किन बन्द भए हास्य सिरियल ?

शुक्रबार, ०३ भदौ २०७३, १२ : ३४ अनिल यादव , Kathmandu
किन बन्द भए हास्य सिरियल ?

हास्य कलाकारका लागि गाईजात्रा ठूलो पर्व हो । तर, ठीक यति बेला हास्य सिरियल बन्द छन् । त्यसैले नेपाली कमेडियनहरू भन्दै छन्– सिरियलकै गाईजात्रा भयो । राम्रो लोकप्रियता कमाएका सिरियल किन बन्द भए त ? यिनै कार्यक्रममार्फत घर चलाउनुपर्ने कलाकारले कस्तो सास्ती भोग्दै छन् ? अनिल यादवले यस्ता प्रश्नहरूको जवाफ खोज्ने जमर्काे गरेका छन् ।
सिरियलकै गाईजात्रा

चार हप्ताअघि मंगलवार राती ‘आयो है, आयो’ भन्दै काठमाडौँ, गोठाटारकी सुमित्रा राई आफ्नै निवासमा चिच्याइन् । भान्सामा काम गरिरहेकी छोरीलाई उनले समाचार सकिएको जानकारी दिँदै ‘मेरी बास्सै’ सुरु हुन लागेको संकेत गरेकी रहेछिन् । तर, भइदियो अर्कै । त्यो दिन सिरियल नै प्रसारण भएन, अर्कै कार्यक्रम पो आयो । ‘म त जिल्ल परँे,’ उनले सुनाइन्, ‘यो सिरियलहरूको त गाईजात्रै भइरहेको छ । कहिले तीन महिनासम्म आउँदैन, कहिले आए पनि रिपिट हुन्छ । खोइ के ताल हो यो ? ’

चारहप्ता अघिकै कुरा हो । नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हास्य टेलिसिरियल ‘भद्रगोल’का निर्देशक शंकर आचार्यले ‘अब मेरो सिरियल आउने टाइम भो’ भन्दै टीभीमा आँखा पु¥याए । तर, आफ्नो सिरियल त आएन, अर्कै कार्यक्रम पो प्रसारण भयो । उनी छक्क परेछन् । ‘आफ्नो सिरियल प्रसारण हुन्छ÷हुँदैन भन्ने जानकारी आफैँलाई हुँदैन,’ उनले भने, ‘एकातिर दर्शकलाई धोका दिएजस्तो पनि भइरहेको छ, अर्कोतिर व्यक्तिगत पीडा त छँदै छ ।’  

शुक्रवार गाईजात्रा पर्व मनाइँदैछ । नेपाली समाजमा गाईजात्रा व्यंग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेपाली हास्य कलाकारका लागि त यो ठूलो पर्वै हो । तर, ठीक यही बेला नेपालको हास्य मनोरञ्जन जगत् सुनसानजस्तै छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने सबै लोकप्रिय हास्य टेलिसिरियल बन्द छन् । दिनभरि काम गरेर राती थकाइ मार्दै हास्य टेलिसिरियल हेर्ने गाउँघरका दर्शक पनि निराश छन् । यस्तो लाग्छ– दिनहुँ टीभी हेरेर रमाउन दर्शकको हाँस्ने माध्यम नै यतिबेला बन्द भएको छ । ‘नेताहरूले जनतालाई धोका दिएझैँ हामीबाट दर्शकलाई ठूलो धोका भइरहेको छ, दर्शकलाई यस्तो पीडा किन ?,’ हास्यकलाकार शंकर आचार्यको प्रश्न छ । उनको आफ्नै सिरियल ‘भद्रगोल’ को प्रसारण पनि लगातार चार हप्तादेखि बन्द छ ।

