क्यारेक्टर कथा

शुक्रबार, ०३ भदौ २०७३, ०१ : ०२ शुक्रवार , Kathmandu
क्यारेक्टर कथा

शिवहरि पौडेल
‘जिरे खुर्सानी’मा हुँदा ‘प्वाँक्क मुखाँ हान्नु’जस्तोबाट मलाई दर्शकले यो उचाइ दिनुभयो । अहिले किरण केसीलगायत साथीहरूसँग मिलेर ‘ब्रेकफेल’ सुरु गर्दा दर्शकको माया झन् बढी पाइरहेको छु । यसमा म ‘कुरो बुझ्नुभो’ थेगो प्रयोग गर्दै पश्चिमतिरको ‘चट्याङ मास्टरसाप’को क्यारेक्टरमा छु । पश्चिमतिरबाट राजधानी आएर यहाँ बेहोरेका अनुभव उतार्न खोज्दै छु । यसमा मैले केही नयाँ दिन खोजेको छु । जहिले त्यही क्यारेक्टर गर्दा दर्शकलाई मीठो लाग्दैन होला । मीठो धेरै खाइयो भने तितो हुन्छ भन्ने बुझेको छु ।
मैले क्यारेक्टरका लागि त्यति दुःख गर्नुपरेको छैन । किनभने, वास्तविकतासँग नजिक हुन खोज्छु म । आफूसँग जे छ त्यसैमा हल्का मलजल गरेर दर्शक हँसाउने हो । क्यारेक्टरमाथि जबर्जस्ती लाद्न खोज्नु हुँदैन भन्छु । पछिल्लो क्यारेक्टरका लागि पश्चिमतिर घुम्न जाँदा त्यहाँको भाषा, व्यवहार दिमागमा टिपेर ल्याएको थिएँ । त्यही टिपोटले ‘कुरो बुझ्नुभो’ चल्दै छ ।
मैले यसअघि गरेको ‘प्वाँक्क मुखाँ हान्नुजस्तो’ चाहिँ झुक्किएर सुरु भएको थेगो हो । पछि क्यारेक्टर नै त्यही थेगोमा झुन्डियो । २०६१ तिर ‘जिरे खुर्सानी’को पहिलो एपिसोडमा म नेता थिएँ । दमन रूपाखेती मेरा पीए थिए । एउटा उद्घाटन कार्यक्रममा तामझाम र पत्रकारको भीडभाड नदेखेर पीएलाई रिसाएर खै कताबाट ‘प्वाँक्क मुखाँ हान्नुजस्तो’ भनिदिएछु । त्यसलाई मतलबै गरिएको थिएन । तेस्रो एपिसोडमा एकजना दर्शकले प्रश्न गर्नुभयो, ‘कस्तो राम्रो प्वाँक्क मुखाँ हान्नुजस्तो खै त ?’ उहाँले भनेपछि त्यसलाई दोहो¥याउन थालेँ । १० एपिस्योडसम्म त्यसले राम्रो प्रतिक्रिया बटुलिसकेको थियो ।
म हास्यकलाकार बन्नका लागि कला क्षेत्रमा छिरेको होइन । राष्ट्र बैंकको जागिरे हुँदा लय संग्रौलाबाट निर्देशित ‘ऊ अब एक्लो छैन’मा मैले सोझो र दुःखी सिपाहीको भूमिका निभाएँ । त्यसपछिको टेलिशृंखला ‘देवी’मा पनि ‘एबनर्मल टाइपको पूर्णे’को रोल गरेँ । दर्शकलाई रुवाउनुपथ्र्यो । मज्जाले रुवाउन पनि सक्थेँ । एक पटक सुटिङमा एक्कासि हाँसो उठ्ने अवस्था आयो । धेरै हाँसियो पनि । त्यसैबेला हाँस्ने रोल क्रियट भइहाल्यो । त्यसपछि हाँस्ने रोलमै मेरो माग हुन थाल्यो । यसरी हास्यकलाकार नै भइयो ।
अब त साँच्चिकै रुँदा पनि मान्छेहरूले पत्याउँदैनन् । दुःख लाग्छ । एक पटक पाटन हस्पिटलमा आमाको नाकबाट भलभल रगत बगेको देखेर म धेरै रोएँ । डाक्टरले कोठा बाहिर पठाए । बाहिर सबै मान्छे ‘यहाँ सुटिङ रहेछ’ भन्दै भीड लाग्न थाले । म साँच्चै रोइरहेको छु कसरी भन्नु ?

