सही ठाउँमा दीपकको पिलो

बुधबार, २१ फागुन २०७६, १२ : ४५ शुक्रवार
सही ठाउँमा दीपकको पिलो

बेबाक बयानका कारण दीपकराज गिरी विवादमा परिरहन्छन्। उनले सामाजिक सञ्जालमा लेख्ने कुरा, बोल्ने तरिकाले मात्रै होइन, बेलाबेला गर्ने हर्कतले पनि चर्चा पाइरहन्छ।

हालै उनले एक रमाइलो हर्कत गरेका छन्, जसको पछाडि पत्रकार हात धोएर लागिपरेका छन्। सहकर्मीसमेत रहेका सीताराम कट्टेलले बनाएको फिल्म ‘सेन्टी भाइरस’को विशेष सोमा गिरी निम्त्याइए। निम्तो आएपछि जान पनि परिहाल्यो। हलमा पुगेपछि सबैसँग अंकमाल गरे, सीतारामलाई बधाई पनि दिए तर फिल्म हेर्ने बेलामा सुटुक्क भागे।

फेसबुकको स्टाटसमै हौस्याएजसरी व्यंग्य प्रहार गरिसकेका थिए उनले। लेखेका थिए, धेरैपछि दर्शक हलमा आए, अत्यन्त खुशीको कुरा हो। दर्शक हराएका रहेनछन्। अब आएका दर्शक टिकाउने कि भड्काउने त्यो चाहिँ हाम्रै हातमा छ।

फिल्म हेरिसकेपछि के प्रतिक्रिया दिनेहुन् भनेर पत्रकार उनलाई माइक र बुमरुपी हतियार ते-र्याएर बसेका थिए। खुरापाती दिमाग धेरै चलाउने उनलाई यो कुरो थाहा नहुने कुरै थिएन। त्यसमाथि बकबास फिल्म हेरेर एकदम राम्रो छ भन्न उनको नैतिकताले पनि दिएन क्यार ! त्यही भएर उनी फिल्म नै नहेरी कुलेलाम ठोके।

अहिले उनको स्पष्टीकरण छ, बस्ने ठाउँमै पिलो आयो र फिल्म हेरेर बस्न सकिनँ। उनको पिलोलाई मान्नैपर्छ। कस्तो गज्जबको टाइमिङ क्या ! एकातिर यसले दिक्क लाग्ने फिल्म हेर्न पनि बचायो, अर्कोतर्फ झुटो तारिफ गर्न पनि परेन ! कहिलेकाहीँ त दुःख पनि गज्जबकै हुँदोरहेछ बा !

Leave A Comment