कुन–कुन सिरियल बन्द ?
१२ वर्षदेखि प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिसिरियल ‘तीतो सत्य’ बन्द भएको एक वर्षै पुगिसक्यो । शिवहरि पौडेल र जीतु नेपालले निर्देशन गरेको ‘जिरे खुर्सानी’ पनि अघिल्लो वर्षदेखि नै बन्द छ । धेरै पटक पुराना भागहरू दोहोरिएको, नयाँ विषयवस्तु नआएको र विभिन्न बाधाका कारण नयाँ विषयवस्तु ल्याउन नसकिएको अवस्थालाई मध्यनजर गर्दै १२ वर्षे यात्रालाई पूर्णविराम गर्नुपरेको निर्देशक गिरीको भनाइ छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने पाँचवटै हास्य टेलिसियिरको प्रसारण चार हप्ताअघिदेखि बन्द छन् । ती सिरियलहरू सीताराम कट्टेलको ‘मेरी बास्सै’, शंकर आचार्यको ‘भद्रगोल’, दमन रूपाखेतीको ‘हाकाहाकी’, केदार घिमिरे र विल्सनविक्रम राईको ‘खासखुस’ र किरण केसी र शिवहरि पौडेलको ‘ब्रेकफेल’ हुन् । नेपाल टेलिभिजनबाट प्रसारण भएका यी सबै सिरियल विज्ञापन एजेन्सी मिडिया हबद्वारा सञ्चालित हुन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिठ्टा सा’ब’ र ‘हर्के हल्दार’ भने प्रसारण भइरहेका छन् ।

किन हुन्छन् बन्द ?
हास्य टेलिसिरियल बन्द हुनु कुनै नौलो घटना होइन । यो त पुरानै रोग हो । अघिल्लो वर्ष पनि महाभूकम्पपछि लामो समयसम्म हास्य सिरियलको प्रसारण यसरी नै रोकिएको थियो । प्रसारण हुँदा पनि पहिलाकै भाग दोहो¥याइन्थ्यो । गाईजात्राकै बेला पाँचवटै सिरियल बन्द हुनुको मुख्य कारण विज्ञापन एजेन्सी मिडिया हब र नेपाल टेलिभिजनबीचको विवाद हो । यसमा सहमत छन्, मिडिया हबका सीईओ सोम धिताल । ‘टेन्डरको प्रक्रिया, लेनदेनको कुरा र एनटीभीले गरेको पुरानो वाचा पूरा नगरेका कारण यो समस्या आएको हो,’ उनी भन्छन्, ‘यो विवाद टुंग्याउनका लागि कमिटी गठन भएको छ, सुल्झिनासाथ कार्यक्रम सुरु हुन्छ ।’ उनी यसलाई गत वर्षको गएको भूकम्प र त्यसपछिको नाकाबन्दीको असर भन्छन् । ‘भूकम्प र नाकाबन्दीका बेला लामो समय हाम्रो कार्यक्रम प्रसारण भएनन् । उद्योगधन्दा सब चौपट भयो । विज्ञापन आउने वातावरण पनि बनेन । त्यतिबेला हामी पनि मारमा प¥यौँ,’ उनले भने, ‘एनटीभीले राहत दिने वाचा गरेको थियो । त्यो वाचा पूरा नहुँदा विवाद आएको हो । यसमा केही हाम्रो, केही एनटीभीको कमजोरी छ । ’ मिडिया हबले एनटीभीलाई एउटा सिरियलको एक एपिसोडको २ लाख ५२ हजार रुपैयाँ बुझाउनुपर्छ ।

यता नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईंको जवाफ भने प्रस्ट छ । ‘मिडिया हबले हामीसँग समय किनेर हास्य शृंखलाहरू प्रसारण गरिरहेको हो,’ उनले भने, ‘प्रत्येक आर्थिक वर्षको अन्तिममा उसले हामीलाई रकम भुक्तानी गर्नुपर्ने हुन्छ । पैसा नतिरेकै कारण बन्द भएको हो । तिर्नेबित्तिकै खोलिदिन्छौँ ।’ उनका अनुसार मिडिया हबले २ करोड ८७ लाख रुपैयाँ नेपाल टेलिभिजनलाई दिन बाँकी छ । ‘यही कारणले टीभी कार्यक्रम बन्द हुनु दुःखद कुरा हो,’ उनले भने, ‘गत वर्ष पनि यस्तै समस्या आएको थियो । हामीले उठाउन पहल गर्ने हो, जुन गरिरहेका छौँ ।’ भदौ ५ गतेसम्ममा रकम भुक्तानी नभए सम्झौता रद्द गरेर पुनः टेन्डर आह्वान गर्ने तयारीमा नेपाल टेलिभिजन रहेको उनले जानकारी दिए ।
हास्य शृंखलाहरू पटक–पटक बन्द भइरहेका विषयमा कलाकार र निर्देशकका आ–आफ्नै मत छन् ।  नेपाली हास्य कलाकारिताका ‘ट्रेन्ड सेटर’ मध्ये एक मानिने अभिनेता हरिवंश आचार्य यसमा राजनीतिक कारण देख्छन ्। ‘देशमा राजनीतिक अस्थिरताका कारण उद्योगको वातावरण राम्रो छैन । जसकारण विज्ञापन घटिरहेको छ,’ उनी भन्छन्, ‘जति उद्योग र व्यवसाय बढ्ने हो, त्यति नै एजेन्सीलाई विज्ञापन आउने हो । लोडसेडिङका कारण पनि दर्शक र विज्ञापन दुवैमा कमी आएको हो । तर, उद्योग व्यवसाय फस्टाएमात्र टेलिभिजन टिक्ने हो । त्यही कारण सिरियलहरू बन्द भइरहेका हुन् ।’ एनटीभी र एजेन्सीको सम्झौतामा दिगोपन नभएका कारण कार्यक्रम बन्द भएको बताउँछन्, ‘हाकाहाकी’का निर्देशक दमन रूपाखेती । ‘भनेको टाइममा एजेन्सीले बक्यौता तिर्न नसक्दा हामी मारमा परिरहेका छौँ,’ उनी भन्छन्, ‘एक त एजेन्सी–एजेन्सी पनि एकता छैन । चर्को प्रतिस्पर्धा छ । टेन्डर बिड गर्दा बढी पैसा हालिदिन्छन् अनि कार्यक्रमको टाइमको रेट बढी हुन्छ । फाइदा टेलिभिजनले लिन्छ । अरू सबैलाई घाटा ।’  