जीतु नेपाल
‘मुन्द्रे’ मेरो पहिचानजस्तै बनिदियो । म चाहिँ दर्शकमाझ मुन्द्रेका रूपमा मात्र परिचित होऔँ भन्ने चाहन्न । त्यसैले म पछिल्लो समय नयाँनयाँ क्यारेक्टरमा आफूलाई अभ्यस्त गर्न खोज्दै छु । अब मलाई टेलिशृंखलामा देख्न पाउनुहुने छैन । म चाँडै रियालिटी शोमा आधारित ‘सफ्ट कमेडी’मार्फत दर्शकमाझ झुल्किने प्रयत्न गर्दै छु । फिल्ममा पनि खेलिरहेकै छु ।
मुन्द्रेसँग जोडिएका धेरै अनुभव सम्झिरहन्छु । ‘जिरे खुर्सानी’को सुरुवातमा आमा (अञ्जु महर्जन) ले बोलाउँदा मेरो नामको अभाव खड्कियो । नेताको कान्छीपट्टिको छोरो झोलेझोले टाइपको पात्र भएकाले मुन्द्रो लाउनैपर्ने भयो । मुन्द्रो लाएपछि झ्याप्प नाम फु¥यो, मुन्द्रे । सबैले ठीक छ भन्न थाले । सुरुसुरुका केही एपिसोडमा मेरो मुन्द्रे भूमिका त्यति सुहाएन भन्ने कुरो आयो । बिस्तारै म पनि अभ्यस्त हुँदै गएँ । दर्शकले पनि रुचाउन थाल्नुभयो । यो रोलका लागि कमै दुःख गरियो । यसो केटाहरूसँग गफगाफ गरियो, सुनियो, चासो दिइयो । त्यस्तैमा बोलीभाषा सिकिहालियो ।
म वास्तविक जीवनमा सोझो मान्छे । मुन्द्रासुन्द्रा लाउने कहिल्यै सोचिएन । झोले हुने कुरै भएन । मेरो त्यो रोलपछि धेरैले झोलेकै रूपमा सोच्दा रहेछन् । मैले त्यो रोल सुरु गरेको पाँच वर्षपछि कान छेडेको हुँ । त्यो पनि हङकङमा फ्यानकै जबर्जस्तीले । मुन्द्रेले मुन्द्रा लाउने कान नछेडेको हामी देख्न चाहन्नौँ भन्न थाल्नुभयो । त्योभन्दा अगाडि यसो च्यापेर काम चलाइएको थियो । अमेरिका जाँदा एक नेपाली मूलको भुटानी साथी जो सुन पसले हुनुहुन्छ उसले आधाआधा तोलाका दुइटा मुद्रा गिफ्ट भनेर थमाउनुभयो । केही समय त लाएँ । अचेल दराजमा सजाएर राखेको छु । अनि, मुन्द्रेले बोल्ने ‘एसएलसी एसएलसी पास गरिसकेको मान्छे’बाट प्रभावित भएर एसएलसीभन्दा धेरै पढेको होइन भन्ने सोच्नुहुँदो रहेछ । म त एसएलसीको दाइ आईए पास गरिसकेको मान्छे पो हुँ ।
मुन्द्रेभन्दाअघि ‘काउकुती’मा ‘माइकल’ र ‘मुक्ति’मा ‘सचिव’को क्यारेक्टरमा थिएँ । फिल्म ‘वडा नम्बर ६’मा दलित योद्धा र ‘६क्का ५ञ्जा’मा बाहुनको छोरोको रोलमा हल्का बढी दुःख गरियो । भ्याएसम्मका सोधपुछ र खोजहरू पनि गरियो । बाहुनको छोरो हुँदा तालु चिन्डे हुनुप¥यो । छ महिनासम्म कपाल नआएर हैरान भयो ।
यो क्यारेक्टर भन्ने कुरो जबर्जस्ती गर्ने कुरा होइन । त्यो भूमिकासँग परिचित नहुने हो भने जति राम्रो अभिनय गर्न सक्ने भए पनि सफल हुन गाह्रो हुन्छ । आफ्नो रुचि पनि मिल्नुपर्छ । आफूलाई म्याच नगर्ने वा नसक्ने जस्ता धेरै क्यारेक्टर रिजेक्ट पनि गर्नुपर्ने हुन्छन् ।

