ओलीलाई जेल !

शुक्रबार, २३ फागुन २०७६, १० : ४० टपेन्द्र कार्की
ओलीलाई जेल !

६ वर्षअघि खुस्बु ओलीले आफूलाई चर्चित मोडल र समाजसेवीको परिचय बनाएकी थिइन्। समाजसेवा र मोडलिङ दुवैमा एक साथ ख्याति कमाएकाले नेपालका प्रमुख सञ्चार माध्यममा उनी सत्पात्रका रुपमा चिनिएकी थिइन्।

‘मिस टिन २००६ खुस्बु पूर्णकालीन समाजसेवी’ यस्तै समाचारले अखबारका पानामा उनको परिचय छापिएको हुन्थ्यो। अझ बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट द्वन्द्व व्यवस्थापनमा मास्टर्स गरेकी एक मात्र मोडल भन्दै अखबारका पानाहरु रंगिने गरेका थिए।

२०६७ सालतिरै काठमाडौंको फर्पिङमा ‘सपना आमाघर’ खोलेकी झापा सुरुङ्गाकी खुस्बु ओली धुम्बाराही नजिक विशालनगरमा पनि ‘स्ट्रिट चिल्ड्रेन रिह्याबिलिटेसन होम’ स्थापना गरेर ३५ जना सडक बालबालिकाको अभिभावक बनेकी थिइन्। बेलायतको किङ्सटन युनिभर्सिटीबाट एमएस्सी गरेकी खुस्बुले त्यसअघि समाजसेवामा हात हालेको बताउँदै आएकी थिइन्। आफ्नै खर्चमा सडक बालबालिकालाई पढाउने र पाल्ने दुवै कामले उनलाई समाजमा स्थापित गराएको थियो। 

झापाको सामान्य परिवारमा जन्मे–हुर्केकी खुस्बुले सुरुङ्गाका गरिब परिवारका लागि २० वटा रिक्सा किनिदिएकी थिइन्। गरिबलाई निःशुल्क सेवा दिने शर्तमा सुरुङ्गाकै रेडक्रस उपशाखालाई एम्बुलेन्स दिएकी थिइन्। उनी पढेको कन्काई माविमा हजुरबुबाको नाममा रु. एक लाखको कोष स्थापना गरेकी थिइन्। यस्तै यस्तै सकारात्मक सोच भएका समाचारहरु उनको प्रशंसामा प्रकाशित हुन्थे। सन् २००० मा काठमाडौं जेसिसले आयोजना गरेको प्रतियोगितामा ‘लिटिल लेडी’ भएकी खुस्बु सन् २००६ मा मिस टिन भएपछि सञ्चारमाध्यमको आँखामा परिन्। त्यो क्रम निरन्तर करिब ११ वर्ष कायमै रह्यो।

तर चार वर्षयता उनको भूमिका र व्यवहारबारे समाचार प्रकाशित हुँदा फरक भएको छ। उनको परिचय बद्लिएको छ । उनी ‘ठग खुस्बु’का रुपमा चिनिएकी छन्। काठमाडौँ जिल्ला अदालतले ठगी गरेको रकम नतिरेपछि उनलाई पक्राउ गर्ने आदेश दिएपछि उनको ‘ठग’ परिचय बन्न पुगेको हो। आफ्नै संस्थाको कर्मचारीसँग लिएको पैसा नतिर्दा उनी अब जेल जानुको विकल्प छैन। 

ठगी गरेको र गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’सँग जोडिएपछि उनको भूमिका, शैली र व्यवहार पूरै बदलिएको समाचार आउन थालेका छन्।  अहिले उनलाई ठगीको आरोपमा अदालतले बिगोसहित सजाय मात्रै सुनाएको छैन, पक्राउका लागि प्रहरीलाई पत्रचारसमेत गरिसकेको छ। आखिर उनलाई जेलसम्म पु-याउने त्यस्तो के कारण थियो ?  