‘तीतो सत्य’ की कलाकार दीपाश्री निरौला ‘गाईजात्रा’को बेला दर्शकको हाँस्ने माध्यम बन्द हुनुलाई ‘विडम्बना’ मान्छिन् । ‘हामीले ‘तीतो सत्य’ बन्द गर्नुको मुख्य कारण पैसा पनि थियो,’ उनी भन्छिन्, ‘दुई वर्षदेखि आफ्नै खल्तीको पैसा हालेर हामी कलाकार र प्राविधिकलाई तिरिरहेका थियौँ । यसरी सधै कहाँ चल्न सकिन्छ र ?’
‘मेरी बास्सै’का निर्देशक सीताराम कट्टेल सिरियल बन्द हुनु दुःखद घटना भएको बताउँछन् । ‘किन बन्द भयो यसको जवाफ मिडिया हबसँग छ, हामीसँग छैन । तर, जे भइरहेको छ एकदम गलत भइरहेको छ,’ उनको जवाफ थियो ।

जीतु नेपालसँग मिलेर ‘जिरे खुर्सानी’ बनाइरहेका शिवहरि पौडेल पाँच महिनायता किरण केसीसँग मिलेर ‘ब्रेकफेल’ चलाइरहेका छन् । ‘जिरे खुर्सानी’कै बेला उनले सिरियल बन्दको मार खेपेका छन् । त्यति बेला उनले भनेको थिए, ‘हाम्रो सिरियल ‘मोनोटोनस’ पनि हुँदै गइरहेको थियो । एउटै घटनामा सबै सिरियलले व्यंग्य दिइरहेका थिए । नयाँ विषयवस्तु थिएन । यसले सिरियलको क्रेज घटाइरहेको थियो । त्यही भएर मैले नयाँ ‘कन्सेप्ट’ सञ्चय गरेर नयाँ ढंगले जाने निर्णय गरेँ ।’ नभन्दै नयाँ सिरियल ‘ब्रेकफेल’ ल्याए । तर, त्यो पनि लगातार चार हप्तादेखि बन्द छ । सिरियल पाँच महिनामा १७ एपिसोड मात्र प्रसारण भयो । ‘एजेन्सी र टीभीबीचको आर्थिक विवाद नै मुख्य कारण हो,’ सिरियल बन्दबारे उनी भन्छन्, ‘ भूकम्प र नाकाबन्दी  हुँदाको हिसाब नमिलेको रहेछ । कस्तो किसिमको हिसाब हो ? त्यो चाहिँ थाहा भएन ? तर, त्यही कारणले कार्यक्रम रोकिनु हुन्नथ्यो । फेसबुक खोल्नु हुँदैन, हेर्ने बानी बसिसकेका दर्शक ‘खोइ त तपार्इंहरूको सिरियल कहिले सुरु हुन्छ ?’ भनेर सोध्छन् ।  जवाफ दिने ठाउँ छैन ।’

