विश्वास टुटेको त्यो रात

शनिबार, १७ फागुन २०७६, ०९ : ४० देविका केसी
विश्वास टुटेको त्यो रात

भनिन्छ यो संसार विश्वासमा अडेको छ। विश्वास एउटा यस्तो कडी हो जसलाई प्राप्त गर्न जति गाह्रो र कठिन छ गुमाउन त्यति नै सजिलो। आहा कति आनन्द छ यो शब्दको उच्चारणमै, जिउने आधार पो हो त विश्वास। कसैलाई विश्वास गर्दा जति आनन्द आउँछ गुमाउँदा पनि त्यति नै पीडा हुन्छ। भनिन्छ संसारमा रहेका हरेक सम्बन्धहरु विश्वासमा अडिएका छन्। आज यदि विश्वास भन्ने शब्द नहुँदो हो त हामी आजका सभ्य र विकसित मानव पनि हुने थिएनौँ। कल्पना गरौँ विश्वासमा यहाँ के मात्रै भएको छैन होला व्यापारमा होस्, पारिवारिक सम्बन्धमा होस्, लेनदेनमा होस् यी यावत् विषयमा विश्वासलाई साक्षी राखिएको हुन्छ। अब सोचौँ जब यो साँक्षी नै विष्फोट भै दियो भने, विश्वासमाथि घात भैदियो भने एक किरण र लिलि बालसखा, जो सँगै हुर्के बढे, सँगै पढे, बाल्यकाल सँगै बित्यो, किशोर अवस्थासँगै बिताएँ। युवा अवस्थामा पढाइको सन्दर्भमा टाढिए,जब एक अर्काबाट टाढिए उनीहरुलाई महसुस भयो कि उनीहरुमा प्रेम बसिसकेको रहेछ। किरण बेङ्लोरमा पढ्दाको त्यो ३ वर्ष बिताउन उनीहरुका लागि ३ दशकझैँ गाह्रो भो रे उनीहरुकै मुखबाट सुनेको मैले। दुरीबाट टाढा भए पनि सञ्चार माध्यमबाट उनीहरु नजिकै थिए। यहाँसम्म कि उनीहरु एक अर्काविना बाँच्न नसक्ने अवस्थासम्म पुगे। प्रेमको अन्तिम रुप विवाहमा गएर टुगिन्छ भन्छन्, उनीहरु पनि विवाह गरेर आफ्नो प्रेमलाई जिवन्त राख्ने निधो गरी दुवै परिवारको सल्लाहमा विवाह गरे। समय बित्दै गयो, उनीहरुका मायाका चिनाहरु छोराछोरी पनि भए, घरबार राम्रै चल्दै थियो।

समय बित्दै जान्छ, उनीहरु सुन्दर भविष्यको सपनादेखि गाउँबाट काठमाडाैँ शहर छिर्छन्। अब उनीहरुको असली संघर्षको जीवन सुरु हुन्छ। किरणले एउटा प्राइभेट राम्रो बैंकमा काम गर्न सुरु गर्छ भने लिलिको भागमा घर सम्हाल्ने। काठमाडौंको रहनसहन, बैंकको टिपटपको जागिरी, किरण दिन प्रतिदिन परिपक्क हुँदै अगाडि बढ्दै जान्छ, यता गृहस्थीमा रमाइरहेकी लिलि बाह्य संसारको दाँजोमा आफूमा परिवर्तन गर्न नसके पनि घरपरिवार, बालबच्चा सम्हालेर बसेकी थिइन्। किरणबिहान ९ बजे घरबाट निस्कने बेलुका ढिलामा ७ बजेसम्म घरपुगी सक्थ्यो। समय बित्दै जान्छ, किरणका व्यवहारहरु परिवर्तन हुँदै जान्छन्। अब उसले लिलिमा भएका कमजोरीहरु कोट्याउँदै जान्छ, कहिले ऊ लिलिलाई तिमी कस्तो मोटाको, तिमी त कस्तो समयअनुसार अपडेट हुन नसकेकोे, तिम्रो त डे«स अप नै राम्रो भएन, आदि इत्यादि गुनासाहरु गर्दै लिलिलाई मानसिक हिंसा गरिरहन्छ।