३६ लाख नतिर्दा जेलको यात्रा तय
सर्लाहीका गोपाल कटुवाल र खुस्बुका जेठो दाइ दिवस ओली सानैदेखिका साथी हुन्। दाइसँगको चिनजानले गोपाल र खुस्बु चिनजानमा कुनै समस्या भएन। यही सिलसिलामा खुस्बुले झापामा बुबाले घर किन्न लाग्नु भएको र त्यसका लागि बेलायतबाट आफ्नो पैसा आउन केही ढिलाइ भएकाले त्यतिञ्जेलसम्मका लागि ३६ लाख रुपैयाँ सापटी मागिन्। गोपाल कटुवालले पनि आफ्नै जस्तो ठानेर पैसा दिए। दुई महिनाभित्र फिर्ता गर्छु भनेर लगेकी सापटी रकम लामो समय नआएपछि उनी कानुनी कार्बाहीतर्फ लागे। सोही कारण खुस्बु अहिले प्रहरीको फरार सूचीमा रहेकी छिन्।

गोपालले दिएको सापटी रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको दुईवटा चेक दिएकी थिइन्। खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत उनले ३६ लाख रुपैयाँको चेक दिएकी थिइन्। ती चेक २०१७ जनवरी ३ तारिखमा थमाएकी थिइन्। निर्धारित समयको दुई दिनपछि चेक साट्न पुगेका कटुवाल रित्तो हात फर्किए। चेक नसाटिएपछि पनि उनले खुस्बुलाई धेरैपटक सम्पर्क गर्दा पनि पैसा पाउन सकेनन्।

त्यसपछि मात्रै उनले कुमारी बैंकमै खुस्बु ओलीको सबै कारोबार बन्द गर्नेगरी कालोसूचीमा राख्न लगाए। सो थाहा पाएपछि खुस्बुले केही दिनमै पैसा फिर्ता गर्ने भनेर फकाइन् र कटुवालले पनि कालोसूचीमा राख्ने निवेदन फिर्ता गरे। कुमारी बैंकबाट कालोसूचीको निवेदन फिर्ता भएपछि कानुनी रुपमा आफूमाथि परेको ठानेर खुस्बुले कटुवाललाई पैसा नतिर्ने बताइन् र कानुनी प्रक्रियामा जान भनिन्। तर उनीसँग भएको अर्को चेकले भने खुस्बुविरुद्ध चेक अनादरको मुद्दा दायर गर्ने बाटो खुल्यो।

‘तीन पटकसम्म बैंक गएँ पैसा पाइएन, मैले पैसा नपाएपछि अदालतमा जान्छु भनेर जानकारी पनि गराएँ। उनले त मलाई झन धम्क्याइन्। मैले फेरि चेक बाउन्स भो अब के गर्छौ भनेँ तर उनले मलाई पैसा दिने कुरा नै गरिनन्’, गोपाल कटुवालले भने।

लामो समयसम्म कटुवालले ३६ लाख नपाएपछि २०७४ साल साउनमा काठमाडौं जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेका थिए। विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम कटुवालले मुद्दा दायर गरेका थिए। सोही मुद्दामाथि अदालतले गत वर्ष जेठ ७ गते फैसला गर्दै ३ महिना कैदको फैसला सुनाएको थियो। फैसला अनुसार ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको थियो। ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने अदालतको ठहर थियो।

तर विभिन्न कारणले गर्दा अदातलको उक्त फैसला कार्यान्वयन नभएपछि जेठ १६ गते कटुवालले पुनः फैसला कार्यान्वयन गरी पाऊँ भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दायर गरेका थिए। त्यसपछि भने अदालतले पक्राउ गरेर बुझाउन आदेश नै जारी गरिदियो। पक्राउ गर्नुअघि गत साउन १३ गते जिल्ला अदालतले म्याद तामेली गरेको थियो। अदालतले उनको नाममा कुनै जायजेथा प्राप्त गर्न नसकेको जरिवाना र बिगोबापतको कैद सजाय माग गर्दै पुस २८ गते जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उनलाई सो फैसला कार्यान्वयनका लागि पक्राउ आदेश जारी गरेको छ। यतिबेला उनी प्रहरीको नजरमा फरार रहेकी छन्। पहिलोपटक अदालतको आदेश आएपछि उनले विज्ञप्तिमार्फत आफूले रकम तिरिसकेको दाबी गरेकी थिइन् तर अहिले भने उनी मौन छिन्।