संख्या बढ्यो, गुणस्तर बढेन
केही वर्षअघिसम्म थोरै हास्य सिरियल मात्र प्रसारणमा थिए । ‘तीतो सत्य’ पछि ‘जिरे खुर्सानी’ र त्यसपछि ‘मेरी बास्सै’ सञ्चालनमा आएको हो । बीचमा हास्य शृंखलाको जगजगी बढेसँगै पारिवारिक कथा बोकेका सिरियल हराउँदै गए । टीभी च्यानल त समाचार र हास्य टेलिसिरियलकै लागि हेरिन्छ भन्न चर्चासम्म हुन थाल्यो । अहिले त एउटै एजेन्सीले पाँचवटासम्म हास्य सिरियल सञ्चालन गरिरहेको छ ।

हास्य कलाकार सन्तोष पन्त हास्य सिरियलको ‘क्वान्टिटी’ मात्र बढेको ‘क्वालिटी’ नबढेको ठान्छन् । ‘सिरियलको गुणस्तरीयतामा अलिकति पनि ध्यान छैन,’ ‘हिजोआजका कुरा’ नामक हास्य सिरियल चलाएका उनी भन्छन्, ‘सिरियल बन्द भयो भनेर कराएर मात्र भएन । सबैले मुख बंग्याएर मात्र हँसाउनुपर्छ भन्ने छैन । हामीले ‘नर्मल’ बोलेर पनि हँसाएकै हो त ।’  

अभिनेता हरिवंश आचार्य पनि पन्तसँग सहमत देखिन्छन् । उनी नेपालमा हास्य सिरियलको संख्या बढाउने मात्र काम भइरहेको बताउँछन् । ‘एउटा एजेन्सीले थुप्रै कार्यक्रमलाई स्पोन्सर गर्नुको सट्टा एउटा कार्यक्रमलाई उत्कृष्ट बनाउन लागिदिए हुन्थ्यो,’ उनी भन्छन्, ‘एक दिनमा सुटिङ सकेर सिरियल बनाउने परिपाटीले उँभो लागिँदैन, ‘आर्ट’ फस्टाउँदैन । पत्रिकाले जे जे समाचार लेख्छ, त्यही विषयवस्तु मात्र आउने भयो । आर्ट चाहिँ कहाँ गयो त ?’ उनी राम्रो सिरियल बनाउनका लागि राम्रै बजेट चाहिने बताउँछन् । ‘टीभी बरु २४ घण्टामा दुई घण्टा चलोस् । तर, कार्यक्रम त यस्तो होस् कि दर्शकले कहिले खुल्ला भनेर पर्खिएर बसोस्,’ उनले अहिलेका सिरियलप्रति त्यति सन्तुष्ट छैनन् ।

हास्य अभिनेता दीपकराज गिरी प्रस्तुतीकरण र विषयवस्तुमा परिवर्तन ल्याउन नसकेका कारण ‘तीतो सत्य’ बन्द गर्नुपरेको स्विकार्छन् । ‘१२ वर्षदेखि हामी जे हिट छ, त्यसमै चल्यौँ, परिवर्तन गर्न सकेनौँ,’ उनले भने, ‘यही कारण बन्द गर्नुपर्छ भन्ने त लागिरहेको थियो । त्यसमाथि आर्थिक समस्या थपियो, जुन बन्द गर्ने बहाना बन्यो ।’

टेलिभिजनले ‘क्वालिटी कन्ट्रोल’मा कुनै भूमिका निर्वाह नगरेको दीपकराजको आरोप छ । ‘जुन दिनदेखि टेलिभिजनले क्वालिटी कन्ट्रोल नगरेर सबै हास्य कार्यक्रमलाई एउटै ठान्यो, त्यही दिनदेखि नै मैले अब हास्य कार्यक्रम टिक्दैन भन्ने बुझिसकेको थिएँ,’ उनले भने, ‘भारततिर सञ्चालन हुने कमेडी च्यानलमा एउटा कमेडीको अर्को कमेडीसँग अनुहारै मिल्दैन, विषयवस्तु  पनि फरक हुन्छ । यहाँ चाहिँ ‘तीतो सत्य’ र ‘मेरी बास्सै’ मात्र फरक थिए । धेरैले यिनीहरूकै नक्कल गरे । त्यसैले सिरियल बन्द हुँदा मन दुखाउने पनि होलान् । तर, ‘ठीकै भो’ भन्नेहरू पनि छन् । यसैलाई मध्यनजर गरेर हामीले बन्द ग¥यौँ । ’