बिचरा लिलिलाई बाहिरी संसारमा के भैरहेको छ के थाहा, एउटा घरको, एउटा फ्लाटमा सीमित रहेको उसको दिनचर्या, घर, घरदेखि बच्चाहरुको स्कुल अनि घर यही थियो उसको संसार। घरायसी कामले एकछिन फुर्सद छैन उसलाई। उता किरणको दिनचर्या बदलिँदै छ। बिहान छिट्टै घरबाट निस्कने बेलुकी ९ बज्दासम्म घर नआउने, फोन गर्दा नउठ्ने, कि सधैँ फोन व्यस्त हुने आदि इत्यादि। भनौ न किरण एक प्रकारले बदलइसकेको थियो। उसको लवाइ खवाइ, बोल्ने बोली, व्यवहार सबै परिवर्तन हुँदै जान्छ। किरण पहिलाको जस्तो किरण रहेन। समय बित्दै जान्छ, उसले मैले पढ्नुपर्छ, म अलग्गै कोठामा सुत्छु, तिमीहरु एउटा कोठामा सुत भन्न सक्ने अवस्थासम्म पुग्छ, लिलि यी सबै कुरा विनाप्रतिवाद सहेर बसिरहन्छिन्, सहेर बस्नुको विकल्प पनि त के थियो र उनीसँग।

किरणको बदलिँदो व्यवहारले आजित भएकी लिलिले बिस्तारै बाहिर अरुसँग पीडा पोख्दै जान थालिन्, भन्छिन् मेरो त भाग्य यस्तै रहेछ। मेरो माया गर्ने श्रीमान् आजभोलि बदलिएको छ। मन भारी भएर पनि उनी खुसी भएको भान गर्दै थिइन्। एक दिन बेलुकी ९ बजे लिलिको फेसबुकमा एउटा सन्देश आउँछ या फेसबुक आईडीबाट, जहाँ लेखिएको थियो प्रेम नै नभएको सम्बन्धमा के तिमी खुसी छौ। तिमीलाई सायद अलिअलि थाहा छ होला किरणले तिमीलाई होइन मलाई प्रेम गर्छ आजभोलि। के तिमी उसलाई साँच्चिकै प्रेम गर्छेउ। उसले तिम्रो प्रेम पाएको भए मसँग आउँथ्यो होला त, के उसलाई मेरो आवश्यकता पर्दथ्यो। म तिमीलाई दोष दिँदैन तर तिमी आफूले आफूलाई समयअनुसार परिवर्तन गर्न सकेनौँ वा भनौँ न तिमी किरणको लायक हुन सकिनौ वा तिमीले उसलाई माया गर्न जानिनौ। तिमी देखाउनकै लागि प्रेमविहीन विवाहलाई किन निभाइरहेकी छौ। तिमीहरुको विवाह नामको मात्र छ, किरणले मलाई प्रेम गर्छ, तिमीलाई होइन। त्यसैले किरण र मैले विवाह गरेर अब बाँकी जीवन सँगै बिताउने निधो गरेर यो ठाउँ छोडेर जाँदैछाैँ। यस्मा दोष ती महिला र किरण दुवैको बराबरी छ भन्न रुचाउँछु म, योभन्दा बढी अरु केही भन्दिन। बिचरा निरीह लिलि यो इलेक्ट्रोनिक सन्देश पढिसकेर भुईमा थचक्क बसेकी लिलि त्यहाँबाट उठ्नै सकिनन्, मानौं उनले टेकेको त्यो धर्ती फाटेर चिराचिरा भएको थियो, घरको छत खसेर उनलाई माथिबाट थिचिसकेको थियो। बच्चाहरुलाई खाना खान दिन सकिनन्, बच्चाहरु खाना माग्दामाग्दै त्यही ठाउँमा निदाए। उनले पनि खानै नखाई त्यो रात बिताइन् न त्यो रात किरण घरमा आए, न त्यो घरको बत्ती नै रातभरि निभ्यो। फोन गर्दा फोनै अफ थियो। सुनसान रात, कुकुरहरु भुकेको मात्रै सुनिन्थ्यो तर किरण घर आएन। उनलाई लाग्यो अब साँच्चिकै किरण मसँग आउँदैन, उसले मसँग नबस्ने नै निधो गरेछ, ऊ हामीलाई छोडेर गयो। शहर बजारको बसाइ, छोराछोरी, कोठा भाडा, स्कुलको फी यी सबै म कसरी सम्हालु हे भगवान् भन्दै निधार भिक्तामा ठोक्दै भक्कानिएर रोइरहिन् तर त्यो चित्कार र पीडा सुनिदिने त्यहाँ कोही थिएन सिवाय घरको भिक्ता। यही रात थियो किरणप्रति मेरो विश्वास टुटेको।

