नेपाल आइडल: ‘बाहिरिए पनि खुसी छु’

शुक्रबार, २३ फागुन २०७६, १२ : ०५ शुक्रवार
नेपाल आइडल: ‘बाहिरिए पनि खुसी छु’

नेपाल आइडल सिजन ३ को टप आठबाट बाहिरिएकी छन्, झापाकी रचना रिमाल। अग्र्यानिक आवाजकी धनीका रुपमा जजहरुले प्रशंसा गर्दै आएका थिए तर उनी प्रतियोगीहरुभन्दा कमजोर पनि थिइन्। १७ वर्षीया रचना रिमाल चटपटेवाली उपनामले पनि झापामा परिचित छिन्। उनीसँग गरिएको कुराकानीः

के छ हाल खबर ?
केही छैन भर्खर झापा आएकी छु। पढाइ रोकिएको तीन महिना धेरै भयो। यसैलाई कन्टिन्युटी दिने तयारीमा छु। आजबाट कलेज जान थालेकी छु।

साथीभाइबाट कस्तो प्रतिक्रिया आयो त ?
अहिलेसम्म सबैले राम्रै भन्नुभएको छ। रचना तिमीले हाम्रो कलेजको नाम राख्यौ भन्नुभएको छ।

नेपाल आइडलमा कतिसम्मको अपेक्षा गर्नुभएको थियो ?
मैले यति धेरै अपेक्षा गरेको थिइनँ तर टप आठमा पुग्नु नै मेरो ठूलो उपलब्धि हो जस्तो लाग्छ। मभन्दा धेरै ट्यालेन्ट दाइदिदीहरु हुनुहुन्छ। उहाँहरुसँग बसेर गाउँदा र प्रतिस्पर्धा गर्दै टप टेनभित्र पर्नु मेरो ठूलो उपलब्धि ठानेकी छु। 

आइडलबाट के पाउनुभयो ? के गुमाउनु भयो ?
मैले आइडलबाट नाम पाएँ। हिजो चटपटे बेचेर बसेकी म अहिले धेरैले रचना भनेर चिनिदिनुभएको छ। यसबाट मैले धेरै कुरा सिकेकी छु। मैले आइडलमा गएपछि दुई महिना पढाइ छुट्यो। मैले गुमाएको भनेको यत्ति हो।

आइडलमा पुगेपछि कार्यक्रमको अफर आइरहेको छ त ?
कार्यक्रम त आइरहेको छ। आज पनि थियो तर कोरोना भाइरसका कारण रोकिएको भन्ने सुनेँ। थुप्रै तिरबाट कार्यक्रमका लागि भन्नुभएको छ तर कोरोना भिलेन भइरहेको छ।

भनेपछि घाटा लाग्यो है ?
ठीकै छ। मैले त बिग्रेको पढाइ सुधार्नु छ नि ! अहिले एघारमा पढिरहेकी छु। कार्यक्रम त पछि पनि आइहाल्छ नि हैन र ? 

गीत रेकर्डको लागि अफर आएको छ ?
आइरहेको छ। अस्ति भर्खरै पनि बसन्त सापकोटा अंकलको गीत गाएँ। मेरो चार पाँच वटा गीत रेकर्ड भइसकेका छन्। बजारमा आउन बाँकी पनि छन्। केही समयपछि फेरि केही गीतका लागि काठमाडौँ आउने विचार छ।  

अनि आफ्नो चटपटे व्यवसाय नि ?
भ्याइयो भने गरिन्छ। नत्र खोई के हुन्छ, थाहा छैन !

नेपाल आइडलका साथीहरुलाई कत्तिको मिस गर्नुहुन्छ ?  
मिस त भइहाल्छ नि ! मभन्दा अग्रज साथीहरु अनि मलाई गायनमा सिकाउने जजहरु मिस नगर्ने त कुरै भएन ! त्यो समय र क्षण मेरा लागि स्मरणीय छ। फेरि त्यस्तो समय कहाँ आउँछ र ?

अबको योजना ?
योजना ? गीत संगीतमा नै लाग्ने ! केही समयपछि गीतहरु बजारमा ल्याउने तयारी र गीतसंगीतसँगै पढाइलाई निरन्तरता।

Leave A Comment