्छन्। उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउँछन्।

घरमै व्यायाम
पानी पिइसकेपछि उनी घरमै व्यायाम गर्न थाल्छन्। व्यायामका लागि उनले केही उपकरण राखेका छन्। ‘म सधैँ घरमै फिजिकल एक्सरसाइज गर्छु,’ पोखरेलले सुनाए, ‘फिटनेस क्लबमा गएर गर्दिनँ।’ एक घण्टा जिम तथा एक घण्टा योग गरिसकेपछि मनतातो पानीले नुहाएर उनी पूजापाठमा जुट्छन्। पहिले पितृपूजा गरिसकेपछि देवपूजा गर्नु उनको दैनिकी हो।

त्यसपछि आठ बजे खाजा खान्छन्। उनी बिहानको खाजामा धेरैजसो दुध र कर्नफ्लेक्समा बदाम हालेर खाने गर्छन्। उनीकी पत्नीकोे चाहनाअनुसार कहिलेकाहीँ भने दुधमा पकाएर ओट्स खान्छन्। ‘बिहान आठ बजेसम्ममा ब्रेकफास्ट लिइसक्छुु,’ डिआइजी पोखरेलले भने, ‘अफिसको इन्चार्ज भएको समयमा ब्रेकफास्ट लिइसकेपछि सिधै अफिस पुग्छु।’

कार्यालयमा आफू इन्जार्च नभएको अवस्थामा भने उनी विशालनगरमा रहेको आफ्नै निवासमा खाना खाएर निस्कन्छन्। हिजोआज उनी कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकाले आठै बजे घरबाट कार्यालय निस्कन्छन्। कार्यालयमा पुगेपछि कार्यालयको दैनिक काममा उनी व्यस्त रहन्छन्।

झोल हालेको माछा र चामलको भात
हिजोआज कार्यालयमै ११ बजेतिर खाना खान्छन्। घरमा खाने खाना र कार्यालयमा खाने उनको खानाको आइटममा खासै फरक हुँदैन रे ! ‘अफिसको खाना र घरको खाना लगभग एउटै हुन्छ,’ पोखरेलले भने, ‘चिल्लो कम र सादा दाल, भात, तरकारी खान्छु।’

चामलकै भात खान्छन्। अमिलो र पिरो खाँदैनन्। सानोमा ज्यातिषिले उनको चिना हेर्दा पीरो नखानु भनेको सुनेका थिए, त्यही मनोविज्ञानका कारण उनले अहिले पनि पीरो नखाएका रहेछन्। अमिलोले पनि उनको स्वास्थ्यमा त्यति राम्रो गर्दैन रे ! माछामासु खाने भए पनि त्यो उनको प्राथमिकतामा पर्दैन। उनी धूमपान तथा मद्यपान कहिल्यै गर्दैनन्।

स्वाद भन्दा स्वास्थ्यमा प्राथमिकता
गर्मी मौसममा उनको पहिलो प्राथमिकतामा पर्ने खाजा हो, फलफूल। जाडो मौसममा भने सधैँ फलफूल खाँदैनन्, मकै र भटमास नै प्यारो लाग्छ उनलाई। ‘अफिसमै मकै र भटमास भुटेर खाइन्छ,’ उनले भने, ‘बच्चादेखि नै मलाई मकै र भटमास मन पथ्र्यो।’ सानो छँदा भने उनलाई सुन्तला र आँप असाध्यै मन पथ्र्यो। घरैमा फल्ने हुनाले पनि यसको मोह रहेको हुन सक्ने उनको धारणा छ।

अहिले भने फलफूलमध्ये उनको पहिलो प्राथमिकतामा ‘एभोकाडो’ पर्छ। खानपानको मामिलामा स्वाद उनको प्राथमिकतामा कहिल्यै पर्दैन। ‘मलाई कसैले यो चिजले तेरो स्वास्थ्यलाई राम्रो गर्छ भन्यो भने जुन चिज पनि मन पर्छ,’ उनले भने, ‘यो चिजले राम्रो गर्दैन भनिदियो भने जस्तै मीठो चिज पनि वास्ता हुन्न।’ स्वादभन्दा पनि स्वस्थ्यलाभ हुने खानपान नै आफ्नो प्राथमिकतामा पर्ने डिआइजी पोखरेलले सुनाए।

सुत्नुअघि टुट्दैन दुध
कार्यालयबाट छुटेपछि दायाँबायाँ कहीँ नअल्मलिई उनी सिधै घर जान्छन् रे ! कार्यालय प्रमुखको जिम्मेवारी नभएको अवस्थामा उनी घरै पुगेर बेलुकी नौ बजे खाना खान्छन्। ११ बजे सुत्छन्। तर अहिले (कार्यालय प्रमुखको जिम्मेवारीमा भएको समयमा) घर जान ढिला हुन्छ। त्यसैले कार्यालयमै बेलुकाको पनि खाना खान्छन्। घरपुग्दा रातको १२ बजिसक्छ।

