इच्छाशक्ति

शनिबार, १७ फागुन २०७६, १० : ४७ शुक्रवार
इच्छाशक्ति

एउटा प्रतिष्ठित स्कुलको प्रधानाध्यापकसँग अन्तक्र्रिया गर्ने अवसर जुरेको थियो। त्यस अन्तक्र्रिया दौरान पढाइमा निकै कमजोर तर पछि अनपेक्षित रुपमा पढाइ सुधार गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल एउटा विद्यार्थीको प्रसंगले प्रवेश पायो।

प्रधानाध्यापक भन्दै थिए, ‘चारपाँच वर्ष अगाडि, अहिलेको जस्तो एसइई थिएन। एसएलसी नै थियो। कक्षा दशमा एउटा अनौठो विद्यार्थी थियो। त्यो बच्चो पढाइमा अति कमजोर थियो। स्कुलको आन्तरिक परीक्षामा कहिल्यै पास भएन। सधैँ आठवटै विषयमा फेल हुन्थ्यो। जति कराए पनि, फकाए पनि, पढ्नमा ध्यान दिन प्रेरित गरे पनि त्यस बच्चामा कुनै परिवर्तन आएन। त्यसकारण हामीले हार खाइसकेका थियौँ। एसएलसी परीक्षा अगाडि सञ्चालन हुने सेन्टअप पनि पास गर्दैन कि भन्ने डर थियो।’ अन्तक्र्रिया रोचक बन्दै थियो। प्रधानाध्यापक आफ्नो विद्यार्थीको भविष्यप्रति कति धेरै चिन्तित हुन्छन् र उनीहरुबाट राम्रो नतिजा आउन नसक्दा कति धेरै निराश हुन्छन् भन्ने कुरा अनुहारमा स्पष्ट झल्किन्थ्यो।

एकछिनको मौनतापछि प्रधानाध्यापकको अनुहारमा चमकता थपियो। त्यस कमजोर विद्यार्थीबारे थप कुरा राख्ने क्रममा प्रधानाध्यापक भन्दै थिए, ‘यत्तिकैमा दसैँ तिहार छुट्टी भयो। त्यो बच्चा छुट्टी मनाउन गाउँ गयो। जब बच्चा छुट्टी मनाएर फर्कियो, हामी त छक्कै प-यौँ। त्यस बच्चालाई के कुराले क्लिक ग-यो थाहा भएन। उसको आनीबानी, मनोवृत्ति र व्यवहार पूरै फेरिएको थियो। कक्षामा सक्रिय हुन थाल्यो। नबुझेको कुरा सोध्न थाल्यो। पढाइमा गम्भीर हुन थाल्यो। आन्तरिक परीक्षामा राम्रो गर्दै गयो। सेन्टअप पनि सजिलै पास ग¥यो। अन्ततः त्यो बच्चाले डिस्टिङ्सन (सर्वोत्कृष्ट अंक) ल्याएर एसएलसी पास ग-यो। त्यसैले हामीले विद्यार्थीलाई पढाउँदैमा, पढ्न प्रेरित गर्दैमा विद्यार्थीले राम्रो पढ्ने रहेनछन्। विद्यार्थीमा मुख्य कुरा इच्छाशक्ति हुनुपर्ने रहेछ।’ यो भनिरहँदा प्रधानाध्यापक सरमा गर्व र सुखानुभूतिको भाव देख्न सकिन्थ्यो। आखिर कमजोर भन्दा कमजोर विद्यार्थी पनि कसरी सर्वोत्कृष्ट हुन सक्यो ?