लण्डन पुगेर पनि फण्डा  
गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्ण्टरमा मारिएपछि उनी लण्डन पुगेकी थिइन्। त्यतिबेला आफू पिएचडी गर्न लागेको भन्दै केही सञ्चारमाध्यममा समाचार समेत प्रकाशन गर्न लगाइन्। ‘प्रहरीको इन्काउन्टरमा मारिएका काठमाडौंका ‘डन’ दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुस्बु ओलीले लन्डनमा पिएचडी गर्ने भएकी छन्’, मूलधारकै मिडियाहरुमा यस्ता समाचार प्रकाशनमा आएका थिए। त्यस प्रकारका समाचारमा ‘सोर्स बिहाइन्ड द राइज अफ मुस्लिम एक्स्ट्रिजम इन मिडिल इस्ट’ टपिकमा पिएचडी गर्ने जनाइएको थियो। यसअघि मास्टर्स गरेकै युनिभर्सिटी अफ अक्सफोर्डबाटै पिएचडी गर्ने भनेर धेरै प्रचारबाजी भयो। उनले आफूलाई जोखिम मोल्न चाहने युवतीको रुपमा उभ्याउँदै आएकी थिइन्। लण्डनको एक अखबारलाई उनले मनिटरिङ एन्ड इभ्यालुएसन एनालिस्टका रुपमा फ्रिल्यान्सिङ काम गरिरहेको र पिस एन्ड कोप्र्सलगायत कयौं प्रोजेक्ट सम्हालिरहेकी बताउँदै आएको भनेर समाचारसमेत प्रकाशन भएका थिए। उनले त्यहीँबाट अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनमा मास्टरसमेत गरेकी थिइन्।

चरी चर्चा
सन् २००६ मा मिस टिन भएपछि चर्चामा आएकी खुस्बु गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’सँगको प्रेम सम्बन्धका कारण चर्चामा आइन्। चरीको प्रहरी इन्काउण्टरमा मृत्यु भएपछि सञ्चार माध्यमहरुले उनीहरुबीचको सम्बन्ध केलाएका थिए। उनले त्यतिबेला म एउटा केटी मात्र नभएर समाजसेवी र दुव्र्यसनीहरुलाई आश्रय दिन मानिस पनि भएकाले चरीलाई सुधार गरेर समाजमा स्थापित गर्ने सोचका साथ उससँग सम्बन्ध गाँसेको बताइएकी थिइन्। उनले त्यतिबेला मलाई मन पराउने व्यक्तिहरुबाटै चरीको हत्या भएको भनेर घटनालाई चलचित्रको ‘रिल’ लाइफसँग दाँजेको थिइन्। ‘म एउटी केटी भएर भन्न त नमिल्ने हो तर संसारमा कतिपय ठूला घटना केटीकै कारण भएका छन् भनिन्छ। दुर्भाग्यवश मेरो सन्दर्भमा पनि यस्तै भयो जस्तो लाग्दैछ। मलाई मन पराउनेहरुबाटै दिनेश अधिकारीको ज्यान गयो भन्नेमा मलाई कुनै शंका छैन। संसारका चर्चित अपराधीहरु समाजका हिरो बनेका छन्,’ चरीको अवशानपछि सञ्चारमाध्यमलाई भनेकी थिइन्। नयाँ बजारमा रहेको सेल्टर नामक संस्थामा भेट भएको र बताइए पनि त्यो दुवैको भेट उनका पूर्वप्रेमी अर्पण कोइरालाकै कारण चरीसँग खुस्बु नजिक भएकी थिइन्। पछि अर्पणलाई छाडेर खुस्बुले चरीलाई मन पराउन थालिन् र उनीहरुबीच धेरैपटक काठमाडौंका विभिन्न होटलहरुमा सँगै भेटघाट हुने गरेको नजिककै साथीहरुले समेत दाबी गरेका थिए। चरीको मृत्युपछि खुस्बुले हामी उदाहरणीय जोडी बन्न चाहन्थ्यौँ समेत भनेकी थिइन्। उनीहरुको भेट हुनुमा र एक अर्कासँग नजिक हुनुमा भने अर्पण कोइरालाको ठूलै हात रहेको छ। खुस्बु अर्पण कोइरालासँग धेरै वर्ष लिभिङ टुगेदरको सम्बन्धमा बसेकी थिइन्। त्यतिबेला कोइरालाको नाममा रहेको स्कोडा गाडीसमेत खुस्बुले आफ्नो नाममा पारेकी थिइन्। खासमा खुस्बुको सम्बन्ध अर्पणसँग बिग्रिएपछि चरीसँग नजिक भएकी थिइन्। खुस्बुकै कारण केही प्रहरी अधिकारी र केही गुण्डाहरुको समेत भिडन्त भएको प्रहरी अधिकारीहरु बताउँछन्। न्युरोडका मित्तल थरका एक व्यापारी पनि चरी खुस्बु काण्डमा जोडिएका नाम हुन्। उनको ५० लाख रुपैयाँ त्यतिबेला डुबेको थियो।  

