युग फटाएको एउटा रूख
बेवारिसे भै दोबाटोमा ढलिरहेछ,
मुस्कुराइरहने
हरियो मुस्कान चिथोरिसके
जब धमिराजस्तै किराहरुले
सातौँ दिनको अन्तरालमा
आएको एउटा पाहुना एक दिन पाल्न– रु. पन्ध्र सय,
दुईचार दिन पाल्ने त ठेक्कै छ
सधैँको महिनाझैँ
नर्सरी पढ्ने छोरीको
स्कुल बिलले हिर्काउँछ– रु. पाँच हजार
शहरको घरबेटी
नुन–सब्जी खाने आफ्नो
कोठाको तलब माग्छ– रु. दश हजार
सास अड्याउन
इन्धनबाहेक
तीनजनाको महिनाभरिको गाँस– रु. दश हजार
श्रीमतीको कपासले
पालो पाएर फुर्सद नपाएको
भयो होला– तीन वर्ष
मैले रक्सी सम्झेको मात्रै पनि
भयो होला– दश महिना
मेरो पनि
लुगाले विद्रोह गर्न थालेको छ
ऊ नांगै जुलुस देखाएर
नयाँ सत्ता माग्दै छ
हिजोआज
दिनभरि मेरो छालाहरुले
जोतेर कमाउँछ– रु. चार सय
बेलुका मेरो शरीर
भोलिपल्ट बिहानमात्र बौरिनेगरी
बेहोस हुन्छ
दोबाटोमा ढलेको रुख र म
कतै बेग्लै हुन्नँ
यसरी हरेक महिना
ब्रह्माण्डको भारीले थिच्दैथिच्दै गएको छ
स्वास रहेसम्म थिचिरहन्छ पनि
बाठाहरु
दोबाटोमा ढलेको आमाजस्तै रूखलाई
रातारात गिँडेर काठ बनाउँछन्
र बनाउँछन् कलात्मक कुर्सी
भलै, त्यो कुर्सीले
कलात्मक चमत्कार नदेखाओस् !
Leave A Comment