किरण केसी
पछिल्लो टेलिशृंखला ‘ब्रेकफेल’मा ‘चिकेन चिल्ली’ थेगोसहित ‘हाकुचा’ नामक नेवार क्यारेक्टरमा छु । नेवारसँगै जन्मे–हुर्केको, खाए–खेलेको म यो क्यारेक्टरसँग अपरिचत होइन । मलाई यो क्षेत्रमा लागेदेखि नै मदन दाइ (मदनकृष्ण श्रेष्ठ) सँगको संगतले थप नेवारी संस्कृति सिकायो । म नेवारी भाषा लगभग ७० प्रतिशत बुझ्छु । २५ प्रतिशत फर्काउन सक्छु । करिअरको चार दशक हुनै लाग्दासम्म मैले नेवार क्यारेक्टर नगरेको हुनाले एक पटक यो क्यारेक्टर गर्नैपर्छ भन्ने सोचमा थिएँ । मदन दाइको शब्दसंगीत रहेको एउटा नेवारी गीत नै गाइसकेको छु । यो क्यारेक्टरका लागि दुःख गर्नुपरेन । थाहा नभएका शब्द सोधपुछ मात्र गरियो । घरमा हल्का सोचेर आयो भने भोलिपल्ट सजिलै गर्न सकिहाल्छु ।
यसअघिको मेरो ‘राता मकै’वाला भूमिका र थेगो जीतु (नेपाल) को आइडिया हो । यो उसले पहिला नै प्रयोग गरिसकेको थियो क्यारे । मबाट सफल हुने सोचेर होला, प्रयोग गर्न खोज्यो । यसले चाँडै धेरैको मन पनि छोयो ।
‘राता मकै’ मेरा लागि अविस्मरणीय छ । दर्शकले पनि मलाई राता मकैकै रूपमा चिन्नुहुन्छ । अचेल केहीले त्यसलाई किन बिर्सेको भन्नुहुन्छ । मैले बिर्सेको होइन तपाईंलाई नयाँ टेस्ट दिन खोजेको भन्ने गर्छु । चोकको नाम राता मकै, पसलको नाम राता मकै, एल्बमको नाम राता मकै, किताब राता मकै । यसरी धेरैतिर चर्चा पायो यसले । यसलाई मैले कसरी भुल्न सक्छु ? अचेल त मलाई राता मकैप्रति प्रेम फिल हुँदै छ । रातो कलरको मकै देख्यो भने किनिहाल्छु ।
मह जोडीको ‘१५ गते’मा विराटनगरको चौधरी समुदायको ‘कल्लु’को भूमिकाका लागि दुःख गरेँ । पहिरन र भाषामा धेरै खोजखाज गरियो । गाडीमा चढेका बेला पनि त्यही भाषामा बर्बराएर बस्थेँ । त्यसअघि अमरसिंह थापा, भानुभक्त र भक्ति थापाको भूमिकामा गरेको अभिनय धेरैले रुचाएको बुझेँ ।
क्यारेक्टर भन्ने कुरामा दुःख चाहिँ गर्नुपर्छ । त्यो क्यारेक्टर जमेन भने के कलाकारिता गर्नु ? क्यारेक्टरलाई धेरै कुराले प्रभावित गर्छ । रुचि, उमेर, समय, जानकारी, मागजस्ता धेरै कुरा यसमा आउँछन् । जस्तो म अहिले ५९ पुगेको मान्छेले एउटा ठिटोको क्यारेक्टरमा जम्ने कुरै हुँदैन । व्यक्तिको कलाकारिता क्यारेक्टरमा झल्किने हो । ऊ ह्यान्डसम, अग्लो, होचो, कालो, गोरो हुनुले कलाकार बन्ने होइन । क्यारेक्टरलाई स्थापित गर्न सक्यो भने मात्र उसको कलाकारिता पुष्टि हुने हुन्छ ।
सुजित थापा
अहिलेसम्म मैले गरेका क्यारेक्टरमध्ये दर्शकले रुचाएका पाँचवटाजति छन् । सुरुमा ‘मेरी बास्सै’मा दलालको भूमिका थियो । सुरुवात भएको हुनाले केही बढी संघर्ष गर्नुप¥यो । क्यारेक्टरलाई जमाउनका लागि दैनिकजसो आउने समाचारमा अपडेट हुन्थेँ । दलालका प्रवृति बुझ्थेँ । अरूका कुरा सुन्थेँ । केही समयपछि दलालले नेगेटिभ प्रभाव पार्छ भन्ने लागेर त्यसको भूमिका घटायौँ ।
त्यसपछि ‘कलेज’ नामक टेलिशृंखलामा ‘सब–इन्सपेक्टर’को क्यारेक्टर गरेँ । त्यसमा प्रहरीको पारा ल्याउनुपथ्र्यो । प्रहरीको बोलीचाली, व्यवहार, काम गर्ने तरिका सबै बुझेँ । यसकै अनुभवबाट ‘सिस्नु पानी’ र ‘भद्रगोल’मा ‘इन्सपेक्टर’को भूमिका जमेको भनेर दर्शक प्रतिक्रिया पाएँ । जेहोस्, जतिधेरै खोजमा दुःख ग¥यो, क्यारेक्टर त्यति पपुलर हुँदो रहेछ भन्ने मेरो अनुभव हो ।
‘हाकाहाकी’मा शहरी युवा ‘डेभिड’ र वयस्क ‘जीके’को भूमिकामा अभिनय गरेँ । शहर वरपरकै बासिन्दा भएको हुनाले पनि शहरी क्यारेक्टरसँग परिचित नै छु । अहिले युट्युबको ‘हाउ फन्नी’मा ‘तिजोरीलाल’ नामको मधेसी र ‘सुजित पार्टी’ नामको प्लेब्वाईको भूमिकामा छु । मधेसबारे जानकारी लिएर नै त्यो क्यारेक्टर गर्दै छु । कहिलेकाहीँ छुस्स भाषा र टोन फुस्किहाल्ने समस्या हुन्छ । प्रहरी अफिसरको क्यारेक्टर गर्दा प्रहरी साथीहरूसँग धेरै कन्सर्न गरियो । एक नम्बर चुस्ता लाएर मान्छे पक्राउ गर्न नजाने, दुई नम्बर चुस्ता लाएर अफिसवर्क नगर्ने जस्ता कुरा सिकेँ । फिल गर्न सक्यो भने मात्र क्यारेक्टरलाई न्याय गर्न सकिन्छ भन्ने लाग्छ । भर्सटाइल एक्टिङ गर्ने सपना बोकेर यो क्षेत्रमा लागेको हुनाले पनि क्यारेक्टरलाई न्याय गर्ने कुरामा धेरै संवेदनशील हुन खोज्छु । आफन्त, साथीलाई पहिला देखाएपछि स्पटमा एक्टिङ गर्छु । टोनमा पनि हाइस्पिच, लोस्पिचको ख्याल गर्छु ।
अहिले नयाँ टेलिशृंखलाको तयारीमा छौँ । यसको डमी बनिसकेको छ । यसमा एक्ट्रा गेटअप र बोली सहितको नयाँ लाग्ने क्यारेक्टर छ । यसका लागि नयाँ कुरा जान्न खोजिरहेको छु । मलाई लाग्छ, क्यारेक्टरमा खर्चिने पसिनाले उसको अभिनयलाई जीवन्त बनाउन सघाउने हो । यो दुःखलाई दुःख होइन, अवसरका रूपमा लिन नसक्ने हो भने क्यारेक्टरले मात्र हावा खाने नभएर कलाकार नै छायाँ पर्न सक्छ ।
सविता गुरुङ