पाँचवटा हास्य टेलिसिरियल चलाइरहेको मिडिया हबका सीईओ सोम धितालले पनि गुणस्तरीयताको अभाव महसुस गरेका रहेछन् । ‘एक–दुइटा मात्र सिरियल सञ्चालन हुँदा सिरियलको बजार पनि राम्रै थियो,’ उनले भने, ‘पछि कलाकारको आग्रहमा थपिँदै गइयो । मेरी बास्सै, भद्रगोल, हाक्काहाक्की सबै उस्ताउस्तै प्याटर्नका मात्र आए । मात्रा मात्र बढ्यो, विविधता देखिएन । उहाँहरूले पनि परिवर्तन गर्न सक्नुभएन । हामीले कन्सेप्ट दिन सकेनाँै । दुवैको कमजोरी छ ।’ तर, सुरु गरिसकिएकाले बन्द गर्न नमिल्ने उनी बताउँछन् ।

बन्दको असर
सिरियल बन्द हुँदा क–कसलाई कसरी असर परिरहेको छ त ? कलाकार, एजेन्सी र टेलिभिजन सबैका आ–आफ्नै बिलौना छन् । तर, एउटा कुरामा सबै सहमत छन्– ‘दर्शक’ । एनटीभीका महाप्रबन्धक हुमागाईं चलेका हास्य सिरियल बन्द हुँदा दर्शक घट्ने कुरा स्विकार्छन् । मिडिया हबका धिताल सिरियलको मारको सबैभन्दा ठूलो शिकार एजेन्सी र कलाकार हुने बताउँछन् । निर्देशक र कलाकारहरू सिरियल बन्द हुँदा आफूहरूको पहिचान नै गुम्ने खतरा रहेको बताउँछन् । ‘पटकपटक दुःखी बन्दै गरेका सिर्जनाले निरन्तरता दिन सक्ने अवस्था नआउन सक्छ,’ कलाकार सीताराम कट्टेल भन्छन्, ‘एकातिर दर्शकको अपेक्षा बढेको हुन्छ, अर्कोतिर यस्तो समस्याले अपेक्षालाई ‘मिट’ गर्न सकिँदैन । कथा एकातिर अघि बढिरहेको हुन्छ । बन्द हुँदा फेरि जिरोबाट सुरु हुन्छ ।’

नयाँ–नयाँ कलाकार त सिरियल बन्दको सबैभन्दा बढी मारमा परेका छन् ।  ‘हाकाहाकी’मा डेविडको भूमिका निर्वाह गर्ने सुजित थापा बन्दलाई लिएर निकै चिन्तित छन् । ‘एजेन्सी र एनटीभीको लफडाले हामीजस्ता उदीयमान कलाकारको भविष्यमाथि प्रत्यक्ष असर परिरहेको छ,’ उनी भन्छन्, ‘बल्ल–बल्ल दर्शकले पात्रलाई मन पराउन थालेका हुन्छन् र त्यही बेला सिरियल बन्द भइदिन्छ । चार–पाँच एपिसोडमा नआइदिँदा त दर्शकले बिर्सिसक्छन् । चार–पाँच एपिसोड कभर गर्न अर्को १० भाग लागिदिन्छ । अरूलाई हँसाएर गाईजात्रा मनाउने हामीलाई अब त अरूले पो बिचरा भन्दै हाँस्लान् जस्तो भइसक्यो ।’
चाडपर्वका बेला कलाकारलाई बढी स्टेज कार्यक्रमको निम्ता आउने गर्छ । ‘दसैँको छेकोमा सिरियल बन्द भइरहेको छ, यसले कमाइ खाने माध्यम स्टेज शोलाई पनि असर गर्ला जस्तो पो भो त,’ कलाकार शिवहरि पौडेलले भने ।

‘हाम्रो अनुहार देखाएर व्यापार गर्छन्, अनि हाम्रै भविष्यमाथि खेलबाड गरिरहेका छन्,’ नाम नलेखिदिने शर्तमा एक हास्य शृंखलाका कलाकारले भने , ‘एउटा एजेन्सीलाई सबै जिम्मेवारी दिने र उसले व्यापार गर्न सकेन भने त्यसको सजाय कलाकारले पाउने ? यो त ठाडै सिन्डिकेट प्रणालीजस्तो भयो ।’

सिरियल पटक–पटक बन्द हुँदा विज्ञापनदाताको मानसिकतामा पनि परिवर्तन आइरहेको छ । ‘कमेडी सिरियल त कहिले आउँछ, कहिले आउँदैन भनेर कतिपय विज्ञापनदाताले विज्ञापन नै दिन छाडिसके रे,’ कलाकार सीताराम कट्टेलले भने ।