बेलुकाको खाना अलि हल्का किसिमको खान्छन्। ‘ब्रो काउली’ खानाले स्वास्थ्य लाभ हुने थाहा पाएपछि आजकाल उनी तरकारीमध्ये सबैभन्दा बढी ‘ब्रोकाउली’ खान्छन्। त्यसो त कहिलेकाहीँ उनको घर–परिवारबाट जुन खाद्यपदार्थ खान थाल्यो, एकोहोरो त्यही मात्रै खान रुचाउने भन्दै गुनासो नआउने हैन तर स्वास्थ्यमा उनी सम्झौता चाहँदैनन्।

पोखरेल कार्यालयमा जे खाए पनि घरमा पुगेर एक गिलास दुध नखाई सुत्दैनन्। ‘दुधमा बेसार राखेर पिउँछु,’ उनले भने, ‘शिलाजीत खाएको दिन गर्मी हुन्छ भनेर दुधमा बेसार खान्न।’ शारीरिक मजबुतीका लागि उनी शिलाजीत खान्छन्।

उनी निम्तो तथा कुनै कार्यक्रमबाहेक होटल तथा रेस्टुराँमा गएर खाँदैनन्। ‘परिवार, साथीभाइसँग र एक्लै पनि होटलमा लन्च, डिनर गर्दिनँ,’ उनले भने, ‘जीवनमा ५/७ पटक भन्दा बढी आफैँ होटलमा बसेर खाएको सम्झना छैन।’

डिआइजी पोखरेल सादा किसिमको खानपान गर्ने भएकाले द्वन्द्वको समयमा भने खानपानमा उनलाई निकै समस्या परेको सुनाउँछन्। तर त्यो समयमा पनि व्यवस्थापन गरेको उनले सुनाए। रायोको साग र भात मनपर्ने भएकाले द्वन्द्वको समयमा रायोको साग र भात खुब खाएको उनले सुनाए। कार्यालयमा बस्दा जंकफुड खानुपर्ने बाध्यता हुने भएकाले चाउचाउमध्येपनि रारा चाउचाउ बढी खाएको उनले बताए तर एक वर्षयता आक्कल झुक्कलबाहेक उनी जंक फुड खाँदैनन्।

तीन–तीन महिनामा स्वास्थ्य जाँच
उनी स्वास्थ्यप्रति यति सचेत छन् कि प्रत्येक तीन महिनामा स्वास्थ्य जाँच गराउँछन्। उनी एउटा मात्रै स्वास्थ्य संस्थाको स्वास्थ्य जाँचमा भर पर्दैनन्। क्रस चेक गरेर विश्वस्त हुनका लागि एकै समयमा दुई वटा स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउँछन्। अहिले भने नेपाल प्रहरीको अस्पताल पनि विश्वासनीयता र गुणस्तरीय भएको हुनाले प्रहरी अस्पतालमै मात्रै स्वास्थ्य जाँच गराउन थालेकोे उनले सुनाए।

२७ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेलगत्तै टाइफाइडका कारण अस्पताल भर्ना हुनुपरे बाहेक अहिलेसम्म आफूले कुनै ठूलो स्वास्थ्य समस्या बेहोर्नु नपरेको उनी बताउँछन्। टाउको दुख्ने तथा सामान्य रुघा–खोकीजस्तो अस्थायी प्रकृतिको स्वास्थ्य समस्याका कारण विभिन्न औषधी भने खाएका छन्। आफ्नो स्वास्थ्य सचेतनाकै कारण आफूलाई रक्तचाप, चिनीरोगजस्तो समस्या नभएको बताउँछन्।

सामान्यः सामान्य रुघाखोकीको औषधी खानु परे पनि जथाभावी औषधी पसलबाट किन्दैनन्। विशेषज्ञ चिकित्सकको सल्लाहमा मात्रै खान्छन्। विशेषज्ञ चिकित्सकले खान सिफारिस गरेको औषधी पनि झ्वाट्ट खाइहाल्दैनन्। केही दिनसम्म पनि समस्या ठीक नभए मात्रै चिकित्सकले सिफारिस गरेको औषधी खान्छन्।

सकेसम्म उनी आयुर्वेदिक उपचार पद्यति नै अपनाउँछन्। उनी स्वास्थ्यमा सानो समस्या आउँदा पनि तनाव लिन्छन्। त्यसैले स्वास्थ्य जाँच गराइहाल्छन्। डिआइजी पोखरेल दाह्री काट्दा सामान्य सेभिङ क्रिमको प्रयोग गर्ने भए पनि अनुहारको सुन्दरताका लागि कस्मेटिक्स सामग्री प्रयोग गर्दैनन्।

Leave A Comment