सुरुदेखि नै म एउटी छुच्ची महिलाका रूपमा पर्दामा देखिएँ । सुरुमा मह जोडीको ‘लालपुर्जा’मा छुच्चीको क्यारेक्टरमा अभिनय गरेँ । सबैले यही सुट गर्छ भन्ने प्रतिक्रिया दिए । फाट्टफुट्ट मात्र दुःखी र सोझी महिलाको रोल खेलेकी छु ।
छुच्चीको रोलका लागि मैले त्यस्तो धेरै दुःख गर्नु परेन । म आफू त्यति छुच्ची नभए पनि गाउँघर, छरछिमेक सबैतिर देखिरहेकै पात्र हो त्यो । ‘लालपुर्जा’मा आउनुअघि पुलिस क्लबमा नाटक गर्थें । विभिन्न खाले चरित्र थिए मेरा । सन्तोष पन्तसँग ‘मितबा’मा सिरियस रोल छ । पछिल्लो समय धेरैजसो शिवहरि पौडेल भाइको श्रीमती भएर खेलेकी छु । जोडी राम्रो छ भन्छन् सबैले ।
मलाई पर्दामा छुच्चीका रूपमा चिनेका दर्शकले ‘यो त साँच्चै छुच्ची होला’ भन्ने सोच्नु हुँदो रहेछ । भेटेका बेला सानो स्वर सुन्दा अचम्ममा पर्नु हुन्छ । ‘नाटकमा त्यस्तो कडा, यहाँ यस्तो सिरियस’ भन्दै हँसाउनु हुन्छ । ‘मलाई यसो चलाउनुस् त, मैले कराउन थालेँ भने कुलेलाम ठोक्नुहोला’ भन्दिन्छु । जेहोस् मलाई चिन्नेहरूले ‘तिम्रा दुइटा स्वरूप छन् है’ भन्नुहुन्छ । यसलाई मैले मेरो क्यारेक्टरको सफलताका रूपमा लिने गरेकी छु ।   

 

Leave A Comment