टिपटप ज्यान: श्वेताको फिटनेस टेक्निक

मङ्गलबार, २० फागुन २०७६, ०२ : ३१ उपेन्द्र खड्का
टिपटप ज्यान: श्वेताको फिटनेस टेक्निक

आइतबार (११ गते) बेलुका तीन बजे बालुवाटरस्थित इलिमेन्टस् रेस्टुरेन्ट एन्ड बार पुग्दा नायिका श्वेता खड्का अफिसमा व्यस्त थिइन्। व्यस्ततालाई छिचोल्दै बिहान नियमित व्यायाम गर्नु उनको दैनिकी हो। त्यसैले त उनको ज्यान जति फिट छ, त्यत्तिकै सुन्दरी पनि देखिन्छिन्।

काभ्रे जिल्लाको पनौतीस्थित खोपासीमा २०४४ सालमा जन्मिएकी ३२ वर्षीया श्वेताकोे ज्यान हेर्दा मजबुत, फुर्तिलो र स्मार्ट देखिन्छ। चटक्क बान्की परेकी पाँच फिट चार इन्च उचाइकी ३२ वर्षीया श्वेताले आफ्नो शारीरिक तौल घटाएर ५९ किलोमा झारेकी छन्। जीवनसाथी श्रीकृष्ण श्रेष्ठ गुमाएको एक वर्ष त उनी अर्धचेत अवस्थामै रहिन्। त्यही कारण उनले स्वास्थ्यमा ध्यान दिन सकिनन् र ८५ किलोसम्म पुगेकी थिइन्।

‘कहाँ भेटिएला’ फिल्मबाट अभिनय शुरु गरेकी श्वेताले ‘हाँसिदेऊ एक फेर’, ‘श्रीमान्–श्रीमती’, ‘कोहिनूर’, र ‘कान्छी’मा अभिनय गरेकी छन्। अभिनय त उनको शोखको पाटो हो, खासमा मूल रुपमा त उनी व्यवसायी हुन्।

बिहान मीठो चिया
श्वेता बिहान उठ्दा साढे छ बजिसकेको हुन्छ। उठ्नासाथ एक गिलास मनतातो पानी पिउन छुटाउँदिनन्। त्यसपछि एक कप मीठो चिया पिउँछिन्। कुनै दिन ब्ल्याक टी पिउँछिन् भने कुनै दिन मिल्क टी। उनलाई चिनी हालेको मीठो चिया पिउनु पर्छ।
श्वेताले मन्द मुस्कान छोड्दै भनिन्, ‘बिहानै खाने चिया पनि के नमीठो खानु !’

दुई घण्टा जिमपछि ब्रेक फास्ट
चिया पिइसकेपछि  सात बजे काठमाडौंको वनस्थलीस्थित घरबाट गाडी हुइँक्याएर सुन्धारामा रहेको सिटिसी मलको ‘फिटनेस पार्क’ पुग्छिन्। दिउँसो अफिसियल समयमा ड्राइभरले गाडी चलाउने भए पनि बिहान र बेलुकी आफैँ चालक हुनु उनको नियमित तालिका हो।

फिटनेस पार्कको जिमहलमा साढे सात बजे छिरेकी श्वेता शरीर फिट राख्नका लागि दैनिक फरक–फरक किसिमका जिम गर्छिन्। ‘कहिले जुम्बा क्लास लिन्छु, कहिले कार्डियो क्लास लिन्छु’, श्वेता भन्छिन्, ‘पेट घटाउन सकेसम्म सेटअप, पुसअप धेरै गर्छु।’ जिम गर्दा आफू खुसी हुने भएकाले मानसिक रुपमा फ्रेस हुँदा अनुहारको सुन्दरतामा पनि सहयोग मिल्ने उनले बताइन्। बेलाबेलामा स्वस्थ तथा छालाको सुन्दरताको लागि स्टिमबाथ, सौना लिन्छिन्। श्वेताले जिम हलमै पुगेर जिम गर्न थालेको आठ वर्ष भयो।

श्वेता जिम हलमा दुई घण्टा विभिन्न किसिमका व्यायाम गर्दा घडीको काँटाले बिहानको साढे नौ हान्छ। कहिलेकाहीँ जिम गर्ने ठाउँकै क्यान्टिनमा ब्रेक फास्ट लिन्छिन्। जिम गर्दा कमजोर फिल भयो भने फुड सप्लिमेन्ट पनि आफूले खाने उनले बताइन्। नत्र धेरैजसो जिमबाट निस्किएपछि श्वेता बालुवाटारमा रहेको हिमालयन जाभामा हल्का खाजा लिन्छिन्। उनले लिने ब्रेक फास्टको पहिलो रोजाइमा ब्राउन ब्रेड, अण्डा र कफी पर्छ। फलफूल नियमित खान्छिन्। गर्मी मौसममा खर्बुजा र मेवा उनलाई मनपर्ने फलफूलमध्ये पहिलो कोटीमा पर्ने फलफूल हुन्। जाडो याममा सुन्तला पनि मन पर्छ। बेलुकी फलफूलका जुस पिउँछिन्।

मनपर्ने मासु चिकेन र फिस
ब्रेकफास्ट लिइसकेपछि अचेल प्रायः उनी बालुवाटरको इलिमेन्टस् रेस्टुरेन्ट एन्ड बारमा पुग्छिन्। अफिस पुगेर सुरुमा आफ्नो दैनिक तालिका हेर्छिन्। सेड्युल सधैँ प्याक हुन्छ रे ! कहीँ जानु छ भने जान्छिन्। अफिसबाहिर जानु नपरेको दिन रेस्टुरेन्टमा रहेको अफिसमा उनी भेटघाट तथा दैनिक कार्यमा व्यस्त रहन्छिन्।