सामाजिक मनोवैज्ञानिक एवं इच्छाशक्तिका सोधकर्ता रोय बाउमाइस्टर भन्छन्, ‘सफलता प्राप्त गर्न तीन चिज आवश्यक हुन्छ। एक, स्पष्ट लक्ष्य र त्यसका लागि परिवर्तित हुन उत्साहित हुनु। दुई, लक्ष्य प्राप्तिका निम्ति के–कस्ता गतिविधि र व्यवहार गरिँदैछ, त्यसको अनुगमन गर्नु अथवा त्यसबारे सचेत रहनु। प्रधानाध्यापक जुन विद्यार्थीका बारेमा वर्णन गर्दै थिए, ती विद्यार्थी लक्ष्यप्रति स्पष्ट थिए। लक्ष्य प्राप्तिका लागि सहयोग गर्ने गतिविधि र व्यवहार गर्नमा मात्र व्यस्त थिए। त्यसैगरी अर्को महत्वपूर्ण कुरा, त्यो विद्यार्थीमा दृढ इच्छाशक्ति थियो। यसर्थ ऊ शैक्षिक सफलता प्राप्त गर्न अर्थात् एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सफल भए। कमजोरभन्दा कमजोर विद्यार्थीलाई पनि सर्वोत्कृष्ट बनाउने इच्छाशक्ति के रहेछ ? वैज्ञानिक आधार के छ ? कुनै पनि क्षेत्रमा सफल हुन इच्छाशक्ति कसरी वृद्धि गर्ने ? त्यो संक्षेपमा बुझ्ने कोसिस गरौँ।

इच्छाशक्ति के हो ?
अधिकांश मनोवैज्ञानिकअनुसार इच्छाशक्ति निम्नानुसार व्याख्या गर्न सकिन्छः
दीर्घकालीन लक्ष्य प्राप्तिका लागि क्षणिक सुख, आनन्द र सन्तुष्टि त्याग गर्न सक्ने क्षमतालाई इच्छाशक्ति भनिन्छ।
–अनावश्यक सोच, भावना र आवेगलाई नियन्त्रण गर्न सक्ने क्षमतालाई इच्छाशक्ति भनिन्छ।
–त्यसैगरी सचेत अवस्थामा र सत्प्रयास आत्मसन्तुलन कायम राख्ने क्षमतालाई पनि इच्छाशक्ति भनिन्छ।
इच्छाशक्तिको महत्व विविध क्षेत्रमा अनुभूत गर्न सकिन्छ। जस्तो सुरक्षाको घेरा भन्दा बाहिर आउँदा मनमा डर पैदा हुन्छ। यो खाले डर हटाउने काम इच्छाशक्तिले गर्छ। त्यसैगरी नयाँ बानीको विकास गर्न, करिअर निर्माण, जीवन उद्देश्य हासिल गर्न, नयाँ परियोजना सुरुवात गर्न, सम्बन्धमा उत्पन्न हुने समस्या समाधान गर्न इच्छाशक्तिकै प्रमुख भूमिका रहन्छ। त्यसैगरी सुखी र खुसी जीवन जिउन इच्छाशक्तिको विशेष महत्व रहन्छ।

इच्छाशक्तिको वैज्ञानिक आधार
ठीक निधार पछाडि अवस्थित मस्तिष्कको भागलाई प्रिफ्रन्टल कोर्टेक्स भनिन्छ। इच्छाशक्ति व्यवस्थापन गर्ने सम्पूर्ण मस्तिष्क कोषहरु यही भागमा अवस्थित हुन्छन्। यसको मतलब हो, यही भागबाट इच्छाशक्तिको व्यवस्थापन तथा नियन्त्रण हुन्छ। त्यसैगरी मस्तिष्कको यही भागले केन्द्रित हुन, सचेत रहन, छोटो समयका लागि केही कुराहरु याद गर्न, निर्णय लिन, योजना निर्माण गर्न, आत्मसन्तुलन साथै जटिल समस्याहरू समाधान गर्न ठूलो भूमिका खेलेको हुन्छ।

सामाजिक मनोवैज्ञानिक एवं इच्छाशक्ति सोधकर्ता रोय बाउमाइस्टरले इच्छाशक्ति पनि मांसपेशी जस्तै हुने पुष्टि गरेका छन्। यति मात्र होइन, अधिक कार्यमा संलग्न हुँदा जसमा आत्मसन्तुलनको आवश्यकता अत्यधिक हुन्छ,