सोचिन हामी सँगै हुर्के बढेका, सँगै पढेका, एक अर्कालाई चिनेका, घरपरिवार सबै बुझेको तर आज किरणभन्दा म केमा कमी थिएँ र एसएलसीपछि किरण घर छोडेर बाहिर गएर राम्रोसँग पढ्ने मौका पायो, म घर नजिकैको सामान्य क्याम्पसमा पढेँ। विवाहपछि किरणले घर बाहिर गएर काम गर्ने मौका पायो, म घरभित्रै सीमित भएँ। किरणको जस्तै अवसर र मौका मैले पनि पाएको भए म पनि त ऊभन्दा केही कमी हुने थिएन। मैले पनि त्यही मौका र अवसर पाएको भए आज म यसरी कमजोर त हुनु पर्ने थिएन।

म छोरी भएकै कारण, म महिला भएकै कारण म अवसरहरुबाट वञ्चित भए, किरणले अवसर पायो, काम ग-यो, हामी एउटै तहका हौँ तर समयको परिवर्तनसँगै बिस्तारै म उसको लायकी हुन सकिन। म अवसरबाट वञ्चित भएँ। विवाहपछि छोराछोरी हुर्काउने जिम्मा मेरो मात्र काँधमा प-यो, ऊ बाहिर गएर आफ्नो क्षमता विकास गर्दै गयो, म यता आफूमा भएको क्षमता पनि दिन प्रतिदिन गुमाउँदै गएर शून्यमा झरे। आज ऊ विनाजीवन कसरी जिउने भनेर अलमलमा परे। जसलाई विश्वास गरे, जोसँग जिन्दगी बिताउने निधो गरे, उसैले मलाई बीचबाटोमा धोका दिएर गयो। म मात्र होइन यी कलिला मुनाहरुको बारेमा पनि नसोचेर स्वार्थी भएर गयो आज किरण हामीबाट।

समय परिवर्तनशील छ। हिजो जे तिम्रो थियो त्यो आज नहुन सक्छ र भोलि जे हुन्छ त्यसको कल्पना आज गर्न सकिँदैन। यो संसारमा विश्वास कसैको छैन। आजको यो पुँजीवादी विश्व, कोही कसैको भरमा बाँच्ने, जीवन जिउने आशा नगरौँ, छोराछोरी कसैमाथि विभेद नगरी समान अवसरहरु र मौकाहरु दिलाउँ। आफ्नो खुट्टामा आफैँ उभिएर मात्र विवाह गराैँ ताकि लिलिको जस्तो अस्तव्यस्त जीवन भोलिका दिनमा कसैको पनि नहोस्। आप्नो क्षमताअनुसारको आयआर्जन हुने काम गराैँ, क्षमता विकास गरौँ, सधैँ अरुकै भर पर्दा र आँखा चिम्लेर विश्वास गर्दा भोलि लिलिजस्ता सयौँ लिलिहरु यो समाजमा नहोउन्।

पितृसक्ताले जड गाडेको हाम्रो समाजमा महिलाको विकास र उत्थान हुन निकै गाह्रो छ। लिंगभेद विकराल रुपमा छ। लैंगिक समानता भन्ने नारा नारामै सीमित छ। महिला विकास र उत्थानका लागि लिंग भेद नगराैँ, समाजमा भएका कुरीति कुसंस्कारको अन्त्य गरौं, छोराछोरीमा भेदभाव नगरौँ, छोरीको सानैमा विवाह नगरिदिऊँ। छोरा छोरीलाई समान अवसर र मौका दिऊँ। समतामूलक समाजको निर्माणमा हामी एकजुट हौँ। यो अभियानमा महिला र पुरुष दुवैको समान दायित्व छ। महिला मात्रैको एकल प्रयासले यो अभियान कुनै हालतमा पूरा हुँदैन। यो कुरा कहिल्यै नभुलाँै कि महिलाको उत्थान, विकास, समृद्धि र सशक्तिकरणमा पुरुषको साथ र सहयोग एकदमै आवश्यक छ, पुरुषहरुले यो कुरा बुझाैँ, समतामूलक समाजको निर्माणमा एकजुट भै अगाडि बढौँ।

Leave A Comment