एनटीभीको नीतिमा समस्या
एक समय थियो, जतिबेला नेपाल टेलिभिजनले हास्य शृंखलाहरू आफँै चलाउँथ्यो । कलाकारलाई पारिश्रामिक दिएर अभिनय गराउँथ्यो । विज्ञापन एजेन्सीहरूले पैसा दिएर विज्ञापन बजाउँथे । तर, अहिले ठीक विपरीत छ । सबै हास्य सिरियलहरूको ठेक्का टेलिभिजनले एजेन्सीलाई दिइरहेको छ । जसकारण पैसा भुक्तानी भए प्रसारण हुने, नभए नहुने भइरहेको छ ।  हास्य कलाकार सन्तोष पन्त नेपाल टेलिभिजनको यस्तो नीतिदेखि रुष्ट छन् । ‘अहिले टेलिभिजन व्यापार केन्द्रित भयो,’ उनी भन्छन्, ‘जसलाई मन प¥यो उसलाई कार्यक्रम दिन थाले । दर्शकको भावना र चाहनाको कुनै मतलब छैन । ’

त्यसो त सरकारी टेलिभिजनले लिएको यस्तो नीतिप्रति एनटीभीका प्रबन्ध निर्देशक हुमागाईं स्वयं खुशी छैनन् । ‘हामीलाई राज्यले ‘तिमीले पैसा कमाउनुपर्दैन हामी दिन्छौँ’ भने त हामी आफँै कार्यक्रम उत्पादन गर्न थालिहाल्छाँै नि,’ उनले भने , ‘तर, एनटीभीलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने नीतिका कारण यो समस्या आएको हो । सरकारी टीभीमा व्यापार गर्नुपरेपछि परिणाम यही नै हुन्छ । त्यसैले त हामी टीभीलाई बिजनेस हाउसभन्दा सार्वजनिक प्रसारण संस्था बनाउनुपर्छ भनिरहेका छौँ ।’ नीतिगत अस्पष्टतामा परिवर्तन नआएसम्म यस्ता समस्या देखिनु स्वाभाविक हुने उनको भनाइ छ ।

हास्य अभिनेत्री दीपाश्री पनि एनटीभीसँग रुष्ट देखिइन् । ‘यहाँ हास्य कलाकारलाई माइनस गर्ने कुरा भइरहेको छ ,’ उनले भनिन्, ‘जसका कारण टीभीको टीआरपी हाई भएको थियो, आज तिनीहरूकै भविष्य ‘लो’ गराइदिने काम भइरहेको छ ।’

विकल्प युट्युब

टीभीमा हास्य शृंखला धमाधम बन्द भइरहेको बेला हास्य कलाकारहरूले सोसियल नेटवर्किङ साइट युट्युबको सहारा लिन थालेका छन् । भिडियो खिच्दै र कार्यक्रम बनाउँदै उनीहरू युट्युबमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै छन्, आफूलाई चिनाउँदै छन् । अहिले टीभीमा प्रसारण हुने हास्य शृंखलाहरूले पनि युट्युबमा हालेपछि बढी लोकप्रियता कमाइरहेका छन् । सीताराम कट्टेल ‘धुर्मुस’ समसामयिक विषयवस्तुमाथि कमेडी कार्यक्रम बनाउँदै युट्युबमा हाल्ने गर्छन् । केदार घिमिरे, विल्सनविक्रम राई लगायतले पनि युट्युबमा कमेडी कार्यक्रम अपलोड गर्न थालेका छन् । हास्य कलाकारहरू राजु कमेडी, सुजित थापा सिरियलमा पनि आबद्ध छन् । तर, सँगसँगै युट्युबमा ‘कमेडी होस्टेल’ र ‘हाउ फन्नी’ नामक कमेडी कार्यक्रम सञ्चालन गरिरहेका छन् । किन त ? ‘सिरियल कहिले बन्द हुने भर छैन । त्यसैले सेफ साइड खोजेको,’ सुजितले भने । युट्युबका कारण टीभीका हास्य शृंखला नै बन्द हुने खतरा कलाकार शिवहरि पौडेलले महसुस गरेका छन् । ‘युट्युबमा पैसा पनि आउने, चर्चा पनि हुने भएपछि सबै त्यतैतिर लाग्ने नै भए नि,’ उनले भने ।

 

Leave A Comment