त्यसले इच्छाशक्ति कम गराउने पनि पुष्टि गरेका छन्। यसका लागि बाउमाइस्टरले एउटा परीक्षण सञ्चालन गरेका थिए। त्यस परीक्षणमा आबद्ध सहभागीहरुले मिष्ठान्न भोजन प्रतिरोध गर्नु, बेवास्ता गर्नु पर्थ्यो। अनि खाना खान प्रतिरोध गरेको केही समयपश्चात् बौद्धिक कार्यमा संलग्न हुनुपथ्र्यो। जति पनि सहभागीहरु जसले खाना खाने उत्कट चाहना, लालसा नियन्त्रण गरे उनीहरु थकित भए। उनीहरुको इच्छाशक्ति घटिसकेको हुँदा बौद्धिक कार्यमा सफलता प्राप्त गर्न सकेनन्।

सन् २०१० मा स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता भेरोनिका जवले उनका केही साथीहरुसँग मिलेर इच्छाशक्ति विषयमा विभिन्न चरणको परीक्षण सञ्चालन गरेकी थिइन्। अनुसन्धानमा इच्छाशक्ति र विश्वास प्रणालीबीचको सम्बन्ध हेरिएको थियो। त्यो अनुसन्धानले इच्छाशक्ति समित रहेको विश्वास गरे समित रहने पुष्टि गरेको थियो। त्यसैगरी त्यो अनुसन्धानले इच्छाशक्ति स्थिर नरहेको र कहिल्यै नघट्ने विश्वास राख्दा जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आत्मसन्तुलन कायम रहने र इच्छाशक्ति नघट्ने पुष्टि गरेको थियो।

इच्छाशक्ति कसरी वृद्धि गर्ने ?
इच्छाशक्ति मांसपेशी जस्तै हो र कसरतले मजबुत बनाउन सकिन्छ भन्ने बुझिसकेका छौँ। अधिक कार्य गरेको खण्डमा मांसपेशी थाक्ने र पुनः पहिलेकै अवस्थामा आउन आराम चाहिन्छ। यो कुरा इच्छाशक्तिमा पनि उत्तिकै लागू हुन्छ भन्ने बुझिसकेका छौँ। त्यसैगरी इच्छाशक्ति आनुवांशिक होइन र यो उचित विधिमार्फत वृद्धि गर्न सकिन्छ। स्वास्थ्य मनोवैज्ञानिक केली म्याकगोनिगल, सामाजिक मनोवैज्ञानिक एवं इच्छाशक्ति सोधकर्ता रोय बाउमाइस्टर तथा अधिकांश मनोवैज्ञानिकका अनुसार इच्छाशक्ति वृद्धिका लागि वैज्ञानिक रुपमा प्रमाणित निम्न विधि अवलम्बन गर्न सकिन्छः

(क) पर्याप्त सुत्ने:
पर्याप्त नसुतेको अवस्थामा प्रिफ्रन्टल कोर्टेक्समा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्छ। यति मात्र होइन, मस्तिष्कको त्यो भाग सक्रिय हुन्छ, जसले तनाव, लालसा र प्रलोभन सिर्जना गर्न ठूलो भूमिका खेल्छ। परिणामस्वरूप इच्छाशक्तिको स्तर घटेर जान्छ। त्यसैगरी पर्याप्त सुतेको अवस्थामा भने प्रिफ्रन्टल कोर्टेक्समा कुनै पनि क्षति हुँदैन। परिणामस्वरूप इच्छाशक्ति व्यवस्थित हुन्छ र कुनै ह्रास उत्पन्न हुँदैन। त्यसैले पर्याप्त सुत्नु इच्छाशक्ति वृद्धि गर्ने एउटा प्रभावकारी विधि हो। इच्छाशक्ति वृद्धि गर्ने भन्दैमा दस घण्टा सुत्नु पनि राम्रो होइन। अध्ययनअनुसार दिनको आठ घण्टा सुत्नु उपयुक्त रहन्छ। सुत्ने र उठ्ने समयमा पनि एकरुपता ल्याउन सक्नुपर्छ।

(ख) ध्यान गर्ने:
ध्यान मस्तिष्कका लागि व्यायाम हो। यसले मस्तिष्कको संरचनात्मक र कार्यात्मक दुवै पक्षमा ठूलो परिवर्तन ल्याउँछ। यस प्रकृतिको परिवर्तन केही हप्ताको ध्यानबाट नै अनुभूत गर्न सकिन्छ।