दिउँसोको दुई बजे उनको खाना खाने समय हो। अफिसमा हुँदा त्यहीं र अफिसबाहिर हुँदा बाहिरै खाना खान्छिन्। चामलको भात (बोयल राइस), भेजकरी, चिकेन, दाल खानाको रुपमा लिन्छिन्। उनलाई मासुका आइटममध्ये सबैभन्दा मनपर्ने मासु हुन्, कुखुरा र माछाका परिकार। श्वेताले आफूलाई ग्रेबी चिकेन र फिस असाध्यै मनपर्ने सुनाइन्।

दिउँसोको खाना खाइसकेपछि प्रायः आफ्नो कन्ट्रक्सनको कामको अवलोकनका लागि फिल्ड भिजिटमा निस्किन्छिन्। व्यस्त दैनिकीलाई पन्छाउँदै प्रायःबेलुकी सात बजे अफिसियल काम बिट मार्छिन्। सात बजेपछि दुई घण्टा परिवार र साथीभाइसँगको भेटघाट र रमाइलोमा बिताउँछिन्। समय मिल्दा सपिङ पनि गर्छिन्। उनी बेलुकीको साढे नौ बजे घर पुग्छिन्।

बेलुका घरमा पुगिसकेपछि परिवारसँग रमाइलो गर्छिन्। बुबा–आमा लगायतसँग गफिन्छिन्। खानपान गरेर सुत्दा रातिको बाह्र बज्छ। सुत्ने बेलामा ल्यापटप र फोन अन गरेर दिनभरिका म्यासेज हेरेपछि त्यसको रेस्पोन्स गर्छिन्। त्यसैले सुत्न ढिलो हुने उनले सुनाइन्।

बेलुका बियर वा वाइन
उनी अग्र्यानिक खानपानमा अत्यन्तै सचेत छिन्। तर मन परेको खानामा भने उनी सम्झौता गर्दिनन्। श्वेता भन्छिन्, ‘म फुड लभर छु, मन परेको खाना खान्छु बरु जिम गर्छु।’ सकेसम्म उनी चाउचाउजस्ता जंकफुड खाँदिनन्।

थकित शरीरको आनन्दको लागि बेलुका उनी वाइन वा बियर सीमित मात्रामा पिउँछिन्। श्वेताले सुनाइन््, ‘बेलुकी कहिलेकाहीँ फ्रेस हुन परिवारसँग बसेर वाइन वा बियर पिउँछु।’ तर उनी आफूले कहिल्यै धूमपान भने नगरेको बताउँछिन्।

ट्युमरपछि नियमित स्वास्थ्य जाँच
क्यान्सरका कारण जीवनसाथी गुमाएकी उनलाई केही समय अगाडि घाँटीमा ट्युमर देखियो। उनले सम्झँदै भनिन्, ‘त्यो क्यासरको ट्युमर हुन सक्थ्यो तर भाग्यवश त्यस्तो भएन।’ भारतको दिल्लीमा उपचार गरेपछि ठीक भयो। ट्युमरको पाँच घण्टा लामो सर्जरी गर्नुपरेको तीतो अनुभव उनी सुनाउँछिन्। सर्जरीपछि मुखै बाङ्गियो। अहिले भने उनी सामान्य अवस्थामा छिन्। ट्युमरको उपचारपछि उनी प्रत्येक छ महिनामा स्वास्थ्य जाँच गराउँछिन्।

सामान्य रुघाखोकी लागेको तथा ज्वरो आएको अवस्थामा सकेसम्म कोही डाक्टर साथीलाई सोधेर मात्र औषधी खान्छिन्। जथाभावी औषधी किनेर खानु हुन्न भन्नेमा उनी सचेत छिन्।

सुन्दरताका लागि पनि उनी फेसियल, पिलिङ तथा बडी मसाज गराउँछिन्। मेकअपका सामग्री प्रयोगगर्दा क्लिनिक प्रोडक्ट नै  प्रयोग गर्छिन्। ‘म स्किन केयर प्रोडक्ट लगाउँछु,’ उनले भनिन्, ‘सकेसम्म विशेषज्ञ चिकित्सकको सल्लाहमा साइड इफेक्ट नगर्ने स्किन केयर प्रोडक्ट लगाउँछु।’ अहिले उनको अनुहारमा कुनै समस्या देखिँदैन। अनुहारमा चमकता देखिन्छ।

सानैदेखि फिट
बुबाको प्रेरणाका कारण उनी स्कुले जीवनदेखि नै खेलकुदमा असाध्यै रुचि राख्थिन्। ‘फुटबल र भलिबल राम्रो खेलिन्थ्यो,’ श्वेताले सुनाइन्, ‘सानैदेखि बुबा मलाई स्मार्ट भएको हेर्न चाहनुहुन्थ्यो। त्यसैले म खेलकुदमा सक्रिय थिएँ।’

उनका बुवाको छोरीलाई आर्मी बनाउने रहर भएकाले पनि आफूले फिजिकल फिटनेसका लागि जिम गर्न थालेको श्वेताले सुनाइन्। तर कहिल्यै फिल्म खेल्ने उद्देश्य र इच्छाले जिम नगरेको भए पनि श्रीकृष्णले नै उनलाई सम्भावित कलाकार देखेपछि फिल्म क्षेत्रमा प्रवेश गराएका थिए।

Leave A Comment