राजनीतिक सम्बन्ध
चरी इन्काउन्टरमा मारिएपछि हालका प्रधानमन्त्री केपी शर्मा ओली र हालका नेकपा अध्यक्ष पुष्पकमल दाहाल दुवैसँग भेटघाट गरिन्। त्यतिबेला उनले राजनीतिक नेताहरुसँग सम्बन्ध स्थापित गरिन्। चरीको हत्या गैरन्यायिक भएको भन्दै ओलीसँग सम्बन्ध विस्तार गरेकी खुस्बुले आफ्ना सेन्टरमा रहेका बच्चाहरुको सुरक्षाको विषयलाई लिएर दाहालसँग पनि भेटघाट गरेकी थिइन्।

चेक बाउन्स मुद्दामा प्रहरीले उनलाई फोन गरेर बोलाउँदा आफू प्रधानमन्त्री कार्यालयमा चिया खाँदै गरेको भनेर प्रहरीलाई समेत ब्ल्याकमेलिङ गरेकी थिइन्। प्रधानमन्त्री कार्यालयमै भएको भनेपछि प्रहरीसमेत उनलाई पक्राउ गर्न हच्केको थियो। चरी इन्काउटरमा मारिएपछि हालका प्रधानमन्त्री ओलीले गैरन्यायिक हत्या भएको भन्दै त्यसको आलोचनासमेत गरेका थिए। राजनीतिक आडमा उनी समाजकल्याण परिषदको सञ्चालक समितिको सदस्य हुन दौडधुपमा लागेकी थिइन्। झापाकै सिपी मैनाली उपप्रधानतथा समाजकल्याणमन्त्री भएका बेला उनलाई सञ्चालक समितिको सदस्य बनाउन लागेका थिए तर उनी असफल भए।

एएफसी ड्रिम एसिया अवार्ड
कुनै समय सडक बालबालिकाको क्षेत्रमा अभियान चलाएकी ओलीलाई एएफसी ड्रिम एसिया अवार्डसमेत दिइएको थियो। नेपालका सडक बालबालिकालाई स्ट्रिट चाइल्ड वल्र्डकपमा खेलाउन नेपाली टिम तयार गरेकी भन्दै उनलाई तीन वर्षअघि मलेसियामा भएको सामाजिक उत्तरदायित्व सम्मेलनमा एएफसीले उनलाई १० हजार अमेरिकी डलर नगदसहित सम्मान गरेको थियो। त्यतिबेला उनी सडक बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेल्टर आश्रय नेपालको संस्थापक थिइन्। जानकारहरुका अनुसार सन् २०१७ मा उनकै क्रियाशीलतामा राष्ट्रिय सडक बालबालिका फुटबल लिगसमेत भएको थियो।

खुस्बु ओली पीडित गोपाल कटुवाल बयान


खुस्बु ओलीले दुईमहिनामा फिर्ता गर्छु भनेर मसँग ३६ लाख लिएकी थिइन्। तर उनको त्यो दुई महिना कहिल्यै आएन। उनले लामो समयदेखि फिर्ता गर्न आनाकानी गरेपछि म कानुनी उपचारका लागि अदालतमा गएको हुँ। अदालतमा जाँदा पनि उनले पैसा तिरिसकेको भनेर भ्रम सिर्जना गर्न खोजिन्।

उनको बुबाले झापामा घर किन्नका लागि भनेर लिएको पैसा हो। पैसा लिने बेलामा बुबा चाहिँ आएका थिएनन। आमाछोरी आएका थिए। दुई महिनाका लागि सापटी दिनुप-यो भनेपछि मैले सापटी दिएको हुँ। लण्डनबाट पैसा आउन लागेको छ दाइ, त्यो पैसा आएपछि फिर्ता गर्छु भनिन् तर त्यो दिन अहिलेसम्म आएन। उल्टै म ऋणको भारीले थिचिएँ। मैले उनका बाबुलाई फोन गर्छु, कुरा गर्छु भन्दा पनि कहिल्यै कुरा गर्न दिइनन्।