उदाहरणार्थ नियमित ध्यानले प्रिफ्रन्टल कोर्टेक्समा ग्रे म्याटर (मस्तिष्कको क्रियाशील पदार्थ) को मात्रा बढाउँछ। ग्रे म्याटरको मात्रा बढ्नु भनेको निर्णय गर्ने, तनाव व्यवस्थापन गर्ने, केन्द्रित हुने, आवेग नियन्त्रण गर्ने, सचेत रहने, आत्मसन्तुलन कायम राख्ने आदि क्षमताहरु अभिवृद्धि हुनु हो। जसकारण इच्छाशक्ति वृद्धिमा बढावा मिल्छ। त्यसैले नियमित रुपमा ध्यान गर्नु पनि इच्छाशक्ति वृद्धि गर्ने अर्को एउटा प्रभावकारी विधि हो र यसलाई गम्भीरतापूर्वक अवलम्बन गर्नु फलप्रद रहन्छ। ध्यान गर्दा गहिरो श्वास फेर्ने अभ्यास जोड्न सकियो भने यो विधि झन् थप सशक्त हुन्छ। यस अभ्यासमा श्वास लिँदाको समय अवधि श्वास फाल्दाको समय अवधिभन्दा छोटो हुनुपर्छ। मानौं, श्वास ४ सेकेण्ड लगाएर लिइन्छ भने ६ वा ८ सेकेण्ड लगाएर श्वास फाल्ने। यसो गर्नाले स्थिर रहन र तनाव मुक्त रहन ठूलो सहयोग मिल्छ। अनि परिणामस्वरूप इच्छाशक्ति वृद्धि हुन्छ।

(ग) व्यायाम गर्ने:
नियमित व्यायाम गर्नाले मस्तिष्कको त्यो भागमा परिवर्तन ल्याउँछ जसले तनाव र एन्जाइटी व्यवस्थापन गर्छ। त्यसैगरी नियमित व्यायामले शरीरमा सेरोटोनिन हर्मोनको मात्रा बढाउँछ। यस हर्मोनले डिप्रेसन कम गर्न ठूलो भूमिका खेल्छ। त्यसैगरी नियमित व्यायामले शरीरमा एन्डोरफिन हर्मोनको मात्रा बढाउँछ जसले सकारात्मक भावना, मनोभाव उत्पन्न गराउन ठूलो भूमिका खेल्छ। समग्रमा भन्नुपर्दा व्यायामले तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ। जसकारण इच्छाशक्ति वृद्धिमा बढावा मिल्छ। त्यसैले नियमित रुपमा व्यायाम गर्नु पनि इच्छाशक्ति वृद्धि गर्ने अर्को एउटा प्रभावकारी विधि हो।

(घ) सही कार्यमा संलग्न हुने:
अत्यधिक टेलिभिजन हेर्ने, इन्टरनेट चलाउने, भिडियो गेम खेल्ने, अश्लील चलचित्र हेर्ने, मदिरा पिउने, कम सुत्नेजस्ता गतिविधि तथा कार्यहरुले इच्छाशक्ति घटाउने काम गर्छ। यी यावत् गतिविधि तथा कार्यहरु गर्नका लागि उत्पन्न हुने आवेग नियन्त्रण गर्न सकियो भने इच्छाशक्ति वृद्धि गर्न सकिन्छ। त्यसैले इच्छाशक्ति वृद्धि गर्न यी यावत् गतिविधि तथा कार्यहरु बन्द गरेर सही गतिविधि तथा कार्यहरुमा संलग्न हुनु अत्यावश्यक छ। जस्तो समयमा सुत्ने अनि समयमा उठ्ने, इन्टरनेट चलाउने तथा टेलिभिजन हेर्ने उत्कट इच्छा, आवेग उत्पन्न भएको खण्डमा प्रतिरोध गर्ने, आफूलाई नियन्त्रण गर्ने, लक्ष्य प्राप्तिका लागि कठोर मिहिनेत गर्ने आदि इच्छाशक्ति वृद्धि गर्ने सही गतिविधि तथा कार्यहरु हुन सक्छन्।

Leave A Comment