पैसा माग्दा ललितपुरको युएन अफिस अगाडि रहेको रेस्टुरेन्टमा उनले मलाई धेरै पटक भेटेर करोड–करोडको कागज देखाउँथिन्। यो पैसा आउनेबित्तिकै दिन्छु भनिन्। मैले लामै समय कुरेँ। धेरै पटक ढाँटेपछि मात्रै कानुनी उपचार खोजेको हुँ। उनले मलाई धेरै पटक चेक दिएकी थिइन्। चेकको मिति सकिन लागेपछि मैले पैसा आए त भनेर दबाब दिएपछि पुनः चेकको मिति फेरिदिने र पुरानै कुरा दोहो-याएर लण्डनबाट पैसा आउँदै छ, केही दिन कुरिदिनु प-यो भन्थिन्। यस्तो आश्वासन त मैले धेरै पटक पाएँ तर पैसा पाइनँ।

सन्तोष कार्कीसँग बिहे गरेपछि उनले मलाई कानुनी कार्बाहीका लागि जाऊ भनिन्। कुमारी बैंकबाट चेक बाउन्स गरी कालोसूचीमा हालेपछि उनका दाजु र आमा आएर एक हप्ताभित्र दिने सहमति गरे। मेरो फोनमा आधा घण्टा भन्दा बढी कुरा गरिन्, रोइन्। आमा–छोरी दुवैले कुरा गरे। त्यतिबेलाको कल डिटेल हेरे पनि थाहा हुन्छ, उनीहरुले कति मिनेट कुरा गरेका रहेछन् भनेर। सोही आधारमा मैले उनीहरुको मुद्दा फिर्ता गरेँ। त्यही विषयले उनले सहज महसुस गरिछन् र पैसा तिर्नेभन्दा धम्क्याउन थालिन्। अदालतमा जा भन्न थालिन्। धन्न मसँग अर्को चेक रहेछ र मैले अदालत जाने मौका पाएँ। आज मेरो पैसा उठाउन लागि कानुनी उपचारको बाटो खोजेँ। यहाँनिर म भगवानलाई धन्यवाद दिन चाहन्छु २५ लाख भन्दा बढी पैसा सहकारीबाट निकालेर दिएको थिएँ। उनले बारम्बार बुबालाई केही पनि नभन्नू, बुबालाई हर्टअट्याक हुन्छ। तपाईंको पनि बुबा हो भनेर मलाई सधैँ ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्थिन्। 

उसको जेठो दाइ (दिवस) र म बच्चादेखिको साथी हौँ। त्यही कारणले उनलाई म बहिनी भन्थेँ। उनले मलाई कुनै बेला राखी पनि बाँधेकी थिइन्। हामी साथी थियौँ, त्यही बेला उसले सामाजिक संस्था खोल्यो। त्यही संस्थामा सँगै काम गरौँ भन्ने सल्लाह भएपछि त्यहाँ जोडिएँ। संस्थामा मलाई म्यानेजरको पद दिइएको थियो। उनीहरु त्यति धेरै नआउने भएपछि मैले नै हेर्न थालेँ। त्यस क्रममा उनले मलाई अब मेरो पैसा आउन लाग्यो दाइ, मलाई त्यतिञ्जेल सहयोग गर्नुहोस् भनेर पैसा लगिन्, फिर्ता गर्न भने जानिनन्। मानवताको नाताले सहयोग गरेँ, उनले मलाई सडकमा पु-याइन्। पैसा दिएपछि उनले फोनसमेत उठाइनन्। अहिले दाजु दिवशसमेत मबाट टाढा–टाढा भएको छ।

मैले मुद्दा हालेपछि मेरो खुस्बुसँग बोलचाल भएको छैन। मैले उजुरी गरेपछि प्रहरीले मलाई साथ दिएन। सिआइबीका प्रहरीले एक पटक फोन गरेका थिए। उसले त्यतिबेला ‘पावर सो’गरिन् र पक्राउमा परिनन्। म प्रहरी कार्यालय धेरै पटक गएँ। पक्राउ पुर्जी जारी भएको छैन भनेर फर्काइदियो। उल्टै उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेर हाइकोर्टमा जाने भन्दै बसिन्। फैसला कार्यान्वयन इकाइले पनि केही नगरेपछि अदालतको फैसला कार्यान्वयनका लागि हामी फेरि अदालत गयौँ र अदालतले पक्राउ पुर्जी जारी गरेको छ। अबचाहिँ पैसा आउँछ कि भन्ने आशा लागेको छ।

Leave A Comment